'टोरोन्टो' मा 'गाउँ आएको बाटो' को वर्ल्ड प्रिमियर

 रीना मोक्तान

काठमाडौँ — नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' ४८ औं 'टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल' को ‘सेन्टर पिस’ सेक्सनमा छनोट भएको छ । सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने फेस्टिभलमा यो फिल्मको वर्ल्ड प्रिमियर हुने भएको हो । यसअघि दीपक रौनियारको 'सेतो सूर्य' र लघु फिल्मतर्फ राजन कठेतको 'बियर ट्रिज इन्द दि मिस्ट'ले फेस्टिभलमा उपस्थिति जनाएको थियो । 

गाउँमा बाटो आएपछि बाबु र छोराको सम्बन्धमा आउने उतारचढावमाथिको कथा हो, 'गाउँ आएको बाटो' । २०/२२ वर्षअघि विदेश जाँदा विदेसिने नेपालीहरूको दृश्यले सुब्बालाई वैदेशिक रोजगारीमाथिको कथामा फिल्म गर्नुपर्छ भन्ने भएको थियो । 'विदेशलाई आफ्नो सपनाको थलो किन बनाउँछन् भन्ने त हाम्रो लामो परम्परा नै हो । किन हाम्रा मानिसहरू काम खोज्नलाई विदेश नै जानुपर्छ भन्ने विषयले दिमागमा हिर्काइरहेको थियो । हाम्रो सामाजिक, आर्थिक, राजनैतिक संरचनाले उचित तरिकाले काम नगर्दा भविष्यका लागि बाहिर जानुपर्ने बाध्यता छ । भविष्यका लागि मात्रै नभइ जीविकोपार्जनका लागि नै बाहिरिनुपर्ने बाध्यता देखिन्छ । त्यसैले यसमै किन काम नगर्ने भन्ने हुँदा महेशले कथा लिएर आयो । अनि स्क्रिप्टमा काम गर्न बस्यौं,' उनले भने । 

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यो फिल्म सामुदायिक लगानीमा बनेको हो । फिल्ममा राई जातिको विश्वास पद्धतिअनुसारको दृश्यभाषा निर्माण गर्ने कोशिस गरिएको सुब्बा दाबी गर्छन् । 'कुनै पनि विषय उठाइसकेपछि चरित्रको पृष्ठभूमि आउँछ । विश्वलाई हेर्ने उसको दृष्टिकोण र उसको विश्वास पद्धति हुन्छ । त्यही विश्वास पद्धति उसको धार्मिक आस्था, सामाजिक चालचलन, शिक्षा, हुर्काइको वातावरणले विश्व दृष्टिकोण बनाइदिन्छ । त्यो दृष्टिकोण बनाउनलाई फेरि उसको विश्वास पद्धतिले काम गर्छ । हामी कुनै न कुनै विश्वास पद्धतिलाई आधार भएर संसारलाई हेर्छौं । जुन विषयवस्तु उठाइन्छ, त्यो चरित्रको विश्वास पद्धति नजिक बसेर त्यो विषयलाई हेर्नुपर्छ भन्ने मेरो बुझाइ हो,' उनले भने, 'मैले खस-आर्यको चरित्रलाई लिएर फिल्म बनाउँदै छु भने उनीहरूको विश्वास पद्धतिमार्फत फिल्मको भाषा बनाउने काम गर्नुपर्छ ।

नवीनको फिल्म पहिलो पटक 'टोरोन्टो' प्रवेश गरेको हो । हुन त सुब्बाको डेब्यू निर्देशकीय 'खाङ्ग्री' नै पहिलोपटक अन्तर्राष्ट्रिय बजार पुग्ने नेपाली फिल्म हो । यसअघि उनी निर्देशित 'नुमाफुङ' फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत थुप्रै अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट भएको थियो । बंगलादेश इन्टरनेसनल फिल्म फेस्टिभलमा त बेस्ट रनरअप र फ्रान्सको भिजुअल फिल्म फेस्टिभलमा पब्लिक चोइस अवार्डसमेत जितेको थियो । नेपाली फिल्म यस्ता प्लेटफर्ममा पुग्दा भिजिबिलिटी बढ्ने नवीन बताउँछन् । 'यस्तो प्लेटफर्मले फिल्मको दृष्यता बढाउन मद्दत गर्छ । एउटा फिल्म मात्र गएर हुँदैन । नेपालमा पनि राम्रो फिल्म बन्छ है, नेपाली फिल्मको आफ्नै भाषा छ भन्ने बुझाउनका लागि पनि नेपाली फिल्म विश्वको यस्तो प्लेटफर्ममा पुग्नुपर्छ । बल्ल त हाम्रो फिल्म महत्त्वपूर्ण फेस्टिभलहरूमा जान थालेको छ । यसको संख्या थपिँदै जानुपर्छ । त्यसले बजार निर्माण गर्छ,'उनले भने,'बजार निर्माण हुनु भएको यस्तो प्रकारको फिल्मको माग निर्माण हुनु हो । नेपाली फिल्म क्षेत्रले बारम्बर अन्तर्राष्ट्रियकरणको कुरा गर्छ किनकि हाम्रो बजार सानो छ । नेपाली फिल्मकर्मीले यस्तो प्लेटफर्ममा विश्वको फिल्म हेरिसकेपछि हाम्रो रुची रुपान्तरणमा पनि त्यसले भूमिका खेल्ने भयो । नेपाली फिल्मको गुण बढाउने प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न पनि यसले काम गर्ने भयो ।'

यस्तो प्लेटफर्मले नेपाली फिल्मलाई विश्व बजारमा पुग्नुका साथै हाम्रो कथा भन्नलाई प्रोत्साहित गर्ने बताउँछन् । 'नेपाली समाज, नेपालीले भोगिरहेको समयको कथा हामी विश्वलाई पुर्‍याउन सक्छौं । फिल्मजस्तो अर्को सजिलो माध्यम छैन । त्यसले आन्तरिक फिल्म निर्माणलाई गुणात्मक बनाउन मद्दत पुर्‍याउँछ । त्यसैले पनि यो आवश्यक छ । नेपाली प्रतिभाले विश्वका प्रतिभाहरूसँग अन्तरक्रिया गर्न सक्छन्, 'उनले भने, 'त्यसले स्वभाविक रुपले नेपाली फिल्मको स्तर उकास्न पनि सहयोग पुर्‍याउँछ ।' 

यस्तो प्लेटफर्ममा फिल्म पुर्‍याउनुलाई आफ्नो दायित्त्व पनि ठान्छन् उनी । 'मेरो फिल्महरू फेस्टिभलहरूमा निरन्तर गइरहेकै हुन्छ । टोरोन्टोमा जानु नौलो होइन । तर, मेरो लागि नेपाली फिल्मलाई फेस्टिभलमा पुर्‍याउनु दायित्त्वजस्तो लाग्छ । आफूले गरेको काम होस् या अरुको कसरी ती फिल्ममा पुगोस् भन्ने प्रयास गरिरहेको हुन्छु । यसले तत्काल प्रतिफल नल्याए पनि ५/१० वर्ष पछाडि प्रतिफल ल्याउँछ,'उनले भने,'खाङ्ग्रीबाट अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जान थालेको हो नेपाली फिल्म । विस्तारै युवाका फिल्महरू विश्व बजार पुग्न थाल्यो । अहिले हाम्रो फिल्म क्यान्स, बर्लिन, भेनिसमा पुगिरहेको छ । तर, यतिले पुग्दैन । वार्षिक रुपमा यति धेरै फिल्म जानुपर्छ । त्यसैले हामीले आफ्नो क्षमतालाई अभिवृद्धि गर्दै फिल्म बनाउनुपर्छ ।' अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपाली फिल्म पुगे पनि नेपाली फिल्म बजार व्यवस्थापनका पक्षमा अझै कमजोर रहेको नवीनको विश्लेषण छ । उनी भन्छन्,'नेपाली फिल्म यस्तो प्लेटफर्ममा पुग्दा-पुग्दै पनि मार्केटिङका पक्षमा आफूलाई उभ्याउन सकेको छैन । अरु फिल्मले झैं ठूला वितरक पाउने पक्षतिर हामी पुग्न सकेका छैनौं । अबको हाम्रो ध्यान त्यता पनि हुनुपर्छ ।'

'गाउँ आएको बाटो' मार्फत निर्देशक सुब्बाले युवा प्रतिभालाई फिल्ममेकिङमा आफूसँगै हुर्काउने प्रयास गरेका छन् । 'फिल्म क्षेत्रमा नयाँ प्रतिभाहरू आइरहेका छन् । अनि उनीहरूलाई सही तरिकाले उपयोग गरिएको छैन । उनीहरूले सही तरिकाले ज्ञान पनि पाइरहेका छैनन् । त्यसैले धेरैभन्दा धेरै नयाँ प्रतिभालाई मैले स्थान दिएको हुँ । फिल्ममा जोडिएका नामहरू कुनै पनि सुनिएको नाम होइन । तर, इन्डिपेन्डेन्ट रुपमा काम गर्दै आइरहनुभएको थिएन । हामीले स्थान दिएको साथीहरूजस्तै कला निर्देशक, कस्ट्युम डिजाइनर, प्रोडक्सनको काम गर्ने साथिहरू अहिले डिसिजन मेकिङकै ठाउँमा काम गरिरहेका छन् । त्यो एक हिसाबले उहाँहरूलाई ग्रुमिङ गर्न खोजिएको हो । फिल्ममेकिङमा मैले जानेका कुरा र नयाँ ज्ञान उनीहरूमा बाँड्ने कोसिस गरेको हौं ।'

महेश राई र निर्देशक सुब्बाको लेखनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई ,केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ । फिल्ममा किशोर आचार्यको ध्वनी, राज थापाको प्रडक्सन डिजाइन, जगदीश अधिकारी र सुजना श्रीसको कला, रजत राईको प्रप्स र सिकुमा राईको कस्टयुम डिजाइन छ । मिङसो लिम्बु लाइन प्रोड्युसर रहेको यस चलचित्रको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भिम राई र देवराज राई हुन् । आमोद राई र नवीन सुब्बा निर्माता रहेको फिल्म छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।

निर्माता आमोद राई नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने सपना 'गाउँ आएको बाटो'ले पूरा गरिदिएको बताउँछन् । विदेशमा बस्ने नेपालीका रुपले हङकङमा रहँदा सधैँ आमोदलाई नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनुपर्छ भन्ने लागिरहन्थ्यो । 'गैरनेपालीसँग काम गरेर हाम्रो फिल्मलाई अन्तर्राष्ट्रिय प्लेटफर्म पुर्‍याउने कोसिस गरेको छु । म खुसी छु । विशेष गरी नवीन दाइसँग काम गर्ने चाहना थियो । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने, मौलिक कथा भन्ने उहाँको उदेशजस्तै भिजन मेरो पनि थियो । खासमा यो हाम्रो फिल्मको मात्रै नभई फिल्म क्षेत्रको पनि सफलता हो । विदेशमा हाम्रो कला संस्कृति नेपालीबीचमै खुम्चिएको छ । हाम्रो कला हामीमा मात्र सीमित हुनुहुँदैन भन्ने मान्यता हो मेरो । नवीन दाइले फिल्ममा अफर गर्नुभयो अनि म जोडिएँ,' उनले फिल्ममा जोडिँदाको प्रसंग सम्झे ।

शिक्षण पृष्ठभूमिका राई हककङका अल्पसंख्यक समुदायमा पनि सक्रिय छन् । फिल्ममा विश्वका फिल्ममा काम गर्ने प्राविधिकलाई जोड्न उनको भूमिका छ । 'यो फिल्ममा आर्थिकदेखि सबै स्रोतहरू जुटाइदिने मेरो प्रमुख जिम्मेवारी मेरो थियो । अन्य निर्मातासँग समन्वय गर्ने, एउटा फिल्मलाई राम्रो बनाउन चाहिने सिनेमेटोग्राफर, सम्पादक, रंग संयोजक र संगीतकारको समेट्ने काम गरें । खासमा हाम्रो निर्देशकलाई राम्रो काम गर्ने सिनिमेटोग्राफर चाहिएको थियो । स्क्रिप्टलाई भिजुअलमा देखाइदिने सिनेमेटोग्राफर खोज्दै विदेशी सिनेमेटोग्राफरकहाँ पुग्यौं । सुरुको सिनेमेटोग्राफरले पूरा काम गर्न सकेन । त्यसपछि अमेरिकाकै जोस हेरम फिल्ममा काम गर्न तयार भयो । निर्देशकलाई पनि जोसको काम मन पर्‍यो,' उनले भने । हङकङका चर्चित सिनेमेटोग्रोफर क्वान पुन लिउङले फिल्मलाई सम्पादन गरेका हुन् । उनी फिल्मकर्मी वङ कर वाईका फिल्म खिचेका क्वानलाई सुरुमा सिनेमेटोग्राफीकै अफर गरिएको रहेछ । तर, कोभिडले फिल्मको मिति सरिरह्यो । त्यसपछि सम्पादकका रुपमा जोडिएको उनी बताउँछन् । 'उहाँलाई हाम्रो प्रोजेक्ट मन परेको रहेछ । तिमीहरूको फिल्ममा सम्पदाकका रुपमा जोडिन्छु भन्ने भयो । खासमा उहाँका लागि पैसा भन्दा पनि प्रोजेक्टको प्रमुख उदेश्य के हो भन्नेले अर्थ राख्दो रहेछ । यस्तो कथालाई अन्तर्राष्ट्रिय समुदायमा लानुपर्छ भनेर उहाँ जोडिनुभएको हो,' उनले भने ।

फिल्ममा हेडी लीको संगीत छ । उनी पनि हङकङकै ज्याज भोकलिस्ट र संगीत प्रशिक्षक हुन् । आदीवासीको संगीतमा रुचि भएकै कारण ली फिल्ममा जोडिएको उनी सुनाउँछन् । 'हाम्रो निर्देशकलाई संगीतमा पनि फरक आयामबाट काम गर्नुथियो । आदिवासीको दर्शनअनुसारको संगीत गर्नुपर्छ भन्नुभयो । अब हाम्रो नेपाली संगीत त भारतीय संगीतकै दबदबामा छ । त्यसैले हामफ लीकहाँ पुग्यौं । चाइनिज संगीतसँगै पश्चिमा संगीतलाई बुझेको व्यक्तिलाई फिल्ममा जोड्यौं । उहाँलाई पनि हाम्रो फिल्मको कथा मनपर्‍यो । आदिवासीको संगीतमा रुची पनि रहेछ । राई समुदायको संगीत, दर्शनबारे खोज/अनुसन्धान गरेरै उहाँले फिल्ममा संगीतको काम गर्नु भएको छ ।'

सामुदायिक लगानीको अवधारणामा यो फिल्म बनेको थियो । सामुदायिक लगानी चुनौती रहेछ कि अवसर ?

'आदीवासीका फिल्ममा समुदायलाई जोड्नुपर्छ भन्ने हाम्रो निर्देशकको धारणा । हाम्रो समुदायबाट उठाएको रकमले फिल्म बनाउन सकिन्छ भन्ने थियो त्यतिबेला । तर, फिल्म निर्माण गर्दै जाँदा बजेट अभाव भयो । त्यतिबेला हामीलाई निकै गाह्रो भयो । छायांकनको सेड्युल पनि बढेको थियो नि त । तर त्यो चुनौतीलाई सामना गर्दै अगाडि बढ्ने निधो गरियो । यस्तो खालको फिल्ममा बजेट धेरै चाहिने रहेछ । यस्तो अवधारणाबाट फिल्म बनाउने यो हाम्रो पहिलो प्रयास थियो,' जवाफमा उनले भने, 'समुदायका मानिसहरूलाई यसमा कन्भिन्स गर्न नसक्नु पनि हाम्रो समस्या हो । फिल्ममेकिङलाई हाम्रो समुदायले अलि टाढाको विषयका रुपमा सोच्नुहुँदो रहेछ । हालै चर्चामा आएको किलर्स अफ दि फ्लावर मुनकै कुरा गरौं । त्यो फिल्ममा आदिवासीका नेता नै सहभागी हुनुहुन्छ । हाम्रो कथा विश्वको समुदायलाई कथा भन्नुपर्छ भनेर उनी नै फिल्मसँग जोडिएको देखें । तर हाम्रो आदिवासी नेताहरूले यसरी बुझिदिएको भए फिल्ममेकिङमा हाम्रो समुदायका मानिसहरूले अझ लगानी पनि गर्थे होला ।' उनी 'गाउँ आएको बाटो' लाई हङकङका स्थानीय हलमा प्रदर्शन गर्ने तयारीमा पनि छन् ।

प्रकाशित : श्रावण २५, २०८० २०:१५

https://ekantipur.com/entertainment/2023/08/10/169167725752754912.html

 

 

 

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि