कोसेली: ‘कमजोर चेतनास्तर भएको समाजमा इतिहास धराप पनि बन्न सक्छ’ - मानवशास्त्री सुरेश ढकाल
श्रावण १२, २०८१ दीपक सापकोटा मानवशास्त्री सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास : सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ प्रकाशित छ । उद्विकासको लामो यात्रामा मानव सभ्यताले हासिल गरेको उपलब्धि र झेलेको चुनौतीबारे ढकालको यो किताब अन्तर्दृष्टियुक्त छ । मानव सभ्यता विकासको मानवशास्त्रीय अवलोकनकर्ता तथा अन्वेषक ढकालसँग किताबको सेरोफेरोमा दीपक सापकोटा को वार्ता : सन् २०१५ सम्म नेपालमा मानवशास्त्र र समाजशास्त्र एउटै विभाग मातहत थिए । त्यसको अध्यापन, अनुसन्धान कार्य र नेतृत्वमा मानवशास्त्रीहरूको उल्लेख्य उपस्थिति हुँदा पनि 'पब्लिक डिस्कोर्स’मा भने मानवशास्त्र तुलनात्मक रूपमा कम प्रभावी भयो भनिन्छ । यो कसरी र किन ? एउटै विभागको मातहतमा थिए, तर डिग्री भने मानवशास्त्र र समाजशास्त्रको छुट्टाछुट्टै नै हुन्थ्यो । त्यो सही हो कि अध्यापन, अनुसन्धान र विभागीय नेतृत्व आदिमा मानवशास्त्रीहरूको उल्लेख्य उपस्थिति हुँदा पनि सार्वजनिक तहमा मानवशास्त्र परिचयविहीन जस्तै थियो । आदर कायम नै राखेर भन्नुपर्दा, अग्रज मानवशास्त्रीहरूले विषयको विशिष्टता र सार्वजनिक पहिचानका लागि गरिनुपर्ने प...