इतिहास : सुवांगी अन्तर्गत गोवांगी हक

 वसन्त खापुङ 

सुवांगी अन्तर्गत गोवांगी हक


 विसं १८९२ मा राजा राजेन्द्रविक्रम शाहले मोराहाङ गाउँका भेगिदार खापुङ दिएको सुुवांगीको लालमोहर देखाउँदै फणीन्द्र खापुुङ। तस्वीरहरूः वसन्त खापुङ


तमोर खोलाका जिम्मावाल सुब्बाहरूले तिब्बतसँग सीमा जोडिएको पूर्वी उत्तर क्षेत्रका पाँच गाउँमा त्यहींका स्थानीयलाई आफू अन्तर्गत रहने गरी गोवांगी अधिकार प्रदान गरेका थिए।

वसन्त खापुङ

 
लिम्बूहरूले विजयपुर र गोरखालीबाट सुवांगी पाएर स्थानीय स्तरमा शासन सत्ता चलाएका थिए। सुवांगी पाउनेलाई सुब्बा भनी सम्बोधन गरिन्थ्यो।गोरखाली शासकबाट विसं १८३७ मा लिम्बूहरूले पहिलो पटक सुवांगी पाएका थिए। फेदाप थुमका मञ्चित राई (तुम्बाहाम्फे)ले विसं १८३७ मा वार्षिक रु.६० सिर्तोक बुझाउने गरी पहिलो पटक सुवांगी प्राप्त गरेका थिए। (लिलाबहादुर तुम्बाहाम्फे, तुम्बाहाम्फे वंशावली-२०६३)।

तर‚ सुवांगीको राजनीतिक संरचनालाई कमजोर बनाउन गोरखालीले थप व्यक्तिलाई सुवांगी अधिकार दिन थाले। विसं १८९२ मा राजा राजेन्द्रविक्रम शाहले मोराहाङ गाउँका खापुङलाई सुवांगीको लालमोहर दिए। त्यही सुवांगीबाट सुब्बा जैमान र पृथमान फुटे। सुब्बाहरूले अरूलाई अमाल गर्नु, तिरो तिरिदिनु भनी सुवांगी पट्टा गरिदिन्थे। जैमानका छोरा सुब्बा पञ्चकर्ण खापुङले पाँच जिम्मा चलाएको पाइन्छ। उनले सुब्बा बिर्बल, पर्बल, टीकासिं, रुपानसिं र सरुपसिंको जिम्मा चलाएका थिए।

सुब्बाहरूले तिब्बतसँग सीमा जोडिएको पूर्वी उत्तर क्षेत्रका पाँच गाउँ- ओलाङचुङगोला, याङमा, घुन्सा, लुङधुङ र लेलेपमा त्यहाँ बसोबास गर्ने स्थानीयलाई आफू अन्तर्गत रहने गरी गोवांगी अधिकार प्रदान गरेका थिए। तमोर खोलाका जिम्मावाल सुब्बा हंसरूप र रूपीहाङ लिम्बूले आफ्नो किपट क्षेत्रमा पर्ने उक्त पाँच गाउँको प्रशासनिक अधिकार तिब्बतबाट आएका उच्छुङ भोटियालाई दिएका थिए। गोवांगी अधिकार पाएकालाई गोवा भनिन्थ्यो।

ओलाङचुङगोलाको गाउँ।




यो प्रणाली वंशानुगत भएको पाइन्छ। एउटा गोवाको अन्त्यपछि उनको जेठा छोराले उक्त पद लिएको गरेको पाइन्छ। गोवाले त्यस क्षेत्रबाट तिरो उठाएर मालपोत तेह्रथुममा वार्षिक रु.८७३ बुझाउँथे (राजेश्वर थापा (सम्पा.), जोन्देन उक्याब स्मृतिग्रन्थ-२०७९)।

पछि राजा राजेन्द्रविक्रम शाहले विसं १८९८ मा लालमोहर जारी गरी गोवालाई जनताबाट कर असुली गर्ने र तिब्बत प्रवेश नाकाबाट भन्सार कर असुली गर्ने अधिकार दिएका थिए। लालमोहर स्थानीय तेन्डुप सोनाम उक्याबलाई सोना भोटियाको नाममा गोवांगी लालमोहर दिइएको थियो (थापा, उही)।

सोना उक्याबपछि उनकै जेठा छोरा नामग्या उक्याब गोवा भए। त्यसपछि तेन्जिङ उक्याब, ग्याञ्जेन उक्याब, लान्देन उक्याब र दोर्जो नाम्ग्या उक्याब गोवा बनेका थिए। यो प्रणाली विसं २०२४ मा अन्त्य भयो (थापा, उही)। 

सुुब्बा पञ्चकर्ण खापुुङले थप पाँच सुुवांगी जिम्मा चलाएको देखाउने कागज।



सुवांगी प्रणाली नयाँ सुब्बा बन्न पाउने हक थियो। गोवांगीमा भने त्यस्तो भएको पाइँदैन। एक जना गोवाको अन्त्यपछि उनकै जेठा छोरा गोवा भएको पाइन्छ। लालमोहर, प्रशस्तिमै, रुक्कामा गोवांगीबारे उल्लेख भएको पाइन्छ। ती दस्तावेजमा वलाङचुङ (ओलाङचुङ?) भन्ने ठाउँ पनि उल्लेख भएको छ। विसं. १८८८ अषाढ वदी १३ रोज ५ मा जारी गरिएको कस्य रुक्कामा अरुण पूर्व मेची पश्चिम भनी भोटका गोवा भनेर सम्बोधन गरिएको छ। (भगिराज इङ्नाम‚ लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह-२०७७)।

विसं १९१२ कार्तिक वदी १० रोज २ मा जारी भएको लालमोहरमा संवत् १९११–१२ मा नेपाल-भोट युद्ध हुँदा पूर्वी नाका ओलाङचुङबाट पनि नेपालले आक्रमण गर्‍यो। त्यस वेला जंगी खजाना तथा रसदपानी बोक्ने भरियाहरूको बन्दोबस्त सुब्बाहरूले गरेको उल्लेख छ। यसले पनि उक्त क्षेत्र लिम्बू सुब्बाहरूको किपट क्षेत्र रहेको र सुवांगी अन्तर्गत गोवांगी रहेको देखाउँछ।

विसं १९१३ वैशाख सुदी ५ रोज २ मा जारी रुक्कामा पोक्लाबाङ तेह्रथुमका सुब्बा असारसिंले ओलाङचुङगोलामा भरिया पठाएको उल्लेख छ। युद्धको सहयोगका लागि उनले आफ्नै खर्चमा भरिया बन्दोबस्त गरेको देखिन्छ (इङ्नाम, उही)।

१८८८ सालमा गोवा सम्बोधन गरी दिइएको रुक्का (दायाँ) र तत्कालीन थुमहरूका प्रशासकहरू मातहत रही काम गर्नुपर्ने निर्देशन दिइएको रुक्काको उतार (बायाँ)।


गोवांगीबारे सन् १८४८ मा सुदूर पूर्वी हिमाली क्षेत्रमा पुगेका बेलायती वनस्पतिविद् जोसेफ डाल्टन हूकरको अनुभव उल्लेखनीय छ। तत्कालीन श्री ३ जंगबहादुर राणाबाट अनुमति लिएर त्यहाँ पुगेका हूकरलाई गोवाले वेलावेला दुःख दिने गरेको उनले उल्लेख गरेका छन्। गोवाले हल्का रातो रङको ऊनी वस्त्र‚ सफा बाक्लो र आकर्षक सेतो टोपी लगाएका‚ औंलामा मोती र मुगाजडित औंठी लगाएका‚ कानमा पनि मोती र मुगा जडिएको मुन्द्रा लगाएका, देब्रे हातको बूढी औंलामा हात्तीको दाँतबाट बनेको च्याप्टे औंठी लगाएको हुकरले उल्लेख गरेका छन्। यस्ता गहना लगाउनु त्यो वेला विशिष्टताको सूचक मानिने गरेको उनले उल्लेख गरेका छन्। (जोसेफ डाल्टन हूकर, अनुः हस्त गुरुङ, कञ्चनजङ्घा जुहार-२०७९)।

यस पङ्क्तिकारसँग भएको कस्य रुक्काको नक्कल उतारमा गोवालाई सम्बोधन गरिएको छ। उक्त रुक्कामा तत्कालीन प्रशासनिक तह थुमहरूका प्रशासकहरूको जिम्मेदारीमा गोवाले आफ्नो भूक्षेत्रमा नेपालको कानून परिपालना गर्नुपर्ने उल्लेख छ।

सन् १९५९ चीनले तिब्बतमा आक्रमण गरी आफ्नो कब्जामा लिएपछि धेरै खम्पाहरू ओलाङचुङगोला आए। उनीहरू जरीटारमा क्याम्प खडा गरी बसे। तिब्बतीहरू उत्तरी सिमानाबाट प्रवेश गरेपछि उक्त समस्या समाधानका लागि श्री ५ को सरकारले रक्षा सचिव उपरथी क्षेत्रविक्रम राणाको अध्यक्षतामा २०२१ साल असार ३१ गते ‘उत्तरी इलाका समिति’ गर्‍यो। उक्त समितिको सुझाव अनुसार ओलाङचुङगोलाको लुङधुङमा विसं २०२२ पुस १५ गते कार्यालय स्थापना गरी प्रमुख सेनानी शैलेन्द्रबहादुर महतलाई बडाहाकिम सरह सहायक अञ्चलाधीश तोकिएको तुलसीनारायण श्रेष्ठले नेपालको उत्तरी सीमा क्षेत्रीय प्रशासन पुस्तकमा उल्लेख गरेका छन्। उक्त प्रशासनिक इलाकामा प्रमुख रहेका वेला उनै महतले त्यहाँका अधिकांश भोटियाहरूलाई शेर्पा भनेर नागरिकता दिए। 

याङमा उपत्यका र याङमा खोला।


ओलाङचुङगोलाको स्थलगत अध्ययन गर्दा गोवाको प्रतिनिधित्व तल्लो क्षेत्रमा मझियाले गर्ने गरेको स्थानीयले बताएका थिए। तमोर नदीको छेउमा गोवाटार भनिने मैदान मझियाको भव्य घर अझै देख्न सकिन्छ। मझियाले गोवाटारबाट कुत बापत ६-७ मुरी मकै गोवालाई लगिदिने गरेको स्थानीयहरूले बताएका थिए।

गोवाटारमा भेटिएका छिरिङ थुन्दुकले आफूले सानोमा गोवालाई देखेको यस पङ्क्तिकारलाई सुनाएका थिए। गोवा ओलाङचुङगोलाबाट आफ्ना सहयोग सहित घोडामा आउने गरेको र उनीहरूको घोडालाई स्थानीयले घाँस काट्नुपरेको छिरिङले त्यस वेलाको स्मरण गरेका थिए। गोवाले गोवांगी क्षेत्रको मालपोतको तिरो बुझाउन तेह्रथुम माल अड्डा म्याङलुङ झर्ने गरेको छिरिङले बताएका थिए। विसं २०२२ मा लुङधुङमा कार्यालय स्थापना भएपछि तेह्रथुम जान छाडे।

विसं २०२८ मा लुङधुङमा रहेको सरकारी कार्यालय बन्द भयो। त्यसपछि उक्त जग्गा गोवाको नाममा रहेन‚ राष्ट्रियकरण गरियो। ओलाङचुङगोलामा रहेको गोवाको घर तमोर नदीको बाढीले बगाएको रहेछ। अहिले त्यस क्षेत्रमा करीब ५३ घर रहेछ। आर्थिक रूपमा सबलहरू त्यहाँबाट बसाइँ सरेको स्थानीयहरू बताउँछन्।

(खापुङ इतिहास अध्ययनमा रुचि राख्छन्।)

मंगलबार, १६ फागुन, २०७९, १४:२१:०० मा प्रकाशित
https://www.himalkhabar.com/news/134583





Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि