प्रदेश १ - भोजपुरे खुकुरी उद्योग संकटमा

एलिसा श्रेष्ठ
भोजपुुर — प्रसिद्ध भोजपुरे खुकुरी उत्पादन कच्चापदार्थ अभावमा प्रभावित भएको छ । वन ऐनले खुला रूपमा काठ, कोइलाजस्ता वनपैदावारमा कडाइ गर्दा कच्चापदार्थ सहज रूपले पाउन छोडिएको छ । 
भोजपुर सदरमुकामस्थित एक पसलमा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । तस्बिर : एलिसा/कान्तिपुर
विदेशी मुद्रामा पनि राम्रो आम्दानीको स्रोत बनेको भोजपुरे खुकुरीको माग धेरै भए पनि पर्याप्त कच्चापदार्थको कमीले गर्दा माग अनुसारको उत्पादन धान्न नसकिएको खुकुरी उद्यमी गणेश गजमेरले बताए । ‘महिनामा ५ सयदेखि २ हजारसम्म खुकुरीको माग हुने गरेको छ । तर कच्चापदार्थ अभावले खुकुरी उत्पादन गर्न सकिएको छैन’ उनले भने, ‘वनले वनपैदावारमा लगाएको कडा ऐनले गर्दा कोइला र काठ पनि कम आउन थालेपछि निकै समस्या भएको छ ।’

जिल्लाका सदरमुकाम, कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दावा, तिम्मा, दिङ्ला, देउराली, जरायोटार लगायत ३५ बढी स्थानहरूमा भोजपुरे खुकुरी बनाइन्छ । सदरमुकामभित्र पनि दुईवटा खुकुरी बनाउने आरन उद्योग छन् । अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएको भोजपुरे खुकुरी वनको कडा कानुनले ओझेलमा परेको अर्का खुकुरी उद्यमी राजन विश्वकर्माले सुनाए । उनले भने, ‘पहिले जस्तो सामुदायिक वनहरूले पनि सहजै रूख काट्न, निकाल्न दिंदैन । रूख नै काट्न नदिएपछि खुकुरी बनाउने कोइला, बिंडका लागि काठ कहाँबाट ल्याउने ।’

पञ्चायतकालदेखि बहुदलसम्म भोजपुरे खुकुरी धरान, विराटनगर, काठमाडौं लगायत भारत, चीन, बंगलादेश, पाकिस्तान, ब्रुनाई, सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायत लगायतका मुलुकसम्म लाखौंको मूल्यमा निर्यात हुन्थ्यो । तर पछिल्लो समय खुकुरी बनाउने पेसाप्रति हिचकिचाहट मान्ने, वैदेशिक रोजगारको मोह र कच्चापदार्थको कमीले खुकुरी बनाउने दक्ष कालीगढ पनि पाइन छाडेको भोजपुर नगरपालिका भैंसीपंखाका खुकुरी उद्यमी घनश्याम विश्वकर्माले सुनाए ।

‘आरनमा बसेर खुकुरीको काम गाह्रो र फोहोरी हुने भएकाले यो पेसा गर्ने युवाहरू विदेश पलायन भएर गए ।’ उनले थपे, ‘एक त वनको कडा ऐनले चाहेजति कोइला र काठ पाइन्न । अर्कोतिर काम गर्ने कालीगढ पनि पाइन छाड्यो । कालीगढ भेटिहाले पनि टिकाउ हुने खालको भेटिंदैनन् ।’ छिमेकी मुलुक चीन र भारतबाट माग हुने गरे पनि राज्यबाटै खुला व्यापारिक नीति नहुँदा निकासीमा कमी आएको उद्यमी हिरा श्रेष्ठ बताउँछन् ।

अन्तर्राष्ट्रियस्तरमा राज्यबाटै व्यापारिक कूटनीतिक सम्झौता हुन नसकेको सुनाउँदै श्रेष्ठले भने, ‘राज्यले खुकुरी उद्योगलाई प्रोत्साहन दिने किसिमको न कुनै नीति नै बनाएको छ न त व्यावसायिक ढंगको उद्योगधन्दा नै खोलिदिएको छ । सिपमूलक ढंगबाट खुकुरीलाई व्यावसायिक बनाउन सके देशभित्रै हजारौं बेरोजगार युवालाई रोजगारको ढोका खुल्थ्यो ।’

उनका अनुसार चीन र भारतमा भाला, तरबार जस्ता हातहतियारलाई वैधता दिंदा नेपाली खुकुरीलाई अवैध भन्दै रोक लगाएको कारण पनि उत्पादित भोजपुरे खुकुरी बाहिर निर्यात हुन नसकेको बताए । भोजपुरे खुकुरीले प्रसिद्ध छ । पछिल्लो समय भोजपुरे खुकुरीले महत्व पाउँदै गएको छ । दिनदिनै लोप हुँदै पनि गइरहेको छ । प्रयोग गर्ने चलन र उद्देश्य परिवर्तन भएको छ । पहिले यहाँका खुकुरी घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुन्थे ।

अहिले उपहार र सजावटका लागि प्रयोग गर्ने चलन बढेको छ । ४ दशकयता भोजपुरे चिनोका रूपमा खुकुरीको महत्व बढेको छ । यहाँ उत्पादित ८० प्रतिशत खुकुरी सजावट र उपहारका लागि प्रयोग हुन्छ । बाँकी २० प्रतिशत मात्रै घरायसी औजारका रूपमा प्रयोग हुने गरेको उद्यमीहरू बताउँछन् । विशेषगरेर जिल्लाबाहिरबाट सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाका लागि आएका कर्मचारीले गृहजिल्ला फर्कंदा चिनारीस्वरूप लैजान्छन् खुकुरी ।

उच्च ओहदाका व्यक्तिलाई जिल्ला आउँदा या बिदाइ गर्दा पनि भोजपुरे चिनोका रूपमा यही चिज उपहार दिइन्छ । १९६५ सालबाटै भोजपुरमा खुकुरी बन्न थाले पनि भोजपुरे खुकुरी २०२७ सालमा तत्कालीन राजा महेन्द्र शाह राजकीय भ्रमणमा भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंगबहादुर विश्वकर्मा ‘सिने’ ले राजालाई भोजपुरे खुकुरी उपहार स्वरूप दिएका थिए ।

त्यसपछि उनको खुकुरी बनाउने कौशलबाट प्रभावित भएर राजा महेन्द्रले त्यसबेलाको एक हजार रुपैयाँ उनलाई बक्सिस स्वरूप दिएका थिए । त्यसै समयदेखि भोजपुरे खुकुरीले विश्वबजारमा लोकप्रियता पाएको स्थानीय कथन छ ।

भोजपुरमा बुुदुने, सिरुपाते, बाँसपाते किसिमका खुकुरीहरू निकै चल्तीमा छन् । यहाँ मुख्य गरेर ३ प्रकारका बुदुना, सिरुपाते र बासपाँते खुकुरी अत्यधिक किनबेच हुन्छ । बुदुना मोटो र फराकिलो हुन्छ । सिरुपाते सिरुको पात आकारको पातलो हुन्छ । बाँसपाते बाँसको पातजस्तै, सिरुपातेभन्दा केही मात्रामा बाक्लो हुन्छ । सिरुपाते र बाँसपाते सजाउन, उपहारका रूपमा आदानप्रदानका लागि प्रयोग हुन्छ । यहाँ ४ इन्चदेखि दुई फिटसम्मका खुकुरी उत्पादन हुन्छन् ।

आकर्षक बुट्टाले देशविदेशमा चर्चा बटुलेको भोजपुरे खुकुरी धरान, उदयपुर, खाँदबारी, काठमाडौं हुँदै बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, इटाली, स्पेन लगायत पश्चिमा युरोपेली मुलुकहरूमा मायाको चिनो, सजावटको लागि लगिने गरिन्छ । छिमेकी मुलुक भारत, चीन, हङकङ, सिंगापुर, बहराइन, जापान, कोरियातिर पनि राम्रै निकासी हुने गरेको छ ।

कडा कानुनका कारण खाडी अरेबियन मुलुकहरूमा हातहतियारको रूपमा लिइने नेपाली खुकुरीहरू खुला रूपमा लान नमिल्ने व्यवस्था भए पनि सालका काठबाट निर्मित सजावट काठे खुकुरीहरू चिनो स्वरूप लाने गरिएको अर्का खुकुरी उद्यमी दिनेश गजमेरको भनाइ छ । उनले सरकारले पनि खुकुरी उद्यमीलाई खुकुरी बनाउन चाहिने ग्लेन्डर, मोटरजस्ता मेसिनरी सामानमा ८० प्रतिशत सहुलियत अनुदानले पनि उद्यमीहरूलाई निकै सहज भने तुल्याएको बताए ।प्रकाशित : फाल्गुन १४, २०७५ ०९:४४https://www.kantipurdaily.com/pradesh-1/2019/02/26/15511535838967556.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि