३ सय वर्ष पुरानो इतिहास बोकेको कोटगढी पर्यटकीय क्षेत्र ओझेलमा
ओखलढुंगा : एक नं प्रदेश पर्ने ओखलढुंगा जिल्ला विकट पहाडी जिल्लामध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमशः फराकिलो हुँदै गएको ओखलढुंगालाई तीनतिरबाट नदीले सिमाना छुट्याएको छ। पूर्वमा खोटाङ र दूधकोसी, पश्चिममा रामेछाप लिखुनदी उत्तरमा सोलुखुम्बु जिल्ला र दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँगै सुनकोसी नदीले ओखलढुंगाको सिमाना छुट्याएको छ।
नेपालका ७५ जिल्लामध्ये जनसंख्याको हिसाबमा ५९ औं स्थान र क्षेत्रफलको हिसाबले ६८ औं स्थान ओगट्ने यस जिल्लाको कुल भूभागमध्ये सदरमुकाम ओखलढुंगा बजारबाट अधिकांश क्षेत्र पश्चिमी भूभागमा पर्दछ। ओखलढुंगा जिल्लाको आफंैमा एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका दृष्टिकोणले राष्ट्रियस्तरसम्म परिचित रहेको छ। यस जिल्लाको विभिन्न गाविस हरुका आ–आफ्नै महत्व रहेको पाइन्छ।
जिल्लाका धेरै पर्यटकीय तथा पुरातात्विक सम्पदाहरु संरक्षणको अभावमा जीर्ण हुँदै गएका छन्। त्यसमध्ये ओखलढुंगा जिल्लाको चिसंखुगढी गाँउपालिका अन्तरगतको कोटगढी क्षेत्रले पनि आफ्नो छुट्टै महत्व बोकेको पाइन्छ।
ओखलढुंगा जिल्लाको चिसंखु गढी गाँउपालिकास्थित साबिकको दियाले गाविस वडा नं. ६ स्थित रहेको यस गढी उच्च धरातलीय हिसाबले समुद्री सतहबाट करिब ४ हजार ६ सय ८५ फिट उचाइमा रहेको कोटगढी क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय साथै प्राकृतिक रुपमा पनि अति सुन्दर रहेको छ। तर उचित प्रचार–प्रसारको अभावमा इतिहासको गर्भमा मात्रै सीमित रहेको छ।
सिद्धिचरण नगरपालिकास्थित सदरमुकामबाट पूर्व करिब ४० किमीको दूरीमा रहेको यस ऐतिहासिकस्थल कोटगढीले पर्यटकीय दृष्टिकोणले निकै सम्भावना बोकेको देखिन्छ। कोटगढी क्षेत्र यो हिसाबले पनि महत्वपूर्ण छ। कोटगढी क्षेत्र बाइसे–चौबीसे राज्य कालमा राजाहरुले राज्य गरेको यस कोटमा भग्नावशेषहरु अहिले पनि स्पष्टै रुपमा देख्न सकिन्छ।
कोटगढीको शिरमा रहेको यस कोटमा सुरक्षाका लागि शत्रु आउन नसक्ने गरी वरिपरि खाडल (गढी) खनिएको छ। ढुंगाका गाराहरु अझै पनि देख्न सकिने यस कोटगढीमा, यहाँ प्राचीन कालमा यो क्षेत्रमा अभिरवंशी, गोपालवंशी एवं किरातवंशी राजाहरूले राज्य गरेको पाइन्छ। वल्लो किरात भनिने यस क्षेत्रमा किरातीलाई लखेटी मल्लहरूले शासन गरेको कुरा इतिहासमा उल्लेख छ।
किरात, लिच्छवी, मल्ल, र शाह वंशका कामकाज सुरुदेखि अन्त्यका घटनाहरु यहाँ रहेका भग्नावशेषहरुबाट देख्न सकिन्छ। नेपाल एकीकरण हुनुपूर्व बाइसे चौबीसे राज्य रहँदा यो गढी ठूलो स्थान रहेको पनि इतिहासमा भेटिन्छ।
यस कोटको शिरमा रहेको कालिका देवीको मन्दिरको आफ्नै विशेषता छ। उक्त देवालयमा कुँदेका ढुंगाबाट मन्दिर निर्माण गरिएको छ भने मन्दिरमा प्रयोग भएका ढोका,टुँडाल आदिबाट सजिएका विभिन्न चित्रहरुले त्यस समयमा त्यहाँको कलाकीर्तिको पनि राम्रो विकास भएको अनुमान गर्न सकिन्छ। यस मन्दिर परापूर्व कालमै स्थापना भएको कुरा यहाँका कलाकौशलताबाट पुष्टि हुन्छ।
तत्कालीन बाइसे–चौबिसे राजा रजौटाहरुको कुलदेवता भएको कारणबाट उक्त ऐतिहासिक मन्दिरको स्थानमा गणेश तथा कालिका मूर्ति र शिलाहरु, त्रिशूल, घण्टहरु थुप्रै पाइन्छ। भग्नावशेषकै रुपमा चौकीदार बस्ने कोठा अहिलेसम्म पनि स्पष्ट देखिन्छ।
यस स्थानसँगै रहेको कालिका देवीको मन्दिरमा आफूले चिताएको पूरा होस भनी मागिएका मनोकांक्षा पूरा भएको जनमानसको विश्वास रही आएको छ। कोटगढीबाट सोलुखुम्बु, सगरमाथा हिमश्रृंखलाको मनोरम दृश्य, भोजपुरको ट्याम्के डाँडा उच्चपहाडी मनमोहक दृश्य, खोटाङको डुम्रेगढी, निसंखेगढी, धार्मिक तथा ऐतिहासिक स्थान, देवस्थल लिब्जु, भुब्जु, दूधकोसीको मनोरम नागबेलीको दृश्य, मौसमी मनोरम फाँटहरु ,खोलानालाको नागबेली र खहरेको आकर्षण दृश्य अवलोकन गर्न सकिन्छ।
तीनसय वर्ष पुरानो ऐतिहासिक कोटगढीको अवलोकन र कालिका देवीको दर्शन गर्दै कोटगढीबाट तत्कालीन किराती राजाको राज्यभूमि, लामीडाँडा, रुम्जाटारको मनोरम हवाई मैदानको समेत अवलोकन गर्न सकिन्छ। कालीका देवी मन्दिरपरिसरबाट ओखलढुंगाको शेर्ना,कुइभीर, ‘जेठाबुहारी टाकुराको परिभाषा र टाकुराको अबलोकन,ओखलढुंगा सदरमुकामको मनोरम दृश्य हेर्न सकिन्छ।
धार्मिक, एतिहासिक एवंम पर्यटकीय दृष्टिकोणले यस कोट तथा मन्दिर प्रचुर सम्भावना बोकेको छ, तर उचित संरक्षण र सम्बद्र्धन साथै जीर्णाेद्धार हँुदा भौतिक संरचनाहरु कमजोर देखिन्छन्। यस्तै नजिकै रहेको अर्को गढीलाई नेपाल टेलिकमले अतिक्रमण गरी नेपाल टेलिकमको टावर विस्तार गरेको छ, कालिका देवीको मन्दिर प्रवेश गर्ने स्थानमा पुरातत्व विभागले एउटा रुखमा एउटा सूचना टाँसेको छ।
यस्ता महत्वपूर्ण विकास आयआर्जनका स्रोत जीर्णोद्धार रहँदा पुरातत्व विभाग,सामाजिक गुठी संस्थान, पर्यटन मन्त्रालय, सरोकारवाला किन मौन बसेका छन्? यस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेका गढीहरुको विधिवध विकास गर्न सके पर्यटकको विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने निश्चित छ।
यस्ता पहिचान तथा महत्व बोकेका क्षेत्रका स्थानहरुको पहिचान, संरक्षण, सम्बद्र्धन, विकास तथा प्रचारप्रसार गरी यस क्षेत्रको महत्त्वको विषयमा जानकारी गराउन सके जिल्लाको मात्रै नभई राष्ट्रकै पर्यटन विकासले ठूलै फड्को मार्ने कुरामा दुईमत छैन।
https://thahakhabar.com/news/15257/
Comments
Post a Comment