इतिहास : ओझेलमा परेका शहीद बाजहाङ आङ्बुहाङ

 

राजकुमार दिक्पाल

 ३० असार २०८०, शनिबार  ११ : ५३  बजे 

ताप्लेजुङ र तेह्रथुम जिल्लालाई छोएर बनेको ‘आठराई थुम’को आफ्नै राजनीतिक महत्त्व छ । लिम्बूवानको यो थुमले पुरानो र गौरवपूर्ण इतिहासको विरासत बोकेको छ । अहिले पनि यो थुमको ऐतिहासिक महत्त्वलाई ध्यानमा राखेर तेह्रथुमतिर परेको पालिकालाई ‘आठराई’ र ताप्लेजुङतिर परेको पालिकालाई ‘आठराई त्रिवेणी’ गाउँपालिका नामकरण गरिएको छ ।

पहिले ताप्लेजुङतिरको साबिकका गाविसहरू हाङपाङ, चाँगे, निगुरादिन र फूलबारी तथा तेह्रथुमतिरको छातेढुङ्गा, ह्वाकु, इवा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र खाम्लालुङ लिम्बूवानको आठराई थुमअन्तर्गत पर्थ्यो । २०२३ सालमा जिल्ला विभाजन हुँदा सम्पूर्ण आठराई थुम तेह्रथुम जिल्ला अन्तरगत पर्थ्यो । २०३२ सालमा जिल्लाको पुनः सिमाङ्कन हुँदा माथि उल्लेख भएका चार गाउँ भने ताप्लेजुङमा पर्न गयो ।

लिम्बूहरूले रस्ती रसाएको र बस्ती बसाएको यहीँ क्षेत्रमा लिम्बू सुब्बाहरूले आफ्नो किपटमा पिछा लिएको कुमाईं बाहुनहरू पछिल्लो समय नेपाल राजनीतिको चतुर खेलाडीको रूपमा देखा परेका छन् । केपी शर्मा ओली, कृष्णप्रसाद सिटौला, राधाकृष्ण मैनाली, सीपी मैनाली, नन्दकुमार प्रसाईँ, दीर्घराज प्रसाईँ, सुधीरकुमार सिवाकोटी आदि यस्ता राजनीतिक खेलाडी हुन्, जो आठराई क्षेत्रमा जन्मे, हुर्के ।

सेनकालदेखि महत्त्वपूर्ण राजनीतिक जिम्मेवारी पाउने लिम्बू अगुवा सुब्बाहरूलाई ‘राय’ पद प्रदान गर्ने गरिएको थियो । ‘राय’ शब्द राजकीय शब्द हो । यहीँ राय उपाधि पाउने आठ थरका लिम्बूहरूको नामबाट यस क्षेत्रको नाम कालान्तरमा ‘आठराय’ हुँदै आठराई हुन पुगेको हो ।

यस क्षेत्रका आठ जना रायहरूमा सुंमेवा, हाङवाङ, कन्दङ्वा, सेन्दाङ, इङ्नाम, आङ्बुहाङ, यक्सो र पोमु रहेका छन् । यिनै वंशका लिम्बूहरू आठराई थुमका मूलवासी हुन् ।

यी रायहरूमध्ये आङ्बुहाङहरू दश लिम्बूमध्येका एक ‘थिन्दोलुङ खोयाहाङ’का सन्तान हुन् । थेचम्बुका मेन्याङ्बोहरू उनीहरूकै दाजुभाइ हुन् । आठराईमा आङ्बुहाङहरूले चाँगे र हाङपाङलाई मूल आवाद क्षेत्र बनाउँदै आएका छन् ।

आङ्बुहाङ मध्येकै एक साहसी युवा थिए– बाजहाङ । उनी निर्भीक र तार्किक पनि थिए । राज्यले लिम्बूहरूको किपटलाई मिच्दै र मास्दै लगिरहेको षड्यन्त्रको गन्ध पाएर उनले त्यसको विरोध गरेका थिए । तर राणा शासनको जगजगी चलिरहेको बेला वि.सं. १९५२ को चैत महिनामा उनलाई ताप्लेजुङको फुङलिङमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । नेपालको इतिहासमा ओझेलमा परेका यी शहीदका बारेमा यो लेखमा चर्चा संक्षिप्तमा गरिएको छ ।

आङ्बुहाङको राजनीतिक विरासत
आङ्बुहाङहरूको माङ्गेना यक (गढी) हस्तपुरलाई मानिँदै आएको छ । लिम्बूहरूको यकहरूको उल्लेख गर्दा इतिहासकार ‘इडेन भ्यान्सिटार्ट’ले आफ्नो पुस्तक ‘गुर्खाज’ (सन् १९१८ः१०४)मा आङ्बुहाङहरूको दुई ठाउँमा यक भएको उल्लेख गरेका छन् । तीमध्ये थोक्तोक्सु आङ्बुहाङले पोमाजोङ यक बनाएर आठराईमा शासन गरेको उनले उल्लेख गरेका छन् । यस्तै थिन्दोलुङ खोयाहाङले याङरूपमा हस्तपुर गढी बनाएको पनि उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

यता शिवकुमार श्रेष्ठले भने ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ (२०५२ः४०)मा आठराई इलाकामा आक्लुङहाङले शासन गरेको र उनले पोमाजोङ गढी बनाएको उल्लेख गर्दै ‘याङरूप इलाका’मा थिन्दोलुङ खोयाहाङले शासन गरेको र हस्तपुर गढी बनाएको उल्लेख गरेका छन् ।

आङ्बुहाङहरू थिन्दोलुङ खोयाहाङकै सन्तान भएका र तीमध्ये एक भाई आठराईतिर आइपुगेर आङ्बुहाङ कहलिएका र अर्का भाइ थेचम्बुतिर पुगेर मेन्याङ्बो कहलिएका हुन् भन्ने प्रसङ्ग माथि परिसकेको छ ।

बेला बेलामा लिम्बूका विभिन्न उपसमूहबिच शक्ति सङ्घर्ष र युद्ध हुने गर्थ्यो । यहीँ क्रममा योङयाहाङ सुब्बाले याङरूपको हस्तपुर गढीमा आक्रमण गरिदिँदा त्यहाँका आङ्बुहाङ सुब्बा मुहाङकेप पराजित भए । उक्त गढीमा योङयाहाङ (योङहाङ)ले कब्जा जमाए । त्यसपछि आङ्बुहाङवंशी केही लिम्बू आठराई थुमको चाँगेमा बस्न गए भने केही थेचम्बुमा बस्न गए । थेचम्बुमा पुगेर बस्नेहरू मेन्याङ्बो कहलाए (इमानसिंह चेम्जोङ, ‘किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास’– २०५९ः६२) ।

त्यस बेला योङयाहाङसँग पराजित हुने आङ्बुहाङ सुब्बाकी एक चेली थाङ्सामालाई विजयपुरका राजा कामदत्त सेनले विवाह गरी रानी बनाएका थिए । रानी थाङ्सामाले युद्धमा पराजित भएपछि आफ्ना दुई भदै लाहाङ र हाङसाम टुहुरा भई दुःख पाएर बसिरहेको खबर पाएपछि आफ्ना मानिसहरू पठाई यी दुई राजकुमारलाई विजयपुर झिकाइन् । यिनै दुई राजकुमारले सर्दु खोलाको बगरमा एक दिन एक ताँवाको मूर्ति भेटेपछि उनीहरूको दुःख दिन हराए ।

यति महत्त्वपूर्ण मूर्ति फेला परेपछि राजा कामदत्त सेनले उनीहरूलाई डोलीमा राखी सम्मानका साथ बाजागाजासहित सर्दु खोलाको किनारदेखि विजयपुर दरबारसम्म ल्याउन आदेश दिए । यो मूर्तिलाई बराह क्षेत्रको बराह मन्दिरमा राख्न लगाइयो ।

त्यसपछि राजा कामदत्त सेनले यी दुवै राजकुमारलाई पहाडी ठाउँ आठराईको हाङपाङ लगेर त्यहाँको लिम्बूहरूसँग सल्लाह गरी तिनीहरूको राजा तुल्याई राख्न लगाए । लिम्बू भाषामा ‘हाङ’ भनेको राजा र ‘पाङ’ भनेको गाउँ हो । यस अर्थमा हाङपाङ भनेको ‘राजाको गाउँ’ हो (चेम्जोङ, २०५९ः६२–६३) ।

सर्दु खोलाको बगरमा भेटिएको ताँवाको मूर्तिका कारण आङ्बुहाङहरूको राजनीतिक रूपमा शुभदिन फर्किएको इतिहासको सम्झना गर्दै आङ्बुहाङ परिवारले वराहक्षेत्रमा ‘ताँवालुङ माङ्हिम’ नामको मन्दिर नै स्थापना गरेका छन् । यो मन्दिर २०६४ साल माघ महिनामा स्थापना गरिएको हो (शेरबहादुर इङ्नाम, ‘इतिवृत्त’–२०७७ः१०) ।

यताबाट हेर्दा आङ्बुहाङहरूको राजनीतिक विरासतको इतिहास गौरवपूर्ण र रोचक रहेको देखिन्छ । उनीहरू सेन राजाको सहयोगमा राजाको रूपमा पुनःस्थापित भएको देखिन्छ ।

आङ्बुहाङहरू ‘नीति’ समूहका लिम्बू
शासकहरूले आफ्नो शासन र धर्म संस्कृति स्विकार्ने जतिलाई आफू समान रीतिस्थिति मान्ने स्मृति अर्थात् समरीति र मौलिक लिम्बू धर्म संस्कृति नछोडी आफ्नै नीतिमा अडिग रही गोरखाको शासन नमान्ने, विद्रोही लिम्बूहरूलाई नीति समूहको रूपमा चिन्ने चिनाउने चलन चलाइदिए भन्ने इतिहासकार डा. रमेश ढुङ्गेलको कथन छ ।

लन्डनको ब्रिटिस लाइब्रेरीमा सुरक्षित ब्रायन हज्जनको सङ्कलनमा रहेको सामग्रीको खण्ड ६० पत्र १२९–१४९ मा उल्लेख भएअनुसार संपृति अर्थात् स्मृति समूहमा फागुु (फागो चोङबाङ), सिरिङ (सेरेङ), यङयाहाङ (योङहाङ) रहेका र नीति समूहमा आङ्बुहाङ र साँवा रहेका छन् । यो. लेखोट वि.सं. १९०० तिर इलामका जोभानसिंह फागो लिम्बूले लिम्बू भाषा र सिरिजङ्गा लिपिमा पुनर्लेखन गरेर तयार पारेका हुन् ।

यसरी समूहगत रूपमा विभाजन गरी लिम्बुवान हत्याउने क्रममा नेपालका तात्कालिक शासक र तिनका सैनिक प्रशासकहरूले अपनाएको ‘फुटाउ र शासन गर’ को नीतिअनुसार यी शब्दको उद्भव र प्रचलनको कारण देखिन्छ ।

यस क्रममा गोरखाहरूको शासनसँगै मुख्य–मुख्य धार्मिक–सांस्कृतिक परम्परा अपनाउन मन्जुर हुनेहरूले गोरखाली राजाबाट विशेष सहुलियत, शान, मान र अधिकारसमेत स्थानीय रूपमा पाउने अवस्था भयो (डा. रमेश ढुङ्गेल ‘हिमाल’ पूर्णाङ्क १६६–फागुन २०६२ः६०) ।

ढुङ्गेल (२०६२ः६०)ले ‘हिमाल’ पत्रिकामा गोरखालीहरूले लिम्बुवान अधीनस्थ गर्नुअघि नै मकवानपुर, विजयपुरतर्फका हिन्दुपति मानिने राजाहरूले पनि आफ्नै किसिमको प्रभाव जमाएका हुनाले पनि ‘संपृति’ र ‘नीति’ जस्तो पहिचानको थालनी पहिल्यै भइसकेको थियो कि भन्ने जिज्ञासामा ठोस प्रमाणका आधारमा यस विषयमा खासै बोल्न सकिने अवस्था छैन भन्ने उल्लेख गरेका छन् । तर लिम्बूहरूमा यस्तो पहिचान सेन कालमै थियो भन्ने प्रमाण प्राप्त छ ।

वि. सं. १८७५ फागुन वदी ६ रोज ३ मा विजयपुर हुँदै धनकुटा पुगेका काजी बहादुर भण्डारीलाई भीमसेन थापाले लेखेको पत्रमा लिम्बूहरूमा सेन कालदेखि नै नीति र स्मृति समूह रहेको स्पष्ट झल्को आउने प्रमाण पाइन्छ ।

यो पत्रमा ‘लिम्बू किरातीहरूका नीति स्मृतिका कुरामा अघि पनि कोही नीति कोही स्मृति मान्याका हुन् पछि वीरभद्र कुँवर जाँदा स्मृतिमा सबै राजी छन् भनी बिन्ती सर्कारमा आउँदा स्मृतिकै लालमोहर भै गयाको हो । पंथ काजी जाँदा हाम्रा ता अघिदेषि स्मृति हो तेसैमा राजी छौं मज (कुर) काजीले नीति गराया भन्छन् भन्या अर्जी उनको आउदा स्मृतिकै लालमोहर भै गएथ्यो फेरि पंथ काजीले नीतिमा राजी छौं भन्छन् भनी लेषता नीतिकै लालमोहर भै गयोेथ्यो… हाम्रो त अघि सेन राजाका पालापनी स्मृति हो, (पृथ्वीनारायण शाह) अमल भया पछी पनी हामीलाई स्मृतिमा रहन भन्या हुकुम लालमोहर बक्सनु भयाको छ हामी स्मृतिमा राजी छौं भनी फागु सिरिंग्या गैरह दर्बारमा बिन्ती गर्न आइरह्याछन् एकै मुलुकमा कोही नीति मान्या कोही स्मृति मान्या दुई फ्याक् भै रह्याछन्…’ भन्ने उल्लेख छ (ज्ञानमणि नेपाल, ‘नेपालनिरूपण’–२०५५ः२६९–७०) ।

यस पत्रमा फागु सिरिंग्या भनेका सेरेङ चोङबाङ हुन् । पत्रको भाकाबाट उनीहरूले सेन कालदेखि नै आफूलाई स्मृति समूहमा राखेका थिए भन्ने देखिन्छ । यसबाट हेर्दा लिम्बूहरूमा ‘नीति’ र ‘स्मृति’ समूह सेन कालमै पनि थियो भन्ने ऐतिहासिक रूपमा प्रमाणित हुन आउँछ ।

‘नीति’ समूहलाई कडा दण्ड
आफ्नै धर्म–संस्कृतिमा अडिग रहेर राज्यको नीतिप्रति असहमत लिम्बूहरूको नीति समूहलाई स्मृति समूहको तुलनामा कडा दण्ड सजायको व्यवस्था राज्यले गरेको थियो । यसबारे प्रमाण पुग्ने एक रुक्का इतिहासकार भगिराज इङ्नामले आफ्नो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ (२०७७ः १९६–९७) मा प्रकाशित गरेका छन् ।

वि.सं. १८९७ असोज सुदी ७ रोज ६ मा जारी यो ‘रुक्का’अनुसार थुमथुममा रहेका लिम्बूहरूले आफूहरू नीति समूहमा रहँदा १०–१२ खेत चढाउनुपर्ने चलन थियो । यसै गरी कामी, दमाई, सार्की र मुसहर जातसँग भुलचुक करणी हुँदा नीति समूहमा रहेका लिम्बूहरूले कडा दण्ड सजायको भागीदार हुनुपर्थ्यो ।

रुक्कामा ‘थुमथुमपिछे १०–१२ षेत चह्राई नितिमा रहन्या जो लिम्बूहरूलाई अछुत जाति कामि दमाई सार्कि मुसहर जो पानि नचलन्या जातसंग भुलचुकमा करनि भै चन्द्रायन पर्दा आफना रितसंग खोलाटोलामा ढुंगा छुवाई प्रथम घरले रूपैया ७ तिर्नु दोश्रो १ पध्याराका पानि षान्या घरले रूपैया ३।। तिर्नु तेश्रो गाउँफेरामा ।। तिर्नु । अरू संसर्गि घरले आना १ तिरि जाति पतरियमा सुद्ध भै रहनु’ भन्ने परेको छ ।

यसको अर्थ हो, जुन घरका मानिसले ती अछुत भनिएका व्यक्तिसँग करणी बिराउँछ, त्यो घरलाई ७ रुपैयाँ दण्ड जरिबाना तोकिएको थियो । त्यो घरको मानिसले छोएको पँधेरोको पानी चलाउने घरलाई ३ रुपैयाँ ८ आना र गाउँफेरा अर्थात् छरछिमेकलाई ८ आना तथा अरू सम्पर्कमा आएका व्यक्तिलाई १ आना दण्ड जरिबानाको व्यवस्था राज्यले गरेको थियो ।

तर, रकमी डिट्ठा श्यामलाल पाध्याले ‘नीति’ र ‘स्मृति’मा यस्तो दण्ड सजायको दर एकै प्रकारको गरिदिँदा लिम्बुवानमा विरोधको स्वर उठेको देखिन्छ ।

पत्रमा ‘कसैलाई कलम बढाई डंड गरिलीया यसो भया हाम्रा थिति पनि रहेन भनि तमोरषोला आठराई फेदाप छथर चौविस्या पाँचथरका सुब्बाहरू हाम्रा हजुरमा विन्ति गर्न आउदा जाहेर भयो । तसर्थ स्मृति वाहेक नितिमा रहन्याले थुमथुमपिछे गाउअनुसारको षेत चह्राई पानि नचलन्या जातसंग भुलचुकमा करनि भै चन्द्रायन गर्न पर्दा आफ्ना ठेकभित्र ढुंगा छुवाई प्रथम घरले रूपैया ७ तिर्नु दोश्रो १ पध्याराका पानि षान्या घरले रूपैया ३।। तिर्नु तेश्रो गाउँफेरामा ।। तिर्नु । अरू संसर्गि घरले आना १ तिरि जाति पतरियमा सुद्ध भै रहनु भनि मोहोर गरि अघि वक्स्याकै रहेछ । सोही वन्देज वमोजिम आज पनि थामिवक्स्यौं’ भन्ने परेबाट पानी नचल्ने भनिएका जातिसँग करणी बिराउँदा नीति समूहका लिम्बूहरूले पाउँदै गरेको कडा खालको दण्ड जरिबानाले निरन्तरता पाएको स्पष्ट हुन आउँछ ।

समय क्रममा लिम्बूहरूले शासकहरूबाट भोग्नुपरेको अनेक प्रकारका भोग–उपभोग, दुःख सास्ती यताबाट पनि बुझ्न सकिन्छ ।

आङ्बुहाङवंशी लिम्बूहरू नीति समूहतिर रहेकाले उनीहरूले शासकबाट कडा प्रकारको दण्ड जरिवाना भोग्दै आएका थिए भन्ने बुझ्न गाह्रो छैन ।

बाजहाङको विद्रोह र सहादत
यस्तो कडा दण्ड र जरिवाना भोग्ने लिम्बू समूहका एक सदस्य बाजहाङ आङबोहाङले त मृत्युदण्डकै सजाय पाएका थिए ।
बाजहाङ नामहाङका दसौँ पुस्ताका नाम्लिहाङका नाती र राजवीरका जेठा छोरा थिए । उनको जन्म वि.सं. १९२८ मा हाङपाङमा भएको थियो । उनी आफ्ना काका सुब्बा ओझाहाङको ठूला सहयोगीका साथै निर्भीक स्वभावका व्यक्ति थिए ।

काकाको सहयोगी भएर मुद्दा मामिला आदि विषयमा ताप्लेजुङ–धनकुटा ओहोरदोहोर गरिरहँदा धनकुटाका बडाहाकिमसँग आफ्ना काकाको सेतो घोडा देखे । यो घोडा चोरी भएको थियो । उनले बडाहाकिमको तबेलाबाट उक्त घोडा खोसेर ल्याएका थिए (टङ्क वनेम, ‘आङ्बुहाङ दर्पण’–२०६५ः१३) ।

बाजहाङका सन्तति विष्णुदत्त आङ्बुहाङले ‘होपज्यूज’ (२०८० असार १७)मा बाजहाङका बारेमा ऐतिहासिक केही तथ्य प्रकाशमा ल्याएका छन् । यो तथ्यबाट बाजहाङले राणा शासकबाट पाएको मृत्युदण्डको कारणबारे बुझ्न सहयोग पुग्छ ।

त्यस बेला बाजहाङका काका ओझाहाङ क्षेत्रका ठूला सुब्बा थिए । उनको १४ वटा जिम्मा थियो । त्यस बेला एउटा सुवाङ्गी बराबरको एक जिम्मा हुन्थ्यो । बाजहाङ आफ्ना काकाको ठूला सहयोगी थिए । उनी सुवाङ्गीकै क्रममा बारम्बार ताप्लेजुङ, तेह्रथुम र धनकुटामा आउजाउ गरिरहन्थे ।

बाजहाङको पालामा विशेष गरी धनकुटाका राणा बडाहाकिमले चाँगे, ढुङ्गेसाँघु र हाङ्पाङमध्ये कुनै एक ठाउँमा नयाँ अमिन खोल्ने प्रयास गरिरहेका थिए । दोभान र खोक्लिङ क्षेत्रमा थप किपट जग्गा पत्ता लगाउन र ती जग्गाहरू रैकर (भाडामा खेती गरिएको जग्गा) मा परिणत गर्नका साथै लिम्बूबाट थप कर उठाउने दाउस्वरूप नयाँ प्रशासनिक इकाईहरू थप गर्ने योजना बनाइरहेकोमा बाजहाङले यसप्रति विरोध जनाइरहेका थिए ।

बाजहाङलाई धनकुटाको बडाहाकिम कार्यालयको षड्यन्त्र मन परिरहेको थिएन । आफ्नै क्षेत्रमा यस्तो कार्यालय स्थापना हुँदा सेन तथा शाह राजाले लिम्बूहरूलाई दिएको अधिकारलाई खुम्च्याउँदै लैजाने देखिएपछि उनले यस सरकारी रवैयाको कडा विरोध गरिरहेका थिए । उनले आफ्नो क्षेत्रमा नयाँ अमिन स्थापना गर्ने योजनाको विरोध गर्न वि.सं. १९५१ मा चाँगेको माछापोखरीमा १४ जिम्माका सुब्बाहरूको भेला पनि आयोजना गरेका थिए (आङ्बुहाङ, उही ) ।

तर बाजहाङको यस्तो क्रियाकलाप राणा शासकहरूलाई सह्य भएन । एउटा प्रखर बागीका रूपमा उदाइरहेका बाजहाङप्रति आफूले चोरेर ल्याएको घोडा खोसेर लगेको रिस पनि राणा बडाहाकिममा थियो । त्यसैले उनलाई मृत्युदण्ड दिने निर्णय धनकुटा गौँडामा रहेका बडाहाकिमबाट भयो ।

बाजहाङलाई मृत्युदण्ड दिइएको ऐतिहासिक तथ्य खुल्ने एक पुरानो टिपोटे कागज पनि पाइएको छ । लिलाबहादुर तुम्बाहाम्फेको सङ्कलनमा रहेको उक्त टिपोटे कागजमा ‘१९५२ चैत्र रामनवमिमा तमोरषोला ताप्लिजुं ठाना बस्यो तेसै मैनामा आठराई हांपां बस्न्या वाजहाङ लिम्बुलाई तापलिजुं ठानमा झुंडायो’ भन्ने उल्लेख छ (इङ्नाम, २०७७ः९०५) ।

यस टिपोटबाट वि.सं. १९५२ को चैत्र महिनामा चैते दसैँपछि बाजहाङ्लाई झुन्ड्याएर मृत्युदण्ड दिइएको ऐतिहासिक रूपमा स्पष्ट हुन आउँछ ।

बाजहाङले मृत्युदण्ड पाउनुभन्दा दुई वर्षअघि लिम्बूवानमा किपट जमिनमा महाजाँच आएको थियो । वि.सं. १९५० यस महाजाँचलाई वेदनिधि जाँच पनि भनिन्छ । यो जाँच लिम्बूवानका किपटिया सुब्बाहरूप्रति अनुदार किसिमको थियो ।

महाजाँचका लागि खटिएका वेदनिधिले ३० रुपैयाँ उठ्ती हुने ६० मुरी माटो सरकारलाई चढाउनेलाई सुब्बा र १५ रुपैयाँ उठ्ती हुने ३० मुरी माटो सरकारलाई चढाउनेलाई ‘राई दर्जा’ लिने चलनलाई सदर गरेका थिए । सुब्बालाई ६ घर मिनाहा हुन्थ्यो भने राईलाई ३ घर मिनाहा हुन्थ्यो । तिरुवा सुब्बालाई एक घर पनि मिनाहा हुँदैनथ्यो ।

त्यस बेला लिम्बूहरूको किपट जग्गा साहुले रुपैयाँ हालिदिँदा कसैले ढाक्रे कुरिया बसेको गाउँ समेत गाभी र कसैले खर्क भनी ना.सु. वेदनिधि उपाध्यायले जाहेर गरेपछि साहुले रैकरमा दरानतिरान गरी चलन गरे जति लिखतबमोजिम तिरो तिरी चलन गर्न पाउँछ साहुले किपटसरह चलन गरेको किपट किपटियाले निखन्न पाउँछ, किपटियाको किपट हुनाले आफ्नो रुपैयाँ आएपछि किपट अचल गरी खान्छौँ भन्न पाउँदैनन् भन्ने सरकारी हुकुम सदर गरेका थिए (श्रेष्ठ, २०५२ः८२–८३) ।

लिम्बूहरूको किपटको अधिकारलाई खुम्च्याउने यस्तो सरकारी हुकुमप्रति त्यस बेला बाजहाङको विरोध हुनु स्वाभाविकै थियो ।

जिल्ला प्रशासन कार्यालय, धनकुटाको अभिलेखअनुसार वि.सं. १९४३ देखि १९५६ सम्म धनकुटा गौँडाको बडाहाकिम बमविक्रम राणा रहेको देखिन्छ । उनैको आदेशबाट बाजहाङले ताप्लेजुङमा मृत्युदण्ड पाएका थिए ।

पछिल्लो समय कोशी प्रदेश नामकरण खारेजीको माग लिएर आन्दोलनरत पहिचानवादी पक्षले समानान्तर गतिविधि सञ्चालन गर्ने क्रममा शहीद बाजहाङ आङ्बुहाङलाई सम्झना गरेका छन् । उनीहरूले वि.सं. १८३१ का लिम्बू सेनापति काङ्सो रायसँगै उनलाई पनि सम्झेका हुन् । यस क्रममा तेह्रथुमको वसन्तपुरदेखि ताप्लेजुङको विभिन्न ठाउँ छुँदै तमोर नदीको किनारमा रहेको माझीटारसम्म पुग्ने सडक खण्डको नाम उनीहरूले ‘काङ्सोरे–बाजहाङ लोकमार्ग’ राखेर बोर्ड समेत राखिसकेका छन् । यो सडक गुफा पोखरी साँघु हुँदै दोभान र त्यहाँबाट हाङपाङ, फूलबारी, ह्वाकु, इवा हुँदै माझीटार पुग्छ । सरकारले यो सडक खण्डको नाम ‘मदन भण्डारी लोक मार्ग’ राखेको छ ।

आफ्नो ऐतिहासिक विरासतको रक्षाका लागि ज्यानको बाजी लगाउने बाजहाङलाई शहीद घोषणा गराउने पहल भने कसैले गरेको देखिँदैन । यो दुःखद पाटो हो ।

https://www.drishtinews.com/archives/263302?fbclid

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि