वनकालीमा चिहानको समस्या


गणेश राई
काठमाडौँ — घटना–१ लोक सेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको भदौ २३ मा ८४ वर्षको उमेरमा निधन भयो । संखुवाभाका खाँदबारी–४ स्यामदाङ पाङका राईको अन्त्येष्टि किराती मुन्धुम विधिअनुसार पशुपति वनकाली जंगलमा समाधिस्थ गर्नुपर्थ्यो । तर समाधिस्थलमा ठाउँको अभाव खड्कियो । 
घटना–२
किरात समुदायका जोकोही पनि निधन भएपछि पशुपति जंगलमा लैजाने चलन छ । त्यहाँ चिहान खन्ने व्यक्तिलाई जानकारी दिएपछि उनीहरूले ठाउँ खोजेर खाल्डो खनिदिन्छन् । आपत्को बेला मृतक परिवार गरिब भए पनि चन्दा उठाएर समाधिस्थ गर्ने गरिएको छ । शवलाई वाग्मती पूर्वतर्फको जंगलमा पशुपति क्षेत्र विकास कोष तथा प्रहरी प्रशासनले ‘थाहा नपाए जसरी’ सम्म सुटुक्कै पुर्‍याइन्छ । यो क्रम दैनिकजसो निरन्तर छ ।

हिन्दु धर्मावलम्बीको पवित्र धार्मिक थलो पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा छ । सर्वोच्च अदालतले यस क्षेत्रमा ‘चिहान नलाउनू’ भन्ने आदेश जारी गरेको आधा दशक नाघेको छ । विकल्प नपाएपछि किरात धर्म मान्ने किरातीले सुटुक्क लास गाड्ने गरेका हुन् । क्रिस्चियन धर्मावलम्बीले लास गाड्ने र बाहिरबाट सिमेन्ट, कंक्रिट प्रयोग गरी ‘क्रस चिह्न’ ठड्याउने गरेपछि समस्या आएको हो । त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनअनुसार आदेश जारी भएको थियो ।

सरकार फेरिएसँगै हरेकपटक काठमाडौं उपत्यकामा रहेका किराती जाति तथा किरात धर्मावलम्बीको चिहानको समस्याबारे ध्यानाकर्षण गराउँदै आएको किरात समन्वय समितिका संयोजक रणवीर सुनुवार बताउँछन् । ‘पशुपतिनाथको वनकाली क्षेत्रमा चिहान बनाउने ठाउँ सबै भरिएका छन्,’ सुनुवार सेवा समाज केन्द्रीय कार्यसमितिका अध्यक्षसमेत रहेका उनले भने, ‘सरकारले हामीसित गरेको सहमति र सम्झौताको पालना हुने आशा गर्दागर्दै जुग बित्दै छ । हामी काठमाडौंमा रहेका कोही आफन्त बितेपछि सुटुक्कै वनकाली जंगलमा पुर्‍याउने र लासलाई गाड्ने गरेका छौं । सरकारलाई थाहा छ तर समस्या समाधानको विकल्प दिएको छैन ।’

चिहान लगाउने ठाउँको समस्याले शवलाई शव बाहनमा राखेर मूलथलो गाउँ नै पुर्‍याउने गरिएको समेत उनले जनाए ।
‘किरातकालदेखि नै पशुपति क्षेत्रमा किरातीले आफन्त बितेपछि चिहान बनाउने गरेका थिए,’ इतिहासविद् मञ्जुल याक्थुम्बा भन्छन्, ‘यो घटनाक्रम ३ हजार वर्ष पहिलेदेखि निरन्तर छ । सांस्कृतिक परम्परा ज्यादै संवेदनशील हुन्छ । हामी किरातले पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा रहेकाले त्यस थलोको ऐतिहासिक महत्त्व, प्राकृतिक स्वरूपलाई बिगार्न चाहेका होइनौं ।’ समय क्रममा काठमाडौं उपत्यकामा जनसंख्याको चाप बढेसँगै अनेकखाले समस्या थपिएको याक्थुबा उल्लेख गर्छन् ।

कोषले पुनर्निर्माण गरेको ३८ चिहान
पशुपति क्षेत्र विकास कोषले २०५५ सालमा वनकालीमा रहेका किरातीका चिहान भत्काएको थियो । जथाभावी चिहान भत्काइएपछि चार किरात संस्थाले किरात समाधिस्थल संरक्षण संघर्ष समिति गठन गरी संघर्षमा उत्रिएका थिए । किरात समन्वय समितिको तत्कालीन संयोजक तथा इतिहासविद् मञ्जुल याक्थुम्बा सम्झिन्छन्, ‘सरकारले माफी मागेर चिहान पुनर्निर्माण गर्नुपर्ने र हाम्रो परम्परालाई निरन्तरता दिन पाउनुपर्ने माग हामीले राख्यौं ।

अन्ततः माफी मगाएर तीनबुँदे समझदारी गरेका थियौं ।’ अन्तिम बुँदामा भनिएको छ, ‘पशुपति क्षेत्रको मृगस्थलीलाई समाधिस्थलको रूपमा प्रयोग गरी आएका सम्बन्धित समुदायका संस्थाहरू र श्री ५ को सरकारले ६ महिनाभित्र वैकल्पिक समाधिस्थलको व्यवस्था गर्ने छ,’ अन्तिम बुँदामा छ, ‘र तत्पश्चान पशुपति विकास क्षेत्रलाई यस प्रयोजनका लागि प्रयोग गर्ने काम बन्द गरिने छ । ’

वैकल्पिक जग्गाको माग
चार किरातजन्य संस्थाले सरकारसित समाधिस्थलका निम्ति वैकल्पिक जग्गाको माग गर्दै आएका छन् । २०६६ असार १६ मा पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा सुशील नाहाटा नियुक्त भएपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरी किरातीले चिहान लगाउन नपाउने फैसला गराएको किरात धर्मावलम्बीले बताउँदै आएका छन् ।

‘हामी परम्परागत संस्कार छाड्ने पक्षमा छैनौं,’ यायोक्खाका अध्यक्ष दिवस राई भन्छन्, ‘फैसलापछि औपचारिक रूपमा लास गाड्न निषेध गरे पनि हामी आफ्नै ढंगमा लास गाड्दै आएका छौं । संवेदनशील विषय भएकाले प्रशासन पनि मौन छ ।’ किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले भनिन्, ‘काठमाडौं उपत्यकामा कोही आफन्तको निधन भएपछि पशुपतिको जंगलमा लगेर समाधिस्थ गर्ने चलन थियो । अहिले ठाउँको अभावले गर्दा शवदाह गृहमा जलाउने गरिएको छ ।’

किरात याक्खा छुम्माका अध्यक्ष लीलबहादुर रोगु पशुपतिको जंगलमा अहिलेसम्म लास गाड्न रोकतोक नआएको बताए ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:३६https://ekantipur.com/national/2019/09/17/156868510711847766.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि