नमुना जनगणनामै समेटिँदै यौनिक तथा अल्पसंख्यक
माघ १६, २०७६ गणेश राई काठमाडौं — आगामी चैत ९ देखि २३ गतेसम्म हुने नमुना जनगणनामा यौनिक तथा अल्पसंख्यक समुदायलाई पनि समेटिने भएको छ । केन्द्रीय तथ्यांक विभागले घर तथा परिवार सूचीकरण फाराममा पुरुष र महिलासँगै अन्य यौनिक तथा लैंगिक भनी उल्लेख गरेको छ । लैंगिक अल्पसंख्यकको माग सम्बोधन गर्दै प्रश्नावली फाराम सच्याइएको हो । यो गणना राष्ट्रिय जनगणना २०७८ को तयारीस्वरूप गरिँदै छ। फाराममा परिचयात्मक विवरणमा प्रदेश, जिल्ला, गाउँपालिका/नगरपालिका, वडा र गाउँ/बस्ती/टोल खुलाइएको छ। घरमूलीले मात्र प्रश्नावलीको जवाफ दिनेछन्। घरसम्बन्धी विवरणमा तलाको संख्या, प्रयोजन र अलग भान्सा भएका परिवारको संख्या उल्लेख हुनेछ। परिवारसम्बन्धी विवरणमा मूलीको नाम, थर, सदस्य–संख्या अनि लैंगिक तथ्य संकलन गरिनेछ। भोगचलनमा रहेको कृषि प्रयोजनको जग्गाको क्षेत्रफल, पालेका पशुपन्छीको विवरणसमेत उल्लेख हुनेछ। जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ। त्यतिबेलाको फाराममा पुरुष, महिला र तेस्रोलिंगी मात्र राखिएकामा १ हजार ५ सय जनाले ‘अन्य’ भनी उल्लेख गराएका थिए तर त्यो संख्...