कोसेली : एउटै नाम मुखिया

 देवेन्द्र भट्टराई

यो १ सय वर्षअघिको कुरा हो । ओखलढुंगाको चेस्कु गाउँमा बस्थ्यो, एउटा खेतीकिसानी सुनुवार परिवार । कर्णवीर र पद्मा सुनुवार ‘सानो छ खेत, सानो छ बारी’ भाकामा साँझ–बिहानको जोहो गरिरहेका हुन्थे । गाउँघरमा चलेको ऋणपान, भाका र चक्रे ब्याज त्यही सानो परिवारमा पनि थपिएकै थियो । त्यसपछि अरू गाउँले र रोजीरोटीमा मुग्लान छिर्नेको ताँतीमा मिसिएका थिए कर्णवीर पनि ।

एउटै नाम मुखिया

त्यो मुकाम अरू कतै थिएन, उही दार्जिलिङको चियाकमान थियो । चियाका पत्तामा भाग्य–भरोसा खोज्दै खर्साङको धजे चियाकमानमा कर्णवीरका पाइला अडिएका थिए । त्यही कमानमा जन्मे उदय सुनुवार र अरू ९ जना दिदी, भाइ, बैनाहरू । जहीँ पुगे पनि भोक र रोग छँदै थियो, त्यही भएर यीमध्ये थोरै सन्तान मात्रै बाँचे । बँचेका केही शोकैमा बिते ।

कर्णवीर खर्साङ छँदा बर्माको लडाइँ चलिरहेको थियो । ससाना काम र पदमा जोकोहीलाई ‘रिक्रुट’ गर्न गल्लावाल कमान–वस्तीमा घुमिरहेका थिए । त्यही मौकामा बाबु कर्णवीर मुखिया काम (पद) मा भर्ती भएका थिए । त्यसरी सिंगो सुनुवार परिवार मुखिया बनेको थियो, नामका उदय पनि टेकवीर मुखिया बनेका थिए । त्यहीं खर्साङ/दार्जिलिङ छँदै टेकवीरले स्थानीय डेभिस/भिक्टोरिया स्कुलबाट ८ कक्षासम्मको अध्यन गर्न पाएका थिए ।

‘बाआमाको जीवनमा अरू ठूलो सपना केही थिएन । सकेसम्म छोराछोरी पढाउने र दुई छाक अन्नको जोहो गर्ने,’ त्योबेलाको कठिनाइ सम्झँदै टेकवीरले सुनाए, ‘त्यही भएर अलिक उज्यालो ठाउँ र भविष्य खोज्दै बाआमाहरू खर्साङबाट २००७ सालतिर कलकत्ता जानुभएको रहेछ, म पनि साथैमा थिएँ नै ।’

कलकत्ताको दुनियाँ अर्कै थियो, नेपाली भेटिने जतै पनि । भर्खरै भारतीय सेनामा मुखिया काममा लागेका बाबु कर्णवीर यदाकदा डेराघर आउँथे । अनपढ आमालाई छोराछोरीको पढाइगुनाइतिर त्यति ध्यान थिएन । ‘त्यही बेला खर्साङदेखि बोकेर ल्याएको बाँसुरी बजाएर कलकत्ते गल्लीहरूमा हिँड्थे, त्यही एउटा गल्लीमा हवाइन गितार बजाएको र सिकाएको देखेर त्यतै लागें,’ मुखिया सम्झन्छन्, ‘सानैदेखि पेन्सिल स्केच गर्न रुचाउने म यस्ता स्केच–चित्रका पोस्टर बनाउन र त्यसैबाट २/४ पैसा कमाउन थालें । एक प्रकारले स्वच्छन्द र लापरवाह जीवन थियो । त्यही पनि घरमा आएका बेला बुबाले ‘यस्ता स्केच/कलाको दुखिया काम आजै छाडिहाल्’ भन्दै तर्साइरहनुहुन्थ्यो । तर, म भने ‘नसिब अपना–अपना’ भन्दै लागिरहन्थें ।’

अरू त्यस्तै हो, मुखियाले कलकत्ता बसिन्जेलको १५ वर्षमा सयौं अंग्रेजी वा हिन्दी फिल्म हेर्ने सबैभन्दा बेतोडको काम गरे । ‘सिनेमाघर नै मेरो विश्वविद्यालय’ भन्दै अझै बातचितमा रमाइरहने मुखियाका निम्ति एकान्तमा मनोविनोद गर्ने खुराक पनि तिनै फिल्मी संवाद र कथाक्रमहरू बनेका छन् । कहिले कुनै स्कुलमा गएर नेपालीभाषी बालबच्चालाई कथा सुनाउने, कहिले फिल्महलका पर्दा, होर्डिङ बोर्ड, पोस्टरका कामहरू गरेर मुखिया उमेरमा लक्काजवान बनिसकेका थिए ।

‘पछि २०११ सालतिर हुनुपर्छ । कलकत्ताका हरेक गल्लीमा एउटा आवाज सुनिन थालेको थियो, ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ को बोलमा । अनि मलाई पनि सगरमाथा, नेपाल, मेरो पितापुर्खाको देश भनेर खुबै ख्याल हुन थाल्यो,’ मुखियाले सम्झँदै भने, ‘मेरा बाआमाले सुनाएको त्योबेलाको नेपालको गफ र घरमा आउने नेपालदेखिका पाहुनाहरू सम्झन थालें ।’

त्यसलगत्तै नेपालबाट राजा महेन्द्र, राजनीतिक नेता बीपी कोइराला र अरूहरूको कलकत्ता आवतजावत थियो । ती सबैले आफ्नै देश र माटोमा फर्केर आफ्नो सीप–जाँगर पोख्न गरेको आह्वान मुखिया सम्झिरहेका हुन्थे । आफ्नै फिरन्ता स्वभाव र नेपालप्रतिको बढ्दो मोहका कारण २०२२ सालको हिउँदमा मुखिया काठमाडौं आइपुगेका थिए, बाआमालाई समेत पत्तो नदिई ठाउँ न ठहरको शैलीमा ।

...

काठमाडौं उत्रिएर कुनै हवाइन गितार वा बाँसुरीको काम खोज्नुभन्दा रेखाचित्र, चित्रकला, पेन्टिङतिर लागिपर्ने एकल मनसुवा मुखियामा पलाएछ । एक दिन पशुपतिछेउ बसेर भुइँमा सानो क्यानभास फिँजाएर रङ छानिरहेका बेला कोहीकसैले ‘काठमाडौं, न्युरोड पाकोमा जोरगणेश प्रेस रहेको र त्यहाँ यस्ता चित्रका काम गर्ने मान्छे चाहिएको’ जानकारी दिएका थिए । ‘अनि म जोरगणेश गएर सञ्चालक रिद्धिबहादुर मल्ललाई भेटें । महिनाको ३ सय रुपैयाँ तनाखामा किताबका आवरण चित्र बनाउने, अरू पर्चा–पोस्टरका डिजाइन गर्ने काम पाएँ,’ मुखिया सम्झन्छन् । त्यसपछिको दैनिकी बन्यो– जोरगणेश प्रेसले अह्राएका बेला काठे ब्लकमा चित्र उतार्ने र बाँकी समय एउटा सानो एटलस साइकल लिएर काठमाडौं सहर चहार्ने ।

बुझ्दै जाँदा ती मल्लहरू निकै ठूला खलकका मान्छे रहेछन् । त्यही खानदानका बिजय मल्ल, गोविन्द मल्ल गोठालेहरू निकै चर्चित लेखकसमेत रहेछन् । ‘गोठालेमा हरदम सुपारी चपाएर कुरा गर्ने बानी थियो, दिक्कै लाग्नेगरी,’ मुखिया सम्झन्छन्, ‘विजय मल्ल भने मेरो तनाखा आएको थाहा हुनासाथै न्युरोडभित्रका छोइला–कचिला पसलमा लिएर गइहाल्थे । म खानपिनमा सात्विक भए पनि विजयजीको तरिकै अर्कै थियो, सोखिन खालको ।’

त्यहीबेला साझा प्रकाशन भन्ने संस्था खुलेको मुखियाले जानकारी पाए । साझाका हर्ताकर्ताहरू कमलबाबु (कमलमणि दीक्षित), रणधीर सुब्बा, क्षेत्रप्रताप अधिकारीहरूसँग कुराकानी मिलेपछि उनले ०२४ सालपछि साझाको पुस्तक प्रकाशनमा गाताचित्र बनाउने सबैजसो काम पाउन थाले ।

टेकवीर मुखियाले बनाएका किताबका गाता

‘२०२३ को अन्त्यतिर हुनुपर्छ, एक दिन कमलबाबु (दीक्षित) ले मलाई ‘बसाइँ’ भन्ने उपन्यास हातमा थमाउनुभयो । सादा कागजकै जस्तो गाता मोरिएको त्यो किताब १ सय पेजको पनि थिएन । त्यसमा पनि गाताचित्र बनाउनुपर्ने थियो । मैले साँझमा डेरामा लिएर गएँ र पढ्न थालें,’ वर्षौंवर्षपछि फेरि उही कथा सम्झेर गहभरि आँसु निकाल्दै मुखियाले सुनाए, ‘पूर्वको पहाडी गाउँबाट लखेटिएर बसाइँ सराइमा परेका धने–मैनाको कथा त्यहाँ थियो । तर, मैले त्यहाँ धने–मैना होइन, मेरा बाआमा कर्णवीर–पद्मा देखें । तिनीहरू काखको सानो छोरो लिएर गाउँ र देशै छाडेर गएको कथाले म मेरै पितापुर्खातिर फर्किएँछु । अनि भोलिपल्ट बिहानै आफ्नो घरखेत, गाउँ छाडेर हिँडिरहेका बाआमाको चित्र उतारें । खासमा मैले त्यो आवरणमा मेरा बाआमा र म आफैंलाई समेटेको थिएँ, सानो कुम्लोकुटुरोसहित ।’

मुखियाले ‘मुनामदन’ (महाकवि देवकोटा) देखि ‘मालती मंगले’ (माधव घिमिरे) सम्मको कृतिमा काम गर्दा पनि त्यस्तै अपनत्व सम्झिएका थिए । अलिपछि पारिजातको ‘शिरीषको फूल’ र धच गोतामेको ‘घामका पाइलाहरू’ कृतिमा काम गर्दा पनि मुखियालाई आफ्नो जीवन, समय र स्मृतिको अनेक तरंगले तानेर सोचमग्न बनाएको रहेछ । ‘मलाई जिम्मा दिइएका आवरण चित्र बनाउने काममा म सबैजसो पुस्तक पढेर मात्रै काममा लाग्थें, बरु बुझिएन भने लेखकलाई सोध्थें पनि,’ मुखिया भन्छन् ।

लैनसिंह बाङ्देलसँग टेकवीर मुखिया ।

साझामा संस्थागत रूपमा बाहेक मुखियाले रत्न पुस्तक, एकता बुक्समा पनि काम गरे । अरू निजी रूपमा पोट्रेट, तैलचित्र, ल्यान्डस्केप र यथार्थवादी मूर्त चित्रकारितामै मुखिया लागिरहे । अरू पेसा र काममा झैं ‘यत्ति एउटा कभर उतारिदिनुस् न, एउटै पोट्रेट बनाइदिनुस् न’ भन्दै सुरुमा एक काइयो जहाजी केरा लिएर भेट्न आउने, तर काम सकिएपछि फरार–सूचीमा रहने कवि/लेखक पनि निकै रहेछन्, मुखियाको फेहरिस्तमा । ‘बरु पशुपतिशमशेर राणाले उहाँको दम्पती पोट्रेटको मलाई केही नभनी १ लाख रुपैयाँ दिनुभएको थियो । अरू व्यवसायी मनोज मानन्धर, सुरेश मल्ल, रामचन्द्र तिमोथीहरूले पनि राम्रो पैसा दिएरै काम लगाउनुहुन्छ,’ उनी भन्छन्, ‘तर, यस्ता दानवीरहरू निकै थोरै छन् । अझ कलाक्षेत्रमा त औंला भाँचेर गन्ने हो भने यस्ता मनकारीको संख्या दस पनि पुग्दैन होला ।’

इतिहासमा पञ्चायत, प्रजातन्त्र र गणतन्त्र शासनपद्धतिका विधायकहरूको प्रतीक–चिह्न (लोगो) बनाउने अवसर पाएका मुखियालाई राज्यले गरेको सम्मान–सम्झनाको कुरो पनि छँदैछ । केही वर्षअघि उनले संस्कृति मन्त्रालयबाट राष्ट्रिय प्रतिभा पुरस्कार पाए, यसको राशि थियो– १ लाख रुपैयाँ । तर, पछि पुरस्कार लिन जाँदा उनले खामबन्दी १५ हजार रुपैयाँ मात्रै पाए । अनि मन्त्रालयका उच्च अधिकारीले भनेछन्, ‘के गर्ने ? सरकार आफैं बेखर्ची छ ।’

बालकृष्ण समसँग टेकवीर मुखिया ।

कलाकर्मीको सम्मान र आयस्ताको कुरा पनि त्यस्तै छ । मुखियाले ३० वर्षभन्दा बढी काम गरेर साझा प्रकाशनबाट निस्कँदा २० हजार रुपैयाँ सेवानिवृत्त भत्ता पाएका रहेछन्, ससम्मान । साझामा उनले आवरण बनाएका पुस्तकहरू दर्जनौं संस्करणमा छापिएका छन्, कति पुरस्कृत भएका छन्, केही अनूदित छन् । तर, मुखिया जब रोयल्टी वा अरू खर्चको कुरा गर्न साझा पुग्छन्, उही सनातनी जवाफ आउँछ, ‘तपाईंको सेयर कित्ता बढेको–बढ्यै छ, चिन्ता नलिनुस् ।’

अर्को रत्न पुस्तकमा पनि उनले निकै काम गरेका छन्— प्रबन्धक रत्नप्रसाद श्रेष्ठकै पालामा । तर, पैसा उठाउने र पारिश्रमिक लिने मामलामा ‘माडसाप, केही दिन कुर्नुस् है’ भन्नासाथै मुखिया पुस्तक भण्डारबाट आफूलाई चाहिने योगा, आयुर्वेद, एक्युप्रेसर, प्राण–पद्धति र यदाकदा यौन विज्ञानका हिन्दी पुस्तकको चाङ लिएर घर फिर्ने रहेछन्— आए आँप गए झटारो शैलीमा ।

कलाकर्मी लैनसिंह बाङ्देलसँग पनि मुखियाको दोस्ती राम्रो थियो । भैंसेपाटी निवासमा आफैंले पकाएका विशेष पकवानहरू साइकलमा झुन्ड्याएर मुखिया सानेपाको बाङ्देल निवास पुगिरहेका हुन्थे । बाङ्देल पनि मुखियानिवास आइरहन्थे । ‘उहाँ सहृदयी मान्छे हो । कलाको मर्म र कलाकारको पीडा पनि झट्टै बुझ्ने, एक पटक मलाई अमेरिका जाने मौका आएको थियो । मसँग पैसा थिएन । उहाँले कतैबाट थाहा पाउनुभएछ, मलाई तुरुन्तै ३० हजार रुपैयाँको चेक काटेर दिनुभएको थियो,’ मुखिया सम्झन्छन्, ‘पछि तारतम्य नमिलेर अमेरिका जान पाइन, अनि पैसा फर्काइहालें ।’

एक वर्षअघिसम्म पनि क्यानभाससामु रङ–कुची खेलाएर बसिरहेका भेटिने मुखिया अहिले भने उमेर वा थकानले गर्दा मौनप्राय देखिन्छन् । आफूले ३० वर्षयता हरेक बिहान चारो खुवाउँदै आएका काग, भँगेरा, परेवा, रुप्पी र आसपासका कुकुरहरू खानपिनमा श्रीमती शुक्रा मुखियाको भर परेका छन् । मुखिया भने रमितेझैं हेरिरहन्छन् मात्रै ।

‘म सधैंको सात्त्विक, सधैंको प्रकृतिप्रेमी । यो धर्तीमा मेरो जत्ति अधिकार छ, यहाँका काग, भँगेरा, रुप्पी वा गल्लीका कुकुरको उत्ति नै हक छ । मैले घरमा श्रीमती र छोराछोरीलाई पनि भनिसकेको छु— घरमा तिमेरुलाई र बाहिर यो चराचरलाई उत्तिकै माया छ मेरो ।’

...

मुखियाले कतै कुनै कक्षा नलिई कला सिके । मुहार चित्रमा एकाग्रता भर्न सिके । पहेंलो र शीतल रङको संयोजन गर्न सिके । आफ्नो घर बगैंचामा फुल्ने जाहीजुही र आँगनमा आउने भँगेरा–परेवा–कागबाट प्रकृतिको रङ रोज्न सिके । आफ्नै बाबुआमाले बेहोरेको ‘बसाइँ’ को दुःखान्त र आम मान्छेले बाँच्नैका लागि गर्ने दिनरातको धपेडीबाट कलामा यथार्थवादको रङ मिसाउन आफूले सिकेको उनी स्वयम् स्विकार्छन् । अरूभन्दा पनि मुखियाले जोगाएर राखेको सृजन–मौलिकताको पहिचान उनको सबैभन्दा ठूलो धन हो, पुँजी हो । मुखियाका दौंतरी रामकुमार पाँडेले कतै लेखेका छन्, ‘टेकवीर मुखियाको जीवनयात्राको सबैथोक चित्रकला भएको छ । मुखिया निराकारमा आकार र आकारमा निराकार रूपरङ दिन सिपालु र सिद्धहस्त कलाकार हुन् ।’

मुखियाले दुई दर्जनभन्दा बढी नेपाली स्रष्टाको मुहारचित्र बनाएका छन्, साझाका लागि । ती कतै पोस्टरमा भेटिन्छ, कतै पुस्तकको आवरणमा । कुनै साधक वा योद्धाको असली स्वरूप पहिल्याउन त्यसबारेको इतिहास, पृष्ठभूमि, समाज विज्ञान सबैको अध्ययन जरुरी हुन्छ । जस्तो, अहिले पनि नेपाली समाजमा देखिएका बुद्धदेखि भानुभक्तसम्मका मूर्ति (आकृति) का बारेमा अनेक उल्काका प्रश्न उठ्ने गरेकै छन् । ‘मैले पनि निकै गहिरो अध्ययन गरेर किराँती राजा यलम्बर, प्रथम सहिद लखन थापा र मैथिल महाकवि विद्यापतिको मुहारचित्र कोर्न सकेको हुँ, म यी स्रष्टाहरूको र्स्वस्वीकार्य मुहारचित्र उतार्ने पितासमेत हुँ,’ मुखिया भन्छन् ।

कलाप्रतिको यो एकाग्रता र यो ध्यानको फहरिस्त लामै हुन सक्छ । मुखियाले बनाएका झन्डै ४ दर्जन कलाकृति, मुखाकृति, ल्यान्डस्केप, मूर्त सामाजिक चित्रहरू अहिले पनि भैंसेपाटीको मुखिया निवासमा कुनै सजिएका छन्, कुनै भुइँमा बसिरहेका छन् । सधैंको यो धपेडीमाझ ‘भोली गरौंला, पर्सि गरौंला’ भन्दै अहिलेसम्म छुटेको र अब सायदै थकथकी रहिरहने एउटै मनोकांक्षा रहेछ मुखियासँग, त्यो हो एकल प्रदर्शनी । ‘आफ्नो एकल प्रदर्शनी गर्न मैले भ्याइनँ पनि, आर्थिक वा अरू कारणले पनि सकिनँ होला’, मुखियाको उहिलेदेखि पूरा नभएको एउटै इच्छा रहेछ, ‘फेरि पनि मेरैजस्तो कलाकार नियति र कलाकर्ममा जोडिएको छोरो सोमु वा छोरी श्रद्धा मुखिया (हाल नर्वे) ले आफ्नो कलाकृतिमा मिसाएर भएर पनि मेरो कला प्रदर्शनी गरिदेलान् नै । आशा गरेको छु ।’

...

आँगनमा पुरानो चाइनिज साइकल छ । दुवै चक्का पन्चर भएको, जीर्णकाय साइकल । तैपनि माया लाग्छ त्यसैको । असोजे झरीमा भिज्ला कि भनेर प्लास्टिक ओढाइएको छ यसलाई । उमेरमा ९० पारिका कलाकार टेकवीर मुखियाको जीवनमा जोडिएका वर्षौंवर्षका स्मृति र धपेडीले भरिएको दैनिकी यही साइकलसँग गाँसिएको छ । कतिसम्म भने उमेर, बुढ्यौली र थकानले निसास भइरहेका बेला जब मुखिया झ्यालबाट यसो बाहिर आँगनतिर हेर्छन्, त्यही साइकल देख्छन्, जसले आफ्ना बितेका हराभरा क्षण र उपत्यकाभित्रको अहोरात्र धपेडीलाई सम्झाइरहन्छ । अहँ, पटक्कै भुल्नै दिँदैन । यसरी यारों बनेको छ, एउटा निर्जीव साइकल ।

घरको भित्री कुनोमा एउटा थैलोमा थन्किएका छन्, बिभिन्न साइज र स्टाइलका ५/७ वटा बाँसुरी । कम्तीमा आधा शताब्दी पुरानो समयको तिर्सना सम्झाइरहने तागत यी बाँसुरीमा छ । यिनैमध्ये केही मुखिया आफैंले खिपेर बनाएका हुन्, केही कलकत्ताबाट ल्याएका हुन् । यसरी एउटा कुनोमा थैलोमा बाँसुरी थन्किएर बसेको निकै वर्ष भइसकेको छ । यी आफैं बज्ने बाजा होइनन्, यिनलाई बजाउने, फुक्ने, हावा दिने तागत अब मुखियासँग छैन । तैपनि उधुमै माया लाग्छ यिनको । कतिसम्म भने उहिले दार्जिलिङको कालीपोखरी जंगलमा टार्जन बनिहिँड्दा बजाउन सिकेको बाँसुरी मुखियालाई ‘आफ्नै जिन्दगीको गीत’ झैं लाग्छ । आफू बाँचुन्जेल यी सम्पत्ति ‘कतै नफ्याँक्नू, कसैलाई नदिनू है’ भनेका रहेछन् मुखियाले । श्रीमती मुखियाले त्यही भएर जतन गरेर राखिदिएकी छन् बाँसुरीको थैलो ।

छिनभरमै मुखियाले कोटको खल्तीबाट निकाले–लघु आकारको माउथ हार्मोनिका, जसलाई ‘पग’ (जर्मन–मेड) पनि भनिने रहेछ । यो त झन उहिल्यै दार्जिलिङको भिक्टोरिया स्कुलमा छँदै किनेको । अनि मुखैमा जोडेर बजाइहेरे, सुर त्यति नरहे पनि हार्मोनिकाको ध्वनि कोठामा गुन्जियो । बल्ल मुखिया मुस्कुराए, दिलखुस भएझैं । यसरी यो चीज पनि मायाको डोरो बनेको रहेछ, मुखियाको जीवनमा ।

अनि पालो आयो— हवाइन गितारको । यो पनि उहिल्यै ‘मैं आवारा हुँ’ शैलीमा उमेर र समयको फ्ल्यासब्याक उतार्ने बाजा रहेछ । आजभन्दा ७० वर्षअघि कलकत्ता छँदा पहिलो पटक सुनेको, सिकेको र जोडेको बाजा– हवाइन गितार ! जीवनमा केही बन्नु वा नबन्नुबीचको दोसाँध चलिरहँदा एकान्तमा बसेर मुखिया कहिले गितारमा सी–माइनर बजाउँथे, कहिले बाँसुरीमा कहिल्यै थाहै नपाएका उच्चाटका स्केल जोडेर बजाइरहन्थे—कलकत्ते गल्लीहरूमा ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

यसरी जीवन भन्नु सम्झना हो, स्मृति हो । चर्चा र हल्लाको जगत्बाट निकै टाढा रहेका बेला भर्खरै प्रतिष्ठित जगदम्बाश्री पुरस्कार पाएपछि मुखिया स्मृतिको दुनियाँबाट एकाएक ब्युँतिएका छन् । त्यही भएर ९० वर्ष उकालोको यो उमेरमा के बिर्सनेभन्दा पनि के–के सम्झनेको तानाबाना उनमा उब्जिएको छ । उनी चाहन्छन्– आफूले लगाएको पहिलो कोट, त्यो पहिलो बिर्खेटोपी, २०२४ सालमा पहिलो आवरण कोरेको ‘बसाइँ’ पुस्तक, बाँसुरी, गितार, हार्मोनिका, एक्युप्रेसर, आयुर्वेद महात्म्य र तन्त्रविज्ञानका पुस्तकहरू... ! सबैसबै यही आँखासामु राखियून् ।

स्मृतिको यो चोयोमा खुसीको रङ मिसिएको क्षण मुखिया कुनै बेला बाँसुरी समाउँछन्, कुनै बेला हार्मोनिका । अधीर भएर कहिले आँगनको बेगमबेली छुन निस्कन्छन्, छिनभरमै दुबोले भरिएको आँगनमा नाच्न आएका भँगेरा हेर्न पुग्छन् । झट्ट सम्झेर कसैलाई फोन गरिहेर्छन्, तर दुवै कानको श्रवणशक्ति कमजोर भएकाले फेरि इसारामै फोन राख्छन् ।

एक स्पेनिस कवि गार्सिया लोर्काले भनेझैं सारा स्मृति र जीवनको बिसौनी यसरी चाहिरहेका छन् मुखिया :

‘जब म मर्छु,

मेरो कोठाको झ्याल खुलै राख्नु

ता कि त्यो परको बालकले

सुन्तलाहरू खाइरहेको दृश्य देख्न सकौं...’

https://ekantipur.com/koseli/2023/10/07/same-name-chief-59-06.html?fbclid

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि