देश–विदेशमा जो चर्चा छ— ‘गाउँ आएको बाटो’

देश–विदेशमा जो चर्चा छ— ‘गाउँ आएको बाटो’

कुब्जोङ किरात
कुब्जोङ किरात४ असार २०८१, सोमवार
51Shares
facebook sharing button
twitter sharing button
linkedin sharing button
sharethis sharing button
देश–विदेशमा जो चर्चा छ— ‘गाउँ आएको बाटो’

‘गाउँ आएको बाटो’ (अ रोड टु अ भिलेज) चलचित्र दोस्रो पटक हेर्दा अझै अर्को पटक जानुपर्ने भयो भन्ने मनमनै लागिरहेको छ । मनले थाम्नै सकेको छैन कि त्यत्ति सानो विषयलाई कसरी पो टिप्यो होला क्यामराले ! यस्तो पनि विषय हुने रहेछ नि ! राई माइला दम्पतीको त्यत्रो आत्मविश्वास र स्वाभिमानलाई गाउँमा रोड आएपछिमात्र बिटुलो बनेको हो र ? छोरीको बालखैमा असामयिक मृत्युले सन्तान पीडा खेपेका दम्पतीलाई छोरा बिन्द्रेको सपना पूरा गर्नै हाडमासी घोटिरहेझैं लाग्छ । बिन्द्रे चन्चेल, छुकछुके, जिज्ञासु, हक्की, जिद्धि जेजे भने पनि बा–आमाको मायाको पोको हो । गाउँमा रोड पुगेपछि  बिन्द्रेमा डाइभर बन्ने सपना पलाउँछ । बाबुलाई सुनाउँछ– डाइभर बन्छु भनेर । गाउँमा सडक आएपछि भएको ठूलो परिवर्तन नै गाडी चल्नु हो । बालमनोविज्ञानमा डाइभर भनेको सबैभन्दा ठूलो मान्छे हो । उनलाई बा–आमाले ठूलो मान्छे बन्नुपर्छ भन्दै स्कुल पढ्न पठाउँछन् । साथीहरू माझ बिन्द्रेको चतुरपन साँच्चै लोभलाग्दो हुन्छ । उमेरले आठ–दस वर्षे फुच्चे सबैभन्दा चनाखो हुन् । 

घरमा बाँसको चोयाबाट बन्ने सामग्रीहरू बुनेर घरबार चलाउनु राई माइलाको परम्परागत पेसा हो । सडक बनेसँगै गाडी चलेपछि गाउँ–गाउँमा प्लास्टिकका भाँडाकुँडा, प्लास्टिकका टम्बु, पाल इत्यादि आउन थालेपछि माइलाको पेसा संकटमा पर्छ । हिजोसम्म त्यही चोयाका डाला, नाङ्ला, डोको, थुम्से, भार, झ्यापु, बारबन्धन नानाकिसिमका सामान बुन्न भ्याइनभ्याइ हुन्थ्यो । जब गाडी आयो तब गाउँघरमा माइलाको सिपले ठाउँ पाउन छाड्यो । बाँसजन्य सिपहरू अझैं ग्राहकको मन तान्ने अनेक उपाय गर्छ । चोया रंगाएर फिफी बनाउँछन्, दम्पतीले । अनि बेच्ने झर्छन् धरान बजार उही मोटर बस चढेर । तर बिक्तैन फिफी । सडक र गाडीभित्रै कयौं रात बित्दासमेत फिफी नबिकेर भोकभोकै लखरलखर भौतारिन्छ, माइला । उहिलेको छाताचोक, राँगाचोक अथवा अहिलेको भानुचोक, घण्टाघर, बसपार्कदेखि हरेक पसल चहार्दा माइलाको फिफीले ग्राहकको आँखा तान्न सक्दैन । यदि बिकेको भए माइलाले छोरा बिन्द्रेकै निम्ति टेलिभिजन किनेर लैजाने सपना बुनेका थिए । 

किनकि माइलाका छिमेकी तायामाकी आपाले साउदीबाट फर्किदा टीभी लिएर आएका थिए । छरछिमेकका भुराभुरीदेखि भएभरका बुढापाका मान्छेहरू टीभी हेर्न आउँथे । चन्चले बिन्द्रे टीभी हेर्ने दाउमा बारमा लडेर घाइते बन्छ । र घरपुग्दा तायाम्पाको बाउले कुट्यो भन्ने मिथ्या शब्द फुत्काउँदा छिमेकमा मनमुटाव बढेको छ । वास्तविक घटनाभन्दा केटाकेटीका कुरा बा–आमाले सुन्दा त्यस्तो हुनपुगेको छ । 

विदेश फर्केर फेरि नजाने गरी आएका छिमेकीसँग दुस्मनी बढ्छ । यता माइला दम्पतीको परम्परागत व्यवसाय र निर्वाहमुखी कृषि पेसा दिनानुदिन घट्दो रूपले राईनी माइलीलाई पर्नु पिर पार्छ । तैपनि त्यही खोरिया बारी खनीखोस्री गर्नुको विकल्प छैन । गाउँमा बिजुली बत्ती आउँछ । आउनुअघि अनेकन सपना बाँडिएको थियो । तर माइला दम्पतीलाई बिजुलीको बिल तिर्नै धौधौ हुन जान्छ । बत्ती काटिन्छ । यता छोरा बिन्द्रे बत्ती बिना पढ्दै पढ्दिन भन्छ । स्कुल जाँदै जान्न भन्छ । किताबको पाना निकाले चरा बनाइ उडाउँछ । यता बा–आमालाई पिरलो थपिन्छ । उता शिक्षकलाई पाठ पढ्न लाउँछ । तर किताबको पानै नहुँदा बिन्द्रे चुपचाप बस्छ । अनि शिक्षकले थप्पड लाउँछ । बिन्द्रेको मानसमा पढ्ने सपनाको टुसा निमोठिन्छ । 

‘गाउँ आएको बाटो’ (अ रोड टु अ भिलेज) चलचित्र दोस्रो पटक हेर्दा अझै अर्को पटक जानुपर्ने भयो भन्ने मनमनै लागिरहेको छ । मनले थाम्नै सकेको छैन कि त्यत्ति सानो विषयलाई कसरी पो टिप्यो होला क्यामराले ! यस्तो पनि विषय हुने रहेछ नि ! राई माइला दम्पतीको त्यत्रो आत्मविश्वास र स्वाभिमानलाई गाउँमा रोड आएपछिमात्र बिटुलो बनेको हो र ?

बिजुली बत्तीको बिल तिर्न कुनै आम्दानी नभएपछि छिमेकी देमा (बडीआमा)सँग सापटी माग्न जाँदाको प्रसंग मर्मस्पर्षि छ । राई समाजको चलनअनुसार देमाले माइलालाई जाँडपानी खुवाउँछिन् । देमाले बितिसकेकी छोरीको प्रसंग कोट्याइदिंदा माइला द्रविभूत बन्छन् । अनि सापटी मागेपछि टर्रो बोली ओकल्छिन् । तैपनि देमाले साठी रुपे दिइपठाउन खोज्दा माइला बाउँठिएर मुर्मुरिदै बाहिन्छ । माइलाको रिसाहा स्वभाव र देमाको टर्रो शब्दमा त्यही गाउँबोली प्रस्टाएको छ । 

आहा भोजपुरको त्यो बालाङ्खा गाउँ, सुन्दर बस्ती, मुन्दुमी जीवनपद्धति, शिष्ट बोलीचाली लवजहरू रत्तिभर खोट लाउने ठाउँ छैन । खोट केवल गाउँमा आएको बाटोले बिटुल्याउन थाल्यो । तन्नेरीहरू विदेशिने लहर चल्छ । ताँती बढ्छ । तैपनि राई माइला–माइली दम्पतीको संसार त्यही बाँसको परम्परागत सिपले चल्दै थियो । तर अब जाँडको छोक्रा निचोरेर फालेझैं सिप काम नलाग्ने हुनथाल्यो । गाई, भैंसी, सुँगुर, कुखुरा पाल्ने काम क्रमशः घट्दै गर्दा हलगोरुको ठाउँमा ट्याक्टरको जमाना आइसकेको छ । खरले छाएका घरबस्तीहरू जस्तापाताले छाउन थालिएका छन् । 
सडक आएर मोटर गुडेसँगै लाहुरेबा (बाङा)ले नयाँ पसल भव्य ढंगले उद्घाटन गराएका छन् । दही, मही पिएर जिउनेहरू कोक, फ्यान्टाजस्ता पेय पदार्थ पिउन र पिलाउन थालेका छन् । मकै, भटमास भुटेर खाजा खानेहरूलाई चाउचाउ, कुर्मुरे खान प्रेरित गरिएका छन् । यतिसम्म कि देश खाएर शेष भएका लाहुरेबा बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ र चाउचाउ खान पल्काउन तिनै बिन्द्रेलाई परिचालन गरेका छन् । अनेक जुक्ति लगाएर बिन्द्रेमार्फत् उनका बालसखाहरूलाई कोक पिउन लगाएका छन् । हरेक दिन चाउचाउ किनेर खाने पैसा बा–आमासँग माग्न लगाएका छन् । तिनै केटाकेटीहरू मोजाभित्र कागज पोको पारेर फुटबल बनाएपछि धुलेमैदानमा खेल्छन् । कागजको चरा, अनि बाँस फिरफिरे बनाएर कोसौं टाढा फड्के पुल तरेर स्कुल धाइरहेका दृश्य साँच्चै यथार्थ ग्रामीण जीवनको अवलोकन गर्न पुगेको भान हुन्छ । 

लाहुरेबाको व्यापार फस्टाउँदो छ । माइला दम्पती आयस्तर दिनानुदिन निख्रिदो छ । बिजुलीको बिल तिर्न तीनकिलोको रातो भालेको मोलले धान्दैन । त्यो भाले बेच्न जिल्ला सदरमुकाम हाट भर्न जानु परेको छ । तिरनतानको अंक दोब्बर हुँदै जाँदा छोरा बिन्द्रेको माग बढ्दो छ । बिन्द्र टीभी नल्याए पढ्न जान्नँ भन्छ । चस्मा लाउने भन्छ । जुत्ता, मोजा, स्कुल डे«स लाउनै प¥यो । माइलीको साथमा आमाले दिएको एकजोर काँडेचुरा छ । एउटा गीतको गेडो अहिले गाउँ कि भरे गाउँझैं छ । माइली त्यही एकजोर काँडेचुरा बेचेर तिरनतारन गर्न आफ्नो लोग्नेलाई भन्छे । तर भित्रीमनले आमाको चिनो हो भन्नेबारे माइला स्पष्ट छन् । त्यसैले ऊ त्यो चुरा कुनै हालतमा मास्न चाहँदैन । 

लाहुरेबाले आम्दानीको स्रोत सुझाउँछ । रक्सी पकाएर व्यापार गराउँछ । मनले नमान्दा नमान्दै माइलीले रक्सी पकाउँछे । गाउँगाउँमा आइपुगेको बियरको बोतल भरीभरी भरेर बेच्न तयार पार्छन् । भोलिपल्ट माइला बस चढेर मुकामतिर रक्सी बेच्न लैजान्छ । नभन्दै पहिलोचोटिमै सोचेभन्दा बढी आम्दानी घर भित्र्याउँछन् । छोरा बिन्द्रेलाई चकलेट, चेस्मा अनि स्वास्नीलाई चप्पल ल्याइदिन्छ । हातभरि हजारका नोट थमाउँदा माइलीको मुहारमा झुल्किए घामको लाली अनि माइलाको मुस्कान साँच्चै आशा जगाउँछन् । तर दोस्रो पटक मध्येसडकमै पुलिसले बस रोकेर चेकजाँच गर्दा सुखको खुड्किला चढ्दै गरेका माइलाहरूको सपनामा तुषारापत हुनपुग्छ । झोंक्की माइलाले आवेसमा पुलिसमाथि हातपात गर्दा हप्तादिन थानामा थुनिनु प¥यो भने छुट्नका लागि तिनै लाहुरेबाहरू साक्षी बस्नु परेको थियो । 

गाउँमा आएको विकास गतिले आदिम बस्तीहरू र आदिवासी रहनसहनमा दिनदशा ल्याएको छ । राज्य संयन्त्रले बहुराष्ट्रिय कम्पनीका पत्तुर, हानिकारक व्यापारलाई बढावा दिइरहेको छ । आदिवासी ज्ञान, सिप, परम्परालाई छेउलगाएका छ । परम्परागत खानपानलाई प्रतिबन्ध लगाएको छ ।  

अहिले गाउँदेखि सहरसम्म, स्वदेशदेखि विदेशसम्म जो चर्चा र प्रदर्शन भइरहेको छ, चलचित्र ‘गाउँ आएको बाटो ।’ आहा ! कथाकार महेश राई र नवीन सुब्बा क्याबात ! निर्देशक नवीन सुब्बाको अब्बलता यसैमा छ । माइला (दयाहाङ राई), माइली (पशुपति राई), बिन्द्रे (प्रसन राई)को अभिनय सायद जिन्दगीमा यतिमात्रै भए पनि पुग्छजस्तो पो लाग्छ ।

धरानमा फिफी बेच्न गएका राई माइला धेरै दिनसम्म नफर्केपछि बाबुको असीम लाडप्यारमा हुर्किदै गरेका बिन्द्रे पिरोलिन्छ । बाबु फर्किन्छ कि भन्दै दैनिकजसो बसपार्क ढुक्छ । अन्ततः बालमनोविज्ञानले उसलाई अराउँछ । उसले त्यो बसेको पछाडि ‘बाउ टीभी नल्याए पनि हुन्छ, तिमी जसरी पनि छिटो फर्क’ भन्ने वाक्य लेखेर टासी पठाउँछ । तरैपनि बाउ फर्किदैन । बिन्द्रेले सयौं घुम्ती पारगर्दै गुड्ने त्यो बसेलाई एउटा मोडमा छेक्न पुग्छ– कि मेरो बाबु लिएर आइदेऊ भन्नका निम्ति । दुर्भाग्य त्यही बेला वेगमा गुडेको बसले बिन्द्रेको प्राण लिन्छ । बाबु–छोराबिचको त्यो असीम प्यारको त्यान्द्रोलाई च्वाट्टै चुँडाइ दिन्छ ।

त्यसको केही दिनमा राई माइला घर आइपुग्छ । घर उजाडिइसकेको हुन्छ । स्वास्नी पिडैपिडाको आहालमा डुबिरहेको भेट्छ । सँघारमा स्वास्नी र सिकुवाको डिलमा माइला मुर्छा पर्दै अभिव्यक्त गरेको क्रन्दनले हरेक हृदयलाई पगाल्छ । वियोग त भई नै सक्यो । त्यो चिहानलाई सुमसुम्याउँदै गर्दा माइलाको मानस बत्तिन्छ । दाम्पत्य जीवनमा जन्माइ हुर्काको एक्लो छोरा गुमाउनुको पिडा नहुनु थियो, भयो । मुन्दुम विधिअनुसार मृत्युसंस्कार धामीझाँक्री, नाक्छोङबाट सम्पन्न गराउँछन् । 

त्यतिन्जेल फेरि नफर्किने गरी आएको छिमेकी विदेशिसक्छ । स्वास्नी र छोरीलाई सहरतिरै लिएर गइसकेको छ । उमेरले डाँडा काट्दै गरेका राई माइला बाउबाजेको आदिम थलोमा पेसाविहीन बनेको छ । सिर्फ घरबाहेक कुनै आम्दानी छैन । आम्दानीका अनेक उपाय गर्दा पनि भएको छैन । बिजुली बत्तीमात्र होइन साहुको ऋण, छरछिमेकमा लिएको सरसापटीसमेत तिर्न सकेको छैन । त्यसमाथि भएको एउटै सन्तान पनि गुमाएपछि राई माइला दम्पती एक दिन गाउँ छाडेर मुगलान भासिएका छन् । सायद माइलीको हातमा त्यही एकजोर काँडेचुरा बेचेर गर्जो टार्छन् होला भन्ने अनुमानले कथाको साँगे गर्नुपर्छ । अबदेखि बान्तावा भाषा माइला–माइली दम्पतीले मात्र बोल्ने छन् । उनी दुईको आदिम भूमि, खोलानाला, वनजंगल हुने छैन । साथमा मुन्दुम फलाकेर नाक्छोङ, धामीझाँक्री, साम्चेकदेखि मर्दापर्दा सहयोग गर्ने दरदाजुभाइ हुने छैनन् । 

अहिले गाउँदेखि सहरसम्म, स्वदेशदेखि विदेशसम्म जो चर्चा र प्रदर्शन भइरहेको छ, चलचित्र ‘गाउँ आएको बाटो ।’ आहा ! कथाकार महेश राई र नवीन सुब्बा क्याबात ! निर्देशक नवीन सुब्बाको अब्बलता यसैमा छ । माइला (दयाहाङ राई), माइली (पशुपति राई), बिन्द्रे (प्रसन राई)को अभिनय सायद जिन्दगीमा यतिमात्रै भए पनि पुग्छजस्तो पो लाग्छ । लाहुरेबा (प्रेम सुब्बा) र राज थापाको सामाजिक परम्परामा निखार दिने कला उत्तिकै अब्बल छ । कार्यकारी निर्माता सञ्जु राई, भीम राई, नरहाङ राई र देवराज राई, निर्माता अमोद राई, प्रप्स मास्टर रजत राई किराती छन् । छायाकार जोस हेरम, सम्पादक क्वान पुन लुङ, संगीत हाइडी ली, प्रोडक्सन डिजाइनर राज थापा, कला निर्देशक जगदीश अधिकारी र सुजना श्रीष, पहिरन सिकुमा राई, साउन्ड डिजाइनर किशोर आचार्य, कास्टिङ सृजना सब्बा र केदार श्रेष्ठ, प्रोडक्सन म्यानेजर विशाल न्यौपाने र सहायक प्रमुख निर्देशक राजेश विश्वकर्मा छन् । मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको यस ‘गाउँ आएको बाटो’ले नेपाली चलचित्र टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल २०२३, २८औं बुसान इन्टरनेसनल फिल्म फेस्टिभल २०२३, गोटेवर्ग फिल्म फेस्टिभल, ४७औं मोस्ट्रा इन्टनेसनल डे सिनेमा साओ पाउलो इन्टरनेसनल फिल्म फेस्टिभवल र बेइजिङ इन्टरनेसनलमा सहभागिता जनाइसकेको छ । ‘गाउँ आएको बाटो’ले नेपाली सिने जगतमा नयाँ चुनौती थपेको छ भन्न सकिन्छ । 

अहिले ‘राई माइलाले गाउँ छोड्यो रे’ गीत हरेकजसोको मुखमा झुण्डिएको छ । अफसोच त्यो गीत चलचित्रमा छैन । किन ? भनेर सोध्नकै लागि फेरि चलचित्र हेर्न जाने सोच्दैछु । 

https://indigenousvoice.com/news/1033
Read more at: https://indigenousvoice.com/news/1033

Read more at: https://indigenousvoice.com/

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? : गोविन्द न्यौपाने

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि