कोसेली : डाक्टर आमाहरू-कविता राई

कविता राई

जतिबेला गाउँमा स्वास्थ्यचौकी थिएनन्, सूचना प्रविधिको विकास र पहुँच थिएन रैथाने परम्परागत अनुभव र ज्ञानबाटै गाउँको जीवन पद्धति चलेको थियो । अहिले सूचना, प्रविधि र विज्ञानको विकासले गाउँघरका रैथाने ज्ञान र अनुभवलाई विस्थापित गरिरहेको छ । बढ्दो रासायनिक पदार्थ मिसिएका खाद्यान्न प्रयोग र जलवायु परिवर्तनले पारेको असरका कारण हाम्रा रैथाने प्रविधि र ज्ञान निष्प्रभावी बनेका छन् ।

डाक्टर आमाहरू

परम्परागत रूपमा प्रथम डाक्टर, धामी, झाँक्री, वैद्य जे भने पनि आमाहरू थिए । घरमा कोही बिरामी परे अनेक प्रयास र प्रयत्नमा जडीबुटी प्रयोग गर्न आमाहरू तत्पर रहन्थे । नेपालमा वि.सं. १९४८ मा वीर अस्पताल खुलेको पाइन्छ । २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि मात्रै नेपालमा सर्वसाधारण जनताको पहुँचमा गाउँगाउँसम्म आधुनिक (एलोपेथिक) औषधिको पहुँच विस्तार हुन थालेको स्वास्थ्यसम्बन्धी इतिहासमा हेर्न पाइन्छ । यसअघि पञ्चायतकालमा सीमित अस्पताल भए पनि सर्वसाधारणको पहुँचमा ती थिएनन् । 

कीर्तिपुरको लडाइँमा आँखामा तीर लागेका सुरप्रताप शाह जो पृथ्वीनारायण शाहका भाइ थिए, उनको आँखाको तीर केपुचिन पादरीले झिकिदिएको कथा र राणाकालमा कालिजको हड्डी अड्केर धीरशमशेरको मृत्यु भएको कथाले त्यसबेलाको स्वास्थ्य अवस्था पुष्टि गर्छ । राजामहाराजाको अवस्था त्यस्तो थियो भने साधारण जनताको अवस्था कस्तो थियो होला ?

म सानो छँदा हामीले त्यति औषधि खान पाएनौं । गाउँमा घाँस काट्दा अचानक हात काटे आमाले आफ्नै पिसाब वा कालो तीतेपातीको मुन्टा निचोरेर लगाई दिनुहुन्थ्यो । काटेका ठाउँमा बेसारको पिठो लगाएर पटुका च्यातेर बाँधिदिनु हुन्थ्यो । सामान्य काटेको चोट हामी यसरी नै निको बनाउँथ्यौं । साना नानीलाई ज्वरो आयो र निमोनिया भयो भने लज्जावती झारको जरा कुटेर रस खुवाउनु हुन्थ्यो । जाइफूलको मुन्टा निचोरेर मह मिसाएर पिलाउनु हुन्थ्यो । हामीले निमोनियालाई यसरी नै पचाइएको थियो । निमोनिया र रुखामार्कीमा अदुवा, बेसार पकाएर मह मिसाएर पिलाउनु हुन्थ्यो । टाउको दुःखिरहे मकै भुट्ने हाँडी धेरै तताएर त्यसको बाफले टाउको सेकिदिनुहुन्थ्यो । यसबाट धेरै समय टाउको दुख्ने समस्या दूर हुन्थ्यो । पहाडमा बर्खाको समय असाध्यै हिलोले खुट्टाका औंलाका कापमा घाउ बनाउँथ्यो । अनार अथवा दाडिमका बोक्रा कुटेर लगाइदिनुहुन्थ्यो । भोलिपल्ट घाउ निको भएको हुन्थ्यो । मासी परेका बेला काली निगुरोको जरा कुटेर रस पिलाउनु हुन्थ्यो । हामी त्यसैले मासीबाट निको हुन्थ्यौं । बारीमा थोरै भए पनि गहत लगाइन्थ्यो र बाबाले वर्षको हिउँदको समयमा प्रशस्त गहतको झोल पिउन लगाउनुहुन्थ्यो ।

हर्रा, बोझो, चिमफिम, बिखुम्बा सधैं आमाको सुर्के थैलीमै हुन्थे । आमाले घाँटी सफा गर्छ भनेर हर्रा, बोझोको टुक्रा चपाइरहनुहुन्थ्यो । हामीलाई पनि चपाउन लाउनु हुन्थ्यो, तर स्वाद मीठो नलागेर हामी आमाले नदेखी फ्याँकी दिन्थ्यौं । के के लाग्दैन, हिँड्दा भूतप्रेतले सताउँदैन भनेर हामीलाई चिमफिम, तीतेपाती दलिदिनु हुन्थ्यो ।

म दस वर्षको हुँदाको समय आमा र म नजिकको आफन्तको बिहे खान गाउँबाट टाढा गएका थियौं । बिहेघरमा रौनक छाइरहेका बेला हाम्रो आमा अचानक बिरामी हुनु भयो । सुरुमा पेट दुख्यो भन्नुभएको थियो । पछि सहनै नसक्ने गरी पेट दुखेर झाडाबान्ता हुन थाल्यो । आमा त बेहोस जस्तो हुनु भयो । आमाले अर्धबेहोस अवस्थामा सुस्तरी सासले ‘बिखुम्बा’ भन्नुभयो । मैले आमाको थैलीबाट बिखुम्माको टुक्रा निकालें । आफन्तहरूले बिखुम्मा घोटेर पानीमा घोले र आमालाई पिलाइदिए । बिखुम्मा खुवाएको आधा घण्टापछि आमा होसमा आउनुभयो । सबैले खानामा विष परेछ भने । मलाई लाग्छ, आमालाई फुड पोइजन भएको थियो । त्यसको अचुक औषधि बिखुम्मा भयो ।

परम्परागत रूपमा गाउँघरमा अनेक बिमार तथा सुत्केरीका लागि स्थानीय जडीबुटी प्रयोग गरेर स्वस्थ बनाउने चलन थियो । लडेको, हाडहरू मर्केको, सड्केकोमा स्थानीय जडीबुटीको प्रयोग गरेर निको पार्ने चलन पनि गाउँघरमा नयाँ होइन । टेम्केमैयुङ भोजपुर बस्ने रामकुमारी सुयल त्यस क्षेत्रको जडीबुटी विज्ञजत्तिकै छिन् । गाउँघर तथा आसपासमा कसैको लडेर, ठोकिएर हाडसम्बन्धी समस्या भयो भने उनकैमा आउने गर्छन् । उनले जंगलबाट जडीबुटी खोजी ल्याउँछिन् र त्यसको लेप बनाएर लगाइदिन्छिन् । उनले उपचार गरेको बढीमा एक महिनामा बिरामी निको हुन्छन् । रामकुमारीले यो सीप आफ्ना बाबुबाट सिकेकी हुन् ।

गाउँघरमा अनेक रोग, बिमारका औषधिका रूपमा रैथाने जडीबुटीको प्रयोग गर्ने प्रचलन प्राचीनकालदेखि रहेको पाइन्छ । किराती समुदायमा सृष्टिको सुरुवातकै कथामा जडीबुटी प्रयोगको कुरा छ । मिथक अनुसार किरातीको सुरुपुस्ता मान्छे, बाघ र भालु तीन भाइ नाइम्माको छोरामध्ये मान्छेले बाघ र भालुलाई मारेपछि आमा नाइम्माले जडीबुटीको लेप लगाएर मुन्दुम फलाक्दै मरेका बाघ र भालुलाई जगाएको कथा छ । १९०० बि.सी. मा लेखिएको वैद्धिककालको चरक संहितामा ३४१ बिरुवा र तिनबाट बनाइने औषधिको बारे उल्लेख पाइन्छ । यस्ता मिथ तथा लिखित सामग्रीले पनि हामी जडीबुटीय उपचार पद्धतिबाट जीवनको सुरुवातदेखि नै अछुतो छैनौं भन्ने पुष्टि गर्छ ।

स्थानीय जडीबुटीको व्यावहारिक प्रयोग आदिबासी जनजातिमा अझै बढी पाइने गरेको छ । किराती समुदायको मुन्दुममा कतिपय जडीबुटीको प्रयोगका कुरा आउँछ । किराती समुदायमा लिमचिमबुङ, हड्चुर, पाखमवेद, हर्रा, बर्रा, बटुकेझार (घोडताप्रे), बेसार, अदुवा लगायत जडीबुटीको प्रयोग अत्यधिक गरिन्छ । कमल अधिकारीले तामाङ समुदायमा प्रयोग गरिने जडीबुटीबारे अनुसन्धान गरेर किताब नै लेखेका रहेछन् । स्थानीय बूढापाका तथा धामीझाँक्रीले जानेका त्यस्ता ज्ञान अहिले अन्धविश्वासको नाममा उपेक्षामा परेका छन् । पुराना पुस्तासँगै यी कुराहरू सकिँदै छ ।

हुन त नेपालको परम्परामा हैजा तथा अन्य रोगको महामारी आउँदा होमादी लगाउने, स्वस्ति–शान्ति गर्ने चलन थियो । किरातीहरूले चिन्ता (धाँमी बसाउने) राख्ने, तीचुलालाई बल माग्ने, कचुर काटेर भविष्यको अवस्थाको अनुमान गर्ने र दसाग्रह कटाउने चलन अझै छ । अनेक समुदायले आ–आफ्नो धर्म र परम्परा अनुसार इष्ट देवतालाई बल माग्ने प्रचलन रहेकै छ । यी सबै कुरा सही छन् भन्ने पनि होइन । तान्त्रिक विधिका साथ उनीहरूले चलाएको जडीबुटी भने धेरै व्यावहारिक र विज्ञान सम्मत छ भन्न सकिन्छ । हाल विभिन्न औषधि उत्पादन गर्ने कम्पनीहरूले तिनै जडीबुटीलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने गरेका छन् ।

उसो त प्रविधिमय समयमा ठूलठूला प्राणघातक रोगहरूसमेत जितेर मान्छेहरूले नयाँ जीवन पाइरहेका छन् । तर, परम्परागत हाम्रा कतिपय उपचार पद्धति तथा खानपानले शरीरलाई मजबुत बनाउनुका साथै प्रतिरोधी क्षमताको विकास गराउने विज्ञहरूले बताएका छन् । पुरानो पुस्ताका आमाहरूसँगै कतिपय ज्ञान मरेर गइरहेका छन् । राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले पनि स्थानीय स्तरमा उपलब्ध औषधिजन्य जडीबुटी, खनिज आदिको पहिचान, संरक्षण, संकलन तथा प्रवर्द्धन गर्दै आयुर्वेद चिकित्सामा वैज्ञानिक अनुसन्धान तथा सदुपयोग गरी आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ । रैथाने ज्ञानका रूपमा रहेका हाम्रा परम्परागत ज्ञान–सीपहरू हाम्रो समाजका सम्पत्ति हुन् ।

https://ekantipur.com/koseli/2024/07/13/doctor-mothers-13-33.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? : गोविन्द न्यौपाने

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि