ऐतिहासिक महत्वका गढीहरुको संरक्षण गर्न आवश्यक छ : प्रधानसेनापति शर्मा

 

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button
ऐतिहासिक महत्वका गढीहरुको संरक्षण गर्न आवश्यक छ : प्रधानसेनापति शर्मा

हेटौँडा : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ऐतिहासिक र पुरातात्विक महत्वका गढीहरुको संरक्षण आवश्यक रहेको बताएका छन्। बुधवार भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले यस्ता गढीको संरक्षणका लागि नेपाली सेना आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको समेत बताए।

प्रधानसेनापति शर्माले तत्कालीन समयमा देशको रक्षा गर्न बनाइएका गढीहरु नेपालको इतिहाससँग जोडिएको भन्दै सबैले संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले ऐतिहासिक चिसापानी गढी संरक्षणमा स्थानीय तहले अग्रसरता देखाएकोमा खुशी प्रकट गरे।

देशको भौगोलिक सीमा रक्षार्थ बनाइएका गढीहरु नेपाली सेनाको इतिहाससँग समेत सम्बन्धित रहेको भन्दै उनले विभिन्न स्थानमा रहेका यस्ता गढीको संरक्षणमा सेनाले आवश्यक भूमिका निर्वाह गर्ने बताए। उनले गढी परिसरमा राष्ट्रिय झण्डा झण्डोत्तोलनसमेत गरेका छन्।

त्यस्तै, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लगानीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी ऐतिहासिक गढीको संरक्षण तथा पूर्वाधार निर्माण गर्न लागिएको बताए। कुल २८ करोड रुपैयाँको गुरु योजनासहित अघि बढाइएको उक्त आयोजनाको लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरिएको अध्यक्ष लामाको भनाइ छ।

निर्माण कार्यका लागि गएको कात्तिक ७ गते निर्माण व्यवसायी कम्पनी अनक/माउन्टेन/गोले जेभीसँग ३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए। चालु आर्थिक वर्षमा बास्तुकलायुक्त प्रवेशद्वार तथा चिसापानी गढी क्षेत्रको करिब ४ बिगाह क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनर्निर्माण तथा संरक्षण, सुरक्षागार्ड घर र टिकट घर निर्माण तथा सरसफाइको काम सम्पन्न गरिने उनले बताए।

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट करिब २९ किलोमिटर उत्तरमा पर्ने चिसापानीगढी मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीभन्दा केही माथि र देउराली डाँडाको मुनि रहेको छ। नेपाल एकीकरणको अभियान तथा अंग्रेजहरुको उपनिवेश विरुद्धको युद्धहरुमा प्रयोग हुँदै आएको सो गढी पछि काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रुपमा प्रयोग हुँदै आएको थियो। विगतमा भारतबाट नेपाल प्रवेशको मुख्य नाकाको रुपमा सो गढी प्रयोगको क्रममा अध्यागमन, नेपाल-भारतको व्यापारिक केन्द्रको रुपमा प्रयोग भइआएको थियो।

विसं २०१८ सालपछि भने सो गढी ओझेलमा परेको अध्यक्ष लामाले बताए। चिसापानी गढी प्राकृतिक वातावरणले पनि रमणिय रहेको छ। ऐतिहासक बडाहाकीमको भवन, पुरानो भीमफेदी कारागार, बटुक भैरवको मन्दीर चिसापानी गढीको मुख्य आकर्षणको केन्द्रको रुपमा रहेको अध्यक्ष लामाले बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, पालिका उपाध्यक्ष पार्वती रानालगायतको उपस्थिति रहेको थियो।

चिसापानी गढीमा देशकै चर्चित काली तोप

चिसापानी गढीमा देशकै चर्चित काली तोप रहेको छ। देशकै चर्चित ३ वटा तोपमध्ये २ वटा तोप अझै पनि त्यही भेटिन्छ। त्यतिबेला युद्धमा प्रयोग भएको काली तोप, लाली तोप र आकाशे तोप देशकै चर्चित तोपहरु हुन्।

लाली तोप गोरखा दरवारमा राखिएको छ भने काली र आकाशे तोप चिसापानी गढी भित्रै रहेका छन्। इतिहास हेर्ने हो भने काली तोप एक पटक मात्रै पड्काइएको छ।

तोप पड्काउँदा ठूलो आवाज र कम्पनका कारण सो क्षेत्रका गर्भवती महिला तथा पशुपन्छीको गर्व खेर जाने भएकालेले तोप पड्काउन निषेश गरिएको जानकारहरु बताउँछन्। काली तोपको विस्फोट क्षमता भारतको रक्सौलसम्म रहेको बताइन्छ।

चिसापानी गढीभित्र रहेको बटुक भैरव मन्दिरभित्र अर्को आकाशे तोप राखिएको छ। नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले प्रयोग गरेको सो तोपले आकाशतर्फबाट भङ्ज्याङ तथा खोचबाट आएका सत्रुहरुमाथि प्रहार गर्ने गरिएको थियो।

यतिबेला सो तोप बटुक भैरवको मुर्तिसँगै राखेर पूजा गरिँदै आएको छ। पृथ्वीनारायण शाहले मकवानपुर विजयपश्चात सो तोप शिल गरेर कोठाभित्र राखेको बताइन्छ। सो क्षेत्रमा साना ठूला गरी ७ वटा तोपहरु राखिएको छ।

युद्धकालिन समयमा प्रयोग भएका तोपहरु जीर्ण अवस्थामा रहेका छन्। तोपमा खिया लागेको अवस्था छ भने तोपका गोलाहरु यत्रतत्र छरिएको अवस्थामा रहेका छन्।

त्यस्तै, चिसापानी गढी किल्लाको निर्माण वैज्ञानिक आधारमा भएको छ। किल्लाभित्रबाट पानी र थप हतियार ल्याउन सुरुङ तयार गरिएको छ। सुरुङमा भर्‍याङ खुड्किला बनाउँदा सहज हुन्छ भन्ने सोचिएको देखिन्छ।

सो क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको कार्यले राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा ऐतिहासिक चिसापानी गढीमा पर्यटकलाई आकर्षण गर्न सहयोग पुग्ने पालिकाले विश्वास लिएको छ।

https://pahilopost.com/content/20211103203104.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि