कोशी : पाँचथरमा निशान जात्राको रौनक, २४९ वर्षपछि सेनाको सलामी [तस्बिरहरू]

 लक्ष्मी गौतम

पाँचथर — पाँचथरको याङवरक गाउँपालिका-४ स्थित कालिका मन्दिर परिसरमा लाग्दै आएको निशान जात्रामा यो वर्ष दश हजारभन्दा धेरै सर्वसाधारणले सहभागिता जनाएका छन् । यो वर्ष निशान जात्रामा पहिलो पटक नेपाली सेनाले सलामीसमेत अर्पण गरेको छ ।

पाँचथरमा निशान जात्राको रौनक, २४९ वर्षपछि सेनाको सलामी [तस्बिरहरू]

नेपाल राज्य एकीकरणका क्रममा लिम्बूवान फौज र शाह वंशीय सेना बिच छ पटकसम्म भएको युद्धमा दुवैतर्फ हारजित नभएपछि शाहहरुले सम्झौता गर्दै लिम्बुवानलाई उपहार स्वरुप छोडेका २ वटा निशानसहित तत्कालिन युद्धमा प्रयोग भएका हातहतियार छोडेर गएका थिए । त्यही हातहतिया तथा निशानलाई दसैंको अवसर पारेर महानवमीका दिन प्रदर्शन गर्ने चलन छ ।


१८३१ साल देखि शुरु भएको निशान प्रदर्शनीमा नेपाली सेनाको रणशेर गणले पहिलो पटक सम्मानसहित सलामी अर्पण गरेको हो । सलामी अर्पणका क्रममा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, कार्यालय प्रमुखसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा हजारौंका संख्यामा सर्वसाधारण उपस्थित थिए ।

पृथ्वीनारायण शाहको बाइसे चौबिसे राज्य एकिकरणका समयमा युद्ध हुँदा प्रयोग भएका निशान र पुरातात्विक हतियार र निशान प्रदर्शन गर्दै विशेष ढंगले प्रश्तुत गरिने यो जात्रालाई मौलो पनि भन्ने गरिएको छ ।

निशानलाई वर्षको ३ सय ६४ दिन लिम्बुवानका जिम्मावालहरुको घरमा राखिन्छ । निशान प्रदर्शन गर्न थालेको २ सय ४९ वर्ष पछि सेनाको सलामी सहित सम्मान गर्ने परम्पराको थालनी गरिएको स्थानीय आयोजकले जनाएको छ । निशान प्रदर्शनको जिम्वेवारी याङवरक गाउँपालिकाको ४ नम्बर वडाले लिएको वडाध्यक्ष सबिन माबोले जानकारी दिए ।

निशान जात्राका अवसरमा यहाँको काली मन्दिरमा ठूलो संख्यामा बोका र राँगाको बलि पनि दिइन्छ । निशानको पुजा र दर्शन गर्दा मनोकांक्षा पुरा हुने स्थानीयको विश्वास छ ।
निशान जात्राको अवलोकन गर्नुका साथै यहाँ गएर भाकल गर्दा चिताएको काम पुरा हुने र शक्ति प्राप्त हुने विश्वासमा महानवमीका दिन पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह«थुम र भारतको सिक्किम र दार्जिलिङबाट पनि दर्शनार्थी आएका थिए ।



धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वको यी दुवै निशान र हतियार हालसम्म जिम्मावालहरुकै घरमा राखिँदै आएकोमा अब भने संग्रहालय बनाएर एकिकृत गर्ने तयारी थालिएको छ ।

प्रकाशित : कार्तिक ६, २०८० १६:३८
https://ekantipur.com/pradesh-1/2023/10/23/celebration-of-nishan-jatra-at-panchthar-army-salute-after-249-years-photos-38-01.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि