को हुन् नाग? : भिक्टर प्रधान

 भिक्टर प्रधान सोमबार, २८ कात्तिक, २०७९


को हुन् नाग?


नाग जातिलाई हराउन कठिन भएकै कारण आर्यहरूको प्रभावमा नाग शब्द ‘क्रूर व्यक्ति’ को अर्थमा आरोपित गरियो, पुराणहरूले नाग शब्दलाई सरीसृपको अर्थमा रूढ गरेपछि त यससँग जोडिएको मानव जातिको अस्तित्व समेत ओझेल पर्न गयो।
भिक्टर प्रधान

प्रागैतिहासिक कालमा हिन्द उपमहाद्वीपमा नागहरूको विस्तीर्ण बसोबास थियो। संस्कृत वाङ्मयका वेद-काव्य-पुराण, स्थानीय लोकवार्ता तथा ऐतिहासिक बुद्धकालले यहाँ नाग जाति अनादिकालदेखि फैलिएको सङ्केत दिन्छन्। तर, अहिले नेपालमा आफूलाई नाग दाबी गर्ने जाति असाध्यै थोरै छन्। यद्यपि, त्यसलाई पुष्टि गर्ने ऐतिहासिक आधार उनीहरूसँग छैन।

नागको इतिहास मेटिनामा संस्कृत वाङ्मयका प्रतीकात्मक प्रकथन र त्यसैको सादृश्य अनुकरणमा अनुकृत अतिरञ्जनात्मक दन्त्य-लोकवार्ता आदिको भूमिका छ जसमा तिनलाई रूप फेर्न सक्ने मायावी, पाताल वा पानीमुनि बस्ने, ऐश्वर्यवान् फणाधारी सरीसृप जीवका रूपमा चर्चा गरियो। यसले नागको इतिहास दिग्भ्रमित बनायो।

मातृकाप्रसाद कोइराला लेख्छन्, ‘नाग मानिस वा सर्प... पछि गएर यस्तो छ्यासमिस भएको छ, कुन चाहिं कुन भनी छुट्याउन गाहारो छ। खास गरी हाम्रा पौराणिक गाथाहरूमा त झन भ्रष्ट पारिएको छ।’ यहाँका असुर, दानव, दैत्य, राक्षस, यक्ष, दास, दस्यु, द्रविड आदि प्राचीनतम आदिवासीको पङ्क्तिमा नाग पनि पर्छन् (कोशीको कथा)।

सिल्भाँ लेभी लेख्छन्, ‘भारत समष्टिरूपमा यस्तो संसार हो जसको इतिहास छैन। उसले देवीदेवताहरूको सिर्जना गर्‍यो, कानुन बनायो, विज्ञान तथा कलादि सबै क्षेत्रमा प्रगति गर्‍यो तर यी सबै कुराको इतिहास र प्रगतिका विभिन्न चरणको विवरणलाई रहस्यमा राख्यो र परिवर्तनहरूका बारेमा कहिल्यै स्पष्ट पारेन। ...भारतका विषयमा यस्तो कुनै सामग्री नहुनु आश्चर्यजनक कुरा भएकोले किन यस्तो भयो भनी कारण खोज्न थालियो। आलोचकहरूले यस्तो हुनाको कारण हिन्दू विचारधाराको अलौकिक उदासिनता हो भने। अहंबाट व्यापकरूपमा प्रभावित हिन्दूहरू आफ्नो कालका मोहक घटनाहरूमा गम्भीर चासो राख्दैनन्। मानव समाजका मिहीन घटनाहरूप्रति बेवास्ता गरिएका कुरा उनीहरूका कथा, पुराण र सृष्टिको वर्णनमा अनुमानै गर्न नसकिने गरी वर्ष र शताब्दीलाई एकै जस्तो बनाएर लेखिने उदेकलाग्दो चलनले नै स्पष्ट हुन्छ’ (नेपाल, नेपाली अनुवाद)।

संस्कृत वाङ्मयका उपलब्ध किंवदन्तीहरूमा डुबुल्की मार्दा नागको प्राग्-इतिहास केही अड्कल गर्न सकिन्छ, किनभने पुराणहरूमा अरू जातिको सापेक्षतामा नागको निकै चर्चा पाइन्छ, तर मानिसको रूपमा पनि हिंडडुल गर्ने फणाधारी, क्रोधी र भयकारी सरीसृपका रूपमा।

संस्कृत वाङ्मयका अनेक स्रोत अनुसार, नागको जन्म दक्षनी कद्रुका एक हजार पराक्रमी सन्तानका रूपमा भयो जसका हजारै नाम उपलब्ध छैनन्। यीमध्ये शेष (अनन्त), वासुकी, तक्षक, कर्कोटक, पद्म (पिङ्गल?), महापद्म, शङ्ख (शङ्खचूड/शङ्खपाल), कुलिक बहुप्रसिद्ध अष्टनाग हुन्। यिनैलाई नागको अष्टकुल पनि मानिन्छ। अष्टकुलीका नाममा एकरूपता छैन, तदपि वासुकी, तक्षक र कर्कोटक सबै स्रोतमा स्वीकार्य छन्। वर्तमान काश्मीर इलाकाका जेठा शेषले कैलाशभन्दा उत्तरको हिमपर्वत गन्धमादनमा तपस्या गरी पातालको राज्य पाए पनि भगवान् विष्णुको सेवा श्रेयष्कर ठानी राज्य भाइ वासुकीलाई दिए।

    नाग सिन्ध नागरसभ्यताका असुरादिभन्दा साह्रोगाह्रो जीवनशैलीमा रहेको, घोर वन र पहाडी पाखापखेरु रुचाउने जाति थियो।

काश्मीरभन्दा ठीक दक्षिणी क्षेत्रका हर्ताकर्ता तक्षकले राजा परीक्षितलाई डसे, त्यही कारण उनका नाति जन्मेजयले सारा नागको नाश गर्न नागयज्ञ गरे। धेरै नाग यज्ञमा स्वाहा पारिए। तक्षक, कर्कोटक, शङ्खचूड आदिले नागदहनबाट बच्न अनेक ठाउँमा तपस्या गरे। नागयोनिज ब्राह्मण मुनि आस्तिकले जन्मेजयलाई अनुरोध गरी नागयज्ञ रोके र भस्म नभएका तक्षक लगायत नाग बचे।

नागसंहारक कृष्ण

संस्कृत वाङ्मयको यस सङ्क्षिप्त झाँकीले नागजातिको प्राग्-इतिहासको प्रतीकात्मक सङ्केत गर्छ। कद्रुका एक हजार नागपुत्र, शेषको विष्णु सेवा, तक्षकको परीक्षित डसाइ तथा जन्मेजयको नागयज्ञको प्रतीकात्मक सङ्केत नागसंख्याको बहुलता, केही नागद्वारा आर्यसत्ता स्वीकार तदपि आर्य र नागको वंशानुगत दुश्मनीको इतिहास हो। सिन्ध सभ्यताको अन्त्यपछि आर्य सभ्यताको उदय हुन आर्यहरूको संघर्ष प्रथमतः सिन्ध क्षेत्रमै असुरहरूसित भयो जुन ऋग्वेद आफैंले प्रष्ट्याउँछ। यहाँ असुर भनिएको जाति असुरप्रमुख अनेक अनार्य जाति हो।

त्यस क्षेत्रका असुरप्रमुख जातिको दमनपछि पराजितहरूको भागाभाग मूलतः पूर्व र दक्षिणतर्फ भयो। आर्यहरू पनि त्यताको उर्वर भूमिमा फैलन चाहन्थे। आर्यहरू त्यता लाग्दा पहिलैदेखि रहेका नागहरूसित जम्काभेट भयो। असुरादिलाई जस्तो नागलाई आर्यहरूले सजिलै दबाउन सकेनन्। नाग ठूलो भूखण्डमा छरिएको लडाकू जाति थियो जसले छापामार युद्ध पनि गरिरहेको थियो। नाग सिन्ध नागरसभ्यताका असुरादिभन्दा साह्रोगाह्रो जीवनशैलीमा रहेको, घोर वन र पहाडी पाखापखेरु रुचाउने जाति थियो।

नागदमनको साक्षी महाभारत काव्य हो। कृष्णले गरेको कालीय नागदमन यमुना-गङ्गा मैदानमा नागको ठूलो हार थियो। त्यतिखेरै नाग र आर्यबीच सहअस्तित्वको अवस्था पनि नरहेको होइन। नवजात कृष्णलाई जोगाउन बाबु वसुदेवले गोकुलमा लैजाँदा नागले सघाएको कथा पाइन्छ। तर, आर्यपक्षधर कृष्णले आजीवन नागसंहार गरे। कृष्ण र अर्जुनको खाण्डव वन दहनदेखि जन्मेजयको समयसम्म नागको खोजीखोजी दमन भयो। पछि आर्यसत्तासित सुलह गरी केही नागले मुक्ति पाए र आफ्नो सत्ता जोगाए।
भारतको नागाल्यान्डमा बसोबास गर्ने एक आदिवासी समुदाय परम्परागत वेशभूषामा। तस्वीर: पिकीयोरट्रेल डटकम

जुन क्षेत्रमा नाग जातिको हार भयो त्यहाँका नाग दस्यु-अछूतमा परिणत भए वा निरीह, निहत्था जीवन बाँच्न बाध्य पारिए। जुन क्षेत्रमा सुलह भयो त्यहाँका नाग हिन्द उपमहाद्वीपको इतिहासमा सत्तामा बारम्बार देखा परिरहे र आर्य वर्ण संरचनामा आफूलाई दलितभन्दा माथिल्ला तहमा राख्न सफल भए। गौतम बुद्धको समयतिर मध्य र पूर्वी गङ्गा मैदानमा हर्यक, शिशु आदि नागवंशको राज्य स्थापनाको इतिहास साक्षी छ।

वैदिक कालभन्दा अघिदेखि महाभारत काल (लगभग ईपू १२००/१०००-८००) सम्म नाग जाति हिन्द उपमहाद्वीपभरि उत्तरी पहाडदेखि दक्षिणी मैदानसम्म छरिएका थिए। तर, हालको इन्डियाका पञ्जाब, राजस्थान, मध्यप्रदेश, महाराष्ट्र क्षेत्रमा आर्य र नागबीचको द्वन्द्वमा नागहरू बढी पेलिए। महाराष्ट्र राज्यको नाम नागवंशको महार समुदायबाट रहेको एकथरी मत छ। यो जाति अहिले दलित वर्गमा छ र अनेक थर-उपथरमा विभाजन भई महाराष्ट्र, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, उत्तरप्रदेश, बिहार र दक्षिण इन्डियाका राज्यहरूमा छरिएको छ।

महाराष्ट्रकै नागपुर नगरको नाम नाग जातिबाटै रहेको मानिन्छ। तर, त्यस नगरमा रहेको ‘नागबेली नाग’ नामको नदीबाट रहेको भन्नेहरू पनि छन्। तर, नागै नभई नाग नदी र नागबेली शब्द त हुँदैन ! नागपुरको अर्को नाम फणीन्द्रपुर हो जुन पूजाअर्चनाका क्रममा मात्र उच्चरित हुन्छ। फणीन्द्रपुर नाम फणि-नागबाट रहेको अनुमित हुन्छ। जन्मेजयले नाग-यज्ञ गरेको ठाउँको नाम नागदा (नागदहन) हाल मध्यप्रदेशमा छ जसको पुरानो नाम नागह्रद रहेको ऐतिहासिक उत्खननमा भेटिएको छ।

    आर्यहरूसित हार्दै गरेका असुर, किरात, निषाद, नाग र राक्षस आदि पूर्व, उत्तर र दक्षिण लागेको इतिहासले बताउँछ, तथापि अन्ततः सबैले आर्यसत्ता वा संस्कृति स्वीकार गर्नैपर्‍यो।

छत्तीसगढ-झारखण्डमा नागपुरकै जस्तो प्राकृतिक उच्च वन क्षेत्रको नाम छोटानागपुर पनि नागहरूकै कारण रहेको छ। यो क्षेत्र आदिमकालमा आर्यबाट पराजित र विस्थापित असुरादि सुरक्षित हुन पूर्व-दक्षिणतिर लाग्दा पुगेको ठाउँका रूपमा ऐतिहासिक तवरले पुष्टि भइसकेको छ जहाँ कोल, उराउँ आदिलाई नागहरूले सहारा दिएका थिए। यहाँका नाग आफ्नो वंश पुण्डरीक नागसित गाँस्छन्।

महर जस्तै झारखण्डदेखि पूर्व र उत्तरतिर बङ्गाल, बिहार, उत्तरप्रदेशमा पासी नागहरू आरख-पासी, कथैवास, कमानी, कैनसवात/कैथवान, खटिक, गूजर, घुडचढी, चिडियामार/चिडिमार, जैसवारा, त्रिशूलिया, पसमाङ्गता/माहे, पसिवान/पासवान (पासवान भन्ने अर्को जातिको पनि थर भएकोले छुट्याउनुपर्दा पासी-पासवान भनिन्छ), प्रहरी, बेहलिया, बौरामी-पासी, बौरिया, भर (भरशिव), मवासी, राजपासी, बिहारी, वैदिह, व्याधा आदि थर-उपथरमा फैलिएका छन् जसमध्ये पासवान, चिडियामार, भर (भरशिव) आदि कतिपय थरका मानिस नेपालमा पनि छन्। महार र पासी दुवैलाई प्राचीन नागवंशको पतनपछि ग्रामरक्षक हुँदै धनीमानी-सामन्तका रक्षकमा परिणत भएका वीर जातिका रूपमा लिइन्छ जो हाल दलित अल्पसंख्यक छन्।

उपमहाद्वीपको पश्चिम र मध्यतिर नागहरूको दमन र पतन भएकाले शायद पूर्वतिरका नाग सचेत भए। त्यसैले पूर्वतिर बङ्गालमा अहिले पनि नाग थरधारी मानिस प्रतिष्ठित सामाजिक संरचनामा छन्। उत्तर र पूर्वतिर शायद नागसित आर्यको महासंघर्ष भएन। आर्यहरूसित हार्दै गरेका असुर, किरात, निषाद, नाग र राक्षस आदि पूर्व, उत्तर र दक्षिण लागेको इतिहासले बताउँछ, तथापि अन्ततः सबैले आर्यसत्ता वा संस्कृति स्वीकार गर्नैपर्‍यो।

प्रसिद्ध नागहरूबाटै उपमहाद्वीपमा तिनको वंश चलेको देखिन्छ- तक्षक, कर्कोटक आदि। त्यसैले संस्कृत वाङ्मयमा यत्रतत्र आउने तक्षक, कर्कोटक आदि एकै नाग नभएर त्यस वंशका अनेक समयका गुमनाम सन्तति हुन्। यस्तै यस्ता अवस्थाको सङ्केत हो, सिल्भाँ लेभीको ‘कथा, पुराण र सृष्टिको वर्णनमा अनुमानै गर्न नसकिने गरी वर्ष र शताब्दीलाई एकै जस्तो बनाएर लेखिने उदेकलाग्दो चलन’ शब्दावली। प्रसिद्ध अष्टकुलीय नाग बाहेक अंशतर, अलापत्र, अहि, ऐरावत, कम्बल, कर्वधा, काना, कालिय, काली, गुलिका, तखतू, तनक, तुश्त, दौद्धिया, धनधर्मा, धनञ्जय, धूमल, धृतराष्ट्र, नल, फणिनाग, भूतनन्दी, भोगिन, मणिभद्र, शिशुनन्दी (यशनन्दी), सदाचन्द्र, सरकोटा, सौंफू, हल लगायत अनेक नागवंशले उत्तरवैदिक कालका विभिन्न समयमा विभिन्न ठाउँमा राज्य गरेको प्रतीत हुन्छ।

कहाँबाट आए नाग?

नागहरू यहाँ कहिले कसरी आए भन्ने यकिनसाथ पुष्टि हुँदैन, तापनि मिश्रबाट आएको अनुमान हुन्छ। विश्वका प्राचीनतम सभ्यताका रूपमा मिश्र र सुमेरियाली-मेसोपोटामियाली सभ्यतालाई झोलुङ्गे सभ्यता भनिन्छ भने त्यसैको प्रभावमा सिन्ध तेस्रो सभ्यताका रूपमा देखा पर्‍यो। मिश्र सभ्यताको संगठित शुरूआत ३१०० ईपूतिर भए पनि यसको आरम्भको प्राग्-इतिहास ५००० ईपूअघि पुग्छ भने सुमेरियाली सभ्यताको समय ४१००-१७५० ईपू लगभग र सिन्ध सभ्यताको २५००-१७०० ईपू लगभग मानिन्छ। यी सभ्यताबीच वाणिज्यसम्बन्ध थियो र सांस्कृतिक प्रभाव पनि।

हिन्द उपमहाद्वीपको मैदानी भागमा सिन्ध सभ्यताभन्दा पहिला नै अफ्रिकी मूलको द्रविड जाति आइसकेको थियो। यसै हाराहारीमा अफ्रिकी मूलकै नागहरू लालसागरबाट अरब अन्तरीपको किनारैकिनार जलमार्गबाट यहाँ आएको प्रतीत हुन्छ। सिन्ध सभ्यताकालमा यो वाणिज्य जलमार्ग थियो, अर्थात् यसअघि नै यो मार्ग सिन्धी, मिश्री र सुमेरियालीहरूलाई थाहा थियो। नाग जाति बढी सरीसृपका रूपमा चित्रित हुन गएकाले यसको प्रागैतिहासिक पदचाप धूमिल भए पनि नागमा पाइने प्राचीन सांस्कृतिक छनक मिश्र सभ्यतासित धेरै हदसम्म मिल्छ। डा. नोवल वियोगीले यिनीहरूको मृत्यु संस्कार लगायत पक्ष मिश्र र पश्चिम एशियाली सभ्यतासित मिल्ने कुरा सङ्केत गरेका छन् (नागाजः दी एन्सेन्ट रुलर्स अफ इन्डिया, भाग २)।

    हात्ती घरपालुवा भएपछि हिन्द उपमहाद्वीपमा स्थिति अर्कै भयो, हात्तीका अङ्गको व्यापारभन्दा हात्तीपालन बढी लाभदायक र रोजगारीमूलक भयो।

नागहरू पहिला अरब सागरका पूर्वी किनारको हिन्द उपमहाद्वीपका भागमा फैलिई गङ्गा मैदानतिर लागेको पर्यावरणीय छनक देखिन्छ भने सिन्ध नगर लाग्नेहरू हिमाल उक्ली स्वात-गढवालतिर फैलेको अनुमान हुन्छ। यी मेसोपोटामिया हुँदै पैदल आएका होइनन् होला भन्ने अनुमान गर्नाको आधार संस्कृत भाषामा नाग शब्द हात्तीको पर्याय हुनु हो।

आदिम उत्तर अफ्रिकालीहरूमा हात्ती शिकार बहादुरीको खेल र एक्लैले हात्ती मार्नु वयस्कताको पहिचान थियो। लगभग ४००० ईपूतिर नाइल उपत्यका (मिश्र)मा हस्तीहाड कुँद्ने र गहनादिका लागि काँटछाँट गर्ने कलाको विकास भइसकेको थियो। सभ्यताको विकाससँगै हस्तीहाडको उपयोग र निर्यात बढेर २९००-२६०० ईपू लगभगमा नाइल उपत्यकामा हात्ती विनाश भइसकेको थियो। उत्तर र दक्षिण अफ्रिकामा भने उपलब्ध थियो, तर एकै शिकार अभियानमा सयौं हात्तीको शिकार भइरहेको थियो (रिचर्ड ए. लोब्बन जुनियर र भाय्लरी दे लिन्डेकेर्क, ‘एलिफेन्टस् इन एन्सेन्ट इजिप्ट एन्ड नुबिया’, एन्थ्रोजूस्, भाग १३)।

मेरो अनुमानमा हात्तीको बहुमूल्य अवयवको खोजी लगायत कारणले जङ्गल र शिकारसित अभ्यस्त मिश्रहरू यहाँ आए। सिरिया र इराकमा पनि एशियाली हात्ती पाइन्थे। मिश्रबाट नजिक भए पनि त्यहाँ मिश्रकै जस्तो सभ्यता थियो र पहुँच सजिलो थिएन। त्यसैले यिनीहरू अक्षुण्ण विशाल हिन्द उपमहाद्वीपमा आई समुद्री किनारका जङ्गलमा पहिला सक्रिय भए। तर, अफ्रिकाली हात्ती र यहाँका हात्तीमा जैविक अन्तर थियो। अफ्रिकामा दुई-तीन थरी हात्ती पाइन्छन्। हस्तीहाडका लागि ठूलाखाले हात्ती शुरूमा बढी शिकार भए। ती हात्ती लामा दाह्रा र खुट्टाका थिए र बढी उद्दण्ड पनि।

यस्ता हात्तीको शिकारमा अभ्यस्त मिश्रवासीलाई एशियाली हिन्द-हात्ती हात पार्न सापेक्षिक सरलता रह्यो होला र सधाउन सफल भए। रिचर्ड ए. लोब्बन जुनियर र भाय्लरी दे लिन्डेकेर्कका अनुसार, मोहनजोदारो (सिन्ध सभ्यता)मा ईपू तेस्रो सहस्राब्दीमा एशियाली घरेलु हात्ती देखा परिसकेका थिए। त्यसपछि मात्र मिश्रमा हात्ती युद्धमा प्रयोग हुन थाल्यो, त्यो पनि साना खाले (छोटा खुट्टा भएका)।

हात्ती घरपालुवा भएपछि हिन्द उपमहाद्वीपमा स्थिति अर्कै भयो, हात्तीका अङ्गको व्यापारभन्दा हात्तीपालन बढी लाभदायक र रोजगारीमूलक भयो। यी हात्ती साधनामा सिद्धहस्तहरू, मलाई लाग्छ नाग जाति थिए। नेपालको सन्दर्भमा यहाँ अहिलेसम्म पनि हात्ती सधाउने माहुते, पछुवा आदि थारू जातिका छन्। भनिन्छ, हात्तीले थारू भाषा बुझ्छ। कतिपय विद्वान्ले थारूलाई किरात भनेका छन् भने थारूहरूले बुद्धलाई थारू दाबी गरेका छन् (भिक्टर प्रधान, ‘को हुन् किरात’, हिमाल, फागुन २०७८)।

नोबल वियोगीले बुद्धका पितृ र मातृवंशी शाक्य र कोलीयलाई नाग भनेका छन् (ऐजन)। अतः थारू नाग हुन्, त्यसैले हात्तीसित सम्बन्धित हुन् भन्ने कुरा सिद्ध हुन्छ। थारूलाई किरात भनिनेबारे पनि वियोगीको भनाइले स्पष्ट पार्छ। उनले राजतरङ्गिणीको हवाला दिँदै स्थानीय भाषामा किर वा किरीको माने सर्प भएको हुँदा काश्मीरको भित्री क्षेत्रका मानिसलाई किरात भन्ने गरिएको र यसको पुष्टि प्रो. किल्होर्नको सामग्रीले दिने कुरा उल्लेख गरेका छन् (ऐजन)। यसै प्रसङ्गमा काश्मीर हुँदै नेपालका पहाड पसेका खसहरूको भाषा (हाल नेपाली)मा ‘किरी’ किराको अर्थमा प्रयोग हुने र यदाकदा कथ्यमा सर्पलाई पनि जनाइने एवं लामकिरो (कथ्यः लामकिरी) समस्त शब्दले सर्पलाई नै जनाउने कुरा मननीय हुन्छ।

    शहरतिरबाट आएकाहरूलाई शुरू शुरूमा हिन्द उपमहाद्वीपमा स्थानवाची नामबाट नाग भन्न थालिएको बुझिन्छ जुन यहाँको हिजोअस्तिसम्मकै चलन हो।

नागहरू दक्षिणी मैदानी क्षेत्रमा द्रविड लगायत आस्ट्रलाइड अनेक जातिसित र उत्तर हिमालयतिर किरात-मङ्गोलहरूसित सम्मिश्रित हुन गएको नृवंशीय आधार बिर्सनु हुँदैन। त्यसैले हिमाली क्षेत्रमा किरात र नाग जाति पर्यायरूपमा प्रयोग हुन सक्ने सम्भावना रहन्छ। शाक्य, कोलीय प्रभृति थारूलाई नाग र किरात पनि भनिएको देखिन्छ तदपि हात्तीसाधक भएका नाताले यी मूलमा नाग नै हुन् भन्ने मेरो अनुमान छ।

नागहरू मिश्रबाट आएका हुन् भन्ने अर्को आधार हाल सुडानमा रहेको नाग (नाक्वाह पनि भनिने) नामको रुग्ण शहर पनि हो जुन मिश्र सभ्यताको जगजगीको वेला अफ्रिका र भूमध्यसागरीय भूमिबीच सेतुको काम गर्ने महत्त्वपूर्ण शहर थियो। नाइल नदीको पूर्वतिर रहेको यस शहरमा अहिलेको पुरातात्त्वक आकर्षणको मन्दिरका देव आमन हिन्दू देव शिवसित तुलनीय छन्। यसै शहरतिरबाट आएकाहरूलाई शुरू शुरूमा हिन्द उपमहाद्वीपमा स्थानवाची नामबाट नाग भन्न थालिएको बुझिन्छ जुन यहाँको हिजोअस्तिसम्मकै चलन हो।

शिव आर्य आउनुअघिदेखि सिन्ध सभ्यतामा मौजुद अनार्यदेव हुनाले नागहरूसँगै उनीहरूका आराध्य देव आमन शिवरूपमा यहाँ स्थापित भएको देखिन्छ। शिवका नाम नागचूड, नागनाथ, किरात आदि हुनाले पनि यसको पुष्ट्याइँमा सघाउँछ। देव आमनको उत्पत्ति मिश्रको सिवा भन्ने ठाउँमा भएको हो, यिनलाई ‘सिवाका दैवी संघटनाका वक्ता देव’ भनिन्छ भने सिवाको पुरानो नाम ‘आमनको मरूमध्य हरियाली’ (ओएसिस अफ आमन-र) हो। सिवा मिश्रको पश्चिममा मरुभूमिमाझ् मूल फुटेको हराभरा रमणीय स्थल हो।

आमन शुरूमा लोकदेवता थिए, तर मिश्रमा राजवंशको स्थापनापछि प्रमुख मिश्री देवता बने। आमनको अर्थ ‘लुकेको’ अर्थात् ‘लुकेको देवत्व’ हो र यिनको अदृश्यता जनाउन नीलो रङमा दर्शाइन्छ। असहायहरूका सहारा देवता मानिने यिनी भेडाको टाउका धारित रूपमा वा यदाकदा हाँस, सर्प आदिका रूपमा देखा पर्छन् र मिश्रदेवहरूमा प्रमुख मानिन्छन्। यिनी सृष्टि (उर्वरता) र सूर्य (हावा र प्रकाश) देवका साथ त्रिदेवका रूपमा पनि मानिन्छन्। यिनको प्रभाव इसाइ र इस्लाम धर्ममा पनि छ। यो भूमिकागत परिचयको उद्देश्य मिश्रबाट आएकाहरूलाई ‘नाग नगरबाट आएका’ अर्थमा नाग भन्नाका साथै उनीहरूका पूजनीय देवलाई ‘सिवाका देवता’ भन्ने सन्दर्भमा शिव भनियो।

नागहरूले हात्ती मारेर अङ्गको अल्पकालीन व्यापार गर्नुभन्दा यसलाई पालेर सुश्रूषा गर्नु दीर्घकालीन रोजगारी भएकाले संरक्षणका खातिर हात्ती गणेश अर्थात् शिवका छोरारूपमा पूजित भए। शिव नागका देवता भएकाले शिवालङ्काररूपमा नाग उनको ‘गलमाला’ बन्यो। नागको सम्मिश्रण यहाँका निग्रोइट, आस्ट्रलाइड, मङ्गोल आदिसित हुँदै फैलने क्रममा शिव आर्य आगमनपूर्व यस क्षेत्रका सर्वपूजनीय प्रमुख अनार्य देव बने।

सरीसृप होइन नाग

नागका अन्य अर्थ पनि धेरै छन्। यस रचनाको विषय प्रसङ्गसित सम्बद्ध नागका थप तीन अर्थ सरीसृप (सर्प), क्रूर अत्याचारी व्यक्ति र पहाड (वामन शिवराम आप्टे, संस्कृत हिन्दी कोश) विवेच्य छ। यी अर्थ यहाँ नागहरूको वर्चस्व स्थापनापछि आर्यभाषा संस्कृतको विकास हुने क्रममा विस्तार भएको हुनुपर्छ। देवासुर संग्र्रामपश्चात् नागसितको भिडन्तमा आर्यले नागहरूलाई सहज विजयदुरुह, भयानक, आक्रामक छापामा पाए अनि क्रूर अत्याचारी व्यक्तिको अर्थमा नाग शब्द आरोपित भयो। नेपाली भाषामा कतिपय जातिवाचक शब्द हेयार्थमा प्रयोग हुने गरेको विगत यहाँ ज्वलन्त हुन्छ।

संस्कृतमा नागको प्रथम मूल अर्थ सर्प हुन सक्दैन, किनभने ‘सरीसृप’ (सर्प) नै यसका लागि पहिलादेखि चलेको अनुकरणात्मक शब्द छ जुन ल्याटिनदेखि आर्य भाषाहरूमा पाइन्छ। जस्तो- अंग्रेजीमा सर्पेन्ट, स्नेक। नाग शब्द दुई कारणले सरीसृप जीवमा विस्तारित वा आरोपित भयो- १. संस्कृतवक्ता आर्यका लागि नाग जाति कतिखेर कताबाट आएर हमला गर्छ थाहा पाउन नसकिने, रिसाउँदा ज्यानै लिने खतरनाक विषधर फणाधारी सरीसृप जस्तै भएकाले नाग र सरीसृप पर्यायवाची रह्यो र सरीसृपको विम्बमा संस्कृत वाङ्मयमा नाग जातिको कथात्मक चित्रण सघन बन्यो।

२. नाग जातिको विस्तार भित्री हिमाली पहाड स्वात, काश्मीर, गढवाल क्षेत्रमा आदिमकालमै भइसकेको थियो। (अलकनन्दा उपत्यकामा नागको ठूलो बस्ती भएको चर्चा राहुल सांकृत्यायनले गरेका छन्। ह्विलरको हवाला दिएर यी नागको सम्बन्ध नागपुर र उरगमपट्टिका नागहरूसित भएको उल्लेख गरेका छन्ः हिमाल परिचय- गढवाल)।

नागलाई पहाडी आदिवासीका रूपमा आर्यले चिनेका, त्यताका नागसित आर्यको भिडन्त नभएको र एकान्त रुचाउने शिवको वासस्थान हिमाल-पहाड मानिसकिएकाले पहाड र नाग पनि पर्याय भयो। अहिलेसम्म हिन्द उपमहाद्वीपभरि नागपूजनको परम्पराका पनि दुई कारण छन्। प्रथमतः नाग जाति सर्पपूजक थिए। शक्तिको प्रतीकका रूपमा सर्पविम्ब संसारभर प्रचलित छ। सर्पविम्बको आरम्भ पनि मिश्र-सुमेरियाली सभ्यताकै उपज र फैलावट हो। छोटानागपुरका नागनाइके-महाराजले अहिले पनि फेटा बाँध्दा निधारमाथिको टुप्पो फणाको प्रतीक विम्ब बनाउँछन्।

शुरूमा सर्प-विम्ब पूजनको पद्धति थियो तर, पछि नाग-आर्य संघर्षमा नाग जातिको छापामार प्रवृत्तिका कारण त्रस्त सर्वसाधारण आर्यले नाग जातिसित घुलमिल भई सौहार्दसाथ नागशक्ति पनि स्वीकार्ने मानसिकता बढ्ने क्रममा नागपूजन परम्परा पनि कायम रह्यो। पुराणादि लेखोटले नाग जातिलाई नै सरीसृपमा परिणत गरेपछि यस ऐतिहासिकतालाई नागपञ्चमी जस्तो रूढ पूजन परम्परामा परिणत गरिदियो।

(प्रधान लेखक/समालोचक हुन्। हिमालको २०७९ कात्तिक अंकबाट।)

सोमबार, २८ कात्तिक, २०७९, १९:००:०० मा प्रकाशित
https://www.himalkhabar.com/news/132952

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि