कोसेली : हराउँदै मातृभाषा, जोगाउँदै जर्ज !

 वैशाख २०, २०८२

Losing the mother tongue, saving George!
  • मातृभाषाको पितृ बुझाउने जर्ज, जो विदेश बसेर गरिरहेका छन्- नेपालको मातृभाषा–कर्म 

तेह्रथुमको फेदाप क्षेत्रमा बोलिने लिम्बू भाषाको व्याकरण पुस्तक ‘अ ग्रामर अफ लिम्बू’ (बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दी ओल्ड लिम्बू हर्ट ल्यान्ड) सार्वजनिक भएको छ । ४ दशक लामो खोज–अनुसन्धानबाट किताब तयार पारेका हुन्– स्विट्जरल्यान्डको युनिभर्सिटी अफ बेर्नका अवकाशप्राप्त प्रोफेसर जर्ज भान ड्रिमले ।

हुन त यो सरकारहरूले गर्नुपर्ने काम हो, जस्तो विश्वविद्यालयहरू, प्रज्ञा प्रतिष्ठान । तर, गर्नुपर्नेले काम गरिदिएको भए देशको दशा किन पो यस्तो हुँदो हो ?

त्यसैले त आउनुपर्‍यो सात समुद्रपारिबाट जर्ज भान ड्रिम (हरू), जसले यस्ता अमूल्य काम वर्षौं लगाएर निःशुल्क गरिरहेका छन् । (हुन त डच नागरिक उनको नामको शुद्ध उच्चारण हुन्छ– सोर्स फन द्रिम । तर, विश्वभरि भाषाको साम्राज्य खडा गरेको अंग्रेजीले नामको उच्चारण ‘जर्ज भान ड्रिम’ बनाइदियो/बुझाइदियो ।

कसरी पुगे फेदाप ?

नेदरल्यान्ड्समा जन्मिएका (अहिले स्विट्जरल्यान्ड बसाइँ सरेका) जर्जको उच्च शिक्षा नेदरल्यान्ड्स र अमेरिकामा भयो । नेदरल्यान्ड्समा जीव विज्ञान पढिरहेका बेला एक सेमेस्टरको छुट्टी लिएर उनी टर्की, इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारत पुगे ।

त्यसअघि प्रावि तह पूरा गरेपछि ११ वर्षको उमेरमा बेलायत भ्रमणमा गएका बेला वेद, उपनिषद्जस्ता ग्रन्थ, त्यहाँ उल्लिखित कथा र सन्दर्भ अनि रविशंकर, अलि अकबर खान, महापुरुष मिश्रजस्ता शास्त्रीय संगीतका धुरन्धरहरूको सुर र तालले उनलाई त्यता तानेको थियो ।

त्यही आकर्षणले उनी १८ वर्षको हुँदै भारतको महाबलिपुरमलगायत विभिन्न सहर तथा अहिलेको पाकिस्तान र अफगानिस्तानका धेरै ठाउँ आइपुगे । तर, उनलाई नेपाल आइपुग्न भने थप केही वर्ष लाग्यो ।

नेदरल्यान्ड्सको लैदन विश्वविद्यालयमा भाषा विज्ञानको स्नातकोत्तर तहको ‘स्थलगत अध्ययन’ का क्रममा सोही विश्वविद्यालयका प्राध्यापक फ्रिच कोर्तल्यान्टल र जर्मनीको किल विश्वविद्यालयका प्राध्यापक भ्भेर्नर भिन्थरले ‘मातृभाषाको अध्ययन गर्न नेपाल जान र लिम्बू भाषाको अध्ययन गर्न भने ।

प्राध्यापकहरूको यो ‘परमादेश’ उपर कुनै नाइँ–नास्ती नगरी उनी सन् १९८३ (२०३९ साल) मा उत्रिए काठमाडौं र केही दिनमा पुगे तेह्रथुमको तम्फुला । तम्फुलाका नारायण पयाङ्गुको घरलाई मुकाम बनाएर उनले थाले लिम्बू भाषाको रौँ–चिरा अध्ययन ।

‘अध्ययन गर्दै जाँदा लिम्बू भाषा धेरै नै समृद्ध र ऐतिहासिक रहेको पाएँ तर यसको व्याकरण कतै पाइनँ,’ फेदापे लिम्बू भाषामै रत्तिनुको कारण सुनाउँदै उनले भने, ‘एक भाषाशास्त्रीका रूपमा यो भाषालाई मर्न दिनु हुँदैन भन्ने लाग्यो अनि यसैमा काम थालें ।’

सन् १९८६ मा लिम्बू व्याकरणको मोटामोटी काम सकियो । उनले १९८७ मा लिम्बू व्याकरणमा विद्यावारिधि गरे । लिम्बू व्याकरणको पहिलो संस्करण सन् १९८७ मा जर्मन प्रकाशक संस्था भ्भाल्टर द ग्रुइटरमार्फत प्रकाशन भयो । व्याकरणको यो पुस्तक लिम्बू भाषा र साहित्यका लागि एउटा कोसेढुंगा नै भएको लिम्बू भाषा साहित्य र प्राचीन ऐतिहासिकताबारेका अध्येताहरू बताउँछन् ।

विद्यार्थी अनुदानबापत नेपाल आउनुको मोटामोटी काम १९८६ मै सकिए पनि पूर्वी नेपालको रैथाने भाषा र शैलीमा रत्तिसकेका उनी यत्तिमै रोकिएनन् । बँचेका केही महिनामा थाले अर्को मातृभाषाको अध्ययन । उनी पुगे खोटाङको हल्खुम गाउँ । हल्खुमका भिमलसिंह राईको घरलाई मुकाम बनाए र थाले दुमी भाषाको अध्ययन । उनले तयार पारे दुमी भाषाको व्याकरण र प्रकाशन गरे सन् १९९३ मा ।

यसबीचमा अर्को कुरा भयो । सन् १९८९ मा भुटान सरकारले त्यहाँको राष्ट्रिय भाषा जोङ्खाको व्याकरणको काम गर्ने जिम्मा दियो जर्जलाई । जोङ्खा भाषाको व्याकरणको पहिलो संस्करण सन् १९९० मा प्रकाशन भयो (जसको चौथो संस्करण भने सन् २०१९ मा निस्किएको छ) । भुटानमा पनि उनी जोङ्खा भाषाको मात्रै अध्ययन र पुस्तक लेखनमा सीमित भएनन् । त्यहाँको अर्को मातृभाषा बुम्थाङको व्याकरण सन् १९९५ मा प्रकाशन गरे । त्यसको दोस्रो संस्करण सन् २०१५ मा निस्कियो ।

अबका कामको चाङ

भर्खरै ६८ औं जन्मदिन मनाएका जर्ज अझै धेरै काम गर्ने ध्याउन्नमा छन् । नेपालको संखुवासभा जिल्लामा बोलिने लोहोरुङ भाषाको व्याकरणको काम गरिरहेका छन् । यस्तै भुटानको गोङ्दुक, ल्होक्पु र ब्ल्याक माउन्टेन मोन्पा भाषाको व्याकरणको काम पनि उनी सँगसँगै गरिरहेका छन् । ‘भर्खर त ६८ वर्ष लागें, के को हतार छ र ?,’ उनी सुनाउँछन्, ‘आखिर मलाई कुनै पुरस्कार पाइहाल्नुपर्ने हतारो पनि त छैन ।’

नेपालका १४२ जातजातिले १२४ प्रकारका मातृृभाषा बोल्छन् (राष्ट्रिय जनगणना २०७८) । विभिन्न अध्ययनअनुसार, मातृभाषा बोल्नेको संख्या भने घट्दो छ । पहिचानको कुरा उठ्ने क्रम त बढ्यो, तर पहिचानवादीहरूले पनि भाषामा खासै ध्यान दिन सकेका छैनन् ।

उनीहरू पनि पोसाक, चिह्न, मूर्ति र सालिकहरूमा धेरै केन्द्रित भएको देखिन्छ । मातृभाषा बचाउन स्थानीय पाठ्यक्रम लागू गरिए पनि कतै शिक्षक त कतै पाठ्यपुस्तकलाई देखाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्न सकिएको छैन । २०५५ सालदेखि नै मातृभाषा शिक्षा कार्यक्रम लागू गरिए पनि बल्लतल्ल दुई दर्जन मातृभाषामा मात्र प्राथमिक तहको पाठ्यपुस्तक तयार भएको सरकारी तथ्यांक छ ।

तर, यो एक बहाना मात्रै भएको जर्ज बताउँछन् । कम्तीमा लिम्बू भाषाको पाठ्यपुस्तकका लागि अब समस्या छैन । ‘मैले तयार पारेको व्याकरण र गोविन्दबहादुर तुम्बाहाङले लेखेको छथरे लिम्बू भाषाको व्याकरणलाई आधार बनाउने हो भने लिम्बू भाषाको पाठ्यपुस्तक बनाउन कुनै समस्या छैन,’ उनले भने, ‘मुख्य कुरा काम गर्ने अठोट चाहियो, नगर्ने बहाना होइन ।’

तर, यसो होला भन्ने आशा भने आफूलाई कमै मात्र रहेको उनी बताउँछन् । झन्डै साढे ४ दशकदेखि देखे/बुझेको नेपालको शैली अब उनलाई बुझाइरहनु पर्दैन । उनी स्वयं भुक्तभोगी जो भइसके । यस पटकको व्याकरणको पुस्तक पनि स्विस दूतावासले सहयोग नगरेको भए प्रकाशन हुन्थ्यो/हुन्थेन, यसै भन्न सकिने अवस्था छैन ।

भाषा प्राथमिकतामा नपरेकामा दुःखी

यस पटक व्याकरणको पुस्तक तेह्रथुममा सार्वजनिक गरेपछि उनलाई लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले सम्मान गरे । भर्खरै अमेरिकाको ‘टाइम’ म्यागाजिनले सन् २०२५ का लागि विश्वका घुम्न लायक १०० गन्तव्यको सूचीमध्ये ४२ औं स्थानमा राखेको चोलुङ पार्कमा आयोजित कार्यक्रममा तेह्रथुमे ढाका टोपी र गलबन्दी लगााएर उनी लिम्बू मेन्छ्या (युवती) हरूसँग धान नाच नाचे । तर, उनलाई त्यो धान नाच ‘आत्मा हराएको शरीर’ जस्तो लाग्यो ।

भन्छन्, ‘हामीले धान त नाच्यौं तर धान नाचको आत्मा भनेको त पालाम हो नि, त्यो गाउने कोही थिएन ।’ अरू जे–जे गरे पनि आफ्नो पहिचान जोगाउने हो भने भाषालाई नै जोगाउनुपर्ने उनको ठहर छ । किन त ? ‘भाषा भनेको बोल्ने कुरा मात्र होइन, यसले तपाईंको सोच र दर्शनलाई झल्काउँछ,’ उनी गम्भीर भएर भन्छन्, ‘कुनै भाषाको सोच र दर्शन अर्को भाषाबाट किमार्थ टक्र्याउन सकिँदैन ।’

भाषाले सोच्ने तरिका र मनोविज्ञान नै नयाँ बनाउने यी भाषाशास्त्रीको भनाइ छ । त्यसैले भाषा भनेको बोल्ने वा बुझ्ने कुरा मात्र होइन । ‘नेपाली भाषाका कतिपय शब्द अरू कुनै भाषाबाट सांगोपांगो अर्थ लगाउन वा बुझाउन सकिएला तर त्यो नेपाली भाषाकै मर्म र स्वाद पस्कन सकिँदैन,’ उनी थप बुझाउँछन्, ‘त्यसैले भाषा केवल बोल्ने कुरा मात्र होइन, जीवनदृष्टि हो । त्यसलाई मर्न दिनु हुँदैन ।’

भाषा जोगाउने आफैंले हो, सरकारले होइन

भाषाशास्त्री जर्ज कुनै पनि भाषालाई सरकार वा अरू कसैले भन्दा पनि नागरिक स्वयंले नै बचाउनुपर्ने बताउँछन् । ‘सरकारले सहयोग गर्ने हो तर बोल्ने, प्रयोगमा ल्याउने त नागरिकले नै हो नि, घरपरिवारमा मातृभाषाहरू बोल्नुपर्छ’ उनी थप्छन् ।

यो अभ्यास फ्रान्स, जर्मनी, स्विट्जरल्यान्डलगायत देशमा प्रभावकारी भएको छ । मातृभाषालाई एकदमै महत्त्व दिइएका ती देशमा स्थानीय बासिन्दा आपसमा सकेसम्म मातृभाषा बोल्ने, नबोली नहुने बाध्यकारी अवस्थामा मात्रै अंग्रेजी बोल्ने चलन रहेको उनले सुनाए ।

राष्ट्रिय वा अन्तर्राष्ट्रिय भाषा बोल्ने नाममा मातृभाषा भुल्दै जानु सबैभन्दा खतरनाक भएको जर्जको बुझाइ छ । ‘हो, आजको युगमा कुनै एक मात्र भाषा सिकेर वा बोलेर पुग्दैन, सकेसम्म धेरै भाषा बोल्नुपर्छ, यो गौरवको कुरा हो तर अरू भाषा सिक्दा मातृभाषालाई किन त्याग्नुपर्छ र ?,’ उनी भन्छन्, ‘यो कुरा मैले अहिलेसम्म बुझ्न सकेको छैन ।’

दसभन्दा धेरै भाषा बोल्ने र धेरै वटा मातृभाषाको ‘पितृ बुझाउने’ भएका उनी चेतावनी दिन्छन्– मातृभाषा मरे कुनै पनि जाति केवल शब्दमा सीमित हुनेछ ।

अन्तिममा उनले सुरु गरेको बहसको नयाँ विषय

जीव विज्ञान र मानवशास्त्रका समेत प्राध्यापक रहेका उनले पछिल्लो समय नेपालमा मंगोलियन भनेर चिनिएका लिम्बूलगायत जनजाति मंगोलियन नभएको तर्क गरिरहेका छन् । बिनाप्रमाण नेपालका लिम्बू, राईलगायत जातजातिलाई मंगोलियन भनिएको र त्यसैलाई मान्दै आइएको कुरा मान्न उनी तयार छैनन् ।

जीवशास्त्र, भाषा विज्ञान र मानवशास्त्र कुनै पनि दृष्टिले यो कुरा प्रमाणित नहुने उनको दाबी छ । बरु यी जातिका पुर्खा चीन, मंगोलियालगायत देशमा चाहिँ नेपालबाट बसाइँ सरेको पर्याप्त प्रमाण भेटिएको उनको दाबी छ । तर, यसबारे हुनुपर्ने जति बहस भएकै छैन । सायद यो कामका लागि अर्को कुनै जर्ज भान ड्रिम कुरिरहेको पो हो कि ?

प्रकाशित : वैशाख २०, २०८२ १०:३०https://ekantipur.com/koseli/2025/05/03/losing-the-mother-tongue-saving-george-25-12.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? : गोविन्द न्यौपाने

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि