सम्पादकीय - भाषा अन्वेषकको सम्झना

काठमाडौँ — प्राध्यापक बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा निधन भएसँगै भाषाविज्ञान र खस इतिहासका क्षेत्रमा शून्यता छाएको छ । कुनै विषयमा दीर्घ सेवा गरेको कोही निष्ठावान् नागरिक छ भने राज्यले पनि सम्झिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै उनको पार्थिव शरीरमा एक नम्बर प्रदेश सरकारका तर्फबाट राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गरियो । विराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दियो । 
भाषावैज्ञानिक पोखरेलले २०१९ सालमा त्रिभुवन विश्वविद्यालयमा पढाउन थालेका थिए, गृह नगर फर्केर अवकाश पाउनु अघिसम्म विराटनगरकै महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पसमा भाषाविज्ञान पढाइरहे । १४/१५ वर्षमै उपन्यास, खण्डकाव्य, कथा लेख्न थालेका पोखरेल बनारस पढ्दाताका चूडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दाहाल, तारानाथ शर्माका सहपाठी थिए ।

उनीहरूले संखुवासभाको चैनपुरबाट नेपाली झर्रोवादी आन्दोलन सुरु गरे जसको अगुवाइ पोखरेलले गरे । आन्दोलनले नेपाली भाषालाई सरलीकृत गर्ने क्रममा महत्त्वपूर्ण भूमिका खेल्यो । पछिल्लो समय त्यसमा आएको विसंगतिको उनले विरोध गरे । लेख्य भाषाको स्वरूप बिगार्नु झर्रोवादी आन्दोलन होइन भन्ने विचार राखे ।

पोखरेलमा एकै समय तीन व्यक्तित्व प्रकट भए : भाषाशास्त्री, साहित्यकार र अनुसन्धाता/अन्वेषक । उपन्यास, समालोचना, कथा, कविता, नाटक, निबन्ध विधामा कलम चलाएका उनका साहित्य सिर्जनामा विभिन्न उपनाम भेटिन्छन् । गढतिरे साहिँलो, केकेमनुक्च्यो पोखरेल, रूपावासी, वसन्त, वत्सल, लक्ष्मीविलास पाध्या, हिमालपानेजस्ता नामबाट उनले रचना गरे । पाठकसित हिमचिम बढाए ।
उनको ‘नेपाली भाषा र साहित्य’ ले २०२१ सालमा मदन पुरस्कार प्राप्त गर्‍यो ।

उनी भाषा विज्ञानमा स्नातकोत्तर गर्ने सम्भवत: पहिलो नेपाली मात्र थिएनन्, नेपाली भाषाका भाषिकाहरूको प्रामाणिक अध्ययन गर्ने पहिलो व्यक्ति पनि थिए भनिन्छ । नेपाली भाषाको अध्ययनमा उनले पर पश्चिमा र वर पश्चिमाको वर्गीकरण गरे । यो भाषाको वैज्ञानिक अध्ययन, अनुसन्धान उनले नै अघि बढाएका हुन् ।

२०३६ देखि एक कार्यकाल नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहेका बेला उनकै नेतृत्वमा बृहत् नेपाली शब्दकोश निर्माण सुरु भयो । २० वर्ष लगाएर बृहत् नेपाली–अंग्रेजी शब्दकोश लेखेर भाषा र व्याकरणमा उल्लेखनीय योगदान दिए । त्यससँगै उनको परिचय खस जातिसँग जोडियो । उनले बाहुन, क्षत्री/आर्य जातिको नालीबेली खोजे। आर्यमाथि दीर्घ अध्ययन, अनुसन्धानपछि ‘खस जातिको इतिहास’ लेखे ।

पोखरेलले व्यापक सन्दर्भमा खस जातिलाई हेरेका छन् । खस जातिको अस्तित्व खोजी गरेका छन् । खस जाति प्रशस्त भएको ठाउँ कश्मीर थियो । त्यसकारण त्यसलाई खश्मीर भनिन्थ्यो । खश्मीरका खस जातिले शासनमा कमजोर हुँदा अस्तित्व बचाउन सकेनन् । ताक्ला मकान, तरिम उपत्यका, बडा खसानजस्ता क्षेत्र अहिले तिब्बतमा पर्छन् । ती क्षेत्रका खसहरू हराएर गए । अफगानिस्तानमा पनि थिए । ती पनि हराए । पाकिस्तानस्थित सिन्धु क्षेत्रका खस पनि हराए । नेपालमा संख्या पर्याप्त थियो । शक्तिशाली थिए । शासन, प्रशासनमा रहे । उनीहरूको सभ्यताले निरन्तरता पायो ।

खसबारे जान्न–बुझ्न र तिनको सभ्यता पहिल्याउने दिशामा पोखरेलको पुस्तक बलियो सन्दर्भग्रन्थ हो । बेबिलोनदेखि नेपालसम्मका खसहरूको यात्रा र नेपाल तथा छेउछाउका करिब साढे ३ हजार वर्षको खसहरूको एउटा लिखत उनको विरासत हो ।

ज्ञानीहरू बिते पनि ज्ञान सर्दै जान्छ । तिनको योगदान समाजले सम्झिरहन्छ । नेपाली भाषा–साहित्यका विराट् व्यक्तित्व पोखरेल पनि लामो समय सम्झिइरहनेछन् ।प्रकाशित : फाल्गुन १४, २०७५ ०८:१६https://www.kantipurdaily.com/opinion/2019/02/26/155114820118718391.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि