कहिले मारिएका थिए लखन थापा मगर ?-राजकुमार दिक्पाल

 राजकुमार दिक्पाल माघ २०, २०८० शनिबार १८:३७:५४



लखन थापा मगरलाई नेपाल सरकारले २०५६ साल फागुन ११ गते शहीद घोषणा गर्‍यो। सरोकारवालाहरूले उनलाई नेपालको प्रथम शहीद घोषणा गर्नुपर्ने दबाब दिएपछि सरकारले २०७२ साल असोज ३ गते नेपालको प्रथम शहीद घोषणा गर्‍यो।

जङ्गबहादुर राणाको निरङ्कुश शासन भोगेका लखन थापाले जङ्गबहादुरको जीवनको उत्तरार्द्धमा उनले लादेको शासन ब्यवस्थाको अन्त्यका लागि आफ्नो विद्रोही कदमलाई उत्कर्षमा पुर्‍याएका थिए। उनले 'जङ्गबहादुरको अत्याचारले सिमा नाघेको, उनले अङ्ग्रेजलाई देश बेचेकोले उनलाई मारेर सुनौलो युग ल्याउन आफूलाई मनकामना देवीले आदेश दिएको' जनसमक्ष बताएर गोरखा बुङ्कोटबाट विद्रोहको आह्वान गरे। उनले सशस्त्र विद्रोहका लागि हतियार र सेना जम्मा गरेका थिए। आफूलाई राम शाहकालीन सिद्ध लखन थापा (प्रथम)को अवतार बताएर उनले बुङ्कोटमै मनकामना देवीको पूजा चलाई प्रशस्त भक्तजन पनि बटुलेका थिए।

जङ्गबहादुरको आदेशबाट पल्टन लगाएर लखन थापा र उनका समर्थकहरूलाई पक्राउ गरियो। लखनलगायत उनका कट्टर ६ जना समर्थकलाई झुण्ड्याएर मृत्युदण्ड दिइयो।

उनको बारेमा अनुश्रुति मात्र होइन, इतिहास प्रमाणित गर्ने कैयौँ ऐतिहासिक तथ्यहरू हुँदाहुँदै पनि कसैकसैले उनको शहादतको तथ्यगत आधारमाथि प्रश्न उठाउने गरेका छन्। तर, ऐतिहासिक तथ्यबाटै ती प्रश्नहरूको समाधान गर्न गाह्रो भने छैन। 

पूर्व सैनिक अधिकारी डा. प्रेमसिंह बस्न्यातले आफ्नो पुस्तक 'नेपाली सेना लिगलिगकोटदेखि वर्तमानसम्म' (२०७११३४-३५) मा लखनले विद्रोह गर्नुभन्दाअघि नै वीरध्वज बस्नेतले वि.सं. १९०३ मा जङ्गबहादुरलाई मार्ने सशस्त्र योजना बनाएकोलाई पहिलो विद्रोह मान्ने कि नमान्ने र वि.सं. १९०७ मा करवीर खत्री, जयबहादुर कुँवर र बद्रीनरसिंह कुँवरले जङ्गबहादुरलाई मार्ने योजना बनाउनुलाई जङ्गबहादुरविरुद्ध दोस्रो विद्रोह देखिन्छ भन्ने धारणा ब्यक्त गरेको पाइन्छ।

वीरध्वज र बद्रीनरसिंह कुँवरले गरेको जङ्गबहादुरलाई मार्ने प्रयास विद्रोह हो कि होइन, भन्नेबारे विचार गरौँ।

आफ्नी सौता साम्राज्यलक्ष्मीदेवीको मृत्यु भएपछि राजा राजेन्द्रविक्रमकी कान्छी महारानी राज्यलक्ष्मीको मनमा आफ्ना छोरा रणेन्द्रलाई नेपालको भावी राजा बनाउने महत्त्वाकाङ्क्षा चुलिएर गयो। तर उनको यस महङ्खवाकाङ्क्षालाई प्रधानमन्त्रीहरू माथवरसिंह थापा र फत्तेजङ्ज शाहले पूर्ण गरिदिन सकेनन्। त्यसबीच राज्यलक्ष्मीका अतिप्रिय र भरपर्दा जनरल गगनसिंहको उनकै निवास ढोकाटोलमा साँझको समय पूजा गरिरहेको अवस्थामा रहस्यमय हत्या भयो। हत्यारा पत्ता लगाउने कचहरी बस्दा त्यो कचहरी कोतपर्वमा परिणत भयो। कोतपर्वपछि जङ्गबहादुर शक्तिशाली शासक भएर उदाए।

जङ्गबहादुरबाट पनि आफ्नो चाहना पूरा हुने नदेखिएपछि विकल्पमा उनको हत्या गर्ने गुप्त षड्यन्त्रको तानाबाना बुन्नमा महारानी राज्यलक्ष्मी लागिन्। यसमा उनले काजी वीरध्वज बस्नेतलाई हातमा लिइन्।

वीरध्वज र राज्यलक्ष्मीबीच तामातुलसी छोएर भएको धर्मपत्रअनुसार वीरध्वजले जङ्गबहादुर, सुरेन्द्र र उपेन्द्रलाई मारेर रणेन्द्रलाई राजगद्दिमा राख्ने किरिया खाएका थिए। गगनसिंहका छोरा वजीरसिंहलाई पनि यस खेलमा समावेश गर्ने निर्णय गरियो। योजना सफल हुनेबित्तिकै वीरध्वज प्रधानमन्त्री हुने पक्का गरियो। षड्यन्त्रमा सामेल भएका विजयराज पाण्डेले जङ्गबहादुरलाई भोजका लागि आमन्त्रण गर्न जाँदा षड्यन्त्रबारे सबै पोल खोलिदिएपछि यसविरुद्ध जाइलाग्न आफ्नै सैन्यशक्तिसहित जङ्गबहादुर राजदरबारतिर प्रस्थान गरे। वीरध्वज आफैं जङ्गबहादुरलाई लिन आइरहेको बेला यी दुईको परस्पर बीच बाटैमा भेट भयो। जङ्गबहादुरको इशाराबाट वीरध्वजलाई रणमेहर अधिकारीले टुक्राटुक्रा हुने गरी काटिदिए (पद्मजङ्ग राणा, 'जङ्गबहादुरको जीवनयात्रा'- २०७४:८०-८४)। 

'भण्डारखाल पर्व' नामले चिनिएको वि.सं. १९०३ कात्तिक सुदी १२ मा घटीत यो पर्वमा उक्त षडयन्त्रमा संलग्न वीरध्वजका अरु अनुयायीहरू पनि मारिए।

यो ऐतिहासिक प्रकरण हेर्दा महारानी राज्यलक्ष्मीको महत्त्वाकाँक्षा पूर्ण गरिदिएर आफू प्रधानमन्त्री हुनेबाहेक वीरध्वजको अरु सामाजिक वा राष्ट्रियमुक्तिको कुनै मनसुवा देखिँदैन। त्यसैले वीरध्वजसम्बन्धी यो प्रकरण एउटा षडयन्त्र मात्र थियो, जसलाई कुनै पनि हालतमा विद्रोह मान्न सकिँदैन।

यसैगरी जङ्गबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि उनको हत्या गर्ने षड्यन्त्रको रचना उनकै भाइहरूले रचे।

जङ्गबहादुर बसन्तपुर दरबारबाट फर्कदा साहिँला भाई जनरल बद्रीनरसिंह, सेकेण्ड जनरल जयबहादुर कुँवर र करबीर खत्री मिलेर जङ्गबहादुरको हत्या गर्ने योजना रहेको थियो। यो षड्यन्त्रमा जङ्गबहादुरको गाथ ढल्नासाथ माहिला साहेव उपेन्द्रविक्रमले राजा सुरेन्द्रविक्रममाथि हमला गरी हत्यासमेत गरी राजगद्दिमा आफू बस्ने, बमबहादुरलाई प्रधानमन्त्री बनाउने र बद्रीनरसिंहले कमाण्डर इन् चिफ चलाउने योजनामा रहेको थियो। यस योजना सफल भए जयबहादुर कुँवर र करवीर खत्रीले उचित जिम्मेवारी पाउने पनि निधो गरिएको थियो (पुरुषोत्तमशम्शेर जबरा, 'श्री ३ हरूको तथ्यवृत्तान्त'- २०६५:८४-८७)। वि.सं. १९०७ फागुन ८ गते जङ्गबहादुरलाई मार्ने र उपेन्द्रविक्रम शाहले सुरेन्द्रलाई मारी गद्दिमा बस्ने योजना थियो।

तर, योजना पूरा हुने अघिल्लो रात नै थापाथली दरबारमा पुगेर बमबहादुरले जङ्गबहादुरसमक्ष सम्पूर्ण पोल खोलिदिए। त्यसपछि बद्रीनरसिंह, जयबहादुर इलाहावाद जेलमा कोचिए, करवीर खत्रीको चारपाटा मुडी जात पतित गरियो।

यो प्रकरण पनि जङ्गबहादुरका भाइहरूको सत्तामा जाने षड्यन्त्रबाहेक सामूहिक भलाइको निमित्त गरिएको कुनै प्रयत्न नभएकाले यो प्रकरणलाई पनि विद्रोह मान्न कुनै पनि हालतमा सकिन्न। यो त एउटा असफल षड्यन्त्र थियो।

यी दुवै प्रकरण गोप्य रुपमा कोठामा बसेर बनाइएको थियो। विद्रोह र षड्यन्त्र फरक कुरा हुन्।

लखन थापा मगर असली विद्रोही
प्राज्ञिक बहस गर्दा षड्यन्त्र र विद्रोहमा फरक छुट्याउन जरुरी छ। मुठ्ठीभर मानिस भेला भएर गुप्तरूपमा कसैको अनिष्ट चिताउनु र सोहीअनुसारको कर्म गर्नु षड्यन्त्र हो। सामूहिक हितका लागि खुलेआम कसैको सत्ता पल्टाउने उद्देश्यले प्रशस्तै समर्थकहरूका साथ गरिने क्रान्तिकारी कामलाई विद्रोह भनिन्छ। लखन थापाले जङ्गबहादुरको निरङ्कुश शासन ब्यवस्था पल्टाएर नेपालमा स्वर्ण युग ल्याउने सार्वजनिक आह्वान गरेका थिए।

जङ्गबहादुरका छोरा पद्मजङ्गकै भनाइमा पनि लखन थापाले आफ्नो विनीत आचरण र अनुयायी भाषाले गर्दा उनी छोटो समयमै १५ सय सङ्ख्यामा सेना जम्मा गर्न सफल भएका थिए। उनले नेपाली सेनाको नेतृत्व गर्ने, राजधानी प्रवेश गर्ने, जङ्गबहादुरको हत्या गरेर सरकार आफ्नो अधिनमा लिने र त्यसै दिनदेखि नेपाली इतिहासको स्वर्ण युग आरम्भ गर्ने घोषणा गरेका थिए (राणा, २०७४:२८३-८४)।

यसरी सार्वजनिकरूपमा जङ्गबहादुरविरुद्ध जनसमर्थन पाएर छोटो समयमै १५ सय सैनिकको समूहसमेत गठन गर्न सफल लखन थापाको यो प्रयत्न कुनै पनि षड्यन्त्र नभई एउटा ब्यवस्थित विद्रोह थियो। यो विद्रोह दबाउन जङ्गबहादुर पल्टन नै परिचालन गर्न बाध्य हुनुपरेको थियो।

'कुण्डली सङ्ग्रह'अनुसार जङ्गबहादुरको जीवनी लेखक उनका साहिला छोरा पद्मजङ्ग राणा लखन थापालाई मृत्यूदण्ड दिइएको बेला २० वर्षका थिए। पद्मजङ्गको जन्म वि.सं. १९१४ कात्तिक २८ गते भएको हो (दिनेशराज पन्त, 'पूर्णिमा' पूर्णाङ्क ९३- वैशाख २०५५:३५)। 

अर्को कुरा आफ्नै बाबु जङ्गबहादुरको जीवनी लेखनका लागि सामग्री सङ्कलनमा कलिलै उमेरदेखि उनी लागेका ब्यक्ति हुन् भन्ने प्रमाण मदन पुरस्कार पुस्तकालयमा रहेको उनको एउटा कापीबाट पाइन्छ (कमल दीक्षित, 'जंग गीता'- २०४०:१३९)।

त्यसैले पद्मजङ्गमा लखन थापाको त्यो समयको ऐतिहासिक प्रकरणबारे जानकारी हुनु असम्भव छैन। पद्मजङ्गकै लेखाईअनुसार पनि लखन थापा बीरध्वज बस्नेत र बद्रीनरसिंह राणाजस्ता षड्यन्त्रकारी नभई एक असल विद्रोही थिए भन्नेमा कुनै शङ्का छैन।

आध्यात्मिक र सैन्य नेतृत्व
लखन थापा आफ्नो समयको लोकप्रिय धार्मिक र राजनीतिक नेता थिए। पुरातत्त्व विभागमा मुखपत्र 'प्राचीन नेपाल' सङ्ख्या २७ (वैशाख २०३१:१५-१६)मा प्रकाशित वंशावलीमा उल्लेख भएअनुसार सिद्ध लखन थापाको अवतार हुँ भनी पाँचतले घर बनाई मौलो गाडेर सधैं मनकामनादेवीको पूजा गर्थे। दुनियाँलाई प्रतित पारी गाउँ-गाउँबाट पञ्चवली, बीसासय वली र कोरा पूजासमेत ल्याई पूजा गर्नेगर्दा दुनियाले मनकामना पूजा गर्न छाडे। 

लखन थापाले गोरखा, बुङ्कोटमा मनकामना देवीको जुन ठाउँमा पूजा गर्थे, त्यो ठाउँ पाँचतले घर थियो भन्ने माथि परेकोले लखनले सुरु गरेको विद्रोह ब्यवस्थित थियो भन्ने बुझ्न गाह्रो पर्दैन। यो ठाउँमा उनले आफ्ना मानिसहरूलाई परिचालन गरी हातहतियार, बन्दुक, धनुकाँडहरू जम्मा गर्न लगाएका थिए। पछि जङ्गबहादुरले सेना परिचालन गरेर लखन र उनका समर्थकहरूलाई पक्राउ गरी थापाथली दरबार ल्याए। उनीहरूले विद्रोहको तयारी गरेको स्वीकार गरेपछि लखन थापा लगायतलाई झुण्ड्याएर मारियो भने केहीलाई कारावासमा कोचियो। लखन थापाले पूजा गर्ने गरेको जुन पाँचतले घर थियो, त्यसलाई मैदान हुने गरी भत्काइयो (प्राचीन नेपाल, २०३१:१६)।

लखन थापाले मनकामनाको पूजा गर्ने भनी बनाएको जुन घर छ, बास्तवमा त्यो विद्रोह र आवश्यक परे युद्ध सञ्चालन गर्नका लागि बनाइएको एउटा किल्ला थियो। 

लखन थापाले गोरखा बुङ्कोटमा रहेर जुन जनविद्रोहको तयारी गरिरहेका थिए, त्यसकाबारेमा जङ्गबहादुरसमक्ष जाहेर भएपछि उनले सैनिक दललाई विद्रोह दमनका लागि खटाएका थिए। मेजर कप्तान शमशेरजङ्ग थापा क्षेत्री, सुब्बा वीरमानजङ्ग थापा क्षेत्री र सुबेदार बदलसिंह बस्न्यातले पत्ता लगाएर वि.सं. १९३२ चैत सुदी १ मा सरकारलाई जाहेर गरेको अर्जीअनुसार लखन थापा जुन घरमा बस्छन्, त्यो घरलाई ब्यवस्थितरूपमा सुरक्षा पर्खालले पनि घेरिएको थियो। सरकारी सैन्य अधिकारीहरूले लखन थापाको विद्रोह दमनका क्रममा वि.सं. १९३२ चैत सुदि १ मा गरेको बयानमा लखन थापा बस्ने एउटा किल्लाजस्तो घरलाई आठ क्यूविक चौडाई र १६ क्यूविक उचाईको पर्खालले घेरिएको उल्लेख गरेका छन् (महेश सी. रेग्मी, 'रेग्मी रिसर्च सेरिज' वर्ष १२ अङ्क ५-डिसेम्बर १९८०:७२-७५)। 

यस अर्जीअनुसार लखन थापाले आफ्ना सहयोद्धाहरूलाई जर्नेल, कर्णेल र कप्तानमा नियुक्ति दिने प्रतिज्ञा गरेका थिए। लखनसङ्गै अपजसिंह थापा मगरलाई पक्राउ गरिएको थियो। लखनले जहरे चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेल पद दिने प्रतिज्ञा गरेका थिए। जङ्गबहादुरपछि शाहज्यादा उपेन्द्रविक्रमलाई राजा बनाउने र लखनचाहिँ उपेन्द्रका दोस्रा व्यक्ति (प्रधानमन्त्री?) बन्ने योजना रहेको थियो। लखनले तार्कु वा मनाङबेसीमा शिकारमा आउँदा जङ्गबहादुरको हत्या योजना बनाएका थिए। यदि यो योजना सफल नभए तिब्बतीहरूको सहयोग माग्न तिब्बत जानेसम्मको योजना लखन थापाको रहेको थियो। सोही अर्जीअनुसार वि.सं. १९३२ फागुन २६ गते ढाल र तरबारले सुसज्जित भोटे सेनाको ठूलो समूह लखनलाई जङ्गबहादुरको हत्याको योजनामा साथ दिन आइपुगेका थिए (रेग्मी, सन् १९८०:७४)।

यताबाट विचार गरेर हेर्दा लखन थापाको सैन्य नेतृत्वको कुशलता उत्तम प्रकारको थियो भन्ने विश्वास गर्न सकिन्छ।

आजसम्म लखन थापा र जहरे चुमीलगायत ७ जनालाई मृत्यु दण्ड दिइएको भन्ने मात्र प्रचारमा आएको छ। बाँकी बलिदानीहरूचाहिँ उनै लखन थापाबाट उच्च सैन्य पद प्रदान गरिने प्रतिज्ञा गरिएका उनका सहयोद्धाहरू जहरे चुमी, विराज थापा मगर, जुठ्या थापा मगर, जीतमान गुरुङलाई मृत्युदण्ड दिइएको हुनसक्छ। अर्का अच्छामी उपथरका एक मगर पनि लखन थापासँगै मारिएको गोरखा बुङ्कोट क्षेत्रमा उनका सन्तानले चर्चा गर्ने गरेका छन्।

खासगरी मगर लेखकहरू डा. हर्षबहादुर बुडा, त्रिलोक थापा मगर, संजोग लाफा मगर लगायतले लेख्दै आएको लखन थापाको ऐतिहासिक प्रकरणमा उनी पुरानो गोरख गणको पूर्वकप्तान थिए भन्ने लेखनलाई पुष्टि गर्ने अर्को आधार उनको किल्ला तथा सैन्य शक्ति निर्माण पनि हो, जसको नेतृत्व उनी आफैंले गरेका थिए। सामान्य सिपाहीले यस्तो योजना निर्माण, सैन्य नेतृत्व तथा जनसमर्थन त्यो समयमा प्राप्त गर्न मुस्किल हुन्थ्यो। उनी अनुयायीहरूका लागि मान्य ब्यक्ति थिए। त्यसैले उनमा कुनै समय सैन्य अधिकारी भएको अनुभव थियो भन्ने अनुमान गर्न सकिन्छ।

राजदरबारसँग सम्बन्ध
राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर सर्वशक्तिमान हुन पुगेका तत्कालीन प्रधानमन्त्री जङ्बहादुर राणाविरुद्ध कोही पनि चूँसम्म बोल्ने आँट गर्दैनथे। त्यतिखेरका राजा राजेन्द्र आफैमा कमजोर प्रकृतिको हुनाले जङ्गबहादुरले राजालाई खोपाको देवता बनाइसकेका थिए। आफ्नो हातमा शक्ति आउँदा चुरुफुरु गर्ने महारानी राज्यलक्ष्मीबाट सम्पूर्ण शक्ति हरण गरेर उनलाई जङ्गबहादुरले काशीवासको प्रवन्ध मिलाइसकेका थिए। उनले नेपालको इतिहासमा रणबहादुरपछि महासन्काहा राजा सुरेन्द्रकी छोरीहरू आफ्ना छोराहरू जगतजङ्ग र जीतजङ्गका साथ र आफ्नी दुई छोरी युवराज त्रैलोक्यविक्रमसँग विवाह गरिदिएर शाही नातागोता गाँसिसकेका थिए।

यस्तो अवस्थामा जङ्गबहादुरको हत्या गरेर वा अन्य तवरले सत्ता उखेल्न सके सुरेन्द्रका विकल्पमा उनका भाइ उपेन्द्र विक्रमलाई राजा थाप्ने योजना पनि धेरैले बनाएका थिए। लखनले पनि यहीँ योजना बनाएको प्रसंगमाथि परिसकेको छ।

उपेन्द्रविक्रम विद्रोही स्वभावका थिए। उनीसँग राणाहरू पनि चिढिएका थिए। 

राजपरिवारका सदस्यहरूमा खुल्ला रुपमा राणाविरोधी देखिएकामध्ये युवराज त्रैलोक्यविक्रम पनि एक थिए। उनले राणाशासन अन्त्य नभइन्जेल श्रीपेच नलगाउने प्रण गरेका थिए। उनी राजा हुन नपाउँदै परलोक भए।

लखन थापा कुनै बेला युवराज त्रैलोक्यविक्रम शाहका आठपहरिया (अङ्गरक्षक) थिए (तुलसीराम वैद्य र अरु (सम्पा.) 'नेपालको सैनिक इतिहास' भाग-२-२०६५:३६४)। 

जङ्गबहादुर पनि युवराज सुरेन्द्रको अङ्गरक्षकबाट राजा राजेन्द्रको अङ्गरक्षकमा सरुवा हुँदा कप्तान दर्जामा थिए। पछि दरबारकै एक सुसारे पुतली मैयालाई हात लिएर उनी काजी पदमा पदोन्नत भएका हुन् (जबरा, २०६५:१२)। 

तत्कालीन राजा तथा युवराजको अङ्गरक्षक कप्तान पदको सैन्य अधिकारी हुने त्यसबेलाको प्रचलन हुँदा लखन थापा पनि कप्तान दर्जामै थिए भन्ने अनुमान गर्न त्यति गाह्रो छैन। अर्कोतिर गोरखाली परम्पराअनुसार ६ थरघर प्रभृतिअनुसार गोरखाका राना र थापा मगरहरूलाई उच्चपद दिने चलन थियो। अभिमानसिंह राना मगर कोतपर्वअघि जनरल पद पाउने मगर हुन्। यहीँ परम्परा जङ्गबहादुरले मिचे पनि एकाध मगरहरू कप्तान दर्जामा पुग्दा त्यहीँ पङ्तिमा लखन थापा परेका हुन सक्छन्।

तर, यसको अभिलेख खोज्दा भेटिएन भन्ने तर्क आए के भन्न सकिन्छ भने विद्रोहीहरूको ज्यानै लिने सक्ने निरङ्कुश शासक जङ्गबहादुरलाई अभिलेख मेट्न त्यो बेला कुनै गाह्रो कामै थिएन।

कहिले मारिएका थिए लखन थापा?
लखन थापा फागुन २ गते मारिएका थिए भन्ने तर्क हालसम्म प्रचलित छ। यसको आधार के हो त? यसबारेमा यो लेखकले लखन थापाको मुहारचित्र बनाउनेदेखि उनलाई शहीद घोषणा गराउने अभियानमा सक्रिय तत्कालीन 'लाफा' पत्रिकाका सम्पादक प्रदीप थापा मगर (अमेरिका निवासी उनी हालः आफ्नो नाम प्रदीप परियार थापा लेख्छन्)सँग जिज्ञासा राखेको थियो। उनले बताएअनुसार लखन मारिएको साता दश दिनमा जङ्गबहादुर मरेको किम्वदन्तीको आधारमा फागुन २ मा लखन स्मृति दिवस मनाउन थालिएको हो।

अहिलेसम्मको अनुश्रुतिअनुसार लखन थापाले आफूले मृत्यूदण्ड पाएको सात दिनपछि जङ्गबहादुरको मृत्यु हुनेछ भनी भविष्यवाणी गरेका थिए र जङ्गबहादुर मर्नुभन्दा सात दिनअघि लखन थापालाई झुण्ड्याएर मृत्युदण्ड दिएको हुनसक्छ भन्ने अनुमानको आधारमा लखन थापाले फागुन २ गते मृत्युदण्ड पाएको र त्यसैको आधारमा फागुन २ गतेलाई लखन स्मृति दिवसका रूपमा स्थापित गरियो। 

किम्वदन्तीलाई इतिहासको आधार बनाइयो भने यसले लखन थापाजस्ता ऐतिहासिक ब्यक्तित्त्वलाई न्याय गर्न सक्दैन।

यो अनुमानमाथि विचार गरेर हेर्दा पनि लखन थापाको मृत्युदण्ड फागुन २ गते भएको तथ्यसम्मत देखिँदैन।

इतिहासकार दिनेशराज पन्तले 'पूर्णिमा' पूर्णाङ्क ३३ (भदौ २०३२:४६) मा उल्लेख गरेअनुसार जङ्गबहादुर राणाको मृत्यु वि.सं. १९३३ चान्द्रमासअनुसार फागुन शुक्ल द्वादशी उप्रान्त त्रयोदशीमा भएको हो। यसलाई सौर्यमासमा गणना गर्दा उनको मृत्यु वि.सं. १९३३ फागुन १६ गते भएको देखिन्छ। 

'म मरेको सात दिनपछि जङ्गबहादुरको पनि मृत्यु हुनेछ' भन्ने लखन थापाको भविष्यवाणी पूरा भएकै हो भने पनि लखन थापाको मृत्यु फागुन ९ गते भएको हुनुपर्छ।

लखनलगायत उनका ६ जना साथीहरूलाई वि.सं. १९३३ पुस महिनामा झुण्ड्याएर मृत्युदण्ड दिइएको इतिहासकार पुरुषोत्तमशम्शेर जबराले 'लुकेछिपेका प्रतिभाहरू' (२०६८:२७) मा) उल्लेख गरेका छन्।

यसैगरी इतिहासकार ज्ञानमणि नेपालले पनि आफ्नो पुस्तक 'नेपालनिरुपण' (२०५५:३३९) लखन थापालगायत उनका मुख्य अनुयायीलाई वि.सं. १९३३ पुस महिनामै मृत्युदण्ड दिइएको उल्लेख गरेका छन्।

यताबाट हेर्दा लखन थापाले मृत्युदण्ड पाएको मिति वि.सं. १९३३ पुस महिना देखिन आयो। यस्तो मिति उल्लेख गर्ने पुरुषोत्तमशम्शेर जबरा राणा शासनको पारिवारिक अन्तरकथाहरूलाई पनि निफनेर इतिहास लेख्ने इतिहासकार भएका हुँदा उनले उल्लेख गरेको लखन थापाको मृत्युदण्डको मितिलाई गम्भीरतापूर्वक नियाल्नु जरुरी देखिन्छ।

लखन थापासम्बन्धी ऐतिहासिक तथ्यबारे गर्दा १९३३ सालमै गोरखकालीमा चढाइएको ठूलो घण्टबारे उल्लेख हुनु पनि जरुरी देखिन्छ। तुलसीराम वैद्य ('प्रथम शहीद' वर्ष १ अङ्क १-२०६७:२७) र तुलसीराम वैद्य र धनबज्र बज्राचार्य ('गोरखाको ऐतिहासिक सामग्री'-२०२९:३२-३३) अनुसार लखन थापालाई मृत्युदण्ड दिइसकेपछि गोरखाका जनतालाई पुरस्कारस्वरुप केही रुपैयाँ दिदा सो रुपैयाँबाट लखन थापाकै नाममा घण्ट बनाएर चढाइयो।

वि.सं. १९३३ माघ सुदी ८ रोज ४ मा मेजर कप्तान शमशेरजङ्ग थापा क्षेत्री र सुब्बा वीरमान थापा क्षेत्रीमार्फत् गोरखा शहरका बासिन्दाको नाममा यो घण्ट चढाएको देखिन्छ। हिजो लखन थापाका बारेमा सरकारसमक्ष अर्जी पठाउने पनि उनै ब्यक्तिहरू रहेको हुँदा यो घण्ट लखन थापालाई दिइएको मृत्युदण्डप्रति प्रायश्चित गर्न चढाइएको हुनसक्ने अनुमान गर्न सकिन्छ।

यताबाट हेर्दा वि.सं. १९३३ को माघ वा माघअघि पुसमहिनामा नै लखन थापालाई मृत्युदण्ड दिइएको भन्ने आधार बलियो हुँदा उनको मृत्युदण्डको महिना फागुन होइन भन्ने तर्क बलियोसँग स्थापित गर्न सकिन्छ।

गोरखामा दिवंगत आत्माहरूलाई पूजा गर्ने प्रचलनअनुसार पुसको पहिलो पञ्चमीमा लखन थापालगायतको पूजा गर्ने चलन रहिआएको छ। गोरखाका मगरहरू लखन थापा र उनका सहयोद्धाहरूलाई देवतामा परिणत भएको ठान्छन्। उनीहरूको स्मृतिमा गरिने पूजाको नाम 'भँयरी पूजा' हो। यो पूजालाई 'लखन्या पूजा' पनि भनिन्छ। यो पूजामा लखन थापालाई भयरी देवताका रूपमा पूजा गर्छन्। लखन थापाका सहयोद्धा जयसिंह चुमीका सन्तानले यो पूजा गर्दै आएका छन् (डा. हर्षबहादुर बुडामगर, 'मगर जाति र उनको सामाजिक संस्कार'-२०५३:२३)।

लखन थापालाई मृत्युदण्ड पुस महिनामै दिइएको भन्ने भन्ने तर्कलाई स्थापित गर्न यताबाट पनि विचार गर्न सकिन्छ। त्यसैले शहीद लखन थापा मगरको स्मृति भँयरी पूजा हुने दिने पुस महिनाको पहिलो पञ्चमीमै गर्दा यसको ऐतिहासिक महत्त्व कायम हुने देखिन्छ।

http://www.pact.gov.np/docs/grants/Third

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि