फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

  • ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग्
गणेश राई, अाेखलढुंगा
असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । 
गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् ।

इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । 
‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका निम्ति सिपाही गाउँबाट ल्याउँथे । आफैं तालिम गर्थे । त्यसैले पनि कतिपय गढीहरु प्राथमिकतामा पर्न सकेनन् ।’ आफ्नो खोजमा थप अनुसन्धानका निम्ति पुरातत्व विभागमा विवरण बुझाएको समेत उनले जनाए । ‘थप अनुसन्धान गर्ने, गराउने काम विभागको हो,’ उनले भने ।
 पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले ऐतिहासिक गढीहरुको अध्ययन, अनुसन्धान र संरक्षण कार्य जारी रहेको बताए । ‘यो वर्ष पनि ओखलढुंगाको ओखलको संरक्षणका निम्ति बजेट राखिएको छ,’ आखेलढुंगामै जन्मे, हुर्केका दाहालले भने, ‘ऐतिहासिक गढीहरु अतिक्रमण गरिएका छन् भने तत्काल हटाउने पहल गर्छौं ।’

सरकारले २०७३ साललाई ‘घुमघाम वर्ष’ घोषणा गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन तथा जिल्लागत पहिचान केलाउने सांकेतिक वर्षका रुपमा परिभाषित गर्ने गरिएको छ । ओखलढुंगाको सन्दर्भमा भने केही उल्टो भइरहेको छ । भौगोलिक रुपमा उच्चस्थान, प्राकृतिक र पर्यावरणीय दृष्टिले सुरम्य तथा ऐतिहासिक कथा बोकेका विभिन्न ठाउँहरुको परम्परागत नामलाई नयाँ नामाकरण गर्ने क्रम बढेको छ । ऐतिहासिक ठूला, साना गढीहरु अलपत्र अवस्थामा छन् । 

ओखलढुंगा
किंवदन्तीअनुसार राज्य एकीकरणको क्रममा भीम मल्लको फौजले किरात शासकहरुलाई धपाए । फौजले लुटेर ल्याएको धान एउटा खोपिल्टा परेको ढुंगामा कुटेर खाएका थिए । त्यही ढुंगाको ओखल रहेको ठाउँलाई ‘ओखलढुंगा’ भनिएको हो । 
‘प्राचीन किरात राजा यलम्बरले पश्चिममा त्रिशुली नदीदेखि पूर्वमा टिस्टासम्म आफ्नो राज्य विस्तार गरेका थिए भन्ने अनुमान वा दावी सत्य भएको खण्डमा हालको ओखलढुंगा क्षेत्र पनि उक्त राज्यमा परेको हुनुपर्छ भन्ने अड्कल गर्न सकिन्छ,’ मेचीदेखि महाकाली–१ पुस्तकमा छ, ‘अझसम्म पनि साधारण बोलीमा यो क्षेत्रलाई वल्लो किरात भनिने गरेकोबाट पनि किरातहरुको प्रभुत्व यस क्षेत्रमा रहेको अडकल गर्न गाह्रो पर्दैन ।’ ओखलढुंगालाई २०१८ सालको जिल्ला पुनर्गठनअघिसम्म ‘पूर्व तीन नम्बर’ भनेर चिनिन्थ्यो ।

कोटगढी
जिल्ला सदरमुकाम पूर्व दियाले–६ मा एकै ठाउँमा दुईवटा डाँडामा कोटगढी रहेको छ । त्यसमध्ये एउटा गढीमा कालिकादेवी मन्दिर रहेको छ भने अर्को गढीलाई अतिक्रमण गरी नेपाल टेलिकमले टावर बिस्तार गरेको दियाले गाउँका स्थानीय टेकराज भट्टराई बताउँछन् । 

‘ऐतिहासिक र पुरातात्विक ठाउँको संरक्षण गर्न चाहेको तर पुरातत्व विभागले चासो नदेखाउँदा गढी अतिक्रमणमा परेको छ,’ पूर्वजिविस सदस्यसमेत रहिसकेका भट्टराईले भने, ‘यो ठाउँ भीसी अगमसिंह राईको जन्मथलो पनि हो । इतिहास बोकेको र बहादुरी कमाएका व्यक्तित्वको थलो आजसम्म बेखबर छ ।’
कालिकादेवीको मन्दिर प्रवेश गर्ने सिँढीमा पुरातत्व विभागले सल्लाको रुखमा एउटा सूचना पाटी टाँसेको छ । ‘यी प्राचीन स्मारकलाई नष्ट गरे, भत्काए, परिवर्तन गरे, अनधिकृत काममा लगाए वा अरु कुनै किसिमसँग हानीनोक्सानी पुर्‍याएमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (संशोधनसहित) को दफा १२ को उपदफा क, ख, ग अनुसार पच्चीस हजारदेखि एक लाखसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’ तर यही गढीसँगैको अर्को गढीमा भने टेलिकमको टावर विस्तार गरिएको छ ।
तोलोवा गढी 
जिल्ला सदरमुकामभन्दा पूर्व–दक्षिण ठूलाछाप–९ र मोली–७ को सीमानामा जानुकादेवी मन्दिर छ । स्थानीयले पर्यटन क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यसहित मन्दिर आसपाससम्म कच्ची सडक पुर्‍याएका छन् । तर, यो ठाउँ विकासका निम्ति जिल्ला विकास समितिको योजनामा परेको छैन ।
हाल मन्दिरका रुपमा चिनाउने प्रयास गरिएको यो थलो ऐतिहासिक ‘तोलोवा (तलुवा) गढी’ हो । समुद्री सतहबाट करिब १ हजार ८ सय मिटर उचाईमा अवस्थित यस गढी अहिले पनि दुर्गकै रुपमा रहेको छ । चुचुरोको चौघेरा तीन तहमा खाल्डो खनेर किल्ला घेरिएको छ ।

 
किंवदन्तीअनुसार नेपाल एकीकरणअघि यस क्षेत्रमा किराती तोलो राईले शासन गरेका थिए । तिनै तोलोवा राईको किल्लालाई ‘तोलोवा’ अपभ्रंश भई तलुवा उल्लेख हुनु पुगेको हो । 
तोलोवा राईको सन्तानलाई ‘तोलोचा’ भएको किरात राई यायोक्खा ओखलढुंगाका पूर्वअध्यक्ष तथा संस्कृतिविद् बुद्धिकुमार हङ्गु राई बताउँछन् । ‘तोलोवा राईको सन्तानहरुमध्ये पूर्वमन्त्री बलबहादुर राई पनि पर्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘तोलोवा गढी ऐतिहासिक भएपनि संरक्षण, संवद्र्धन हुनसकेको छैन ।’ 
यो गढी आसपासको गाउँ पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवालको जन्मथलो हो । हरेक उभौली र उधौलीमा पूजाआजा हुने गरेको जानुकादेवी संरक्षण समितिका अध्यक्ष बोधनारायण कटुवालले बताए । करिब १३ रोपनी क्षेत्रफलमा रहेको यस मन्दिर संरक्षणका निम्ति कोटघर गुठीसमेत रहेको छ । 
गुठीका अध्यक्ष पदमबहादुर कटवालका अनुसार सहरी विकास मन्त्रालयको सहयोग र स्थानीयका पहलमा मन्दिरलाई सामान्य पर्खालको घेरा हाल्ने काम भएको छ । ‘पर्यटन विकास गर्नुपर्छ भनेर सडक खन्न लगायौं,’ कटवालले भने, ‘तर, सरकारको नियमित योजनामा पार्नै सकेनौं ।’ यसैगरी स्थानीयवासी तथा नेपाल पत्रकार महासंघ ओखलढुंगाका अध्यक्ष दिपेन्द्र रुम्दाली राई आफ्नो पुर्खाको इतिहासको खोजी हुन नसकेको बताउँछन् ।
बुङनाम गढी
त्यसैगरी सदरमुकामभन्दा पश्चिममा कुन्तादेवी–४ मा कुन्तादेवीको मन्दिर रहेको छ । देवीको नामबाट पर्यटन विकास गर्न स्थानीयले मन्दिरसम्मै सडक खनाएका छन् । खासमा यो ठाउँ ऐतिहासिक ‘बुङनाम गढी’ हो । 


समुद्री सतहदेखि करिब १ हजार ४ सय मिटर उचाईमा रहेको यस गढीको वरिपरि युद्धका निम्ति बनाइएको चौघेर किल्ला रहेको छ । किंवदन्तीअनुसार बोनो अर्थात् बुङ्गा भन्ने राईले शासन गरेको क्षेत्रलाई बुङनाम भनियो र बोनोका सन्तान बोडोम राई हुन् भन्ने भनाइ छ ।
 आहाल, पोखरी, पाटी र अन्य भग्नावशेष रहेको यस भेगमा अहिले तामाङ, भुजेल, बाहुन, क्षेत्री, गिरी जातिको बसोबास रहेको कुन्तादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बानियाँ बताउँछन् । यस मन्दिरमा मगरकी छोरी र बाहुनकी छोरीलाई देवीका रुपमा पूजा गर्ने गरिएको उनले जनाए । 
‘कुन्तादेवीलाई पर्यटकीय दृष्टिले विकास गर्ने लक्ष्य राखेर चरिचरण बन्द गरेका छौं,’ भौतिक पूर्वाधार निर्माणका निम्ति पुरातत्व विभागबाट यसअघि एक लाखको बजेट खर्च भएको उल्लेख गर्दै बानियाँले भने, ‘थप योजना बनेको छ तर प्राविधिक कारणले अघि बढ्न सकेको छैन ।’ मन्दिर गुठीको ४० मुरी र ६० मुरी माटो (जग्गा) अन्य व्यक्तिले बेचबिखन गरिसकेको समेत उनले जनाए ।  


च्यानाम गढी
सदरमुकाम पश्चिमतर्फ च्यानाम गढी रहेको छ । ‘उहिले च्यामाजिती भन्ने किरातीले शासन गरेकोले च्यानाम भनिएको भन्ने छ,’ स्थानीय इन्द्रबहादुर कार्कीले भने, ‘तर यहाँ किराती राई, सुनुवार कोही छैनन् । चिहानमात्रै छ ।’
यसरी गढीहरुको भग्नावशेषको उत्खनन भएका छैनन् भने उच्च भागमा रहेका ऐतिहासिक डाँडाहरुमा चिहानको अवशेष पाइन्छन् । तर, त्यस्ता पुरातात्विक चिहानलाई पंचायतकालमै खनेर त्यसभित्र पाइन ‘जिमाला, सिमाला, मट्टिमाला’ भनिने गहनाहरु बेचबिखन भएको स्थानीय बताउँछन् । 
च्यानाममा उतिखेर विकास गरिएका ७ वटा ऐतिहासिक पोखरीमध्ये चारवटाको अवशेषमात्र छन् । 
भोल्टेकोट गढी
रातमाटे गाविसको बुबुरीकोङ्को (बुबुरीडाँडा) र रुङ राजाले शासन गरेको थलो रुम्डाटार अपभ्रंश भई रुम्जाटार बनेको छ । रुङ राजाका सन्तानलाई रुम्दाली भनिएको हो भन्ने कथन रहेको छ । पश्चिमतर्फ सिंहदेवीको भोल्टेकोट गढीको अनुसन्धान हुन नसकेको स्थानीय समाजसेवी मोहन खड्काले बताए । 
तस्बिर सौजन्य : दिपेन्द्र रुम्दाली 
प्रकाशित: असार ११, २०७३


Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

सम्पदा : टेकोको भरमा ऐतिहासिक नुवाकोट दरबार