कोसेली- किराती मौखिक इतिहासको उत्खन ननाटक ‘मेषी दण्ड’: गुरुङ सुशान्त
एकछिनलाई एउटा कष्टदायी कल्पना गरौं– कुनै परिबन्दमा परेर हाम्रा मुखमा बलिया ताल्चा झुन्ड्याइएका छन् । परिस्थिति यस्तो छ कि चाहना र चाबी अरूकै मुठ्ठीमा लुकाइएको छ । हामी ताल्चा खुल्ने घडीको प्रतीक्षामा छौं ।
थाहा छैन, त्यो घडी कहिले आउँछ ? फेरि सोचों– हामी कति समयसम्म आफ्नो धैर्यको परीक्षा लिन सक्छौं ? बक बन्द गरेर हामी कति घडी रहन सक्छौं ? कुनै सिद्धहस्त लेखकको प्रयोगपरक स्वैरकाल्पनिक आख्यानमा त कुनै पात्र युगौं मौन रहन सक्ला या महिनौं निदाउन सक्ला । तर, यथार्थ जीवनमा बोली लुटिएको व्यक्तिका रूपमा आफूलाई कल्पना गर्दा मात्रै पनि निस्सासिन्छों । र, आक्रोशित हुन्छौं । काठमाडौंको मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मेषी दण्ड’ हेरिरहेका दर्शक जब यसको पृष्ठकथालाई बोध गर्छन्, तब एक साथ निस्सासिने र आक्रोशित हुने प्रक्रियाबाट गुज्रन सक्छन् । जब दर्शकहरू थिएटरबाट बाहिरिन्छन्, तब बेसुरे सपनाबाट ब्युँझिएपछिको उदासीजस्तो एक तमासको नीलो निस्तब्धतालाई मनको देब्रे खल्तीमा बोकेर फर्कन बाध्य हुन्छन् । र, नाटकमा प्रयुक्त कविताको अन्तिम हरफ पार्श्वमा गुन्जिरहेको पाउन सक्छन्– ‘लामो निद्रापछि बल्ल म ब्युँतिएको छु/सम्झ अब म ब्युँतिएकोपछि/सुरु हुनेछ अर्को कथा...।’
यस नाटकले भाषा र सभ्यताको अन्तरसम्बन्धलाई किराती मौखिक इतिहासको जगमा उभिएर कलात्मक शैलीमा मञ्चमा उतारेको छ । भाषा शब्दभण्डार र व्याकरणको तालमेल मात्रै होइन, खासमा भाषा आफैंमा एउटा छुट्टै विशाल संसार हो । भाषासँग समुदायका सभ्यता–संस्कृति र इतिहास गाँसिएका हुन्छन् र जोडिएका हुन्छन्– उसको विश्वास पद्धतिदेखि जीवन पद्धतिसम्म । व्यक्तिदेखि समुदायसम्मले कसरी सोच्छ भन्ने बलियो आधार नै भाषा हो । इटालीका विद्वान् भेजिनोले यस्सै भनेका होइनन्, ‘कुनै जातिलाई नष्ट गर्नु छ भने उसको भाषा नष्ट गरिदिनू ।’ हाम्रा विश्वविद्यालयहरूले भाषालाई अभिव्यक्तिको माध्यमदेखि विचार विनिमयको साधनसम्मको साँघुरो घेरामा खुम्च्याइदिएकै परिणाम आधुनिक शिक्षाको ब्यानरमा व्यापार गर्ने निजी विद्यालयमा हाम्रो नयाँ पुस्ताले खस नेपाली भाषा बोल्दासमेत दण्डित हुनु परेको छ । आफ्नै भूगोलमा आफ्नै भाषा बोल्दा दण्ड बेहोर्नुको व्यथा अंग्रेजी माध्यमको ‘स्कुल’ भित्रिएपछि मात्रै देखा परेको होइन । डेढ शताब्दीभन्दा अघिदेखि यहाँको राज्यसत्ताले समुदायहरूका भाषामाथि गरेको दमन र उत्पीडनका इतिहासहरू छन्, जुन इतिहास शासककेन्द्री विरुदावलीहरूको दरबारमुनि दबाइए । र, आज मिथकीय शैलीमा मात्रै सुन्न पाइन्छन् ती । शासकको इतिहासका पानामा पर्नबाट वञ्चित हाम्रा उत्पीडनका ती अश्रुगाथा हाम्रै श्रुति–परम्परा र पुराकथामा बाँचिरहेका छन् ।
लाग्न सक्छ, धेरैले नसुनेको यस कथाको पोयो फुकाउने मेसो ‘जनयुद्ध’ को पृृष्ठभूमिबाट आएका युवा कवि गिलु रातोसले चाहिँ कसरी पाएछन् ? केही वर्षअघि राजनीतिकर्मी मानवीर राईले खालिङ समाजको ऐतिहासिक घटना मेषी दण्डबारे नबताउँदासम्म गिलु पनि लगभग अनभिज्ञ रहेछन् । उहिले नेपालको केन्द्रीय राज्यसत्ताका प्रतिनिधिहरू चीनको नाङ्पाला जाँदा सोलुखुम्बुको उत्तरी भेगको खालिङ बस्तीमा पस्दा रहेछन् । त्यहाँका खालिङहरूले बाबियोको डोरी बाटेर ‘तुइन’ तयार गरी शासकहरूलाई नदी तार्ने काम पनि गर्दा रहेछन् । शासकहरू भने बेलामौकामा राज्यका नीति, नियम तथा उर्दीहरू फलाक्दा रहेछन् । शासकहरूले बोलेको खस नेपाली भाषाका अर्थहरू नबुझे पनि खालिङ समाजले सम्मानस्वरूप सकार भावमा आफ्नै भाषामा भन्दा रहेछन्– ‘मेषी माका’ । भाषागत समस्याका कारण ‘हो, हजुर’ भन्ने अर्थ लाग्ने ‘मेषी माका’ लाई शासकहरूले नकारभावमा लिएछन् अनि निर्णय गरेछन् कि यहाँको समाज केन्द्रीय राज्यशासनविरुद्ध भएकाले दण्ड तिराउनुपर्छ । राणाशासन नढल्दासम्म खालिङ बस्तीले ‘मेषी दण्ड’ बर्सेनि तिरेछ । यो कुरा सुनेपछि कवि मनका गिलु नलेखी बस्न सकेनन् । सत्ताले कसिङ्गरमा मिल्काएको इतिहासको एकसरो कथाव्यथालाई कवि कल्पना, ऐतिहासिक सम्भाव्यता, लोक–कहावत आदिको सहारामा निकै सावधानीपूर्वक उत्खनन गरेका छन्, गिलुले । उत्प्रेरणा, अध्ययन र कल्पनालाई एकसाथ आफ्नो लेखकीय गर्भमा बोकेर हिँडेका गिलुलाई रंगकर्मी अनिल सुब्बाको सहयात्रा मिलेपछिको परिणाम हो– नाटक ‘मेषी दण्ड’ ।
खालिङ आदिवासी बस्ती आफ्नै सीप र ज्ञान परम्परालाई अगाडि बढाउँदै रैथाने लयमा चलेकै थियो । तर, मेषी दण्ड तिर्नुभन्दा ब्राह्मण खलकलाई जग्गा जमिन दिएर खस नेपाली भाषा सिक्दा दण्डमुक्त भइने आसमा जब खस आर्य शासकलाई त्यहाँ प्रवेश गराइयो, तब हिन्दु जातव्यवस्थाको सोपानक्रममा लादियो । र, युगौंदेखि चलिआएको काम पनि सानाठूलाको तहगत व्यवस्थामा वर्गीकरण भयो । साथै, स्थाननामदेखि दैनन्दिनमा समेत खस नेपाली भाषाले नै कब्जा जमायो । किरात बस्तीमा हिन्दुकरण लादिएको यही कथालाई नाटकले मुखर ढंगले प्रस्तुत गरेको छ । नाटकमा ब्राह्मण र खालिङ दुवै समुदायका बीच भएको छेडछाड छ, नोकझोंक छ, सहकार्य छ र प्रेम पनि छ । अनि, उत्पीडनदेखि प्रतिरोधका भिल्कासमेत छन् । सुजम्बर–जुनमफूल, लबदा–लाकुमाङ, जिरिम–आङ्नीसङ, सिंहवीर कार्की, सूर्यध्वज–राधिका, दिल्सु–विष्णु, नोक्छो, पण्डित आदि पात्रले आआफ्नै सामुदायिक चरित्रलाई मसिनोसँग आत्मसात् गरेका छन् ।
नाटक हेर्नु भनेको एकसरो कथालाई दृश्यबाट अवलोकन गर्नु मात्रै होइन, लेखक, कलाकार, निर्देशक र सम्पूर्ण टिमको कला–शिल्पको समग्रतालाई एकाग्र भएर रसास्वादन गर्नु पनि हो । त्यही नाटकले मात्रै कल्पना र यथार्थको सीमारेखा भत्काएर दर्शकलाई आफैंसँग यात्रा गराउन सक्छ, जुन नाटकमा लेखन–शिल्प, अभिनय–कला र निर्देशकीय विश्वदृष्टि–लय एकसाथ बग्छन् । डेढ घण्टा लामो नाटकले दर्शकलाई बाँधेर राख्न सक्नु ‘मेषी दण्ड’ को लयात्मक सफलता हो भन्न सकिन्छ । प्रत्यक्ष संगीत र वाद्यवादनमार्फत पक्रिएको संगीतात्मक गति र त्यही गतिमा बगेको यस नाटक कतिपय दर्शकलाई धीमा लाग्न पनि सक्छ । तर, प्रत्यक्ष गायनमा खटिएकी प्रवृत्ति राई र उनको समूहलाई महसुस गर्ने हो भने दर्शकमा तरल भाव सञ्चार भइरहन्छ । प्रकाश, भेषभूषा, साजसज्जा र रंगमञ्चीय रङ–संयोजनले पुरानो समयको कथा अगाडि बढाउन भरपूर सहयोग गरेको देखिन्छ । तर, कतिपय कलाकारबीचको संवादात्मक परिवेशलाई उच्च ध्वनिका कारण धूमिल पारिदिएको महसुुस हुन्छ । कतिपय संवादचाहिँ गैरखालिङभाषी दर्शकले पात्रको भावभंगिमा, सन्दर्भ र परिवेशबाट बुझ्नुपर्ने खालका भएकाले अलमल पनि निम्तिन पनि सक्छ । तर, यस्तो अलमल हिजो मेषी दण्ड बेहोर्ने खालिङ समुदायले भोगेको सकसको पहाडअघि एक बित्ता पनि होइन । कतै भाषिक दुर्बोध्यताको पीडा बुझाउन पनि यो शैली अंगीकार गरिएको त होइन ?
दर्शकलाई हँसाउँदै–हँसाउँदै रुवाउन समर्थ छन्, कलाकारहरू । दर्शकलाई पात्र र कथासँगै एकाकार गराएर साधारणीकरणसम्मको यात्रामा डोर्याउन सक्नुलाई कलाकारहरूको अभिनयको सफलता मान्नु पर्छ । उत्पीडनको कथामा हास्यरस घोल्न सक्नु ‘मेषी दण्ड’ को शिल्पगत क्षमता हो । यस नाटकको सबैभन्दा रुचिकर पक्ष हो– पात्रता बाँटफाँटमा सकभर समान वितरण । कलाकारको क्षमता र कथाको मागअनुसार भूमिका केही घटीबढी हुनु त स्वाभाविकै हो । तर, नाटकको उद्देश्य कुनै पात्रलाई नायक या खलनायक बनाउन अतिरिक्त मिहिनेत गर्नुमा छैन । समुदायको उत्पीडित कथा भन्नु नै प्रमुख ध्येय रहेकाले सामूहिक पात्रतामा जोड दिइएको छ । हुन त, हामी व्यक्ति र समाज अनि पात्रता र नायकत्वलाई कसरी हेर्छौं भन्ने सवालसँग पात्रविधान जोडिएर आउला । ‘कोरस’ र ‘लिड रोल’ भन्ने रंगमञ्चीय भाष्यलाई धेरथोर भत्काउने कोसिस ‘मेषी दण्ड’ ले गरेको छ । यो कोसिस सुविचारित हो कि संयोग मात्रै ? यसको जवाफ भने निर्देशक अनिल सब्बाका आगामी नाटकहरूले दिनेछन् ।
नाटकमा ग्रामीण किराती जीवनशैली, संस्कृति र विश्वासपद्धतिलाई प्रतिनिधित्व गर्ने दृश्यहरू समावेश गरिएको छ । दैनिक घरव्यवहारमा प्रयोग गरिने चिण्डोलाई किरातीहरू जीवनको प्रतीक मान्छन् । सायद यही प्रतीकको अर्थबोध गराउन होला, ‘मेषी दण्ड’ का पात्रहरू नदी तर्दा कम्मरमा चिण्डोहरू झुन्ड्याउँछन्, जसका कारण पानीमा नडुबियोस् र मृत्युबाट जोगियोस् । खालिङ किरात समुदायमा ‘मृतात्मा’ सँग नोक्छोले संवाद गर्ने विश्वास–पद्धति छ, जसमा लडिमरेका–झरिमरेकाहरूलाई चुल्होमा स्थान मिल्दैन भन्ने सांस्कृतिक विश्वास छ । तर, नोक्छोले दुर्घटनामा परी बितेका ‘आत्मा’ फकाएर बाटो लगाउने विधानसहितको सामुदायिक आस्था छ । यसमा अर्को रोचक जनविश्वास छ कि चुल्हामा नराखिने ‘मृतात्मा’ लाई फकाउन उनका प्रियजनहरू पनि त्यही बाटो आउने बयान गर्दासमेत नमाने ‘नोक्छो’ स्वयं आउने भनेर फकाइन्छ । यस्ता आस्था र विश्वासहरूको भौतिकवादी व्याख्या र निरूपण कसरी गर्ने भन्ने प्रश्न त जिउँदो नै छ । तर, यही विश्वास पद्धतिलाई ‘मेषी दण्ड’ ले विश्वसनीय शैलीमा प्रस्तुत गरेको छ ।
जुन भूगोलबाट यो कथा तानिएको छ, त्यहाँका खालिङहरूले ‘ङ्वार’ नामक सिली नाच्छन् । अरू समुदायले आफ्नो समूहलाई हेप्दा, खडेरी पर्दा, बालीनाली नसप्रँदा केही वर्षको अन्तरमा यस नाचको आयोजना गरिन्छ, जसमा सहभागीद्वारा हतियारसहित नाच्दै विरोधी पक्षलाई हारेको देखाइन्छ । नाटकमा वरिष्ठ कवि भूपाल राईकृत कविता ‘अर्को कथा’ पृष्ठभागमा बजिरहँदा मञ्चमा यही ङ्वार सिली नाचेको दृश्यलाई निकै सार्थक ढंगले देखाइन्छ । लाग्छ– कविताको प्रयोग सही दृश्यमा गरिएको छ । साथै, कविताले नाटकको मूल मर्मलाई बोक्दै प्रतिरोधी आन्दोलनको कलात्मक आह्वानसमेत गरेको छ । राजनीतिक–सांस्कृतिक मुद्दाकेन्द्रित हुँदाहुँदै पनि नाटकलाई नाराबाजीबाट पृथक् कलामा उभ्याउने मेरुदण्ड बनेको छ, कविता । लाग्छ– प्राविधिक रूपमा माझ्ने हो भने नाटकको आभामा अझै निखार आउने थियो ।
Comments
Post a Comment