प्रदेश १ - साहित्यमय इलाम


विप्लव भट्टराई
(इलाम) — दुई दिने साहित्य सम्मेलन गर्ने तरखरमा रहेको इलाम सदरमुकाम साहित्यमय बनेको छ । शुक्रबार सुरु हुने सम्मेलनमा यहाँको पर्यटकीय गतिविधिलाई टेवा दिने उद्देश्यले फरक ढंगमा आयोजना हुँदैछ । महोत्सवमा रैथाने विषयवस्तु प्राथमिकतामा पर्ने आयोजकले जनाएको छ ।
नेपाली साहित्यसहित पर्यटन, राजनीति, संस्कृति, कलाशैलीलगायत अनेकन विधामा चल्ने वहस र प्रस्तुतिको केन्द्र विन्दुमा इलाम रहने छ । ‘महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विषयका उठान हुन्छन् तर केन्द्रमा इलामलाई राखेर साहित्यमार्फत् हरेक क्षेत्रलाई जोड्ने प्रयास रहनेछ,’ आयोजक इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले भने, ‘वैदेशिक व्यपारमा अब्बल चियालाई पर्यटन र साहित्य मिसाएर देश विदेशमा हरियाली छर्ने प्रयास हो ।’ यसो त चियाबाहेक इलाममा हेर्न, घुम्न र सुँघ्न अनेकन स्थान र विषय छन् । जसको चर्चा परिचर्चा कमै हुन्छ । यही महोत्सवमार्फत देश विदेशबाट भेलिने सयौं साहित्यकार र साहित्यप्रेमी मार्फत सिंगो इलामलाई भ्रमण वर्ष २०२० को गन्तव्य बनाउन पनि आयोजक प्रतिबद्ध देखिन्छ ।

रैथाने मुद्दाकै लागि विभिन्न विषयमा चल्ने बहस र प्रस्तुतिमा सबै सहजकर्ता इलामे माटोको सुगन्धमा हुर्किएकाहरू छन् । अनि सकृय सहभागिता जनाउने ७० प्रतिशत विज्ञहरू मोफसलका हुने छन् ।

साहित्य, राजनीति, पर्यटन, संस्कृति सवै चिजलाई जोडेर साझा नेपाल निर्माणका लागि महोत्सव अब्बल हुनेमा धेरै आशा गर्न सकिन्छ,’ साहित्यकार राजन मुकारुङले भने, ‘यहाँ छलफल हुने विभिन्न विधा र प्रसङ्गले एउटा अभूतपूर्व छाप बनाउन सक्छ ।’ साहित्यमा देखिएका फरक धार र आयामहरूको चर्चा, चलचित्रमा देखिएको उतारचढाव, राजनीतिमा देखिएका वितृष्णा र भरोषाका पाटाहरू, संस्कृतिमा देखिएका विविधता र विचित्रताहरूको साझा उठान हुने ठानिएको महोत्सवले सिङ्गो नेपाललाई जोड्दै सीमा बाहिरका नेपाली भाषीमाझ पनि गौरव बढाउन मद्दत गर्ने आयोजकको बुझाइ छ ।

‘पर्यटनको लागि साहित्य’ भन्ने नारा तय गरिएको महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरूले विभिन्न शीर्षकमा बहस गर्नेछन् । महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराई, कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, चिन्तक प्रदीप गिरि, चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री स्वस्तिमा खड्का, कवि श्रवण मुकारुङ, भूपाल राई, आख्यानकार राजन मुकारुङसहित अन्य ख्यातिप्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनितिज्ञलगायत दुई सयभन्दा बढीको सहभागिता रहनेछ । उनीहरूले विभिन्न विषयका १५ वटा फरक शेसनमा बहस तथा विमर्श गर्ने छन् ।प्रकाशित : आश्विन ३, २०७६ ०९:५०https://ekantipur.com/pradesh-1/2019/09/20/156895234976383135.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि