प्रदेश ३ - दृष्टिहीन शिक्षकलाई नियुक्ति पाउनै गाह्रो


विद्या राई
काठमाडौँ — प्रधानाध्यापकले नै नियुक्तिपत्र नस्विकारेपछि २८ वर्षीय सन्तोष तिमल्सिना एक महिनादेखि अन्योलमा छन् । शिक्षक महासंघको केन्द्रीय अध्यक्षसमेत रहेका ललितपुरको खोकनास्थित रुद्रायणी माविका प्रअ बाबुराम थापाले दृष्टिविहीन तिमल्सिनालाई एक महिनादेखि हाजिर गर्न दिएका छैनन् । उनले हालैमात्र प्राथमिक तहमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका छन् । 
दृष्टिविहीन शिक्षक सन्तोष तिमल्सिना । तस्बिर : श्रुति श्रेष्ठ/कान्तिपुर
तिमल्सिनालाई ललितपुरको शिक्षा विकास तथा समन्वय इकाइले कात्तिक २७ मा स्थायी नियुक्ति दिएको पत्रमा उल्लेख छ । इकाइ प्रमुख योगेन्द्रप्रसाद बरालले विभिन्न पाँच निकायलाई बोधार्थसहित नियुक्तिपत्र दिएको बताए । ललितपुर महानगरको शिक्षा महाशाखाले मंसिर १० मा खोकनाको रुद्रायणी माविको रिक्त पदमा पदस्थापनाका लागि पत्र लेखेको थियो । तिमल्सिना महानगरले दिएको पदस्थापना पत्र बुझेलगत्तै तोकिएको विद्यालय पुगेका थिए । तर, विद्यालयका प्रअ थापाले भोलि हाजिर गराउने भन्दै एक सातासम्म धाउन लगाए । त्यसपछि दृष्टिविहीनको कारण देखाउँदै नियुक्ति अस्वीकार गरे । ‘मैले आँखा देख्न नसक्ने भन्दै हेडसरले पढाउन नदिने भन्नुभयो,’ तिमल्सिनाले सुनाए, ‘यसकारण नियुक्ति दिन मिल्दैन भनेर आधिकारिक पत्र लेखेर दिनुस् भन्दा ‘मैले भनिसकेपछि किन लेख्नुपर्‍यो’ भनेर रिसाउनुभयो ।’

प्रअ थापाले भने यस विषयलाई प्रस्ट्याउन चाहेनन् । ‘मैले तिमल्सिना ललितपुरकै हुन् भन्ने बुझेँ । अपांगता भएका शिक्षकलाई अधिकार दिलाउन अग्रसर व्यक्ति हुँ । हाजिर नगराउने भन्दा पनि पायक पर्ने अरू विद्यालय छन् भने खोज्नु भनेको हुँ,’ उनले भने ।
जन्मेदेखि नै तिमल्सिनाको आँखाको दृष्टि क्षमता कमजोर थियो । दृष्टि जलबिन्दु भएपछि पछि उनी पूर्ण रूपमा देख्न नसक्ने भए । भक्तपुरको सानोठिमी क्याम्पसबाट ०७३ सालमा उनले नेपाली विषयमा स्नातक उत्तीर्ण गरे । तिमल्सिनासँगै नियुक्ति पाएकी सबलांग सरना महर्जनले भने पढाउन थालिसकेकी छन् ।

तिमल्सिनाजस्तै रौतहट चन्द्रनिगाहपुर–४ की ३३ वर्षीर्या हेमकुमारी वाग्लेले पनि पढाउन पाएकी छैनन् । राम्ररी आँखा देख्न नसकेको कारण देखाएर पदस्थापना पाएको विद्यालयले नियुक्ति अस्विकार गरेको उनले बताइन् । वाग्लेलाई ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित गम्भीर समुद्र सेतु माविमा मंसिर ३ गते पदस्थापनपत्र दिइएको थियो । तोकिएको विद्यालयमा जाँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय बानियाँ र प्रअ देवेन्द्र महर्जनले पत्र अस्विकार गरेको वाग्लेले दुखेसो पोखिन् । विद्यालय पुग्नेबित्तिकै प्रअले ‘आँखा कमजोर भएपछि कसरी पुस्तक हेर्नुहुन्छ ?, कसरी पढाउनुहुन्छ ?, कसरी परीक्षा कपी जाँच गर्नुहुन्छ ?’ जस्ता प्रश्न गरेका थिए । उनीसँग १० वर्षको शिक्षण अनुभव छ ।

नियुक्ति अस्विकार गरेपछि वाग्ले अपांगता सरोकारवालाहरूको शरणमा गइन् । ललितपुर नेत्रहीन संघका अध्यक्ष प्रताप विष्टका अनुसार विद्यालय दरबन्दी नै फिर्ता गर्ने तयारीमा जुटेको छ । समितिका अध्यक्ष बानियाँले दरबन्दी बढी भएर फिर्ता पठाएको बताए । भने, ‘दरबन्दी बढी भयो, त्यही भएर फिर्ता पठायौं ।’

ललितपुर शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बराल भने आफूहरूसँग कारबाहीको अधिकार नभएको बताउँछन् । ‘आयोगमा योग्यता देखाएर आएको व्यक्तिलाई पढाउन सक्दैन भन्नु ऐनविपरीतको हो, नियुक्ति देऊ भनेको छु, विद्यालयहरू मान्दैनन्,’ उनले भने, ‘पदस्थापना, तलब स्थानीय तहले नै दिने हो, कारबाही अधिकार पनि स्थानीय तहलाई नै हुन्छ ।’

प्रकाशित : पुस ४, २०७६ ०९:४३https://ekantipur.com/pradesh-3/2019/12/20/157681432153465843.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि