समान अधिकारको मागसहित माइतीघरमा बिगेसोको प्रदर्शन

 गणेश राई

काठमाडौँ — ब्रिटिस गोर्खा सैनिकअन्तर्गत भर्ती भएका सिंगापुर पुलिस फोर्सलाई समान अधिकार दिनुपर्नेलगायत मागसहित प्रदर्शनमा उत्रिएका छन् । 
ब्रिटिस-गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज्‌ विभागले बिहीबार काठमाडौंको माइतीघरमा आफ्ना मागलाई लिएर प्रदर्शन गरेको हो ।

ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज् विभागले बिहीबार काठमाडौंको माइतीघरमा गरेको सभा र प्रदर्शनीमा सहभागीहरू । तस्बिर : गणेश राई/कान्तिपुर

‘हामी ब्रिटिस गोर्खा नै हो, बेलायतले भर्ती गरेर सिंगापुर लगिएका हौं,’ बिगेसोका सभापति पदमसुन्दर लिम्बुले भने, ‘हामी सिंगापुर सरकारको मातहतमा छैनौं । तर सिंगापुरका सैनिकसरह हामी गोर्खाहरूको तलब, सेवा सुविधा छैन । प्रतिफलस्वरुप न्यायका निम्ति चरणबद्ध आन्दोलनमा छौं ।’ 

बिगेसोले गत जेठ २५ गते पत्रकार सम्मेलन गरी १६ बुँदे मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ । त्यसपछि रत्नपार्कदेखि लैनचौरस्थित बेलायती दूतावासम्म जुलुस प्रदर्शन गर्दै आफ्ना मागबारे ध्यानाकर्षण पत्र बुझाएको थियो । बेलायत सरकारले एउटै भर्ती, तालिम दिएर सिंगापुर लगिएका गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स र तिनका परिवारलाई समान व्यवहार गर्नुपर्ने माग राख्दै आएको जनाएका छन् । सिंगापुरका प्रहरीले पाउने सरहको तलब सुविधा पाउनु पर्ने, बेलायतमा आवासीय सुविधा, विधवा पेन्सनलगायत सुविधा दिनुपर्ने भनेका छन् । ब्रिटिस गोर्खा र तिनका परिवारले यसअघि नै बेलायतमा आवासीय सुविधा पाइसकेका छन् ।

विगत ७३ वर्षदेखि सिंगापुर गोर्खा भर्तीको क्रम जारी छ । ब्रिटिस गोर्खा र सिंगापुर पुलिसका निम्ति बेलायतले लिँदै आएको छ । एकैसाथ हुने भर्तीमा ब्रिटिस आर्मी र सिंगापुर पुलिस भनेर भर्ती गर्ने गरिन्छ । बेलायतले नेपाल सरकारसँग कुनै सन्धि सम्झौता गरेको छैन । विज्ञले यसलाई गैरकानुनी र मानव अधिकारविरुद्ध रहेको बताएका छन् । अन्याय र चर्को विभेद भएको बिगेसोको ठहर छ । ‘हामीप्रति बेलायत, नेपाल र सिंगापुर को जिम्मेवार छ भन्ने अन्योल छ,’ बिगेसो सिंगापुर विभाग प्रमुख पलबहादुर घर्तीमगरले भने, ‘तसर्थ हाम्रो पहिचान के हो भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

बिगेसोले सिंगापुर प्रहरीमा काम गर्ने गोर्खाहरूले पाउने तलब, भत्ता, पेन्सन र अन्य सुविधाहरू सिंगापुरका नागरिकले पाउनेभन्दा धेरै अन्तर रहेको जनाएको छ । ‘एउटै संस्थामा एकै प्रकृतिका काम गर्ने दुई देशका नागरिकले पाउने तलब, भत्ता, पेन्सन र अन्य सेवा सुविधाबीच यस्तो अन्तर हुनु अत्यन्त दुःखद् पक्ष हो,’विज्ञप्तिमा छ, ‘सिंगापुर प्रहरीमा सेवारत रहँदासम्म हामी गोर्खा प्रहरीहरूका श्रीमती र उमेर पुगेका हाम्रा छोराछोरीहरूले उनीहरूको योग्यताअनुसार सिंगापुरमा कुनै काम गर्न पाउँदैनन् । सिंगापुर गोर्खाका विधुवाहरूलाई पेन्सनको सुविधा छैन ।’ यसैगरी सेवा अवधिकै बेला दुर्घटनामा परी वा वा स्वास्थ्यका कारण सेवाबाट बिदा दिएर नेपाल फर्काइएका सिंगापुर गोर्खाहरूलाई पेन्सन र क्षतिपूर्तिको कुनै व्यवस्था नरहेको जनाइएको छ । 

‘१९४७ को त्रिपक्षीय सन्धिको जीटुजी वार्तामा सिंगापुर गोर्खाहरूको विषयमा छलफल र सम्बोधन गरियोस्,’ बिगेसोले भनेको छ, ‘गोर्खाहरू बिक्रीका वस्तु होइनन्, ब्रिटिस सरकारले सिंगापुरलाई गोर्खाहरूको बिक्री बन्द गर ।’ प्रदर्शनकारीले ‘सिंगापुरमा जन्मिएका गोर्खाका छोराछोरीहरूलाई जन्मसिद्ध अधिकार देऊ,’ ‘१९४७ को असमान र विभेदकारी त्रिपक्षीय सन्धि खारेज गर,’‘नेपाल सरकार, सिंगापुर गोर्खाहरूलाई परेको विभेद र अन्याय अन्त्य गर्न कूटनीतिक पहल खै’ जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सभामा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बेलायतले ब्रिटिस गोर्खा भर्तीका नाममा सिंगापुर र ब्रुनाईलाई मानव पुनःबिक्री गर्ने काम गरेको बताए । ‘अब नेपालले सिंगापुर, ब्रुनाईसँग प्रत्यक्षरूपमा छुट्टाछुट्टै वार्ता र सम्झौता गरेर युवा शक्तिलाई भर्ती गराउनु पर्ने बताए,’ सन् १९४७ को त्रिपक्षीय सन्धि पुरानो भएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘अब सबै गोर्खाहरूको अभिभावक भएर नेपाल सरकारले पहल गर्नुपर्छ । संसारभरिको गोर्खालाई समान सेवा सुविधा दिइनुपर्छ ।’

समाजशास्त्री प्राध्यापक ओम गुरुङले नेपाल सरकारले ब्रिटिस गोर्खाहरूको मुद्दाबारे कूटनीतिक पहल गर्न चुकेको बताए । ‘सिंगापुर पुलिसमा भर्ती कुनै सन्धि सम्झौतामा पर्दैन त्यसैले हाम्रो सरकार उदासिन हुन गैर जिम्मेवारीपन हो,’ उनले भने ।

यसैगरी पूर्वसांसद परि थापा, मानवअधिकारवादी प्राध्यापक कपिल श्रेष्ठ, राजनीतिज्ञ सीताराम तामाङलगायतले बिगेसोको जायज मागप्रति सरकार गम्भीर भएर समस्या समाधान गर्न कूटनीतिक पहल गर्नुपर्ने बताएका थिए । 

प्रकाशित : भाद्र १६, २०७९ १५:५७

https://ekantipur.com/news/2022/09/01/166202714053154345.html 

 

 

 

 

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि