नेपाललाई जैविक मुलुक बनाउनोस् : पवन चाम्लिङ


गणेश राई
काठमाडौँ — सिक्किमका पूर्वमुख्यमन्त्री तथा विधानसभा सदस्य पवन चाम्लिङले नेपाललाई अर्गानिक (जैविक मुलुकका रूपमा विकास गर्न सुझाएका छन् ।
किरात राई यायोक्खाले किरात येले संवत् ५०८० का अवसरमा काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना तथा ‘यलम्बर स्मृति सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै चाम्लिङले नेपाललाई अर्गानिक मुलुक बनाउन विषादी प्रयोगमा प्रतिबन्ध लगाएर काम सुरु गर्न आग्रह गरे।

कार्यक्रममा नेपालका प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले २ लाख २२ हजार २ सय २२ रुपैयाँ राशिको ‘यलम्बर स्मृति सम्मान’ पूर्वमुख्यमन्त्री चाम्लिङलाई प्रदान गर। ‘हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा भारतको पहिलो जैविक राज्य सिक्किमजस्तै नेपाललाई पनि जैविक देश बनाउन सकिन्छ भन्नु भएको छ,’ सम्मान ग्रहण गरेपछि चाम्लिङले भने, ‘मैले २५ वर्षमा सिक्किम बनाएँ। म अहिले सत्ता बाहिर छु तर राजनीतिमै छु। यदि नेपाललाई अर्गानिक बनाउने उपायबारे बोलाएमा म आउन तयार छु।’

उनले जनताले लामो समयपछि सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीलाई अल्पमतमा पारेको उल्लेख गर्दै चाम्लिङले ४७ मिनेट लामो आफ्नो भाषणमा प्रधानमन्त्री मोदीको प्रशंसामा धेरै शब्द खर्चेका थिए। भारतको राजनीतिक वृत्तमा एसडीएफका विधानसभा सदस्यले पार्टी छाडेपछि चाम्लिङ प्रधानमन्त्री मोदी संवद्ध भारतीय जनता पार्टी (बीजेपी)मा विलय हुने मनस्थितिमा छन्। चाम्लिङ कुनै राजनीतिक उद्देश्यले नभई ‘चोखो मनले पितृभूमि नेपालमा सम्मान ग्रहण गर्न आएको’ बताए।

‘विकासशील मुलुकमा राजनीति सिद्धान्तभन्दा सौदाका लागि गरिन्छ,’ भारतको विधान सभामा आफू ज्येष्ठ सदस्य रहेको उल्लेख गर्दै उनले भने, ‘त्यसको सिकार भएको पीडित व्यक्ति हुँ। मैले भारतमा पाँचपटक मुख्यमन्त्रीको रेकर्ड बनाएको छु।’ विश्व राजनीतिक इतिहासमा कम्युनिस्ट शासकले मात्र लामो समयसम्म सत्ता चलाएको उल्लेख गर्दै आफू प्रजातान्त्रिक ढंगले सिक्किम राज्यको चौतर्फी विकास गरेको बताए। ‘सिक्किम सतप्रतिशत साक्षर र अनिकालमुक्त राज्य हो,’ उनले भने, ‘डेमोक्रेसीमा जनताले समान अधिकारका साथ समान जिम्मेवारी पनि पाउँछन्। अधिकार जसले बढी पाउँछ, उसैले बढी जिम्मेवारी वहन गर्छ।’ उनले आरक्षण पाउने समूहले अरुलाई दोष दिनेभन्दा आफ्नो कमजोरी औल्याउन जरुरी रहेको उल्लेख गरे।

पूर्वमुख्यमन्त्री चाम्लिङले नेपाल भ्रमण वर्षका क्रममा आफूले पनि १५ प्रतिशत छुट पाएको उल्लेख गर्दै यसलाई सफल बनाउनुपर्ने बताए। ‘नेपाललाई विश्वकै पहिलो अर्गानिक देश बनाउने हो भने सरकारले विषादी प्रतिबन्ध लगाउनु पर्छ,’ सुरुको आफ्नो भनाई दोहोर्‍याउँदै उनले भने, ‘नेपाल पर्यटकीय देश बन्नेछ। तपाईहरु नेपाल बनाउनुहोस्। हाम्रो साथ रहिरहनेछ।’

मुख्यमन्त्री राईले मुलुकले भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास सुरु गरेको उल्लेख गर्दै चाम्लिङको अनुभवबाट सिक्ने बताए। ‘नेपालले पहिलो पटक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ,’ राईले भने, ‘हाम्रो निम्ति संघीयता नयाँ हो। हामीसँग दुई वर्षको अनुभव छ। ताते गर्दैछौं। तपाईहरुको अनुभव लामो छ। यसरी प्रेरित र मार्गदर्शन गरेकोमा धन्यवाद छ।’ मुख्यमन्त्री राई आफूले सिक्किमको भ्रमण तथा विकासको अवलोकन गर्न बाँकी रहेको बताउँदै त्यहाँको उदाहरणीय कार्यको सिको गर्ने बताए।

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले किरात कुलमा जन्मिएर प्रवास भूमिमा सबभन्दा बढी समय मुख्यमन्त्री भएर विश्वकीर्तिमान कायम गरेका सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङलाई सम्मान गरिएको बताए। ‘नेपालको तत्कालीन राजनीतिक इतिहासमा पहिलो किरात हाङ यलम्बरको स्मृति सम्मान डा. पवन चाम्लिङलाई प्रदान गर्न पाउनु गौरवको विषय हो,’ अध्यक्ष राईले भने।

प्रकाशित : माघ १, २०७६ २०:५१https://ekantipur.com/news/2020/01/15/157909949697553169.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि