कोसेली : लाहोरमा लाहुरे खोज्दै -सुरेश किरण

 सुरेश किरण

भारतका नामुद निर्देशक सञ्जयलीला भन्सालीले निर्माण गरेको टेलिसिरियल ‘हीरामण्डी’ अनेक हिसाबले चर्चित रह्यो । केही हिसाबले आलोचित पनि भयो । पाकिस्तानको जुन सहरमा हीरामण्डी छ, त्यो सहरले भने ‘हीरामण्डी’ को भाषालाई लिएर आलोचना गर्‍यो । लाहोर, जहाँ असली हीरामण्डी अवस्थित छ, त्यही सहरले फिल्मको भाषाप्रति असन्तुष्टि जाहेर गर्‍यो ।

लाहोरमा लाहुरे खोज्दै 

लाहोरका समीक्षकहरूले भने– हीरामण्डीका पात्रहरूले बोल्ने भाषा पुरानो उर्दू त हो, तर त्यो लाहोरको होइन, लखनउको उर्दू हो ।

निश्चय पनि लाहोर आफ्नो भाषाप्रति संवेदनशील छ । त्यो हुनु स्वाभाविक पनि हो । किनकि लाहोर सहर नै कला र साहित्यको सहर हो । त्यहाँका भाषाविद् मात्रै होइनन्, सर्वसाधारण पनि मातृभाषाप्रति गहिरो प्रेमभाव राख्छन् । सन् २००५ को मार्च अन्त्यतिर एक नेपाली समूहसँगै म लाहोर पुगेको थिएँ, एउटा जातीय समावेशीकरणसम्बन्धी दसदिने सेमिनारमा सहभागी हुन । लाहोरबारे हामीले थोरबहुत नाम त सुनेका छौं । तर अधिकांश लाहोरवासीले काठमाडौंको नामसमेत सुनेका छैनन् । लाहोरवासीहरूसँग छोटो संगतबाट थाहा भयो, नेपाल र नेपाली जनताबारे लाहोरवासी करिब करिब अनभिज्ञ नै छन् । तैपनि हामीले ‘थोरबहुत’ हिन्दीमा कुरा गर्दा उनीहरू ‘अरे आप तो हमारे जुबान बोलते है’ भन्दै खुसी हुँदा रहेछन् । खुसी भएपछि पसलमा सस्तो पाइने, टेम्पोको भाडामा छुट पाइने । मान्छे नचिने पनि भाषाले आफन्त बनाइदिँदो रहेछ ।

लाहोरवासीले नेपाललाई चिन्ने एउटै मात्र तत्त्व रहेछ, मनीषा कोइराला । अहिले यो चिनारी केही परिवर्तन भयो होला । तर, सन् २००५ मा हामी नेपालबाट आएको भन्नेबित्तिकै उनीहरू भनिहाल्थे– ओहो ! मनीषा कोइरालाको देश ? पाकिस्तानमा हिन्दी फिल्म देखाउने चलन त्यति छैन । तर, ‘पाइरेसी’ फिल्ममार्फत नै लाहोरमा मनीषा कोइराला अत्यन्तै लोकप्रिय भइसकेकी थिइन् । कतिपयलाई नेपाल कहाँ छ पनि थाहा छैन, तर ‘मनीषा कोइरालाको देश’ भनेपछि तिनीहरू आफूले बुझेअनुसारको एउटा मुलुकको कल्पनाचाहिँ गर्दा रहेछन् । लाहोरमा चियावाला, पानवाला, होटेलवाला, टेम्पुवाला पनि नेपाल भन्नेबित्तिकै मनीषा कोइरालाको नाम लिइहाल्छन् । हाल चर्चामा आएको ‘हीरामण्डी’ मा मनीषा कोइरालाको त्यो क्रेजले पनि सायद लाहोरलाई मोहित बनाएको हुनुपर्छ ।

पाकिस्तान नेपालबाट त्यति टाढाको देश होइन । तर, पाकिस्तानबारे हामी नेपालीहरू त्यति जानकार छैनौं । लाहोरमा बसेर हेर्दा थाहा हुन्छ, पाकिस्तानीहरू नेपालबारे झनै जानकार छैनन् । हामीले गुलाम अली र मेहदी हसनको गजल गुनगुनाउँदा पनि उनीहरू अचम्म मान्दै ‘यो गजल कहाँ सुनेको हँ ?’ भनेर सोधिहाल्छन् । मेहदी हसनले नेपाल आएर नेपाली भाषामा गजलसमेत गाएका छन् भन्ने कुरा त उनीहरूलाई झन् पत्तै छैन । यसो भन्दा ‘साँच्चै हो र ?’ भनेर ट्वाँ पर्छन् ।

नेपालबारे लाहोर अनभिज्ञ सहर भए पनि लाहोरसँग नेपालको सम्बन्ध इतिहासकालदेखि नै छ । अहिलेको आधुनिक भारत र पाकिस्तान भन्ने देश जन्मिनुभन्दा सयौं वर्षअघि नै लाहोर–नेपाल सम्बन्ध स्थापित भइसकेको थियो । त्यो सम्बन्ध यति प्रगाढ थियो कि त्यसैको आधारमा नेपाली भाषाको शब्दभण्डारमा लाहोरकै नामबाट एउटा शब्द नै थपिएको छ– लाहुरे । नेपालमा अत्यन्तै प्रचलित ‘लाहुरे’ शब्दको स्रोत नै लाहोर हो । नेपालबाट विशेष गरी भारतीय सैनिक टुकडीमा भर्ती हुन जाने नेपाली सैनिकहरूलाई लाहुरे भन्ने गरिन्छ । अहिले त लाहोरमा मुस्लिम समुदायको बाहुल्य छ । तर, कुनै बेला यो सहर सिख र हिन्दु समुदायको पकडमा थियो । विसं १८५० को दशकतिर नेपालको सीमा पश्चिमको कुमाउ–गढवालसम्म फैलिएको थियो । विसं १८७१–७२ मा गोरखा–अंग्रेज युद्ध हुँदा सबैभन्दा भयानक लडाइँ भएको ठाउँ पनि यतै हो । पश्चिमको कुमाउ–गढवाल छेउको नालापानीमा त्यो युद्ध चर्किएको थियो । युद्धमा गोर्खा सेनाका कमान्डर बलभद्र कुँवरले अत्यन्त बहादुरीका साथ मोर्चा सम्हालेका थिए । तथापि युद्ध जित्न भने सकेनन् । युद्ध हारेपछि उनी नेपाल फर्केनन् । किनभने तत्कालीन ‘प्रधानमन्त्री’ भीमसेन थापाले युद्ध हारेर स्वदेश फर्केका गोर्खा सैनिकहरूलाई अपमान गर्ने, सजाय दिन्थे ।

‘नेपाल फिरेर अपमान सहनुभन्दा उतै भासिनु ठीक’ ठानेर बलभद्र कुँवर कुमाउ–गढवालसँगै रहेको अर्को स्वतन्त्र राज्य पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ती हुन गए । त्यतिबेला पञ्जाबको प्रमुख सहर लाहोर थियो । रणजित सिंह त्यतिबेला ‘इस्ट इन्डिया’ कम्पनीको सेनालाई पन्छाउँदै आफ्नो राज्य विस्तार गर्ने अभियानमा थिए । नालापानीमा बलभद्रले देखाएको वीरताबारे रणजित सिंह जानकार थिए । त्यसैले युद्ध हारेर आफ्ना ७० जना सेनासहित पञ्जाब आएका बलभद्र कुँवरलाई राजा रणजित सिंहले सहर्ष आफ्नो फौजमा स्थान दिए । त्यतिबेला उनको तलब दैनिक १० रुपैयाँ थियो । पछि त्यो बढेर दैनिक १५ रुपैयाँ पुग्यो । त्यतिबेला अन्य सैनिक जवानहरूको तलब मासिक ८ रुपैयाँ

हुन्थ्यो (दिनेशराज पन्त, ‘नेपालको इतिहासका केही पाना’, पृ. ८०) ।

पछि बुढाकाजी अमरसिंह थापाका छोरा अर्जुनसिंह थापा र अर्का छोरा भूपालसिंह थापा पनि पञ्जाब राजा रणजित सिंहकै फौजमा समाहित हुन लाहोर पुगे । रणजित सिंहले भूपालसिंह थापालाई अन्य गोर्खाली सेना पनि फौजमा ल्याएर भर्ती गर्ने जिम्मेवारी दिएका थिए । यसरी रणजित सिंहको फौजमा गोर्खाली सेना भर्ती हुने एउटा परम्परा नै बन्यो । ती सैनिकहरू सबैलाई भर्ती गर्ने र बस्ने व्यवस्था लाहोरमा गरिएको थियो । सेनामा भर्ती हुन गोर्खा जवानहरू लाहोर जानुपर्थ्यो । त्यसैले मानिसहरू ‘सेनामा भर्ती हुन जान लागेको’ लाई बुझाउन ‘लाहोर जाने’ भन्न थाले । यसरी भर्ती हुन जानेहरूलाई पछि ‘लाहुरे’ भन्न थाले । पछि त लाहोरको सेनामा मात्रै होइन भारत र बेलायतको सेनामा भर्ती हुन जानेहरूलाई पनि ‘लाहुरे’ नै भन्न थालियो । यसरी ‘लाहुरे’ नेपाली शब्दकोशको नयाँ शब्द र नेपाली समाजको नयाँ संस्कृति बन्यो । अहिले यही ‘लाहुेर’ शब्दसँग जोडिएर लाहुरेमाया, लाहुरेझोला, तोरीलाहुरे, पानीलाहुरे आदि जस्ता अन्य शब्दहरू पनि नेपाली शब्दकोशमा थपिन गएका छन्, जसको अर्थहरू पनि छुट्टाछुट्टै नै छन् । नेपाली समाजमा लाहुरे एउटा नयाँ संस्कृतिकै रूपमा स्थापित भयो । यो संस्कृतिलाई केन्द्रमा राखेर कति फिल्म बने ? लाहुरेलाई सम्झेर कति गीत गाइए ? कति ‘म्युजिक भिडियो’ बनाइए ? त्यसको लेखाजोखा नै छैन । यसर्थ बलभद्रलाई नेपालको पहिलो ‘लाहुरे’ मानिन्छ, जो रणजित सिंहकै सेनाको कमान्ड गरेर अफगान सेनासँग युद्ध गर्दागर्दै विसं १८७९, चैत ३ गते पेसावरको नौसेरा भन्ने ठाउँमा मारिए (दिनेशराज पन्त, ‘नेपालको इतिहासका केही पाना’, पृ. ८०) ।

नेपाली शब्दभण्डारलाई नयाँ शब्द दिने मात्रै होइन, नेपाली समाजलाई नयाँ संस्कृतिसमेत उपहार दिने लाहोर सहरको यो योगदानबारे भने लाहोरवासी पूरै अनभिज्ञ छन् ।

लाहोर पाकिस्तानको राजधानी होइन । तर, पाकिस्तानी राजनीतिको केन्द्र भने लाहोरमै छ । पाकिस्तानको राजधानी इस्लामावाद भए पनि पाकिस्तानी राजनीतिलाई भने लाहोरकै गुरुत्वले आकर्षित गरिहेको हुन्छ । पाकिस्तानी राजनीतिमा स्थापित धेरै नेता लाहोरकै हुन् । राजनीतिको केन्द्र भए पनि लाहोरमा भने राजनीति मात्र हुँदैन । लाहोरलाई पाकिस्तानी कला, साहित्य, संगीत, इतिहास र वास्तुकलाको पनि राजधानी मानिन्छ । लाहोरमा जब मुस्लिम राज सुरु भयो, उनीहरूले यहाँ विश्वमै कहीं नभएका अनौठो बगैंचा, मस्जिद र गढहरू बनाएका थिए । भनिन्छ, लाहोरका कतिपय ठाउँमा दिल्लीसम्म पुग्ने सुरुङ पनि बनाइएका छन् । यहाँ हेर्न लायक ठाउँहरू यति छन् कि त्यसलाई हेर्न छुटाए दुनियाँ नै हेर्न छुट्यो भन्ने कथन त्यहाँ प्रचलित छ । लाहोरवासीहरू भन्छन्– जिसने लाहोर नहीं देखा, उसने दुनियाँ नहीं देखा । सायद दुनियाँलाई देखाउनुपर्छ भनेर नै हो, ब्रिटिसकालीन हीरामण्डीलाई पनि लाहोरले अहिलेसम्म सुरक्षित राखेको छ ।

भनाइ यस्तो रहे पनि अरू कुरा त्यस्तै हो, लाहोरमा अनौठै हुने गरी देख्न लायक एउटा मौलिक कुरा हो त्यहाँको रात्रि बजार । मुस्लिम सहर भएकाले राति चाँडै सुनसान होला कि भन्ने लाग्दो हो । तर, लाहोर त्यस्तो मुस्लिम सहर होइन, जो आकाशको घामलाई हेरेर बन्द हुने वा खुल्ने गर्छ । यहाँको बजार दिउँसै पनि खुल्छ, तर गुल्जार भने राति मात्रै हुन्छ । राति १०–११ बजेपछि मानिसहरू धमाधम बाहिर आउन थाल्छन् । पैदल यात्री मात्रै होइन, गाडीवालहरूसमेत राति बाहिर आउँछन् र आफूलाई

चाहिने सामान किन्न थाल्छन् । राति १२–१ बजेपछि सुपर मार्केटमा भीड हुन थाल्छ । मानिसहरू बजार गर्दै होटल–रेस्टुरेन्टमा खाएर घर फिर्छन् । सडकमा लाइनका लाइनै ठेलाको पसल खुलिसकेको हुन्छ । गाडीवालहरूसमेत उही ठेलाका परिकार खाँदै रमाइरहेका हुन्छन् । खानामा मासु चाहिँ असाध्यै हुँदो रहेछ । त्यो पनि अत्यन्तै मसालेदार । खाना खानेहरूको त्यो भीडमा महिलाको संख्या पनि उत्तिकै हुन्छ ।

मुस्लिम देशमा महिलामाथि दमन हुन्छ, प्रतिबन्ध हुन्छ भन्ने हाम्रो अवधारणा लाहोरको यो बजार हेरेपछि पूरै छताछुल्ल हुन्छ । यत्ति हो कि सबैजसो महिला सलवार–कुर्तामै बजार आएका हुन्छन् । पाइन्ट लगाउने महिला भेट्नै गाह्रो हुन्छ । अत्यन्त धनमानी महिलाहरूचाहिँ बुर्का लगाएर आउँछन् । बुर्कालाई उनीहरू अप्ठ्यारो पोसाक होइन, आफ्नो सभ्यता र शान देखाउने पहिरनका रूपमा धारण गर्दा रहेछन् । त्यति राति महिलाहरू खुला रूपमा हिँडिरहेको, डुलिरहेको, खाइरहेको देख्दा मुस्लिम मुलुक भन्नेबित्तिकै महिलाका विषयमा जुन सोच हाम्रो दिमागमा आउँछ, त्यो पूरै बदलिन्छ । राति १०–११ बजेदेखि सुरु हुने यो भीड रातको ३ बजेपछि बिस्तारै पातलिन थाल्छ । यसरी रातमा सुरु हुने सहर दक्षिण एसियाभरि न भारतमा छ, न नेपाल, न श्रीलंकामा । लाहोरको यो स्वरूप दक्षिण एसियाली सहरकै मौलिक रूप हो ।

महिलाका सवालमा अझ एउटा प्रसंग छ । हाम्रो दसदिने कार्यक्रम लाहोरको लिबर्टी मार्केट भन्ने ठाउँमा अवस्थित होटल सनफोर्टमा भएको थियो । त्यसको एउटा सेसनमा महिला वक्ता थिइन्– निगात साहिद खान । उनी कक्षामा आइन् । मेचमा थुचुक्क बसिन् । एउटा चुरोट सल्काइन् । अनि चुरोट खाँदै कक्षा लिन थालिन् । कक्षा कोठामा चुरोट खाँदै प्रवचन दिएको त्यस्तो दृश्य आजसम्म न कहीं देखको छु, न सुनेको छु । लाहोरकी एक महिला अधिकारकर्मीले त्यो गरेर देखाइन् । लाहोरका महिलाको ‘स्टाटस’ त्यहाँ देख्न पाइएको थियो ।

भारतमा ब्रिटिस साम्राज्यविरुद्ध क्रान्ति हुँदा त्यससम्बन्धी गतिविधि हुने एउटा महत्त्वपूर्ण केन्द्र लाहोर पनि थियो । भारत स्वतन्त्रताका लागि भएको आन्दोलन विशेषगरी दिल्ली, कलकत्ता, ढाका, अमृतसर, लाहोर आदि सहरमा केन्द्रित थियो । त्यसैले पनि लाहोर अहिलेसम्मै राजनीतिको केन्द्र बनेको हुनुपर्छ । स्वतन्त्रताको आन्दोलनपछि भारत विभाजन भई पाकिस्तान बन्यो । यसले पाकिस्तानीहरू खुसी नै भए । तर, पाकिस्तानकै अंग भए पनि लाहोरवासी भने खुसी भएनन् । कारण के भन्दा भारत विभाजन हुँदा अरू सबै प्रान्तहरू पूरै ढिक्कै ढिक्का नै पाकिस्तानमा गए । जस्तो बलोचिस्तान, सिन्ध, खैबरपख्तुंख्वा पूरै प्रान्त नै पाकिस्तानमा पारिएको थियो भने महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, तेलांगना, तामिलनाडु आदि जस्ता प्रान्तहरू भारतमा पारिएको थियो । एकढिक्का रहेको प्रान्त पञ्जाब भने टुक्र्याउनुपर्‍यो । भारत विभाजन हुँदा टुक्र्याउनुपरेको प्रान्त पञ्जाब एउटै मात्र हो । त्यसो त विभाजन गर्दा बंगाल पनि टुक्र्याउनुपरेको थियो । तर, विशाल बंगाललाई बेलायती शासकहरूले धेरै पहिले नै

टुक्र्याएर पूर्वी बंगाल र पश्चिम बंगाल बनाइसकेका थिए । पञ्जाब भने चोखै थियो । त्यो चोखो प्रान्त टुक्र्याएर एक भाग पाकिस्तानमा र एक भाग भारतमा राखियो । त्यसैले पञ्जाब नामक प्रान्त अहिले पाकिस्तानमा पनि छ, भारतमा पनि छ । पाकिस्तानी पञ्जाबको राजधानी लाहोर हो भने भारतीय पञ्जाबको राजधानी अमृतसर हो । भारत विभाजन भएर पाकिस्तान निर्माण हुँदा सबैभन्दा बढी पञ्जाबकै जनता पीडित हुन पुगेका थिए । किनभने विभाजनताका एउटै राज्य दुई देशमा बाँडिएको थियो । त्यसले गर्दा एउटै परिवार दुई देशमा विभाजित हुन पुगे । धेरैको परिवार कोही यता, कोही उता भए । विभाजन हुँदा भएको हूलदंगामा परी यही प्रान्तका धेरै जनताले ज्यान गुमाउनुपरेको थियो । पञ्जाबमा सिख, हिन्दु र मुस्लिम समुदायका मानिसहरू बसोबास गर्थे । विभाजनपछि उनीहरूको परिवार पनि दुई देशमा विभाजित भए । त्यही भएर लाहोरमा सिख र हिन्दु नागरिक पनि छन् । तर, उनीहरूले भारतमा जस्तो आफ्नो धर्मको खुला अभ्यास भने गर्न पाइरहेका छैनन् ।

भारतमा बाबरी मस्जिद भत्काउँदा लाहोरमा हिन्दु मन्दिर फुटाइएको थियो । एउटै प्रान्तका नागरिकलाई यसरी दुई देशमा विभाजन गरिदिएकोमा लाहोरका जनता अझै पीडित छन् । तसर्थ सन् १९४७ को विभाजनलाई उनीहरू भारत विभाजन होइन, पञ्जाब विभाजन भन्छन् । किनभने त्यसमा एकढिक्का रहेको पञ्जाब प्रान्तलाई काटेर दुई देशमा वारि–पारि बनाइएको थियो । त्यही भएर पञ्जाबलाई उनीहरू त्यस्तो भूमि भन्छन्, जो एउटै प्रान्त भइकन पनि दुई देशमा फैलिएको छ । यो प्रान्तका जनतालाई राहत दिलाउन भारत र पाकिस्तान सरकारले अमृतसरदेखि लाहोरसम्म सञ्चालन हुने रेल सेवा पनि सुरु गरेको थियो । भारत–पाकिस्तानबीच खुल्ला भएको सीमा भनेकै यति नै हो । अमृतसर र लाहोर जोड्ने सिमानालाई बागा बोर्डर भनिन्छ, जो एकआपसका सैनिकहरूले प्रदर्शन गर्ने सैन्य कवाजका कारण अत्यन्तै चर्चित छ । बागा बोर्डरलाई संसारकै सबैभन्दा संवेदनशील सीमा मानिन्छ । यो सीमा सधैँ तनावग्रस्त हुन्छ ।

उसो त भारत र पाकिस्तानलाई संसारकै सबैभन्दा कटुता भएको छिमेकी भनिन्छ । तर, यो कटुता दुई मुलुकका सरकारबीच मात्रै व्याप्त देखिन्छ । जनता–जनताबीच भने त्यस्तो कटुता पाइँदैन । लाहोरका जनताले भारतीय नागरिकलाई त्यतिकै सम्मान गरेको देखिन्छ । तथापि त्यहाँको प्रशासनले भारतीयका लागि भने कडा नीति लिएको पाइन्छ । कोही पनि भारतीय नागरिक यदि कुनै कामविशेषले लाहोर आएको छ भने उसले हरेक दिन आफू बसेको होटलको नजिक कुनै प्रहरी चौकीमा गएर दैनिक हाजिर गर्नुपर्ने नियम बनाएको रहेछ । यदि हाजिर गर्न गएन भने चौकीले तुरुन्तै होटलमा फोन हान्न थाल्छ । लाहोरको सम्मेलनमा भाग लिन आएका सबै भारतीय सहभागीहरू दिनहुँ चौकीमा जानुपरेको थियो । भारत र पाकिस्तानबीच सरकारी स्तरको सम्बन्ध असाध्यै खराब छ । तर, दुई देशका नागरिकबीचको सम्बन्ध भने त्यस्तो कटु रहेनछ । ‘सेमिनार’मा भाग लिन आएका भारतीय प्रतिनिधि र लाहोरका प्रतिनिधिहरू एकआपसमा भेट्दा असाध्यै भावुक भएको देखें । उनीहरू एकआपसमा कुराकानी गर्दा ‘हाम्रो देश एउटै थियो, तर नेताहरूको स्वार्थका कारण विभाजन हुनुपर्‍यो’ भनेर दुःख पोख्दा रहेछन् । उनीहरू बीच दुई देश भन्ने कुनै भेदै देखिनँ । ‘हामीहरू वास्तवमा एकै देशका नागरिक हौं’ सम्म पनि भन्दा रहेछन् । तर, कुरा गर्दै जाँदा जब कश्मीरको प्रसंग आउँछ, तब दुवै देशका नागरिकको दिमाग भड्किन थाल्छ । सरकार जस्तै उनीहरू पनि कश्मीर मुद्दाको विवादमा उत्रिन थाल्छन् । ‘कश्मीरमाथि ज्यादती गरेको’ भनेर एकआपसलाई दोष दिन थाल्छन् । यसबाट थाहा हुन्छ, कश्मीर विवाद भारत र पाकिस्तानबीच जनताकै स्तरसम्म पुगिसकेको विवाद हो । अरू विवाद सजिलै समाधान भए पनि कश्मीर विवाद सजिलै समाधान हुनेवाला छैन भन्ने संकेत पनि त्यसबाट पाइन्छ । लाहोरका होटलहरूमा राखिएका टीभी ‘सेट’मा हिन्दी फिल्महरू पनि आउँछन् । तर, त्यसको प्रमुख कलाकार भने शाहरुख खान, सलमान खान, आमिर खान वा युसुफ खान (दिलीप कुमार) भएको हुनुपर्छ । यी खानहरूबाहेक अरू हिरो भएको हिन्दी फिल्म होटेलको टीभी ‘स्क्रिन’मा नआउने रहेछ ।

कुनै बेला नेपाल–पाकिस्तानबीच सिधा हवाई सेवा पनि चल्ने गर्थ्यो । सन् १९९२ मा पाकिस्तानको एउटा विमान नेपालमा दुर्घटना हुँदा १६७ यात्रुको ज्यान गएको थियो । पछि भारतले पाकिस्तानी विमानलाई हवाई रुट नदिएपछि नेपाल–पाक हवाई सम्पर्क टुट्यो । यसले नेपाल र पाकिस्तानलाई झनै टाढा बनाइदियो । अहिले लाहोर वा पाकिस्तानको कुनै नगर जानुपर्‍यो भने पहिले भारतको दिल्ली पुगेर त्यहाँबाट अर्को विमान समाउनुपर्छ । विमान चढ्दा अरू देशका नागरिकलाई त खासै समस्या छैन, तर पाकिस्तान जाँदा भारतीय नागरिक र भारत आउँदा पाकिस्तानी नागरिकको भने करङसमेत जाँच्दा रहेछन् । नेपाली नागरिकहरू काठमाडौंबाट दिल्ली जाने हो भने बिना भिसा जान पाइन्छ, तर पाकिस्तानबाट आएको हो भने नेपाली नागरिकले पनि भिसा लिनुपर्छ भनेर विमानस्थलमा हाम्रो सातो लिइयो ।

अन्त्यमा हवाई जहाजकै एउटा प्रसंग । लाहोरको अलामा इकबाल इन्टरनेसनल एयरपोर्ट विश्वकै अत्यन्त सुन्दर र व्यस्त विमानस्थलमध्ये एक हो । हामी नेपालबाट गएका ‘सेमिनार’का सहभागीहरू भारतको दिल्ली हुँदै लाहोर झरेका थियौं । तर, लाहोर विमानस्थलबाट निक्लिने बेला भने हामीसँगै आएकी एक महिला प्रतिनिधिलाई प्रहरीले समाते । हामी सबै आत्तियौं । हामी भारतको रुट हुँदै गएका थियौं । केही ‘इन्टरनेसनल केस’ नै पर्‍यो कि भनेर सबै सतर्क भए । पछि किन समातेको भनेर बुझ्दा थाहा भयो, ती महिला सहभागीको सुटकेसमा एउटा रक्सीको बोतल राखिएको रहेछ, एक्सरे गर्दा त्यो देखिएछ । ती महिला सहभागीले आफ्नो पाकिस्तानी साथीलाई नेपालको ब्रान्डेड रक्सी उपहार दिन ल्याएकी रहिछन् । नेपालको विमानस्थलमा त्यो रोकिएन । दिल्लीको विमानस्थलमा पनि रोकिएन । लाहोरमा चाहिँ सुटकेसभित्रै एक्सरेले देखाएछ । लाहोरमा रक्सी पनि लैजान नपाइने वस्तुको सूचीमा राखिएको रहेछ । नेपालीलाई थाहा भएन । रक्सी समातियो । अब के गर्ने ? विमानस्थलको भन्सार कर्मचारीले भन्यो– अब यो रक्सी यहीं छोडेर जानुस् । पछि फर्कंदा फिर्ता लैजाँदा हुन्छ । वर्जित वस्तु लैजान पाइन्न भनेपछि विवाद गर्ने कुरा भएन । रक्सी त्यहीं छोडियो । रक्सीको बोतल छोडेबापत कर्मचारीले एउटा सानो चिट पनि लेखेर दिए । त्यसपछि बल्ल विमानस्थलबाट बाहिर निस्किन पाइयो ।

दस दिन लाहोरको सेमिनारमै व्यस्त भइयो । विमानस्थलमा रक्सी छोडेको सबैले बिर्सिसकेका थिए । एघारौं दिनमा फर्कंदा विमानस्थल पुगेपछि रक्सीको याद आएछ । पुरानो चिट देखाए सायद फर्काउलान् कि ? कर्मचारीलाई एघार दिनअघिको सानो चिट देखाइयो । एकजना विमानस्थल कर्मचारीले आफू सँगसँगै हामीलाई पनि लिएर गए । भन्सारको एउटा ठूलो गोदाम घर पुगियो । त्यहाँ त जफत गरी राखिएका रक्सीका सयौं बोतल रहेछन् । अब त्यो भद्रगोल बोतलको ‘भीड’ मा हाम्रो बोतल खोज्ने कसरी ? खोजे पनि भेटिइहाल्छ भन्ने ‘ग्यारेन्टी’ के ? तर, नभन्दै कर्मचारीले एघार दिन अघि जफत गरेको रक्सीको बोतल भेट्टाए । अनि नेपाली सहभागीलाई त्यो फिर्ता पनि गरे । पाकिस्तान जस्तो देशको एयरपोर्टमा एघार दिन अघि छोडेर गएको रक्सी पुनः भेटिएला भनेर कसले विश्वास गर्छ ? हामीले नेपालको विमानस्थल सम्झ्यौं, जहाँ यात्रुको बन्द सुटकेससमेत फोडिएर बाहिर आउने गर्छ । तर, पाकिस्तानमा माया मारिसकेको रक्सी फिर्ता पाएर सहभागी महिला दंग परिन् । नेपालबाट लगिएका सबै सामान पाकिस्तान गए, रक्सीको बोतल जान पाएन । लाहोरको त्यो भव्य विमानस्थलमा कर्मचारीले प्रदर्शन गरेको त्यो सभ्य इमान्दारिता देखेर हामी दंग पर्‍यौं । वास्तवमा लाहोरमा हेर्न लायक धेरै कुरा छन् भनेको चाहिँ यथार्थमा सत्य रहेछ ।

प्रकाशित : असार २९, २०८१ १०:५०
https://ekantipur.com/koseli/2024/07/13/looking-for-lahore-in-lahore-24-14.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? : गोविन्द न्यौपाने

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि