अन्तर्वार्ता : प्रज्ञा-प्रतिष्ठानलाई सबै भाषाभाषीको साझा थलो बनाउँछु: कुलपति राई

 हिमालखबर बिहीबार, ४ फागुन, २०७९

फागुन ४ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका नेपाल प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त कुलपति भूपाल राईसँग हिमालखबरले गरेको संक्षिप्त संवादः



नेपाल प्रज्ञा-प्रतिष्ठानका अघिल्ला परिषद्हरू गठन हुने वेलामा र त्यसपछि वा अघि पनि यसका गतिविधिलाई लिएर तपाईं आलोचनात्मक देखिनुहुन्थ्यो। यस पटक आफैं कुलपति नियुक्त हुनुभएको छ। यो यात्रा कसरी सम्भव भयो?


नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा, साहित्य, संस्कृतिकै सर्वोच्च स्थान हो। योग्यता र योगदानको आधारले त्यसमा म स्वाभाविक दाबेदार नै थिएँ। जनताको करले चल्ने प्राज्ञिक सत्ता हो यो। प्राज्ञिक अध्ययन, अनुसन्धान हुने ठाउँमा म पुग्न नहुने के थियो र? सबै पुग्दा म पुग्न नहुने केही पनि थिएन।

दोस्रो, प्रज्ञा-प्रतिष्ठानप्रति मेरो पहिलादेखि असहमति थिएन। म विरोधी पनि थिइनँ। गर्नैपर्छ, यो निरन्तर प्रक्रिया हो भन्ने नै थियो। गणतन्त्र नेपालको बहाली भइसकेपछि राज्यसत्ताका सबै अवयवहरू पुनःसंरचनाको दिशातिर जानुपर्छ भन्ने मेरो भनाइ थियो। प्रज्ञा-प्रतिष्ठान पनि त्यही मार्गमा जानुपर्छ र सबै हिसाबले पुन:संरचना हुनुपर्छ भन्ने मेरो मत थियो।

गणतन्त्रको युगसापेक्ष जनताले चाहे जस्तो यसको पनि गठन हुनुपर्छ भन्ने नै मान्यता थियो मेरो। मेरो असहमति थिएन। प्राज्ञिक सत्ता भनेको त देशको सफ्ट पावर (सौम्य शक्ति) हो। त्यसैले जनताको आवाजसँग जोडिएको प्राज्ञिक सत्ता निर्माण हुनुपर्छ भन्ने नै मेरो मत हो।

यसबीचमा प्रज्ञा-प्रतिष्ठान निकै विवादित भयो। ‘न प्रज्ञा न प्रतिष्ठान’ सम्म भनियो। यसको साख जोगाउन तपाईंका कस्ता योजना छन्?

पञ्चायती नजरियालाई समर्थन गर्ने, त्यसैलाई जोगाउने हिसाबले प्रज्ञा-प्रतिष्ठानले अहिलेसम्म अभ्यास गरिआएको छ। प्रज्ञा-प्रतिष्ठानलाई भाषा, संस्कृतिको सर्वोच्च थलो भनियो। नेपालमा १२३ भाषाभाषी छन्। प्रज्ञा-प्रतिष्ठानलाई ती सबै भाषाभाषीको साझा थलो बनाउने नै मेरो पहिलो योजना हो किनभने अहिलेसम्म यहाँ लगभग एकल भाषाकै अभ्यास भइआएको छ। त्यसैले सबै भाषाभाषीलाई पूर्णत: समेट्न नसके पनि त्यो मार्गतिर प्रतिष्ठानलाई लैजान्छु।

पदासीन हुँदै गर्दा कस्ता चुनौती देख्नुभएको छ?

परम्परागत हिसाबले सोच्नेहरूले अहिले पनि मैले सोचेको विषयलाई अप्रिय नै ठान्छन्। प्रगतिशीलहरूले मेरो विचारलाई अग्रगामी ठान्छन्। युगसापेक्ष हुनुपर्छ भन्ने आधारमा मैले केही योजना लिएको छु, तिनलाई प्रज्ञा-प्रतिष्ठानको कार्ययोजनामा पार्नुपर्छ, पर्छ नै। जस्तोसुकै चुनौती भए पनि अगाडि बढ्नुपर्छ।

एउटा निश्चित राजनीतिक आस्था, सक्रियता र विचारको आधारमा तपाईंको पहिचान छ। आफ्नो त्यो पहिचान र कुलपति पदको जिम्मेवारीबीच तादात्म्य कसरी कायम गर्ने सोच्नुभएको छ?

मेरो लेखन, अभियान र आन्दोलनमा बोकेका विचारकै पृष्ठभूमिका आधारमा म कुलपति हुन पुगेको हुँ। प्रज्ञा-प्रतिष्ठानमा बसेर पहिचानको मुद्दा, जनताको मुद्दा छाड्नैपर्छ भन्ने छ र? छैन नि। युगसापेक्ष जनताको आवाज प्रज्ञा-प्रतिष्ठानले नै बोक्नुपर्छ।

तपाईंको कार्यकालमा प्रज्ञामा आमूल परिवर्तनको आशा गर्न सकिन्छ?

परिवर्तनको सङ्केत भए पनि देखा पर्नेछन्। युगले मारेको सौन्दर्यशास्त्रको खोजी यहाँबाट गर्नुपर्छ। आन्दोलनको सौन्दर्यशास्त्र के हो? जनताले लडेर ल्याएको गणतन्त्रको संस्कृति के हो? गणतान्त्रिक संस्कृतिको अध्ययन गर्ने थलो हो यो, जागीर खाने ठाउँ होइन। गणतान्त्रिक संस्कृतिको खोजी मेरो अर्को लक्ष्य हो।

भूपाल राई नेतृत्वको प्रज्ञा-प्रतिष्ठानले भानुभक्त जयन्ती मनाउँछ कि मनाउँदैन?


परम्परागत रूपमा यहाँ मनाइरहिएको छ। भानुभक्तको जयन्ती पनि मान्नुपर्ने स्थिति छ। भाषा, साहित्यको हिसाबले भानुभक्तको इतिहास बिर्सन सकिंदैन। समयसन्दर्भमा त्यसलाई पनि नकार्न मिल्दैन।

उनको जन्मजयन्ती मनाउँदै गर्दा अरू नेपाली भाषा साहित्यका नयाँ-नयाँ ‘आइकन’ हरूको पनि खोजी हुनेछ। तिनको पनि जन्मजयन्ती मनाइनेछ। भानुभक्तलाई आइकन मान्ने नेपाली पनि छन्। उनलाई पनि सम्मान गर्ने हो। ती बाहेक अन्य भाषाका लेखकको खोजी पनि गर्नेछौं।

बिहीबार, ४ फागुन, २०७९, १९:०२:०० मा प्रकाशित
https://www.himalkhabar.com/news/134442

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि