मिठो नेपाली अर्थात् कृष्णप्रसाद पराजुली

 गणेश राई

काठमाडौँ — हरेक नेपाली भाषा शिक्षक र साधकले सम्झिइरहने किताब हो– ‘राम्रो रचना : मिठो नेपाली’ र त्यसका लेखक कृष्णप्रसाद पराजुली । यो किताब नेपाली भाषा, व्याकरण र मिठो नेपाली कसरी लेख्न सकिन्छ भन्नेबारे लेखिएको किताब हो ।

र यसको ३०औं संस्करण भर्खरै (२०८० साल)मा मेला प्रकाशनले बजारमा ल्याएको छ । यसको पहिलो संस्करण २०२३ सालमा छापिएको थियो । यतिका लामो आयु पाएको कृतिको पहिलो संस्करणको भूमिकामा बालकृष्ण समले लेखेका छन्– ‘जब–जब नेपाली भाषाको प्रश्न आउँछ, समस्त शिक्षण–संस्थाहरूमा यसको समादर होला भन्ने कुरामा मलाई विश्वास छ । व्यक्तिगत पनि हाम्रा सर्वसाधारण लेखकहरूलाई यो उपयोगी हुनेछ ।’

त्यसैगरी माधवप्रसाद घिमिरेले लेखेका छन्– ‘पराजुलीको ‘राम्रो रचना : मिठो नेपाली’ले नाम सुहाउँदो काम गर्नेछ भन्ने मलाई पूरा विश्वास छ । यो पुस्तकको शैली काव्यात्मक बन्न गएको छ । विदेशी पानातिर गइरहेको रचनालाई यसले नेपाली शैलीतिर मोडेको छ । रचनाको क्षेत्रलाई व्याकरण प्रयोगसम्म मात्र सीमित नराखेर छन्द, अलङ्कार र रसजस्ता साहित्यिक विषयको पनि यसमा ‘राम्रो’ प्रयोग भएको छ ।’

उतिखेरै सूर्यविक्रम ज्ञवालीले पनि भूमिकामा लेखेका छन्– ‘तर यो पुस्तकले भावी भावी लेखक वा कविका मनमा नेपाली भाषाप्रति प्रेम उत्पन्न गरायो भने उनीहरू ठेलीका ठेली गद्य वा पद्यका पठनीय पुस्तक लेख्ने सामर्थ्ष प्राप्त गर्नेछन् भन्ने कुराले चित्त बुझाउनुपर्छ । यस्ता पुस्तक प्रथम लेखिँदाखेरि नै पूर्ण हुँदैनन् । तिनी बिस्तार–बिस्तार पूर्णता प्राप्त गर्छन् । यो पुस्तकका अनेक संस्करण होलान्, हजारौं विद्यार्थी पढ्लान्, सयकडौं शिक्षक पढाउलान् औं पुस्तकको प्रत्येक नवीन संस्करण केही थपिँदै, केही खारिँदै जाला भन्ने मेरो आशा छ ।’

हो, यसरी ‘राम्रो रचना : मिठो नेपाली’ किताब कालजयी कृति बन्न पुगेको छ । लेखक कृष्णप्रसाद पराजुली जीवित छँदै २८औं संस्करण छापिएको थियो । लेखक पराजुलीले भनेका छन्, ‘मैले राम्रो रचना मिठो नेपालीमार्फत् नेपाली भाषा सधै चौतारीमा रमाएको हेर्न चाहेको छु । नेपाली भाषा मिठो भाषामा गनिन्छ । यस भाषाको रचना राम्रो र मिठो दुवै होस् भन्ने दृष्टि मैले राखेको छु, राम्रो रचना मिठो नेपाली व्याकरण मात्र नभएर प्रयोगमूलक रूपमा त्यसको कला सिकाउने रचना हो । थुप्रै व्यक्तिले राम्रो रचना मिठो नेपाली पढेर भाषा राम्रो पारेको, धेरै थोक सिकेको, लेख्न थालेको, आफूलाई तिखारेको, हौस्याएको आदि यथार्थ खोलेका छन् । खुसी लाग्छ ।’ २०७० चैतको नयाँ संस्करणमा लेखेका छन्, ‘विद्वानहरूबाट पाएका उचित सुझाउलाईसमेत ध्यानमा राखेर केही परिमार्जनसहित प्रस्तुत संस्करण अझै नयाँ स्वरूप र बान्कीमा आएको छ । सधैंझैं यसले सबैको स्नेह–ममता पाउने आशामा छु ।’ मेला प्रकाशनले केही बाल साहित्य र राम्रो रचना मिठो नेपालीलाई प्रकाशन स्वामित्व लिएर प्रकाशित गरेको जनाइएको छ ।

नयाँ संस्करणमा ‘राम्रो रचना मिठो नेपाली’को २१ शीर्षकमा विषयक्रम रहेका छन् । क्रमागत शीर्षकअन्तर्गत ‘रचना’को आवश्यक तत्व, भाषा, शुद्धता, विचार, ‘शब्दसंवृद्धि र आगन्तुक शब्द’, ‘शब्दका किसिम र तिनका भेद’, ‘शब्दको बनोट’, ‘शब्दका रूप–विस्तार’, ‘शब्दका अर्थ र प्रयोग’, ‘बहुरूपी शब्द : विशेष ज्ञान’ छन् । ‘नेपाली वर्ण, अक्षर वर्णविन्यास’, ‘चिह्न–प्रयोग’, ‘शब्दशक्ति, सारशब्द र खुल्दो अर्थ’, ‘उखान–टुक्का’, ‘वाक्यमा आधारभूत तत्व’, ‘वाक्य–रचना’, ‘वाक्यान्तरण’, ‘आफ्ना ढाँचाका वाक्य’ छन् । यसैगरी ‘राम्रो नेपाली : विभिन्न प्रयोग’ अन्तर्गत शब्दको सुहाउँदो प्रयोग, वाक्यको छरितोपन, भाषाशैली राम्रो मिठो, विषयवस्तु र कौशल, उक्तिको प्रयोग, विचार–सन्तुलन, साधना, राम्रो नेपाली गद्यका केही बान्की उल्लेख छ । ‘छन्द र लय’, ‘अलङ्कार र रस’, ‘काव्य र काव्यका भेद’, ‘साहित्यमा प्रमुख केही वाद’ र ‘नेपाली भाषाको विकास’ शीर्षकमा विषयवस्तु पस्किइएका छन् ।

‘गुराँस र सुनगाभा फुल्ने देश’, ‘डाँफे चरीको जस्तो रङ्गीचङ्गी रूप’, ‘नौनीजस्तो नरम बोली वा मन’, ‘सपनादार ह्दयको आकर्षण’ जस्ता देश बुझाउने अनेकन उपमा र प्रतीकले मनमा छिसिक्कै छुन्छ । पराजुलीले आफ्नो लेखनशैलीबारे भनेका छन्, ‘नेपाली रूखो भयो भने राम्रो हुँदैन— भाषा सलल बगोस् भन्ने चाहन्छु । मैले त व्यक्तिगत रूपमा लेखनाथको लालित्य, देवकोटाको कल्पना, ह्दयचन्द्रको विचार, समको कुँदाइ, सिद्धिचरणको यथार्थता, घिमिरेको लयालुपन, धर्मराजको लोकभावना, पारसमणिको नेपालीपन, रूपनारायणको मिठास र रिमालको च्वाट्ट हुने प्रभावकारिताबाट एउटा भिन्दै शैली निर्माण गर्न सकेको छु जस्तो लाग्छ ।’

साहित्यकार पराजुलीको जन्म विसं. १९९२ असार २४ गते काभ्रेको भमरकोटमा भएको थियो भने २०७० चैत्र २० गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । पराजुलीका प्रकाशित कृतिहरू विधागत आधारमा कविता/काव्य ११ वटा, भाषिक वित्ति ५ वटा, कथा/एकाङ्की ३ वटा, लोकसाहित्य ३ वटा, निबन्ध/प्रबन्ध १२ वटा, बालसाहित्य २१ वटा छन् ।

पुस्तकवृत्तिहरू यी हुन् :

१. पूर्व एक नम्बर (२०२२)

२.रमाइला नानी (भाग–१, २ र ३)

३. राम्रो रचना : मिठो नेपाली (२०२३, तीसौं संस्करण)

४. नेपाली व्यावहारिक व्याकरण (२०२३)

५. आँखाभरि सपना मुटुभरि गीत (२०२४)

६. सय थुँगा फूल (२०२४)

७. पन्ध्र तारा र नेपाली साहित्य (२०२४)

८. नेपाली अध्ययन तथा अभिव्यक्ति (२०२७)

९. सुनौला तीन कुरा (२०२७)

१०. चार चङेरी (२०२८)

११. नौबेली (२०२८)

१२. लुकामारी (२०३०)

१३. सुनकेस्रा (२०३५)

१४. प्रयोगात्मक भाषातत्व (२०३५, तेइसौं संस्करण)

१५. नेपाली उखान र गाउँखाने कथा (२०३९)

१६. जूनतारा (२०४४)

१७. पूmलपात (२०४४, उन्नाइसौं संस्करण)

१८. हिमाली डाँफे (२०४४)

१९. भाषाको माया (२०४४)

२०. बादलका बुट्टाहरू (२०४५)

२१. लोलीबोली (२०४७)

२२. चरी आयो (२०४७)

२३. मेरो मुरली (२०४८)

२४. मन सुसाउँदै छ (२०५०)

२५. कथा आँसुको (२०५५)

२६. नेपाली लोकगीतको आलोक (२०५७)

२७. देउरालीबाट (२०५८)

२८.चिन्तनका बिम्बभित्र (२०५८)

२९. जीवनबेली (२०५८)

३०. फूलजस्तो मन (२०५९)

३१. सम्झनाका क्षितिजमा (२०५९)

३२. सुनकल्छे हिमाल (२०६७)

३३. इन्द्रिनी (२०६१)

३४. हृदयका पानासँगै (२०६१)

३५. यो खोलाको सङ्लो पानी (२०६३)

३६. नातीनातिना (२०६४)

३७. तारामण्डल (२०६४)

३८. अर्को देउरालीबाट (२०६४)

३९. फेरि चिन्तनका बिम्बभित्र (२०६४)

४०. आकाश माटोमाथि (२०६५)

४१. शिखरयात्रा (२०६६)

४२. नालापानी (२०६८)

४३. पूर्वी पाइला पश्चिमी देशमा (२०६९)

४४. लोककथाको फन्को (२०६९)

४५. लेखौं, गाऔं, रमाऔं (२०६९)

४६. राम्रै राम्रो (२०७०)

४७. हामी भयौँ फुरफुर (२०७०)

४८. अनारमैंया (२०७०)

४९. सानी चरी (२०७१)

५०. पुस्तक गीत (२०७१)

५१. मनमाया (महाकाव्य, २०७१)

५२. नेपाली लोककथाको फन्को (२०७४)

साहित्यकार पराजुलीको जीवनकालमा छापिएका कृतिमध्ये एकाधबाहेक अधिकांश पुस्तक कम्तीमा दोस्रो संस्करण छापिएको पाइन्छ । पराजुलीले नेपाली भाषा, साहित्य, संस्कृति, शिक्षणलगायत सामाजिक क्षेत्रमा पुर्‍याएका योगदानलाई लिएर डेढ दर्जनभन्दा बढी शोध अनुसन्धान भएका छन् ।

पराजुलीको व्यक्तित्व र कृतित्वबारे पुस्तक प्रकाशित गरिएका छन् । उनको निधनपछि प्रकाशन हुन बाँकी कृतिहरू क्रमश: प्रकाशन हुँदै आएको जेठा छोरा तथा बालसाहित्य सर्जक शाश्वत पराजुली बताउँछन् । ‘बुवाका अधिकांश कृतिहरू उहाँको जीवनकालमै प्रकाशित छन् । एउटा चिठीको संग्रह र केही फुटकर गीत, कविता र बालसाहित्यका रचनाहरू संकलित रूपमा संग्रह गरेर प्रकाशन हुन बाँकी छन् । त्यसलाई पनि संग्रह गरेर प्रकाशन गर्ने योजना छ ।’

उनै साहित्यकार कृष्णप्रसाद पराजुलीको यही २०८० असार २४ गते ८९औं जन्मजयन्ती मनाइदैछ । कृष्ण साहित्य सदन संस्थाको अगुवाइमा स्मृति दिवससँगै स्रष्टालाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ प्रदान गरिँदै आएको छ । परिवारका सदस्यको पहलमा यो काम हुँदै आएको छ । सदनको पहलमा काभ्रेको पाँचखालमा साहित्यकार पराजुलीको शालिक निर्माण गर्ने क्रममा छ । ‘एक थुकी सुकी, हजार थुकी नदी’को सारले मिठो नेपाली भाषा बनेको हो भनिरहनु परेन । अहिले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार छन् । सरकारका ती तह र निकायले कृष्णप्रसाद पराजुलीहरू सम्झिन सके/सकेनन्, संशय छ ! ती तह र निकायमा आसिन जनप्रतिनिधिहरू र कर्मचारीतन्त्रले ‘राम्रो रचना : मिठो नेपाली’ सम्झिदिए भने नेपाली भाषा, साहित्य, संस्कृति र माटोले न्याय पाउने छ भन्नु अतिशयोक्ति नहोला ।

प्रकाशित : असार २४, २०८० १५:३१https://ekantipur.com/blog/2023/07/09/168888619384814488.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि