यलम्बरको १०० फिट अग्लो प्रतिमा बन्ने
आश्विन ११, २०७६ गणेश राई , डम्बरसिं राई (काठमाडौं) र (खोटाङ) — किरातकालका पहिलो शासक यलम्बर हाङको १०० फिट अग्लो प्रतिमा खोटाङमा निर्माण हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १४ बुइपामा यलम्बर प्रतिमा तथा पार्क निर्माण प्रक्रिया अघि बढाएको हो । त्यस निम्ति किरात राई यायोक्खाले प्रचलनमा रहेको यलम्बर हाङको परिमार्जित तस्बिर नगरपालिकालाई हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित समारोहमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले मेयर दीपनारायण रिजाललाई प्रतिमा निर्माणका निम्ति यलम्बर हाङको तस्बिर हस्तान्तरण गरेका हुन् । तीन दशकअघि इतिहास तथा संस्कृतिविद्हरूबीच भएको छलफलपछि यलम्बरको प्रारम्भिक स्केच कलाकार रतन राईले कोरेका हुन् । त्यसलाई कलाकार टेकबीर मुखियाले पूर्णरूप प्रदान गरेका हुन् । किरात राई, लिम्बु, याक्खा र सुनुवार जातिले यलम्बर आफ्नो पुर्खाका रुपमा लिने गरेका छन् । उक्त स्केचलाई तिनै जातिका सामाजिक संस्थाले प्रचलनमा ल्याएका छन् । त्यसैअनुसार प्रदेश नं.१ को विभिन्न भूभागमा यलम्बरको प्रतिम...