कोसेली - बैरागी काइँला मुन्धुमका अघिपछि
मुन्धुमप्रति मेरो चासो आरम्भमा साहित्यकारको हैसियतमा बढ्यो । बढ्दै जाँदा निकैपछि मात्र मैले मुन्धुमभित्रको लिम्बू जीवनदर्शनलाई हेर्न थालेको भन्दा हुन्छ । तर अझै पनि मलाई के लाग्छ भने मुन्धुमप्रतिको मेरो झुकाउ मानवशास्त्र तथा समाजशास्त्रझैँ ज्ञानका अनुशासनमा आधारित नभएर मुन्धुमभित्रको सुन्दर र प्रभावशाली काव्यात्मकताले वशीभूत भएर तथा लोपोन्मुख मुन्धुमको संरक्षण र संवर्द्धनका हेतुले हो । यिनै कुराले मैले आफ्नो जीवनका महत्त्वपूर्ण वर्षहरू मुन्धुमको संकलन, सम्पादन र नेपाली भाषामा अनुवाद गर्नमा खर्च गरेको छु ।

इमानसिंह चेम्जोङले संकलन, सम्पादन र अनुवाद गरेका किराँत मुन्धुम (किराँतको वेद, विसं २०१८) पुस्तक प्रकाशित भएर पढ्न पाएपछि लिम्बू भाषा, लिपि, साहित्य, संस्कृति र इतिहासका खोजीमा र संवर्द्धनमा लागेका ऋषितुल्य चेम्जोङबाट उत्प्रेरित भएर लागेको हुँ भन्दा अतिशयोक्ति हुँदैन ।
लिम्बू दैनिक जीवनमा मुन्धुम र अनुष्ठान
हामी लिम्बू जातिले घरमा पालेका सुँगुर वा कुखुरा खान परे फेदाङमा बोलाएर पूजा गरेपछि मात्र बलि दिएर खान्छौँ । उँधौली उँभौलीका छेकामा वर्षमा घटीमा एकपटक शिर उठाउने पूजा (मांगेन्ना) पनि गर्छौं । घरमा कुनै छोरीबुहारी दुई जीउकी भएमा दुःखकष्टबिना जायजन्म होस् भनेर कोखपूजा गर्छौं । तीन वर्षमा एकपटक कुलदेवताको पूजा भव्यताका साथ गर्छौं । त्यसरी नै पुर्खाहरूसँगको सायुज्य मिलनका लागि तीन वर्षमा एकपटक तङिसङ मुन्धुमको वाचन र अनुष्ठान पनि भव्यताका साथ गर्छौं ।
सुभ्यफाप्यका लागि घरभित्रका मंगलकारी देवीदेवताहरू (थेबा साम्माङ, नाहाङ्मा तथा दुङ्दुंगेतथा युमा साम्माङ) को नियमित पूजा र अनुष्ठान तथा नराम्रा वनका अनिष्टकारी देवीदेवताहरूका कोपभाजनबाट मुक्त रहनका लागि तिनलाई मन्साउने पूजाहरू गरिरहन्छौँ । एकै कुलवंशका लिम्बू परिवार मिलेर वर्षमा एकपटक घरबाट सुरु गरेर खोलासम्म पुगी आपसी वैरभाव र द्वेषजन्य व्यवहार सदाका लागि हटाउन गालीसराप बगाउने पूजा सामाजिक सद्भावको उत्सवका रूपमा गर्छौं । खेतीपातीमा आधारित जीवनयापन गर्न थालेका लिम्बू पुर्खाहरूले उहिलेदेखि गरिल्याएका ऋतुअनुसारका उँधौलीका अवसरमा चासोक (खेती उठाउने बेला, न्वाँगी पूजा) र उँभौलीका बेला यकवा (खेती लाउने बेला, धूलपूजा) पूजाहरू गरिल्याएका छौँ ।
माथि वर्णित यामअनुसारका तथा अन्य विविध पूजाअनुष्ठान गर्दाका बेला वाचन गरिने मौखिक पाठ, तिनका विषयवस्तु र अनुष्ठानका विधि अलग–अलग हुन्छन् ।
हाम्रा फेदाङ्माले पूजा गर्दा कण्ठाग्र फलाकेका वा गाएर ल्याएका विविध मुन्धुमको मौखिक पाठभित्र पाइने विविधता, भाषा, विम्ब, प्रतीक र तिनमा विद्यमान काव्यात्मक साहित्यबाट म वशीभूत भएको छु ।
मुन्धुम शब्द र अनेक अर्थहरू
दैनिक व्यवहारमा मुन्धुम शब्दलाई कथा, कुथुङ्ग्री, आख्यान, मिथक, पुराण, गाथा तथा शास्त्र बुझाउने अर्थमा प्रयोग गरिएको पाइन्छ । सामान्यतः सांस्कृतिक मूल्य र मान्यता मात्र नभएर उच्च धार्मिक महत्त्व पनि हुनाले मुन्धुम शब्दलाई विशेष गरेर श्रुति परम्परागत शास्त्रको अर्थमा लिइन्छ ।
मुन्धुम र मिथक
मुन्धुमलाई मिथक (कल्पनामा आधारित) पनि भनिन्छ । लोकवार्ताविद्हरूका अनुसार मिथक सुदूर अतीतमा भएका घटनावलीको विवरण हो । समय, तिथिमिति आज हाम्रा स्मरणमा नरहे तापनि ती घटनाहरू यथार्थ थिए भन्ने मानिन्छ । यसरी मिथकलाई मिथ्या भनेर अविश्वास गरिए पनि हामीले हाम्रा ती सुदूर अतीतमा भएका घटनावलीलाई तीभित्र निहित व्यञ्जना र लाक्षणिक अर्थहरूका आधारमा विश्वास गरिआएका छौँ ।
श्रुतिपरम्परा कि श्रुतिशास्त्र
प्राचीन समयदेखि गुरुपरम्पराले पुस्तान्तरण भइआएकाले मुन्धुमलाई लोकवार्ताविद्हरू श्रुतिपरम्परा भन्छन् । मुखमुखै भनिँदै आएकाले मुन्धुमलाई चलनचल्तीको भाषामा थुत्थुरे (थुतुनो मात्र चलाएर पाठ गरिने) शास्त्र भन्ने लोकोक्ति प्रचलित छ । लिम्बू जातीय पुरोहितहरू (फेदाङ्मा, साम्बा, येबा, येमाहरू) ले मुन्धुम मुखमुखै भनेर आजसम्म नै ल्याएका छन् । लिम्बू भाषामा मौखिक रूपमा भनिने थुत्थुरे मुन्धुमलाइथुङ्साप मुन्धुम (मौखिक शास्त्र) भनिन्छ ।
ब्रह्माण्डको उत्पत्तिदेखि चराचर जगत्को सृष्टिको विकासक्रममा मान्छेको सृष्टिपछि मानव कुल, वंश र परिवारको विकाससँगै मानव बसाइँ सराइ वा स्थान परिवर्तनका साथै मानव समाजको उत्थान र पतनको विवरण विविध गाथा, किंवदन्तीमा जीवित राखेर विगतका गौरव सम्झाउने श्रुति परम्पराका रूपमा जीवित मुन्धुमको पाठ प्राचीन र अलिखित इतिहास पनि हो ।
मुन्धुमको संरचना र काव्यात्मक तत्त्व
मुन्धुमको आफ्नै प्रकारको संरचनाको शैली छ । यसमा वर्णित आख्यानको विकास क्रमबद्ध र विशद रूपमा अर्थात् क्रमविकासको सिद्धान्तमा विकसित भएको भान हुन्छ ।
सुदूर अतीतदेखि श्रुतिपरम्परामा जीवित मुन्धुम गेयात्मक वा पद्यात्मक हुन्छ । मुन्धुमभित्र वर्णित सृष्टिको कथा, मान्छेको उत्थान र पतनका आख्यान (मिथक), कल्याणकारी र अनिष्टकारी पारलौकिक शक्ति (देवीदेवता, भूतप्रेतादि) हरूको आख्यान गायन र वाचन गर्ने अलगअलग परिपाटी, शैली, छन्द र लय हुन्छन् । गायन गरिने मुन्धुममा विषयवस्तु तथा प्रसंगअनुसार उठानदेखि बैठानसम्म भिन्न–भिन्न शैली र छन्द प्रयोग हुन्छन् । अर्थलाई गम्भीरता दिनु र मिठास प्रदान गर्नु गायनवाचनको बीचबीचमा पदहरूको उचित पुनरावृत्ति, अलंकार र उपमाको सार्थक प्रयोगले मुन्धुमलाई उच्चकोटीको काव्य साहित्य बनाएको छ ।
त्यति मात्र नभएर प्रसंग र विषयअनुसार कतै हास्यरसले पूर्ण अभिनयसहित गद्यात्मक शैली, कतै काव्यात्मक संवादको शैली, कतै सुन्दर अभिनयसहितको नृत्य, गायन र वाचनले युक्त मुन्धुमी साहित्य लोकनाटकीय तत्त्वले भरिपूर्ण हुन्छ ।
मुन्धुम र प्रकृतिसँगको घनिष्ठता
लिम्बूका पुर्खाको प्रकृति र वातावरणसँगको तादात्म्य र घनिष्ठता मुन्धुमले देखाउँछ । मानव पुर्खाहरूको विभिन्न दिशामा बसाइँ सराइका क्रममा तिनले पार गरेका मार्गका चित्र, चर्चेका र भोगेका भूमिको भौगोलिक प्रकृति आदिको मनोरम विवरण मुन्धुममा गरिन्छ । मानव जातिले आर्जेको वनजंगल, पशुपन्छी, वनस्पति, फलफूल, कन्दमूलसम्बन्धी अद्भुत ज्ञानको विवरणले भरिएको हुन्छ मुन्धुम ।
मानवको उत्तरजीवन (सर्वाइवल) का लागि वनस्पति, जलचर, कीटपतंग, पशुपन्छी र वातावरण महत्त्वपूर्ण हुन्छन् । तिनका मानवमैत्री र मानवविरोधी स्वभाव, विशेषता, सीप र गुणहरूबारे मानवजातिले आफ्नो ‘सर्वाइवल’ का लागि आर्जेको अत्यन्त उपयोगी अनुभवजन्य ज्ञानको सारसंग्रह मुन्धुममा पाइन्छ ।
मानिसको दुःखान्त र मुक्तिको युक्ति
मुन्धुमअनुसार सृष्टिको क्रम विकासको अन्तिम कडी मानिसको सृष्टि हो । तर मानिस नश्वर चोलाको हुन पुगेको दुःखद घटनापछि मानिसलई धरती नामको विशेष स्थितिमा एक्लो छोडेर असन्तुष्ट सृष्टिकर्ता (ईश्वर) स्वयम् कालको चक्र (इनुनु इमिलुङ् इनुनु इलुङ्सुम्) मा अदृश्य हुन बाध्य भयो । त्यसपछि केही नजान्ने (थेमेन्निमा सा),केही नदेख्ने (थेमेन्धा सा) र नबुझ्ने (थेमेल्ले सा) असहाय भएको एक्लो मानिसका लागि सृष्टिकर्ता ईश्वर अज्ञात, जानेर नजानिने (मेन्निमाङ) र आँखाले देख्न नसकिने (मेन्धामाङ) सत्ता भयो । मानव हुनुको दुःखान्त यहीँबाट सुरु भयो ।
मानव जीवनको त्रासदी
यसरी आइलागेको त्रासदीको चपेटामा मानिसले अनेक आरोह–अवरोह बेहोर्नुपरेको छ । अज्ञानता र प्राकृतिक विपद्सँगसँगै मानवसमाज, जाति, कुलवंश र पारिवारिक सम्बन्धको उद्भव र विकासक्रममा भएका समीकरणमा फेरबदलले ‘सर्वाइबल’ का लागि मान्छेले गरेको प्रयत्न र संघर्षको क्रममा पारिवारिक र सामाजिक अस्वस्थ प्रतिद्वन्द्विता, आँखी, डाह, ईर्ष्या, लोभलालच, व्यभिचार, रिस र क्रोधजस्ता भावनाले समाज, कुलवंश तथा परिवार असुरक्षित र अशान्त भयो । नकारात्मक गुणहरूको समुद्रमा आकण्ठ डुब्न पुग्यो मानवजीवन । तर अब यी सबै मानिसको आफ्नै कर्मका फल हुनाले यसका लागि उत्तरदायी मानिस नै हुने भयो ।
मानवको अस्तित्वमा आइलागेको त्रासद् संकटहरूबाट मानव अस्तित्व सुरक्षित राख्न मान्छे आफैंले प्रयत्न गर्नुपर्ने भयो । संकटहरूबाट उन्मुक्तिको उपायको खोजीमा मान्छेले पाएको मार्ग भनेको सकारात्मक मूल्य र मान्यतामा आधारित सदाचारको समष्टि ज्ञानको संग्रह मुन्धुमको निर्माण भयो । त्यति मात्र नभएर ईश्वर तथा जीवन र जगत्सँग सम्बन्धित रहस्यबारेमा मान्छेको कौतूहलपूर्ण जिज्ञासाबाट जन्मेका कठिनतर प्रश्नहरूका उत्तरको खोजीमा आदिमकालदेखि लिम्बू जातिले मार्गदर्शन बनाएर ल्याएको आस्था र विश्वासहरूको प्रणाली र जीवनदर्शन नै मुन्धुम हो ।
मुन्धुममा चोत्लुङ वा मोक्ष
मुन्धुमअनुसार ईश्वर स्वयंले पनि टार्न नसकेको जीवनको सत्य भनेको कालको चक्र (इनुनु इलुङ्सुम) अथवा मृत्यु हो । तर मृत्युलाई असल कर्मले पराजित गर्न सक्छन् । मान्छेको जीवनमा आइलागेको यही दुःखान्त वा त्रासदी (ट्रेजेडी) जस्तो संकटबाट मुक्त भएर मान्छे हुनुको गौरव र अर्थ बचाउन असल कर्मको दिशामा उसको प्रयत्नको आख्यान नै आजको मान्छेको यथार्थ हो ।
सत् छ सुन्दरै, सुन्दरै छ सत्
सृष्टिको प्रारम्भ गर्दाकै क्षणदेखि ईश्वरले सृष्टिको परिपूर्णता नै सुन्दरता हो भनेर भाव व्यक्त गरेका छन् । केही नभएको महाशून्यबाट सृष्टिकार्य जारी गरिरहँदा ‘सृष्टि सुहाएन नि, सुहाएन नि । राम्रो देखिएन नि, राम्रो देखिएन नि’ भन्दै ईश्वर स्वयं विरह र वेदनाले व्याकुल भएको वर्णन लिम्बू मुन्धुममा मात्र पाइन्छ । मान्छेको सृष्टिपछि सृष्टिकार्यले पूर्णता पाएर सुन्दर देखिएको अनुभूतिले ईश्वर सन्तुष्ट भए । हुन पनि अपूर्णता सधैँ असुन्दर हुन्छ र परिपूर्णता सदा सुन्दर हुन्छ । त्यसैले सम्पूर्ण हुन सकेको सृष्टि स्थिति मात्र सुन्दर हुनाले सत्य पनि हुन्छ । अर्को शब्दमा सुन्दर नै पूर्ण हो र सत्य हो । हुन पनि कविहरू (जोन किट्स, महाकवि लक्ष्मीप्रसाद देवकोटा) का अनुसार ‘सत् छ सुन्दरै, सुन्दरै छ सत्’ ।
मुन्धुम र अमूर्त सम्पदा
मानव उत्तरजीवनका लागि हाम्रा पुर्खाहरूले अलौकिक, आधिदैविक शक्ति र प्राकृतिक प्रतिकूलतासँग गरेका संघर्ष, तिनका शूरवीरता र मानवोचित कर्तव्याकर्तव्यका गाथा, देवी–देवताका प्रकल्पना र धार्मिक आस्थाका मिथकहरू, इतिहासको जन्मभन्दा सुदूर अतीतमा भएका घटनाका श्रुति परम्परागत दस्तावेज, पुर्खाले आर्जेको ज्ञानले समृद्ध मुन्धुमको अमूर्त सम्पदाका रूपमा ठूलो महत्त्व छ ।
लिम्बू जातिको साझा जातीय अनुभवजन्य ज्ञानको पुञ्ज श्रुतिपरम्परागत मुन्धुम हो । मानिस (लिम्बू) जातिले समयक्रममा सभ्यता र संस्कृतिको क्षेत्रमा उपलब्ध गरेका उच्चतम उपलब्धिहरू श्रुतिपरम्परा वा मुन्धुमभित्रका लोककथा, लोकगीत, मिथक र तिनले व्यवस्थित र निर्देशित गरेको थिति, नीति र चालचलनजस्ता धार्मिक, आध्यात्मिक र नैतिक मूल्यमान्यता र जीवनदर्शन हाम्रा सांस्कृतिक सम्पदा हुन् ।
मानिसले अन्तरमनबाट कलह, झगडा, युद्ध र विनाश निम्त्याउने रिस र इबी, आँखी र डाह, लोभ र लालच अनि छलकपटजस्ता मानवताविरोधी गुणहरूको समूल विनाश गर्नुपर्छ । हाम्रा विश्वास र आस्थाहरू मात्र असल भएर हुँदैन, व्यावहारिक जीवनमा तिनको पालना हुनुपर्छ । सम्पूर्ण स्थावर र जंगम, वनस्पति, पशुपन्छी र मानिसको सृष्टिपछि मात्र परिपूर्ण भएर सुन्दर हुन सकेको हो, यो पृथ्वी । यो जगत् मानिसको मात्र पेवा सम्पत्ति होइन । पृथ्वी सम्पूर्ण चराचर जगत् र प्रकृतिकै साझा सम्पत्ति हो ।
सबैको उत्तरजीवन (सर्वाइवल) भनेको नै मानिसको उत्तरजीवन (सर्वाइवल) हो । त्यसैले पृथ्वीको वातावरण र प्रकृतिको संरक्षण मानिसको उत्तरजीवनका लागि अनिवार्य सर्त हुन्छ । सुन्दर र परिपूर्ण संसारको निर्माणका लागि मानिसले जुनी पाएको हो भन्ने हाम्रा पुर्खाहरूको सामूहिक अनुभवजन्य ज्ञान नै हाम्रो जीवनदर्शन हो । मुन्धुमबाट हामीले पाएको यही ज्ञानलाई मानिसलगायत यो जगत्को भलाइका लागि उपयोग गरौँ । यसरी हामी चोतलुङ (सिद्धिस्थल) को आरोहणमा सफलता पाएर पुर्खाहरूसँग सायुज्यमा पुग्दछौँ ।
अन्तमा,
एक व्यक्तिले देखेको बुझेको संसार र सामूहिक रूपमा बुझिएको संसारमा विराट् अन्तर हुन्छ । सुदूर अतीतदेखिका हाम्रा मानव पुर्खाका सामूहिक अनुभव र ज्ञानको सारसंग्रह मुन्धुम आजको एकजना स्रष्टाव्यक्तिको काव्य सृजना–कर्मभन्दा महान् हुन्छ । साझा अनुभव र बुझाइले आर्जित सामूहिक ज्ञान नै मुन्धुम हुनाले लिम्बू समुदायलाई यसले एकापसमा बलियोसँग आबद्ध राखेको छ ।
आधुनिक समयमा शिक्षा, विज्ञान, प्रविधि, बसाइँसराइ, मिश्रित बसोबास, आधुनिकता र भूमण्डलीकरणको निरन्तर आक्रमणले अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको सामूहिक बुझाइ र ज्ञानको स्रोत मुन्धुम संकटग्रस्त छ ।
(यस वर्ष जगदम्बाश्री पुरस्कारबाट विभूषित कवि काइँलाको विद्वत् प्रवचनबाट सम्पादित अंश)
प्रकाशित : आश्विन ४, २०७६ ०९:५८https://ekantipur.com/koseli/2019/09/21/156903921189139788.htm
Comments
Post a Comment