इतिहास : को हुन् धनकुटा गौंडाका पहिलो प्रशासक?

 राजकुमार दिक्पाल 

मंगलबार, २१ चैत, २०७९


जिल्ला प्रशासन कार्यालय, धनकुटाको वेबसाइटमा धनकुटा गौंडाका पहिलो प्रशासकका रूपमा बख्तावरसिंह बस्नेतको नाम छ। उनको कार्यकाल विसं १८६८ देखि १८७८ सम्म भएको उल्लेख छ।  

धनकुटाको इतिहासबारे कलम चलाउने पहिलो पुस्ताका इतिहासकार नरपति पोखरेलले नरपति पोखरेलका कृति (२०६६:४५०) को ‘धनकुटाको इतिहास’ खण्ड (पहिलो प्रकाशन वारजीले २०४९)मा लेखेका छन्, ‘श्रीकाजी बखतवारजीले धनकुटा बीच बजारमा भीमसेनको स्थापना गरी ठूलो राम्रो पक्का मन्दिर बनाएका छन्। भीमसेनको पूजा चलाउन बजारमा लाइन मिलाई १० वटा झिंगटीको छानो भएका पक्का घर बनाइएको छ। धनकुटा बेसीको ठूलो टार भीमसेनकै गुठी भन्छन्।’

तर, पोखरेलले उल्लेख गरेको भीमसेनस्थान बनाउने बख्तावरसिंह बस्नेत होइनन्, बखतवार भण्डारी हुन्।

भीमबहादुर बस्नेत र ठाकुर बरालले पनि धनकुटाका ऐतिहासिक सामग्रीहरू (२०६१:३) मा ‘काजी बख्तावरसिंह बस्नेत विसं १८४८ देखि पूर्व खटिए। यिनी नै धनकुटाका पहिलो गभर्नर हुन् भन्ने पनि कतिपयले उठाउने गरेका छन्’ भनी उल्लेख गरेका छन्।

बख्तावरसिंहलाई धनकुटाको पहिलो प्रशासक भनी तोकेरै लेख्ने चाहिं डा‍. गोपालबहादुर भट्टराई हुन्। उनले धनकुटा गौंडाको इतिहास (२०६८:७६) मा ‘विसं १८६८ मा बख्तावरसिंह बस्नेत धनकुटामा प्रथम गभर्नर बनेर आए। सो समय दूधकोशीपूर्वको सम्पूर्ण क्षेत्र धनकुटा जिल्ला अन्तर्गत कायम राखी धनकुटाबाट प्रशासन चल्थ्यो’ भन्ने उल्लेख गरेका छन्।

प्रशासन कार्यालयले यही लेखलाई आधार मानेको हुन सक्छ। तर, उनी धनकुटा गौंडाको प्रशासक भएर बसेका प्रमाणहरू भेटिंदैन।

१८४८ मा काजी बख्तावरसिंह बस्नेत चैनपुरको हाकिम भएर खटिएका थिए। धनकुटा सग्लो जिल्ला बन्नुअघि हालको केही भाग चैनपुरले नै हेर्ने गरेको थियो। त्यति वेला धनकुटा छुट्टै मुकामका रूपमा स्थापित भइसकेको थियो कि थिएन भन्ने तथ्य चाहिं महत्त्वपूर्ण हुन्छ।

यस्तै धनकुटाको हाकिमका रूपमा धौकलसिंह बस्नेतको नाम पनि आउँछ। जनार्दन घिमिरेले श्री निशान भगवती मन्दिर संक्षिप्त इतिहास (२०७५:१) मा काजी धौकलसिंह बस्नेत विसं १८३३ मा सुरक्षाका लागि बडाहाकिमका रूपमा धनकुटा आए भनेर उल्लेख गरेका छन्।

डा. विनोद थापाद्वारा लिखित नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्यातहरूको योगदान (२०७४:९८) अनुसार आफ्ना दाजु अभिमानसिंह बस्नेत विसं १८३१ मा पूर्वतिरको अभियानमा निस्कँदा विजयपुर दखल गरे लगत्तै धौकलसिंह आफ्ना दाजु सहित वारिया र टिस्टाबीच दिवान भएका र त्यसपछि उनी काभ्रे र मोरङमा खटिएको उल्लेख छ।

योगी नरहरिनाथले इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग-१ (२०५५:१७८) मा अभिमानसिंह बस्नेत र धौकलसिंह बस्नेतले पूर्वतिर जिम्मेवारी पाएको पत्र प्रकाशित गरेका छन्।

विसं १८३५ को उक्त पत्रमा ‘आगे अभिमानसिंह धौकलसिंहके वरियापूर्व तिष्टा पश्चिमको देवानी और यकाइस् कंपनि मध्य एक कंपनिको कविला राषना के सीधुलि थुम १ ससिम जागीर वक्स्यूँ। श्रीपंचमीका दिन दर्शन गर्नु। बाकि मध्येस्माहा मन्सुफि सर्कारबाट घाल्नु गरि वक्सीउँ। लडाई भीडाञी घरसार टहलमा रुजु भै रहनु’ भन्ने उल्लेख छ।

मोरङबाट दौडाहा टोलीका रूपमा निरीक्षण गर्न वा तिरो उठाउन धौकलसिंह धनकुटा उक्ले भने अर्कै कुरा, नभए उनी पनि धनकुटाको हाकिम भएको देखिंदैन।


को हुन् बख्तावरसिंह?


गोरखाली राजा नरभूपाल शाहका भारदार शिवरामसिंह बस्नेतका माइला छोरा केहरसिंह र उनका पनि तीन भाइ छोरामध्येका कान्छा हुन्- बख्तावरसिंह। (हनुमानसिंह बस्न्यात र पूर्णमानसिंह बस्न्यात, श्रीपाली बस्न्यात परिचय, इतिहास र वंशावली, २०५८:१५१)।

विसं १८४८ मा चैनपुरमा लिम्बूहरूले सिक्किमी र लेप्चाहरूसँग मिलेर विद्रोह गर्दा त्यसलाई दबाउन बख्तावरसिंह खटिएका थिए। उनले आफ्नो काम र कीर्तिको चिर स्मरणका लागि त्यहाँ बगैंचा तथा हिटीहरू निर्माण गरेका थिए। चैनपुरमा त्यसलाई ‘मनराजी बगैंचा’ भनिन्छ। हिटी र बगैंचा अहिले अस्तित्वमा छैनन्।

काजी बख्तावरसिंह बस्नेतको वंशवृक्ष (स्रोतः श्रीपाली बस्नेत वंशावली)।

बख्तावरका सन्तानहरूले चैनपुरमै एउटा पाटी निर्माण गरे जसलाई ‘मेजर पाटी’ भनिन्छ। पाटीको पेटीमा शिलालेख छ।  शिलालेखमा ‘श्रीसम्वत १८४८ सालमा पूर्व देशका पल्ला किराँतमाः वैरीले कुल गर्दा १ सर्दार कहरसिंह बस्न्यातका कान्छा छोरा काजी बषतवारसिंह बस्न्यातलाई कंपनि लि गै कुल गर्‍यो वैरीलाई मारी तेस मूलक बन्दोवस्त गरी आः भनी हुकुम वक्सदा प्रभुको हुकुम सिर चह्राई कंपनि लि गै सिधिपुरमा वैरिसंग लडाई गर्‍या’ भन्ने उल्लेख छ (डा. सोमप्रसाद खतिवडा, अभिलेख, पूर्णाङ्क ३१-२०७०:२०-२३)।

सो विद्रोह दबाइएकोबारे दरबारमा उनले पठाएको अर्जी पनि पढ्न पाइन्छ। अगहन (मंसीर) सुदी १ रोज ६ मा चैनपुरबाट पठाइएको अर्जीमा ‘यसै देशबाट भागी गयाका किराती। लिम्वु। लापच्या। भोट्या। छन् अडिन्या जगा गाउँ भै रहेछ। इन्को सेषि नझारंजी। सुषिम वस्न। दिन्या छैन। नौ दस दिनको बाटो उजार। रहला जो मर्जि। उप्रान्त चयनपुर आई पुग्याको र। चयनपुरदेषि हिड्याको। भोट्या तिष्टा पारी गयाको’ भन्ने परेको छ (इङ्नाम,२०७७:५९९)।

यताबाट हेर्दा चाहिं बख्तावरसिंह विसं १८४८ मा चैनपुर क्षेत्रको चाहिं प्रशासक भएर बसेको देखिन्छ। उनले बनाएको बगैंचा र हिटीको सम्भारका लागि विसं १८४८ पुस वदी ३ रोज ३ मा जारी गरिएको राजा रणबहादुर शाहको रुक्कामा ‘चनौट ब्यासी षोला रुम्टो हांलुङषरक तस्को सांध पुर्व चुंढुंगा थुंको दक्षिण फलाटे टार थुंको पश्चिम ढुंग्या गौडा उत्तर हिमाखोलो इति ४ किल्ला भित्रको जग्गा हिटी वघैचा सम्भार गर्न निमित्ते वक्स्यौं’ भन्ने उल्लेख छ (थापा, २०७४:४३६)।

बख्तावरसिंह एक पटक दरबारमा मूलकाजी पनि भएका थिए। मूलकाजी भनेको हालको प्रधानमन्त्री सरह हो।

राजा रणबहादुर शाह बनारस निर्वासित हुँदा रानी सुवर्णप्रभाले नायबी लिएर शासनसत्ता सम्हालेकी थिइन्। उनले नियुक्त गरेको मूलकाजी कीर्तिमानसिंह बस्नेतको विसं १८५८ असोज वदी ६ मा षड्यन्त्रपूर्वक हत्या भएपछि उनकै भाइ बख्तावरसिंह बस्नेतलाई सुवर्णप्रभाले मूलकाजी नियुक्त गरेकी थिइन् (ज्ञानमणि नेपाल, नेपालको महाभारत, २०५२:४८-४९)।

विसं १८६० मा रणबहादुर शाह बनारसबाट फर्केपछि भीमसेन थापा शक्तिमा आए। पजनीका क्रममा बख्तावरसिंहको मूलकाजी पद खोसियो। विसं १८६३ वैशाख १४ गते रणबहादुर शाहको हत्या हुँदा उनी खोटाङमा थिए। माझकिराँतमा अशान्ति भएकाले त्यसलाई दबाउन भीमसेन थापाकै खेलले उनलाई खोटाङ पठाइएको थियो (थापा, २०७४:१२२)।

उनी माझकिराँतमा खटिएको विसं १८६४ को पत्र पाइएको छ। वैशाख सुदी १२ रोज ५ मा खोटाङमा रहेका उनलाई काठमाडौंबाट काजी भीमसेन थापा र काजी रणध्वज थापाले लेखेको पत्रमा ‘मूलुकमा विथिति भै उजर्हुन लागे छ। षान्गी पनि लेष्या वमोजीं उठन्या रहेन छ। कुन्हाँलाई पनि चयनपुर १ कंपनिले चौडंडीमा माझ किराँतका कम्पनिले षोटांगमा वस्या उता सुषिम विजैपुर हर्चन्गढि र येता नराहगढि मछ्यरेषा सम्म सर्वत्रको षबर्दारी रहन्या रहेछ’ भन्ने उल्लेख छ {योगी नरहरिनाथ (सम्पा) को इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १, २०५५:८०}।

यसैगरी विसं १८७१-७२ मा नेपाल-अङ्ग्रेज युद्धको वेला बख्तावरसिंह बस्नेत आफ्नो मातहतका फौजका साथ पश्चिम मोर्चाको श्रीनगरमा खटिएका थिए। यस सम्बन्धी दुई ऐतिहासिक पत्र इतिहासकार महेशराज पन्तले पूर्णिमा, पूर्णाङ्क ३ (कात्तिक २०२१:७१) मा प्रकाशित गरेका छन्।

तीमध्ये नालापानीका योद्धाहरूले विसं १८७१ पुस वदी १२ रोज १ मा श्रीनगरबाट जनरल काजी भीमसेन थापा र काजी रणध्वज थापालाई पठाएको पत्रमा उल्लेख छ- ‘हामि जो घायल भएका जति थ्यूं। श्रीनगर आई पुगदा श्रीकाजि वषतावरसिंह वस्न्यातबाट वैद्य लगाई सवै वोषति दी संभार गर्नु भयाको छ। १० कम्पनि तयार गरी जगाजगामा वाटाघाटा चौकसी राषनुभयाको रहेछ।’

यस्तै राजा गीर्वाणयुद्धविक्रम शाहले विसं १८७१ माघ वदी ८ रोज ५ मा योद्धाहरूलाई हौसला दिंदै लेखेको रुक्कामा ‘मूलुकमा कुइर्‍याले हंगामा गर्दा काजि बषतावारसिं बस्न्यातमार्फत सुवेदारि दर्शन गरि कम्पनि षडा गरि गौडा घाटा रोकि वनाई आफ्नु मजवुति गन्र्या वढिया गरेछौ’ भन्ने उल्लेख छ।

यी दुई ऐतिहासिक पत्रहरूले विसं १८७१ मा बख्तावरसिंह प्रशासक भएर धनकुटा गौंडामा नभई पश्चिमको युद्ध मैदानमा थिए भन्ने पुष्टि गर्छ।

काठमाडौंमा भीमसेन थापा शक्तिशाली हुन थालेपछि उनले पुराना भारदारहरूलाई अन्यत्र पठाउन थाले। विसं १८६७-६८ तिर उनले बम शाहलाई कुमाउँ, बडाकाजी अमरसिंह थापालाई बाह्रठकुराई र बख्तावरसिंहलाई जुम्लाको हाकिम बनाएर पठाएका थिए (बाबुराम आचार्य, पूर्णिमा, पूर्णाङ्क ७९-फागुन २०४७:४०)।

यदि बख्तावरसिंहले धनकुटा गौंडाको प्रशासक भएर १० वर्ष बिताएका हुन्थे भने चैनपुरमा जस्तै धनकुटामा पनि उनले कुनै न कुनै कीर्ति छाड्थे। त्यसमाथि उनी धनकुटा मुकाम गरेर बसेको कुनै ऐतिहासिक पत्र हालसम्म फेला परेको छैन।


जन्मनुअघि नै धनकुटाको हाकिम?

धनकुटाका प्रशासकहरूमा चैनपुरका सुब्बा आशबहादुर खत्री (आशा खत्री) को नाम पनि लिइन्छ। विसं १८४८ तिर सक्रिय उनी चैनपुरमै बढी खटिएको देखिन्छ।

लिम्बूहरूले चैनपुरमा गरेको विद्रोह दबाउन उनी सहित मनोहर डाँगी, बालु ढकाल र विश्राम राउतले भूमिका खेलेका थिए। यस बापत आशा खत्री र मनोहर डाँगीका नाममा जारी भएका लालमोहर नै छन्। उनीहरूलाई सरकारका तर्फबाट केही सुविधा र अधिकार समेत दिइएको थियो (ढुङ्गेल, २०४६:११)।

अझ आशा खत्री सक्रिय हुँदा धनकुटा एउटा मुकामका रूपमा विकसित भइसकेको थिएन। त्यसैले उनी धनकुटा गौंडाको प्रशासक हुनु असम्भव छ।

धनकुटाको प्रशासक भनिएका अर्को नाम हो- काजी प्रसादसिंह बस्नेत। उनको कार्यकाल भनिएको मिति अपत्यारिलो छ।

यस्तो लेख्नेमा बस्नेत र बराल (२०६१:३) हुन्। उनीहरूले  विसं १८४१ मा श्री मेहर रेजिमेन्ट स्थापनापछि पूर्वतिर प्रसादसिंह बस्नेत कमान्डर भई खटिएको भन्ने उल्लेख गरेका छन्।

भट्टराई (२०६८:७६) र घिमिरे (२०७५:१) ले पनि उनीहरूलाई नै समर्थन गर्दै विसं १८४१ मा पूर्वको प्रशासनिक कार्यका लागि प्रसादसिंह बस्नेत धनकुटा आएका हुन् भनी ठोकुवा गरेका छन्।

प्रसादसिंह बस्नेत बख्तावरसिंह बस्नेतका छोरा हुन्। श्रीपाली बस्नेत परिचय, वंशावली तथा इतिहास (२०५८:१५९) अनुसार, बख्तावरसिंहका चार भाइ छोरामध्ये प्रसादसिंह जेठा हुन्।

प्रसादसिंहको जन्म विसं १८४८ मा भएको हो। उनी जन्मँदा बख्तावरसिंह चैनपुरमा प्रशासकका रूपमा कार्यरत थिए। छोरा जन्मिएको हर्षोल्लास मनाउँदै बख्तावरसिंहले दानदक्षिणा दिएको चैनपुरको मेजर पाटीको शिलालेखमा उल्लेख छ।

शिलालेखमा ‘तस्तै बषत आफूलाई जेष्ठ पुत्र प्रसादसिंह बस्न्यात पैदा भयाको शहर कान्तिपुरबाट षवरले पिता अत्यन्त खुशि भै काजी बषतावारसिंह वस्न्यातले पनि आफ्ना साथमा आयाका उमराव भलो आदि मिलाई यथायोग्य गरी (षि) लवत सिरो। ८ उदिया ब्राहृमण वैरागियो सिसन्यासी मालमि क अतित जफत गरी गरिव गुरुवाहरूलाई अन्न वस्त्र द्रव्यादि षुस गराया’ भन्ने उल्लेख छ (खतिवडा, २०७०:२३)।

यसरी प्रसादसिंह बस्नेत विसं १८४८ मा जन्मेकाले विसं १८४१ मै उनी धनकुटाका हाकिम वा प्रशासक हुने कुरै भएन।

प्रसादसिंह पछि काजी दर्जामा समेत पुगे। विसं १८७१ मा नेपाल-अंग्रेज युद्ध हुँदा उनी नालापानी किल्ला नजिकै रसुवा नामको ठाउँमा नौ सय सैनिकको डफ्फा लिएर तैनाथ थिए। त्यस वेला उनको पद कप्तान थियो (थापा, २०७४:१२७-२८)।

प्रसादसिंह जंगबहादुर राणाका ससुरा हुन्। जंगबहादुरका ४२ जना श्रीमतीमध्ये पहिलो प्रसादलक्ष्मी र १४औं सिद्धिगजेन्द्रलक्ष्मी प्रसादसिंहका छोरी हुन्।

तीमध्ये प्रसादलक्ष्मीलाई जंगबहादुरले विसं १८८५ मा बालविवाह गरेका थिए भने अर्कैसँग घरजम गरेर बसेकी सिद्धिगजेन्द्रलक्ष्मीलाई अपहरण शैलीमा थापाथली दरबार भित्र्याएका थिए। पछि उनले तत्कालीन कानून अनुसार जारी पनि तिरेका थिए (पुरुषोत्तमशम्शेर जबरा, श्री ३ हरूको तथ्यवृत्तान्त, २०६५:१८९ र १९२)।

विसं १८९६ तिर मन्त्रिमण्डलमा समेत सहभागी गराइएका प्रसादसिंह विसं १८४१ मै धनकुटा गौंडाको प्रशासक भएको पूरै भ्रम हो।


तराई र हिमाल जोड्ने व्यापारिक केन्द्र धनकुटा

धनकुटाभन्दा अगाडि पूर्वी नेपालको प्रशासन विजयपुर र चैनपुरबाट चल्थ्यो। जसमध्ये विजयपुरमा दुई जना सुब्बा रहने व्यवस्था थियो।

विजयपुरमा विसं १८३१ बाट गोरखाली प्रशासन शुरू हुँदा त्यहाँको प्रशासन प्रमुख अभिमानसिंह बस्नेत थिए। त्यसपछि थुप्रैले सुब्बाको जिम्मेवारी पाउँदा विसं १८७४-७८ मा शक्तिवल्लभ र सिद्धिकर्ण उपाध्यय र विसं १८८४ मा कुलानन्द झा त्यहाँ प्रशासन प्रमुख देखिन्छन् (ज्ञानमणि नेपाल, नेपाल निरुक्त, २०७४:२८१)।

हाल धनकुटा जिल्लामा रहेका कतिपय गाउँलाई तत्कालीन चैनपुर र विजयपुर केन्द्रले रेखदेख गरेको पनि पाइएको छ।

उदाहरणका लागि लेगुवाको नागेश्वर मठको इतिहास हेर्दा त्यहाँका महन्तलाई कहिले चैनपुरले त कहिले विजयपुर केन्द्रले कस्यपत्र गरिदिएको पाइन्छ। विसं १८४२ भदौ वदि १ रोज १ मा मुकाम विजयपुरबाट सुब्बा धनसिंह खड्का र सुब्बा रामकृष्ण कुँवरले नागेश्वर मठका महन्त मेहर गिरीलाई कस्यपत्र गरिदिएको देखिन्छ।

विजयपुरका सुब्बा धनसिंह खड्का र सुब्बा रामकृष्ण कुँवरले विसं १८४२ मा लेगुवाको नागेश्वर मठका महन्त मेहर गिरीलाई दिएको कस्यपत्र। स्रोतः गोपाल भण्डारी (बायाँ)। तत्कालीन चैनपुर जिल्ला अन्तर्गत पर्ने चौबिसे, कुरुले, बोधे, बुढिमोरङ, मिक्लुङको जग्गा सम्बन्धी साँध सिमाना मिलाउन जारी गरिएको विसं १८९४ को रुक्का। स्रोतः भगिराज इङ्नाम (दायाँ)।

यस्तै मुकाम तुम्लिङटारबाट विसं १८५६ फागुन सुदि ५ रोज ४ मा सुब्बा निधिरत्न र सुब्बा बलवबाट मेहर गिरीको नाममा कस्यपत्र गरिदिएको देखिन्छ (गोपाल भण्डारी, श्रीनागेश्वर गुठी सङ्क्षिप्त चिनारी, २०७९:२६ र ३०)।

विजयपुर र चैनपुरबाट प्रशासन चलिरहँदा धनकुटा भने तराई र हिमाली क्षेत्र जोड्ने चल्तीको व्यापारिक मार्गका रूपमा स्थापित थियो। आजभन्दा २२० वर्षअघि तत्कालीन बेलायती दूत कप्तान नक्सका साथ नेपाल आएका फ्रान्सिस ह्‍यामिल्टनले लेखेको एन एकाउन्ट अफ किङडम अफ नेपाल (सन् १८१९:१५७) मा यस्तो उल्लेख भए अनुसार त्यस वेला चैनपुरको सीधा व्यापार तिब्बतसँग चल्थ्यो। अरुणतिरको हटिया र तमोरतिरको ओलाङचुङमा व्यापार चल्थ्यो। यी दुई नदीको बीचमा रहेको पोकाङ (छोकाङ?) ठूलो व्यापारिक केन्द्र थियो।

यहाँ गर्मी मौसममा व्यापार चल्थ्यो। तिब्बतबाट भेडामा बोकाएर नून ल्याइन्थ्यो। यस्तै सुन, चाँदी, मृगको छाला, चौंरीको पुच्छर, कम्बल आदि आयात हुन्थ्यो।

चैनपुरतिरबाट धान, गहुँ, तेल, नौनी, सुतीको कपडा आदि निर्यात हुन्थ्यो। विजयपुर केन्द्रबाट पोकाङ पुग्ने बाटोमा मूलघाटबाट तमोर नदी किनार भएर, तमोर तरेर धनकुटा वा धानकोट हुँदै तथा माङमाया खोलाको बाटो भएर त्यहाँ पुगिन्थ्यो।

लेखक जोसेफ डाल्टन हुकर सन् १८४८ मा वनस्पतिको अध्ययनका लागि पूर्वी नेपालको हिमाली तथा पहाडी क्षेत्र घुमेर धनकुटामा नेपाली कागज उत्पादन हुने सम्बन्धमा पुस्तक हिमालयन जर्नल (सन् १८५५:१८१) मा उल्लेख गरेका छन्।

उनले करीब २५ माइल टाढाबाट धनकुटा बजारलाई हेरेर धनकुटा नेपालको पूर्वी खण्डको राजधानी भएको र यो लोक्ताको बोक्रा लुछेर बनाइने नेपाली कागजका लागि प्रख्यात रहेको पनि उल्लेख गरेका छन्।

पहिले धनकुटा बजारमाथि रहेको कागतेमा ठूलो मात्रामा नेपाली कागज उत्पादन हुन्थ्यो। कागज अथवा कागत उत्पादन हुने ठाउँ भएकोले नै यसको नाम ‘कागते’ रहन गएको हो।

तर, ‘प्रशस्त कागती फल्ने ठाउँ भएकोले कागते भनिएको हो’ भनी इतिहासको अपव्याख्या पनि हुने गरेको छ।


को हुन् त धनकुटाका पहिलो प्रशासक?

धनकुटा विसं १८७५ तिर मात्र पूर्वी नेपालको प्रशासनिक केन्द्रको रूपमा विकसित भएको देखिन्छ। सोही साल काजी बहादुर भण्डारी धनकुटामा प्रशासन चलाउन पुगेको ऐतिहासिक पत्र पढ्न पाइन्छ।

जनरल काजी भीमसेन थापाले काजी बहादुर भण्डारीलाई विसं १८७५ फागुन वदी ६ रोज ३ मा लेखेको यो पत्रमा ‘मधेस्को बाट विजैपुर आइ १ दिन मुकाम् गरी माघका २७ दिन जाँदा धनकुटा आइपुग्या केही दिन विजैपुर बसी मुलुकको हालसुरत बुझी रैतीका सल्लाह गरी ७५ सालको कबुलियत बमोजिम रूपया कविराज खड्काबाट दर्वार पठाउन्या र उसको पनी मुलुकमा रहृयाको बाजबी असुल गराई दिन्या बंदोबस्त गरी तैले धनकुटा जानु भन्या हुकुमको लालमोहर आयो धनकुटा पुग्या काम बढिया... दाम काम बढिया गरी हुन्या पाठको बन्दोबस्त बाँधी धनकुटा जानु भन्या हुकुम हुँदा सोमाफिक लालमोहर तिम्रा नाउँमा भै गयाको हो... धनकुटा पुग्यापछि मोहर देषन्या काम भएछ’ भन्ने उल्लेख छ (ज्ञानमणि नेपाल, नेपाल निरूपण, २०५५:२६९)।

यो पत्रबाट काजी बहादुर भण्डारी महत्त्वपूर्ण जिम्मेवारी पाएर विजयपुर हुँदै धनकुटा पुगेको देखिन्छ। धनकुटा बजार विस्तारमा उनको योगदान महत्त्वपूर्ण देखिन्छ।

प्रशासकका रूपमा उनले धनकुटा बजारमा भीमसेन, गणेश, हनुमान मन्दिर स्थापना गरी मन्दिरको वरिपरि झिंगटीका छाना भएका १३ वटा पाटी बनाएका थिए (भट्टराई, २०६८:७६)।

यो तथ्य पुष्टि हुने ऐतिहासिक पत्रहरू पाइन्छन्। तीमध्ये विसं १८७६ भदौ वदी ५ रोज ३ मा तत्कालीन राजाबाट काजी बहादुरको नाममा लेखिएको रुक्कामा ‘धनकुटाका... पुजा अक्षता धूप वाति निमिङ्खय। तेसै जगामा ७६ सालमा झाराले का विह्रौटा मध्ये पार्सि मुरि। २० साधन्यको पधेर्‍या मुरि। २० जम्मा षेतमुरि। ४० गुठ राषि बक्स्यौं’ भन्ने छ (योगी, २०५५:३०४)।

काजी बहादुर साथै उनका छोरा बखतवारसिंह भण्डारी पनि धनकुटामा सक्रिय थिए भन्ने अर्को पत्र पनि योगी (२०५५:३०५) ले प्रकाशित गरेका छन्। विसं १८९७ असोज सुदी ७ रोज ६ मा लेखिएको रुक्कामा ‘धनकुटामा तेरा बाबले र तैले थापना गर्‍याको र पौवा पाटी पक्की घर बनायाको गुठ निमित्य पौवा पाटी पक्की घरमाँ पसल राषन्या नेवार जति छन् तिन्हरूलाई ञहाँबाट जान्या भारदारहरूले रकम दै दस्तुर देउ भनि टंटा गर्छन्। तेस पाटी पौवामाँ पसल राषन्या नेवारलाइ रकम कलम दस्तुरादमाँ टंटा नगर्नु डंड कुंड भया ताँहाँका आमदानीले... लाई धुप दीप नैवेद निमित्य। फिर्ता गरिदिनु न लिनु’ भन्ने उल्लेख छ।

धनकुटा बजार बसाउनमा यी बाबुछोराले ठूलो योगदान गरेका थिए। पाटीपौवामा पसल राख्ने पसलेहरूलाई पल्टनको छेउमा गई पसल थाप्न लगाउनू, भत्केबिग्रेका पाटीपौवा बनाउनू, चाहिए अनुसार फलाँट्यपानीको वनबाट काठ काटेर ल्याउनू, जथाभावी वनमा कसैलाई काठ काट्न नदिनू भन्ने समेत निर्देशन दिइएको छ।

धनकुटा बजार नेवारहरूको सघन बसोबास भएको क्षेत्र हो। बजारको इतिहास देखे-बुझेका पोखरेल (२०६६:४४७) ले पनि नेवारहरू ज्यादा व्यापारै गर्ने र मूल सडक हेरेरै बस्ने भएकोले धनकुटा पनि शहर बन्न गएको उल्लेख गरेका छन्।

भण्डारी बाबुछोरा धनकुटामा रहँदा शहर व्यवस्थित गरेको र पक्की घरहरू बनाइ पाटीपौवामा पसल राख्ने नेवार व्यापारीहरूबाट दस्तुर असुल गर्न छाडेको उल्लेख भएकोले आर्थिक क्षेत्रमा पनि राम्रो व्यवस्था मिलाएको देखिन्छ।

लेखकले हालसम्म प्राप्त गरेको तथ्य अनुसार विसं १८७५ तिर धनकुटा पुगेका काजी बहादुर भण्डारी नै धनकुटा गौंडाका पहिलो प्रशासक हुन्।

उनका बाजे पारथ भण्डारी पृथ्वीनारायण शाहकालीन योद्धा थिए। पहिले लमजुङका उनी पछि गोरखाली सेनामा सक्रिय भएका थिए।

उनी अभिमानसिंह बस्नेतका साथ पूर्वी अभियानमा सक्रिय थिए। वंशावली अनुसार जगसिंहका छोरा पारथ हुन्। उनको छोरा जसिवन्त र जसिवन्तका छोरा बहादुर भण्डारी हुन्।

काजी बहादुर भण्डारी विसं १८७१ देखि नै पूर्वी क्षेत्रमा सक्रिय थिए। अंग्रेज विरुद्धको युद्धमा उनी पूर्वी मोर्चामा तैनाथ थिए।

त्यस वेला पूर्वमा ठूलो युद्ध भने भएन। अंग्रेज कमान्डर मेजर लेटर एक हजार पाँच सय सैनिक लिएर मोरङको सिमानामा आइपुगेका थिए।

जितागढी, पर्सा र समनपुरको युद्ध जितेको खबर सुनेपछि विजयपुर र इलामतिर रहेका गोरखाली सैनिकहरूमा पनि उत्साह छाएको थियो।

त्यसैले शत्रुले सिमाना पार नगर्दै इलामतिर ५०० सैनिक लिएर बसेका काजी भण्डारीले राति तुरुन्तै आक्रमण गरे। तर, शत्रुलाई हटाउन नसक्ने देखेर आधा घण्टापछि नै उनले आफ्ना सेना फर्काए।

यो छोटो समयको युद्धमा दुवैतिर धेरै क्षति हुन पाएन (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ८४-वैशाख २०५०:२४)।

विसं १८४८ मा काजी बख्तावरसिंह बस्नेतले कीर्ति राखेको उल्लेख गरिएको चैनपुरको शिलालेख। स्रोतः अर्जुनबाबु माबुहाङ (बायाँ)। विसं १८७९ मा कोतशाला स्थापना गरिएको भन्ने बेहोरा परेको काजी जसपाउ थापाको शिलालेख। स्रोतः सन्तबीर लामा (बीच)। विसं १८८१ को भीमसेनस्थानमा राखिएको शिलालेख। स्रोतः मनोजनारायण श्रेष्ठ (दायाँ)।

बहादुर भण्डारीपछि काजी जसपाउ थापा धनकुटाको प्रशासकको रूपमा सक्रिय भए। सैन्य र सामरिक दृष्टिकोणले धनकुटालाई उनले केन्द्र बनाएको निशान भगवतीस्थानमा ठड्याएको शिलालेखले पुष्टि गर्छ।

विसं १८७९ असार सुदी १० रोज ६ को शिलालेखमा यस क्षेत्रमा कोतशाला बनाएको उल्लेख छ। कोतशाला भनेको सैनिक हातहतियार भण्डार, उत्पादन र मर्मत गर्ने केन्द्र हो। खलंगा पनि भनिने यो ठाउँ त्यस वेला पूर्वी नेपालको सामरिक केन्द्र थियो।

त्यसैले यहाँ सेनाको जङ्गी निशानलाई पूजा गर्ने चलन चलेको हो। जसपाउपछि बालनरसिंह कुँवर धनकुटा गौंडाको प्रशासक भए।

यस ठाउँभन्दा अघि कुरुले ठूलो महत्त्‍वको सामरिक केन्द्र थियो। अभिमानसिंह बस्नेत र पारथ भण्डारीहरू विजयपुर दखल गरी कुरुलेको गढीको बाटो हुँदै उत्तरतिर गएका थिए।

पृथ्वीनारायण शाहले विसं १८३१ असोज वदी ३० रोज ४ मा उनीहरूलाई लेखेको पत्रमा ‘चौदंड महा गढि तुल्याउनाको विस्तार औ कुह्रिल्याबाट फौज हिड्याको...’ भन्ने छ (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी, २०६१:४३१)।

राजेन्द्र राई लगायत नौपगरी आठपहरिया राईहरूले लिम्बू सरह जिम्मेवारी पाएको विसं १८७७ को रुक्का (स्रोतः भगिराज इङनाम)।

धनकुटामा केन्द्रबाट पहिले काजी र पछि राणाकालमा जर्नेल-कर्णेल तहका कर्मचारी प्रशासक बनेर खटाइन्थे। तीमध्ये अधिकांश राणाहरू हुन्थे। तर, परम्परा अनुसार भने यहाँका आदिवासी आठपहरिया पगरीहरूले स्थानीय प्रशासन सञ्चालन गर्थे।

इतिहासकार भगिराज इङ्नामले प्रकाशित गरेको एक रुक्कामा राजेन्द्र राई र नौपगरीलाई राज्यले दिएको जिम्मेवारीका बारेमा उल्लेख छ। विसं १८७७ मंसीर सुदी ४ रोज २ मा लेखिएको रुक्कामा उनीहरूलाई १० लिम्बू सरह धनकुटा, साधन्या (सान्ने?), हिले र किन्ताङ क्षेत्रको जिम्मेवारी तोकिएको छ।

तर, बराल (२०६१:७) मा हातले सारेर राखिएको कागजको आधारमा यो रुक्का पाउनेको नाम राजेन्द्र राईको ठाउँमा गजेन्द्र राई र रुक्का जारी गरिएको विसं १८७७ को ठाउँमा विसं १८७२ उल्लेख गर्न पुगेका छन्। यसको सक्कल रूप यो लेखसँगै प्रकाशित गरिएको छ।


https://www.himalkhabar.com/news/135150?fbclid=IwAR2xf0Zh904T5HVL6JZIxTegeqnUyHqNEEdyzi5YiWq3owf0JGINnXyDyJE


Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि