कोसेली : म गाउँको ओझाहाङ, सहरको काइँला

- महाभारा डाँडामा रुङ्दा... रुङ्दा... रुङ्दा... धेरैबेर पछि दाजुहरू आइपुगे । उनीहरूको साथ लागेर म इलाम गएँ । महाभारामा भेटेर मलाई बुबाले घरै फर्काएको भए म के हुन्थें, कुन्नि ! तर, यो महाभारा डाँडाबाट गा’को गा’कै–गा’को गा’कै गर्दाखेरि मेरो नाम पनि बदलियो, जीवन पनि बदलियो ।
- हामी हिँड्ने र हिँडेको बाटोले सबैलाई सधैं जोड्ने काम गरोस्, एक बनाओस्, विभाजन नगरोस् । हामी जोड्ने बाटो हिँडिरहौं ।
फाल्गुनन्द गाउँपालिका प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पहिलो ‘फाल्गुनन्द साहित्य महोत्सव– २०८१’ मा निमन्त्रणा पाएँ र मुरीमुरी धन्यवाद दिँदै उपस्थित भएको छु । यहाँहरूको आतिथ्य र अभिनन्दनका लागि सदा ऋणी रहनेछु ।
मैले के बोल्छु भनेर सोचेरै आइनँ । यो महाभारा डाँडामा पुगेपछि ‘जे आउँछ बोलुँला’ लागेको थियो । यहाँ आएपछि मलाई सम्झना भयो, विसं २००५ सालको । दाजुहरू दसैंमा छुट्टीमा घर आएका थिए– जेठा, माइला, साइँला ।
त्यतिबेलाको प्रसिद्ध हात्तीछाप कापी र उनीहरूले लगाएको जुत्ता देख्दा मलाई बडो भित्रभित्रै आरिस लाग्थ्यो । मैले पेन्सिल लिएर उनीहरूको सप्पै कापीमा किरिङमिरिङ लेखिदिएको छु । त्यो लेखेको होइन, रिस पो रैछ अहिले यसो सम्झिँदा । उनीहरूको साता–दस दिनको बिदा सिद्धियो । स्कुलमा जान इलाम फर्कने भएँ ।
सबैलाई थाहा छ, दसैंतिहारमा गाईबस्तु लेकबाट गाउँमा झार्छन् । मकै भाँचिसकेको हुन्छ । नरुवा खुवाउनुपर्यो, गाईबस्तु राख्दाखेरि बारीमा मल पनि हुने भयो । लेकमा भएका गाईबस्तुलाई अलिक न्यानोमा राम्रो हुने पनि भयो । हाम्रो पनि बस्तुभाउ लेकबाट गाउँमा ल्याइएको थियो ।
हाम्रो घरबाट सोझो तल एउटा सल्लाको मात्र रूख भएको ठाउँलाई एकसल्ले डाँडो भन्थ्यौं । त्यसको पेटैपेट भित्तामा पौवा र पाङ्दु (राई गाउँ) जोड्ने साँघु (पुल) लगाएको थियो । त्यो पुल बनाउने जेठा बाजे चामुसिंहका छोरा जेठा राजबल थिए । हाम्रा बाजेहरू तीन भाइ कि चार भाइ हो !
त्यसमा चामुसिंहका जेठा छोरा राजबलले बनाएको पुल हो । हाम्रै गाउँमा फलाम ल्याएर, पिटेर, झुन्ड्याएर, एक तख्ते फलाम राखेर वारिपारि गर्ने पुल बनाइएको थियो । त्यो पुल तरेपछि आउँथ्यो– पाङ्दु फेदको हाम्रो गोठ । मलाई बुबाहरूले बाँसको टोलङमा नुन बोकाएर घरबाट गोठमा पठाएका थिए ।
मलाई थाहा थियो, त्यो दिन दाजुहरू इलाम जाँदै छन् । नुन लिएर आएँ र खोलादेखि पारि खहरे खोल्साको ठाडो उकालोको अप्ठेरो–साँघुरो बाटो, एक्लै–एक्लै हिँडेर यो महाभारा डाँडोको जहाँनेर घुम्ती छ नि, त्यो इलाम जाने बाटो, त्यहाँ ढुकेर बसिरहें दाजुहरूलाई । म ९ वर्षको, सानै थिएँ ।
रुङ्दा... रुङ्दा... रुङ्दा... धेरैबेर पछि दाजुहरू आइपुगे । उनीहरूको साथमा म पछिपछि लागेर गएँ । त्यो हल्ला पुगेछ घरमा । बुबाले हाम्रो काम–दाम गरिदिनु कारबारी तामाङ बुढा (चन्द्रमान तामाङ) लाई पठाएछन्, ‘फर्काएर ले, फर्कन मानेन भने लैजानू ।’ म फर्किनँ । मलाई दाजुभाइहरूले इलाम लगे । यही डाँडा हो– महाभारा डाँडा । महाभारा डाँडामा भेटेर त्यतिबेला मलाई फर्काएको भए म के हुन्थें कुन्नि ! तर, यो महाभारा डाँडाबाट गा’को गा’कै–गा’को गा’कै गर्दाखेरि मेरो नाम पनि बदलियो, जीवन पनि बदलियो ।
घरमा–गाउँमा मलाई ‘ओझाहाङ ओझाहाङ’ भन्थे, पछि पो सहर पसेर ‘वैरागी काइँला’ भएँ । दसैंको बिदा पछाडि भए पनि मलाई दाजुहरूले स्कुलमा भर्ना गरिदिएछन्– ‘क्लास टु’ मा । ‘तिलविक्रम ! तिलविक्रम !’ भन्छ, बोलाउँछ । को हो ? को हो ? कसले जवाफ दिन्छ र त्यसबेला ! अरूचाहिँ ‘हरिप्रसाद !’ भन्छ । ‘यस सर !’ भन्दै उठ्छ । ‘केशवप्रसाद !’ ‘यस सर’ भन्दै उठ्छ ।
तिलविक्रम भन्दा त कोही उठेन । नउठ्ने विद्यार्थीमध्ये मै मात्रै । एउटा कान्छागुरु भन्ने गुरु थिए । तिनले ‘तैं होस्’ भन्दै कान समातेर, निमोठेर दुई–चार बेत हाने, आफ्नो नाम नजान्ने भनेर । यसरी मेरो नयाँ नाम बस्यो । र, ‘तिलविक्रम सुब्बा’ भएँ म ।
यसरी यो महाभारा डाँडाको ठूलो महत्त्व छ मेरो जीवनमा, म अहिलेसम्म सम्झन्छु ।
प्रथम ‘फाल्गुनन्द साहित्य महोत्सव, २०८१’ मनाउन आज हामी जहाँ भेला भएका छौं, यो महाभारा डाँडामा ठूलो टार थियो रे ! त्यसलाई जसपोती टार भन्थ्यो रे ! जसपोती भनेको मेरो बाबुको बाबुको बाबु । अघि मैले चामुसिंह भनें नि– पुल बनाउने राजबलको बाबुको नाम । तिनै चामुसिंहसमेतको बाबुको नाम जसपोती, जसलाई शेरप्रताप पनि भनिन्थ्यो । आज यो ठाउँमा नाति, पनाति, जनाति मलाई तपाईंहरूले एउटा सम्मान गर्नुभयो । यसरी गोठबाट भागेको केटो म कहाँ पुगें–पुगें !
मेरो जीवनमा आएको एउटा परिबन्दको कुरा गर्छु । विद्यार्थी हुँदा के–के गरूँ भनेर सबैलाई लाग्छ नि ! कोही पढ्छु, कोही स्पोर्ट्स् खेल्छु, कोही बाजा बजाउँछु, कोही गीत गाउँछु, यस्तो चाहना सबैको हुन्छ । मलाई त गोल खेल्न पनि नआउने । गीत गाउने त कुरै भएन । गोल खेल्न जाँदाखेरि गोल जल्ले हान्दै छ, यसरी हानोस् भनेर अघि म हेर्नेको खुट्टा पो चल्दो रहेछ । स्वाँटस्वाँट छेउमा हुने मास्टरजीले कुटिदिन्थे, ‘ग्राउन्डमा हुनेको खुट्टाले गोल हान्छ, तँ यहाँ खुट्टा चलाउँछस् ?’
साहित्यमा त्यस पछाडि चासो लाग्यो, देखासिकीमा लागेको, कुनै आत्मिक ज्ञानले होइन । ००७ साल पछाडि एउटा नयाँ परिवर्तन आयो । छापिएका पत्रपत्रिका हामी बसेको इलामतिर पनि आउन थाले । मेरो जेठा मामा पदमबहादुर देवान
(पूर्वराजसभा स्थायी समितिका सदस्य) पत्रपत्रिका पढ्न सौखिन ! उनीकहाँ अनेक पत्रपत्रिका आउँथे । अहिले एउटा विषय विशेषको मात्र पनि पत्रिका निस्कन्छ । उहिले सबै विषय मिसिएको एउटै पत्रिका हुन्थ्यो । तिनमा ‘युगवाणी’ बनारसबाट आउँथ्यो । पत्रिका एउटा विषयमा बढ्ता सामग्री हुने नभएर, अरू समाचार पनि, के पनि, अनेक थोक हुँदो रहेछ ।
बनारसबाट आउने ‘युगवाणी’ को ‘बालसंसार’ मा नाम लेखाउने होडबाजी हामीमा चल्थ्यो । ‘बालसंसार’ मा नाम छापिएपछि त ‘ला म पनि आएछु नि त’ भन्ने पो भो । त्यतिखेर महानन्द सापकोटाको ‘विशाल नेपाल’ का कविताहरू साह्रै पपुलर थिए । त्यसैबाट कविता सारेर पठाउँथ्यौं हामी ‘मेरो हो’ भन्दै । यसरी देखासिकीमा साहित्यमा लागियो । हुँदा–हुँदा साहित्यमा पनि जसोतसो गरेर मात्रै हुँदैन, आफ्नो बाटो आफैं बनाएर हिँड्दा के हुन्छ ? सबैले हिँडेको बाटो त ठीकै छ नि, सबैले हिँडेकै छन् त । आफैं पनि एउटा बाटो बनाउँदा के हुन्छ ? भन्ने हिसाबले एउटा बाटो बनायौं– तेस्रो आयाम ।
साहित्यमा पनि गाली खाँदा–खाँदा ठूलो साहित्यकार भएर हामी स्ट्याब्लिस्ड भयौं । त्यो गाली नखाएको हुँदो हो त अरूजस्तै त हुन्थ्यौं । अरूजस्तै भनेको उस्तै हो । तर, अरूभन्दा भिन्न भएको हुँदा गाली खाँदा–खाँदा साहित्यकार भयौं । जीवनमा एउटा चीज आयो आफ्नै बाटो हिँड्ने । आफू आफूजस्तै हुने । अरूभन्दा भिन्न हुन सिक् भन्ने धारणामा लामो समयसम्म हिँडियो । तर, मैले त साहित्यमा लागेर पनि धेरै थोक लेख्न सकिनँ । अनेक थोकमा हात हालियो ।
आफ्नो मातृभाषा सिक्, मातृभाषालाई आफ्नो लिपिमा लेख्न सिक् भन्ने कुराहरू पनि अगाडि आए । नभन्दै हिउँदे बिदामा घर आउँदाखेरि २०१२ सालमा एउटा अंग्रेज आएर हाम्रो घरमा बसिराख्या थियो । ऊ लिम्बू भाषा र जाति सम्बन्धमा लन्डन लाइब्रेरीमा पुर्याइएको कागजपत्र लिएर अध्ययन गर्न आएको रहेछ । ऊ गाउँ आएका बेला मेरो पनि उताको हिउँदे छुट्टी भयो पुसमा । म आउँदाखेरि उसले लिम्बू भाषा लेखेको, पढेको देखेपछि मलाई पनि सिक्न रहर लाग्यो, कर पनि लाग्यो । बाध्यताले सिक्नुपर्ने भयो ।
पछि २०२० सालको अन्तदेखि झन्डै ११ वर्षजति सारतापमा बस्दा मैले लिम्बू भाषाको खास गरेर सत्तेहाङ्मा पन्थीको साहित्य पढें । रनध्वज नेम्बाङको हस्तलिखित लेखोटहरू पढें र मातृभाषाको उत्थानमा चासो पनि लाग्यो । मातृभाषाको महत्त्व पनि अलि–अलि बुझियो ।
त्यस बीचमा नेपाली साहित्यमा चार–पाँच वटा कविता लेखेर अरू नै काममा बढी लागिएछ । जीवन कता–कता बगेछ, हिँडेछ । तर, नेपाली साहित्यमा लागेको हुनाले नै वैरागी काइँला भइयो, एउटा पहिचान बन्यो । २०४६ को जनआन्दोलन पछाडि संसदीय व्यवस्थाको जो पुनःस्थापना भयो, त्यस पछाडि गठन भएको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य मनोनीत हुन पुगें म । अब फेरि मेरो जीवनको मोडै अर्कोतिर गयो ।
प्रज्ञा प्रतिष्ठानमा गएर लेख्ने काम त होइन रहेछ, लेखाउने पो काम रहेछ बढी त । लेख्ने त घरमा बसेर मात्र रहेछ । एक त पैसा छैन । म त के–के न पायौं भनेर परिवारै लिएर काठमााडौं पुगें । खेतीपाती छोडेर सपरिवार गयौं । घर भाडामा बसुँ भनेको ९ हजार कि १० हजार भाडा दिन्छ, प्रज्ञाको पारिश्रमिक ५ हजार कि कति दिन्छ, स्वाहा भयो । फर्केर झापा आऊँ, काम छैन– दाजुभाइ बस्यो, तास खेलेर, त्योभन्दा अर्को कामै छैन । कि ‘तेरो भैंसीले कति दूध दिन्छ, तेरो गाई कस्तो खालको हो ?’ भन्नेमै कुरा सकिन्छ ।
काठमाडौं गएपछि सिर्जनाका कुरा हुन थाल्यो । साहित्यकारसित भेटघाट हुन थालेपछि नयाँ कुरा सिक्न थाल्ने, नयाँ कुरा गर्न थाल्ने भयो । मेरो जिन्दगीको बाटो फेरि अर्कै बाटो भएर गयो ।
एकेडेमीमा कुन फाँटचाहिँ आफूले हेर्ने त ? अहिले एकेडेमी सदस्यलाई जिम्मेवारी जुन फाँट, विभाग दिन्छ, त्यतिबेला अर्कै थियो । अहिलेको हामीले बनायौं पछिबाट । मलाई संस्कृति मात्र हेर्न दियो । साहित्यमा, कवितामा भन्दा ‘कहाँ हुन्छ, म हुँदाहुँदै ?’ मोहन कोइराला नमान्ने । अब ‘टपमोस्ट मोर्डन पोइट’ उनै थिए । ऊ हुँदाहुँदै हामीले कविताको क्षेत्र हेर्दिनु पनि नहुने । ‘ल त’ भन्यो संस्कृति ।
‘संस्कृति भनेको के हो ?’ हाम्रा आचार, व्यवहार, इतिहास, सामाजिक अध्ययन, सप्पै हो ।
‘लु त्यसो भए ठीकै छ ।’
संस्कृतिको क्षेत्रमा काम गर्दा विभिन्न विद्वान्हरूको सहयोग पनि लिनुपर्दो रहेछ । त्यसो हुँदाखेरि के थाहा भयो भने हामीले संस्कृतिमा होस्, साहित्यमा होस्, राजनीतिमा होस्, काम–कुरा गर्दा, सबैभन्दा पहिला समाज हेर्नुपर्ने रहेछ । समाज हेर्नु भनेको समाजको बनोट हेर्नु । त्यो समाज कसरी बनेको छ ? लोग्नेमान्छे छन्, स्वास्नीमान्छे छन्, लोग्नेमान्छेको संख्या बढ्ता छ कि स्वास्नी मान्छेको ? लैंगिक हिसाबले ।
जातीय हिसाबले बाहुन बढ्ता छ कि क्षत्री ? नेवार बढ्ता छ कि लिम्बू ? तामाङ छ कि मगर छ कि कामी, दमाईं ? को–को बसेर त्यो समाज भो त ? दलित, विकसित जाति, आदि र जनजाति, पिछडा वर्ग, शोषक र शोषित, अवसर पाउने र अवसर कहिल्यै नपाउने, देशमा बोलिने भाषाहरू, तिनका संख्या र अवस्था आदि हेर्नुपर्ने रहेछ संस्कृतिमा ।
जस्तो– यही फाल्गुनन्द गाउँपालिका छ । यसको समग्र विकास गर्नुपर्यो भने यसको सामाजिक बनोट पहिला हेर्नुपर्यो । कुन–कुन जाति मिलेर यो बनेको छ ? कुन–कुन मातृभाषी बोल्नेहरू बसेका छन् र तिनको संख्या कति छ ? यी विभिन्न जातिमध्ये राजनीतिमा को अगाडि छ र माथि छ ? प्रशासनको क्षेत्रमा कुन जाति माथि छ ? कुन हेपिएको छ र कुनलाई बाहेक गरिएको छ ? यो सप्पै नहेरीकन त हुँदैन रैछ ।
म त छक्क परें, खाली मान्छे (नेपाली) भनेर हिँडेको । नेपाली त अनेक थोक हुँदो रहेछ– बाहुन, क्षत्री, कामी, दमाईं, राई, लिम्बू, तामाङ, शेर्पा । अनेक मिलेर पो नेपाली बन्दो रहेछ । अनि यो सप्पै चीजलाई नबुझीकन काम गर्यो भने नेपाल र नेपालीको हित हुने काम सफल नहुने रैछ ।
यही हिसाबले मैले हेरें त्यतिबेला, काठमाडौंमा नेपालीमा साहित्य गोष्ठी भइराखेको छ, नेपाली र हिन्दी कवि सम्मेलन हुन्छ । बढ्ता भो भने मैथिली र नेवार । त्योबाहेक भाषै छैन त ? नेपालमा त धेरै भाषा बोलिँदो रैछ । अब मैले के गर्ने त ?
एक जना राई भाइ यलुङ किराँत (हिमाल पत्रिकाका सम्पादक) सँग मिलेर किराँत कवि गोष्ठी भनेर हामीले किराँत भाषाभाषीको कविता गोष्ठी सुरु गर्यौं– एक साल । अर्को साल तामाङ पनि मिसिन आयो, शेर्पा पनि आयो, अरू–अरू भाषी पनि आए । र, बहुभाषिक भएर गयो । त्यो गोष्ठी धेरै लामो समय २०६२/०६३ सम्म चल्यो । यसरी एउटा कवि कविता लेखाउने र सुनाउने कामतिर पो लाग्यो । मैले भन्न खोजेको के भने एउटा कविको बाटो कहाँ अलमलिएर कता–कता छरियो । कविता लेख्ने उसको प्राथमिक कामबाट कुन बाटो लाग्यो ?
हो, जातिगत रूपमा म लिम्बू हुँ तर नेपाली भाषाको कवि हुँ । साहित्यकारको हिसाबले म नेपाली साहित्यकार हुँ तर मातृभाषाको कुरा गर्दा लिम्बू हुँ । त्यसमा पनि मेरो कर्तव्य थियो, जिम्मेवारी थियो । यसरी हामीले हाम्रो जिम्मेवारी वहन गर्दा हाम्रो सामाजिक बनोटलाई ध्यान दिनुपर्ने रहेछ भन्ने ज्ञान भयो ।
आज (चैत २५, २०८१) हामी यस थलोमा आउँदा पूर्वतिरको इलाम जिल्ला र पश्चिमतिरको पाँचथरलाई जोड्ने महाभारा डाँडाको थाप्लोमाथि बनेको बाटो भएर आयौं । यहाँ बस्दा पनि दुई वटा वडा अर्थात् ३ र ४ लाई जोड्ने दोसाँधको टारमा छौं । यो कस्तो र कति राम्रो शुभसंकेत हो ? हामीले हिँड्ने र हिँडेको बाटोले सबैलाई सधैं जोड्ने काम गरोस्– एक बनाओस्, विभाजन नगरोस् । योभन्दा ठूलो उपलब्धि अर्को हुने छैन । हामी जोड्ने बाटो हिँडिरहौं ।
(फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानले पाँचथरको राँकेमा चैत २५–२६ गते आयोजना गरेको पहिलो ‘फाल्गुनन्द साहित्य महोत्सव– २०८१’ मा काइँलाको सम्भाषण । महोत्सवमा काइँलालाई नागरिक अभिनन्दन गरिएको थियो ।)
प्रकाशित : वैशाख २०, २०८२ १०:३१https://ekantipur.com/koseli/2025/05/03/im-the-ozhahang-of-the-village-kainla-of-the-city-23-32.html
Comments
Post a Comment