Posts

Showing posts from November, 2021

प्रदेशमा ११ भाषा सिफारिस

Image
  राष्ट्र भाषा नेपालीबाहेक प्रदेशमा सरकारी कामकाजका लागि प्रस्तावित भाषा  भाद्र २३, २०७८ गणेश राई काठमाडौँ — भाषा आयोगले २०६८ सालको जनगणनाअनुसार ११ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषा सिफारिस गरेको छ । आयोगले यससम्बन्धी विस्तृत प्रतिवेदन सोमबार राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाएको छ । विज्ञ समूहले गरेको सिफारिसका आधारमा भाषा निर्धारण गरिएको आयोगले जनाएको छ । प्रदेश र स्थानीय तहले समेत स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्ने पनि आयोगले औंल्याएको छ । प्रदेश–१ मा मैथिली र लिम्बू, प्रदेश–२ मा मैथिली, भोजपुरी र बज्जिका, वाग्मतीमा तामाङ र नेपालभाषा, गण्डकीमा मगर, गुरुङ र भोजपुरी भाषालाई सिफारिस गरिएको छ । लुम्बिनीमा थारू र अवधी, कर्णालीमा मगर र सुदूरपश्चिममा डोट्याली र थारू भाषा निर्धारण गरिएको हो । बाहुल्यका आधारमा मैथिली, भोजपुरी, मगर र थारू भाषा दुई–दुई प्रदेशमा दोहोरिएका छन् । आयोगका अध्यक्ष लवदेव अवस्थीले ११ आधार निर्माण गरेर प्रदेशको सरकारी कामकाजको भाषा सिफारिस गरिएको बताए । १२ भाषालाई सरकारी कामकाजको भाषा तोक्न सिफारिस गरिए पनि अन्तिम प्रतिवेदनमा बान्तवा र खसलाई हटाइएको छ

राष्ट्रिय जनगणना सुरू, सात प्रश्‍न लिएर सुपरिवेक्षक घरदैलोमा

Image
  भाद्र ३०, २०७८ गणेश राई काठमाडौँ — राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा बुधबार सुरु भएको घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्‍न लिएर सुपरिवेक्षक घरदैलो गर्न थालेका छन् । केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएका छन् । ताप्लेजुङमा जनगणना : तस्बिर : आनन्द गौतम/कान्तिपुर उनीहरूले करिब ७० लाख घरपरिवारका मुलीलाई भेटेर यी प्रश्न सोध्ने छन् । निर्धारित तालिकाअनुसार सूचीकरण कार्य २० दिनभित्र सम्पन्न हुनेछ । गणकले सोध्ने पहिलो प्रश्न, ‘तपाईंको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरूको संख्या कति छ ?’ भन्ने रहेको छ । यसरी सोधिएको अन्य लिङ्गीअन्तर्गत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय भनेर उल्लेख गर्नुपर्ने छ । त्यसनिम्ति निलहिरा समाजले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका निम्ति देशभरि जनगणना अभियान संचालन गरेको जनाएको छ । ‘अझै पनि हाम्रो समुदायलाई राज्यबाट पाउनु पर्ने आरक्षण कोटा, नीति, बजेट, कानुन तथा कार्यक्रमहरूको व्यवस्था नहुँदा धेरै समस्या भोग्नु परेको छ,’ समाजले जिल्ला जनगण

‘सहरवासीले तथ्यांक दिन मानेनन्’

Image
  हरेक तथ्यांक गोप्य रहन्छ, ढुक्क भएर विवरण दिनोस् : विभाग आश्विन १४, २०७८ गणेश राई काठमाडौँ — सहरवासीले जनगणनाका लागि यकिन विवरण दिन नमानेर हैरान हुनुपरेको जनगणनामा खटिएका सुपरिवेक्षकले गुनासो गरेका छन् । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर ‘सहरमा कसको कतिवटा घर छ र कति परिवार बस्छन् भन्नेबारे यकिन गर्नै गाह्रो भइरहेको छ,’ काठमाडौं जिल्ला जनगणना कार्यालय ‘घ’ लैनचौर क्षेत्रमा खटिरहेका एक सुपरिवेक्षकले भने, ‘कतिपय सूचना दिनै मान्दैनन् । तिमीलाई सूचना दिएर के हुन्छ भनेर उल्टै प्रश्न गर्छन् ।’ कतिपयलाई राष्ट्रिय जनगणनाको महत्त्वबारे जानकारी नहुँदा यस्तो प्रश्न गर्ने गरेका छन् भने कतिले जानीबुझी छल्ने गरेको सुपरिवेक्षकहरूको ठम्याइ छ । कतिपयले आफ्नो घरपरिवारबारे यकिन जानकारी दिनसमेत आनाकानी गरेका छन् । गुनासा आएपछि केन्द्रीय तथ्यांक विभागले प्रत्येक व्यक्ति तथा परिवारको विवरण तथ्यांक ऐनअनुसार गोप्य रहने जनाउँदै आफ्ना सही विवरण टिपाउन भनेको छ । खासगरी काठमाडौं जिल्लाको रिङरोडभित्र मूल सहरी बस्तीमा समस्या भएको विभागका एक अधिकारीले जनाएका छन् । सुपरिवेक्षकले प्रत्येक घरमा राष्ट्रिय जनगणनाको अनुर

राष्ट्रिय जनगणना : लिपुलेकमा भएन घरपरिवार सूचीकरण

Image
  सोमबार घर सूचीकरण गर्ने अन्तिम दिन आश्विन १८, २०७८ गणेश राई काठमाडौँ — राष्ट्रिय जनगणनाका लागि सुरपरिवेक्षण पठाउनै आनाकानी गर्दा मुलुकको नयाँ ‘चुच्चे नक्सा’ मा परेका महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेन । पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरिवेक्षक नै पठाएन । महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ को छाङरुक र तिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ । उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन । ‘घरपरिवार सूचीकरण हुन सकेन, अब समन्वय भएमा मूल गणना होला एकैचोटि,’ केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘त्यसका लागि कूटनीतिक पहल सुरु गर्ने भनेका छौं । त्यसको पहल परराष्ट्र मन्त्रालयले गर्छ । यता अन्य विधि तयारी गर्दै गर्नेछौं ।’ मूल गणनासँगै घरपरिवारको विवरण लिन सकिने उनले जनाए । दार्चुला जिल्ला जनगणना कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार दुई नगर र सात गाउँपालिकामा दुईवटा स्थानीय जनगणना का

ब्लग : जनगणनामा आफैं छुट्दा...

Image
  सहरका घरधनीले भाडामा बसेका परिवारबारे जानकारी दिन रुचाउँदैनन् भन्ने बुझिन्छ । त्यसैले स्थानीय सरकारको नेतृत्व गरेका जनप्रतिनिधिहरू (जसको भोटले जितेका छन्)ले प्रत्येक घरधनीहरूलाई राष्ट्रिय जनगणनाको महत्व बुझाएर प्रत्येक परिवारको यकिन विवरण दिन लगाउन जरुरी छ । हुन व्यक्तिगत स्वतन्त्रताका हिसाबले ‘नो भोट’को अधिकार रहला तर राष्ट्रिय जनगणनामा ‘नो इन्फर्मेसन’ भन्ने अधिकार रहनु हुन्न । आश्विन १९, २०७८ गणेश राई काठमाडौँ — राष्ट्रिय जनगणना भनेको राज्यको सबैभन्दा धेरै स्रोत खर्च गरेर दस–दस वर्षमा देशभरि एकसाथ सम्पन्न गरिने महाअभियान हो । सामान्य बुझाइअनुसार देशभित्र बसोबास गर्ने नागरिक (महिला, पुरुष तथा अन्य लिंगी)को संख्या टिपोट गर्ने काम हो । तथ्यांक ऐनअनुसार ‘जनगणना भन्नाले देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्यांक संकलन गर्ने कार्य’ भन्ने बुझिन्छ ।  राष्ट्रिय जनगणना पहिलो चरणको घर तथा घरपरिवार सूचिकरण सोमबार (असोज १८ गते) सकिएको छ । तपाईं र तपाईंको परिवार मजस्तै छुट्नु भयो कि ? म आफैं जनगणनासम्बन्धी समाचार

कूटनीतिक नियोगमा पहिलोपटक ‘ई–सेन्सस’

Image
  वैदेशिक रोजगारी र अध्ययन गर्न गएकाको तथ्यांक परिवारबाट लिइने कार्तिक ५, २०७८ गणेश राई काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले पहिलोपटक विदेशस्थित ४० कूटनीतिक नियोगमा ‘ई–सेन्सस’ (अनलाइनबाट जनगणना) गर्ने भएको छ । त्यसका निम्ति प्रत्येक नियोगमा एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकिनेछ ।  कात्तिक २५ देखि मंसिर ९ सम्म हुने १२ औं राष्ट्रिय जनगणनाका लागि यस्तो पहल गरिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए । विभिन्न ३० मुलुकमा नेपाली दूतावास छन् । त्यसबाहेक न्युयोर्क, जेनेभा, भियनामा स्थायी नियोग छन् । नेपाली महावाणिज्य दूतावास ल्हासा, कोलकाता, हङकङ, जेहाद, न्युयोर्क, भियना, ग्वान्जाओ र छेन्दुमा रहेका छन् । ‘तोकिएका सम्पर्क व्यक्तिलाई भर्चुअल माध्यमबाट तालिम दिइनेछ,’ लामिछानेले भने, ‘ती नियोगमा रहेका कर्मचारी र त्यहीं रहेका परिवारको गणना हुनेछ । वेब एप्लिकेसन्समार्फत सम्पर्क व्यक्तिले डाटा इन्ट्री गर्नेछन् ।’ कूटनीतिक नियोगमा कार्यरतलाई मूली, परिवार संख्या, शिक्षा, अध्ययन क्षेत्र, प्रजननसम्बन्धी प्रश्न सोध्नुका साथै कोही अपांगता भए त्यसबारे पनि खुलाइनेछ । कार्यरत मुलुक, कामको विवरण, पद आर

जनगणनामार्फत पहिचान खोज्दै हायु

Image
  छुट्टै आदिवासी जनजाति भए पनि हायुले नागरिकतामा राई लेखाउँदै आएका छन् कार्तिक १४, २०७८ गणेश राई ,  राजकुमार कार्की सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–४ पोखरेल गाउँका अस्मिन राईलाई छिमेकीले ‘अस्मिन हायु’ भनेर चिन्छन् । यथार्थमा भने हायु र राई फरक जाति हुन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये हायु लोपोन्मुख अल्पसंख्यक जातिमा पर्छ । सिन्धुलीको कमलामाई–४ का अस्मिन राईको परिवार । तस्बिर : राजकुमार/कान्तिपुर सरकारले लोपोन्मुख जातिका प्रत्येक सदस्यलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । त्यसैअनुसार हायु जातिका व्यक्तिले पनि मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । तर यही हायु जातिका अगुवाहरूबाट आसन्न १२ औं राष्ट्रिय जनगणनामा आफूलाई राईका रूपमा चिनाउँदै आएकाले जाति र मातृभाषा ‘हायु’ नलेखाउने हुन् कि भनेर चिन्ता व्यक्त हुन थालेको छ । पुर्ख्यौली थलो ओखलढुंगाबाट चार पुस्ताअघि सिन्धुलीमाडीको पोखरेल गाउँमा बस्दै आएका अस्मिनलगायत परिवार भत्ताबाट वञ्चित छन् । किनभने उनीहरूको नागरिकतामा थर राई लेखिएको छ । ५२ वर्षीया अस्मिनको परिवारले दुई पुस्ता अगाडिदेखि राई थर अँगालेको थियो । ‘

जनगणनामा समेटिएलान् छुटेका जनजाति ?

Image
  अघिल्लो जनगणनामा छुटेका सूचीकृत ५९ मध्ये १२ जनजातिको विवरण यस पटकको गणनामा समेट्न सरोकारवालाहरुको ध्यानाकर्षण कार्तिक १५, २०७८ गणेश राई काठमाडौँ — आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले ५९ थरी आदिवासी जनजाति सूचीकृत गरेको छ तर राष्ट्रिय जनगणनामा ती सबैको तथ्यांक लिने गरिएको छैन । २०६८ सालको ११ औं जनगणनामा मुगाली, फ्री, छैरोतन, बारगाउँले, सुरेल, बनकरिया, लार्के, मार्फाली थकाली, सियार, ताङ्बे, थुदाम र तीनगाउँले थकालीको तथ्यांक छुटेको थियो । बरु सूचीकृत जनजातिभित्रकै उपसमूहलाई छुट्टै जातिका रूपमा तथ्यांकमा समेटिएको थियो । जसमा राई जातिभित्रको भाषिक समुदायका रूपमा परिचित कुलुङ, नाछिरिङ, याम्फु, चाम्लिङ, बान्तवा, आठपहरिया, थुलुङ, मेवाहाङ बाला, बाहिङ, साम्पाङ, खालिङ, लोहरूङ छन् । त्यसैगरी अन्य समुदायअन्तर्गत घले, मुन्डा, खवास, बोटे जातिका रूपमा उल्लेख गरिएको थियो । बेग्लै जातिका रूपमा उल्लेख गरे पनि ऐनले भने तिनलाई बेग्लै जातिका रूपमा चिन्दैन । जनजाति महासंघ र जनजातिका अगुवाहरूले हाल जारी १२ औं जनगणनामा पनि यसअघिकै गल्ती दोहोरिने हो भन्नेमा चिन्ता र चासो प्रकट गरेका छन् । दे

अन्तर्वार्ता : ‘कूटनीतिक पहलबिना कालापानी क्षेत्रमा जनगणना सम्भव छैन’

Image
  ‘जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्छौं, सम्पूर्ण नतिजाका लागि दुई वर्ष लाग्छ’ कार्तिक २४, २०७८ गणेश राई काठमाडौँ — नेपालमा १९६८ सालयता पाँचौं संस्करणबाहेक हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । यही कात्तिक २५ देखि मंसिर ९ सम्म १२ औं राष्ट्रिय जनगणना गरिँदै छ । राष्ट्रिय योजना आयोगअन्तर्गत केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाको नेतृत्व गरिरहेको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक हुन लागेको जनगणनाका विषयमा विभागका महानिर्देशक  नेबिनलाल श्रेष्ठ सँग कान्तिपुरका  गणेश राई ले गरेको कुराकानी : बाह्रौं राष्ट्रिय जनगणनाको तयारी कस्तो छ ? मुलुकभर एकै समयमा अनुमानित ७० लाख घरपरिवारमा पुग्न सम्पूर्ण तयारी भइसकेको छ । कात्तिक २५ बाट घरघरमा पुग्न गणकहरू तयार भइसकेका छन् । करिब ४० हजार गणकलाई १२ सय स्थानमा तालिम दियौं । त्यसअघि नै ८ हजार ५ सय सुपरिवेक्षकलाई तालिम दिएर खटाइसकेका थियौं । हामीले बेरोजगार युवालाई प्राथमिकता दिएर ५० प्रतिशत महिला, ५० प्रतिशत पुरुष र स्थानीय तहकै बासिन्दालाई उपलब्ध भएसम्म मौका दिएका छौं । व्यक्तिगत विवरणहरू ऐनबमोजिम लिइन्छ । प्रकाशन सामूहि