गुरुणां गुरु - प्राध्यापक बालकृष्ण पोखरेल
अन्नपूर्ण समाज १३ फागुन २०७५ ०७:०६:०० 120 SHARES प्रा.डा. माधवप्रसाद पोखरेल, भाषाविद् भाषाविद् एवं प्राध्यापक बालकृष्ण पोखरेल नेपाली भाषा पढ्ने सबै विद्यार्थीका र गुरुका पनि गुरु थिए। भाषाविद् चूडामणि बन्धुका पनि गुरु हुन्, उनी। त्यसैले त उनलाई भनिन्थ्यो, ‘गुरुणां गुरु।’ उनी मेरा पनि आदरणीय भतिजा पर्छन्। त्यही धरोहर अब ढलेको छ। सर्वमान्य गुरु आइतबारदेखि हामीमाझ छैनन्। भारतको बनारसबाट २०१३ सालमा पहिलो पटक निस्किएको ‘नौलो पाइलो’ पत्रिकाको सम्पादक रहेका बेला पोखरेलले झर्राेवादी आन्दोलन थालेका थिए। त्यति बेला उनलाई सघाउनेहरूमा बल्लभमणि दाहाल, कोषराज रेग्मी, ताना शर्मा, चूडामणि रेग्मी आदि थिए। झर्राेवादी आन्दोलन सुरु गर्नुमा ‘नौलो पाइलो’ पत्रिकाको विशेष योगदान छ। त्यसको सुरुवात गर्ने र सम्पादकीय नेतृत्व गरेका पोखरेलको पनि यसमा योगदान नहुने कुरै भएन। हुन त त्यसअघि पनि महानन्द सापकोटा झर्राेवादी लेखनमा सक्रिय थिए। तर उनी आन्दोलनमा लागेका थिएनन्। तीन किसिमले नेपाली भाषामा आक्रमण भयो अर्थात...