यलम्बरको १०० फिट अग्लो प्रतिमा बन्ने


गणेश राईडम्बरसिं राई
(काठमाडौं) र (खोटाङ) — किरातकालका पहिलो शासक यलम्बर हाङको १०० फिट अग्लो प्रतिमा खोटाङमा निर्माण हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १४ बुइपामा यलम्बर प्रतिमा तथा पार्क निर्माण प्रक्रिया अघि बढाएको हो । त्यस निम्ति किरात राई यायोक्खाले प्रचलनमा रहेको यलम्बर हाङको परिमार्जित तस्बिर नगरपालिकालाई हस्तान्तरण गरेको छ । 
शुक्रबार काठमाडौंमा आयोजित समारोहमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले मेयर दीपनारायण रिजाललाई प्रतिमा निर्माणका निम्ति यलम्बर हाङको तस्बिर हस्तान्तरण गरेका हुन् । तीन दशकअघि इतिहास तथा संस्कृतिविद्हरूबीच भएको छलफलपछि यलम्बरको प्रारम्भिक स्केच कलाकार रतन राईले कोरेका हुन् । त्यसलाई कलाकार टेकबीर मुखियाले पूर्णरूप प्रदान गरेका हुन् ।

किरात राई, लिम्बु, याक्खा र सुनुवार जातिले यलम्बर आफ्नो पुर्खाका रुपमा लिने गरेका छन् । उक्त स्केचलाई तिनै जातिका सामाजिक संस्थाले प्रचलनमा ल्याएका छन् । त्यसैअनुसार प्रदेश नं.१ को विभिन्न भूभागमा यलम्बरको प्रतिमा विस्तार गर्दैआएका छन् । खोटाङमा बन्न लागेको उक्त यलम्बरको प्रतिमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा अग्लो र पूर्णकदको हुनेछ ।

किरात राई यायोक्खा अध्यक्ष राईले माझकिरातमा बन्न लागेको यलम्बरको प्रतिमाले किरात इतिहासको जगेर्ना गर्नमा महत्वपूर्ण हुने बताए । ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले डेढ वर्षअघि नै यलम्बर हाङको प्रतिमा निर्माण गर्न प्रस्तावसहित यलम्बरको तस्बिरको माग गरेको हो,’ अध्यक्ष राईले भने, ‘यसअघि बनेको यलम्बरको तस्बिर ज्यादै बूढो देखियो । युद्ध लड्ने उमेर बूढो होइन युवा उमेरमै हो भन्ने चौतर्फी गुनासो आयो । त्यसैले पहिलेकै स्केचलाई लिएर कलाकार टेकबीर मुखियालाई फेरि युवा अवस्थाको राजा यलम्बर हाङको शासकीय तस्बिर बनाउन अनुरोध गर्‍यौं । त्यही तस्बिर परिमार्जनसहित प्रतिमा निर्माणका निम्ति मेयरलाई हस्तान्तरण गरेका छौं ।’

मेयर दीपनारायण रिजालले बुइपा गाविस छँदै तत्कालीन जनप्रतिनिधि, अगुवाले अहिलेको थलोमा यलम्बरको ६–७ फिटको यलम्बर हाङको प्रतिमासहित पार्क निर्माण गर्ने प्रस्ताव सारेको उल्लेख गरे । मेयर रिजालका अनुसार यलम्बर प्रतिमा र पार्क निर्माण कुल लागतमध्ये प्रदेश सरकारले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत व्यहोर्ने छ । निर्माणस्थल ३२ रोपनी क्षेत्रफलको सार्वजनिक जग्गा छ । ‘डिपिआरअनुसार पार्क, बगैंचा निर्माण कार्यमा १ करोड खर्च भइसकेको र सम्पन्न हुने क्रममा छ,’ मेयर रिजालले भने, ‘ढिलो गरी भर्खरै यलम्बर हाङको औपचारिक तस्बिर किरात राई यायोक्खाबाट प्राप्त गरेका छौं । अब यही असोजमा टेण्डर आह्वान हुनेछ । ढिलोमा तीन वर्षभित्र बनिसक्ने छ ।’

उपमेयर विनादेवी राईले ऐतिहासिक धरोहर बनाउन सीमित स्रोतका बाबजुद बृहत् कार्ययोजनाभित्र समेटेको बताइन् ।

इतिहासमा यलम्बर
इतिहासविद् प्राध्यापक डा. जगदीशचन्द्र रेग्मीका अनुसार नेपालको प्राचीन कालमा ३२ पुस्ता किरात राजाहरूको १९०३ वर्ष ८ महिना शासन गरेका थिए । ‘त्यसलाई इतिहासको कालगणनामा जोड्नु पर्दा राजा जयवर्माको मालिगाउँमा पाइएको सालिकको संवत् १०७ अथवा ई. १८५ लाई मिलन विन्दु मान्नुपर्ने हुन्छ,’ रेग्मीले गोपालराजवंशावलीको स्रोत उल्लेख गर्दै लेखेका छन्, ‘ई. १८५ लाई किरात राजाहरूको शासनको अन्त्यको विन्दु मानेर त्यसमा किरात राजाहरूको ज्ञात शासन वर्ष १९०३ वर्ष ८ महिना जोड्दा १७१८ वर्ष ८ महिना ई.पू.को मितिमा पुगिन्छ (१९०३।८–१८५१७१८।८) । यस हिसाबले ईस्वी पूर्व १७१८।८ मा पहिला नेपाली किरात राजा एलम् (यलम्बर)को शासन सुरु भएको मान्नुपर्छ ।’

यही यलम्बर शब्द किरात वर्गीय जातिहरूले नेपालको ऐतिहासिक कालका किरात राजवंशसित जातीय र भावनात्मक सम्बन्ध गाँसिएको रेग्मीले उल्लेख गरेका छन् । ‘संवत् इतिहासमा उल्लेख प्रथम किरात हाङ (राजा) यलम्बरको नाममा चलेको स्मारक संवत् हो,’ भनेका छन् । किरात समुदायले माघ १ गते किरात संवत्को नयाँ वर्ष मनाउँछन् । जसलाई किरात संवत् कलिगत आधारमा ५०७९ र हाङ यलम्बरलाई स्मारक संवत् मान्दा ३७९८ समाजमा दुई किसिमको संवचत प्रचलनमा छ ।

प्रकाशित : आश्विन ११, २०७६ १७:०३https://ekantipur.com/news/2019/09/28/156966952442823117.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि