बेलायती दूतावाससमक्ष बिगेसोको १६ बुँदे माग

 गणेश राई

काठमाडौँ — ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज् विभागले सिंगापुर पुलिससरह समान कामको समान ज्याला पाउनु पर्ने माग गरेको छ । आफ्ना १६ बुँदे मागलाई लिएर शुक्रबार काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासमा बिगेसोले ज्ञापनपत्र बुझाएको हो । सिंगापुर प्रहरीमा काम गर्ने गोर्खाहरूले पाउने तलब, भत्ता, पेन्सन र अन्य सुविधाहरू सिंगापुरका नागरिकले पाउनेभन्दा धेरै अन्तर रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर
‘एउटै संस्थामा एकै प्रकृतिका काम गर्ने दुई देशका नागरिकले पाउने तलब, भत्ता, पेन्सन र अन्य सेवा सुविधाबीच यस्तो अन्तर हुनु अत्यन्त दु:खद् पक्ष हो,’ विभेदबारे भनिएको छ, ‘सिंगापुर प्रहरीमा सवोरत हुँदासम्म हामी गोर्खा प्रहरीहरूका श्रीमती र उमेर पुगेका हाम्रा छोराछोरीहरूले उनीहरूको योग्यताअनुसार सिंगापुरमा कुनै काम गर्न पाउँदैनन् । सिंगापुर गोर्खाका विधुवाहरूलाई पेन्सनको सुविधा छैन ।’

७३ वर्षदेखि सिंगापुर गोर्खा भर्तीको क्रम जारी रहेको तर बेलायत र सिंगापुर सरकारबाट अन्याय र चर्को विभेद भएको बिगेसोको ज्ञापनपत्र उल्लेख छ । ‘सिंगापुरसँग नेपाल सरकारको कुनै सन्धि सम्झौताबिना अहिलेसम्म बेलायत सरकारले हामीलाई सिंगापुरका लागि भर्ती पठाएको छ,’ ज्ञापनपत्रमा छ, ‘तर हामीप्रति बेलायत, नेपाल र सिंगापुर को जिम्मेवार छ भन्ने अन्योलता छ । तसर्थ हाम्रो पहिचान के हो भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

ब्रिटिस गोर्खा र सिंगापुर पुलिसलाई बेलायतले नै भर्ती गर्दै आएको छ । तर सिंगापुर पुलिसमा भर्ती गरिएकाहरू सिंगापुर सरकारको मातहतमा छैनन् । र सिंगापुरका सैनिकसरह गोर्खाहरूको तलब सेवा सुविधा नरहेको बिगेसोले जनाएको छ । बेलायतले ब्रिटिस गोर्खा र तिनका परिवारलाई आवासीय सुविधा दिएकाले गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स र तिनका परिवारलाई पनि आवासीय सुविधा दिइनु पर्ने बिगेसोको माग छ ।

यसैगरी सेवा अवधिकै बेला दुर्घटनामा परी वा स्वास्थ्यका कारण सेवाबाट बिदा दिएर नेपाल फर्काइएका सिंगापुर गोर्खाहरूलाई पेन्सन र क्षतिपूर्तिको कुनै व्यवस्था नरहेको जनाइएको छ ।

बिगेसोका सभापति पदमसुन्दर लिम्बुको नेतृत्व टोलीले रत्नपार्कदेखि लैनचौरसम्म मौन जुलुस प्रदर्शन गरेर दूतावासका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाएको थियो । टोलीमा बिगेसो सिंगापुर विभाग प्रमुख पलबहादुर घर्तीमगर, महिला समिति संयोजक सुलोचना गुरुङ, वरिष्ठ सल्लाहकार ओम गुरुङ, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वसांसद परी थापालगायत सहभागी थिए । आफ्ना मागलाई सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने सभापति लिम्बुले बताए ।

प्रकाशित : असार ३, २०७९ २१:५४

https://ekantipur.com/news/2022/06/17/165548186053694967.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि