भाषा संस्कृति उत्थान समावेशिताबाट

 कान्तिपुर संवाददाता

काठमाडौँ — प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइँलाले समावेशिता नभए मुलुकका सबै जातजातिलाई न्याय गर्न गाह्रो हुने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको मातृभाषा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि उनले उक्त अभिव्यक्ति दिएका हुन् ।

८२ वर्षीय काइँला गत असारमा मस्तिष्कघात भएपछि सोमाबार पहिलो पटक सार्वजनिक समारोहमा सहभागी भएका हुन् । सरकारले २०५० मा काइँलाको अध्यक्षतामा राष्ट्रिय भाषा नीति सुझाव आयोग गठन गरेको थियो । साहित्यकारको पक्षबाट उनले २०६२/६३ जनआन्दोलनमा अगुवाइ गरेका थिए । ‘बहुलवादी समाज, बहुजातीय, बहुसांस्कृतिक छ । समाजमा असन्तुलन, अमेल, भेदभाव छ । यो आर्थिक, राजनीति कारण मात्रै होइन । सांस्कृतिक पृष्ठभूमि ठूलो छ । सांस्कृतिक भेदभाव ठूलो छ,’ उनले भने, ‘त्यसलाई हामी भाषा सेवामा लागेकाहरूले ध्यानमा राखेर अगाडि बढ्नुपर्छ । हामीले सम्पूर्णता लेख्नुपर्छ । सम्पूर्णता भनेको त्यो चीज हो, जहाँ कुनै चीज पनि बाहिर परेको हुँदैन । एउटा चीज बाहिर परेमा त्यो सम्पूर्णता नै हुँदैन । त्यही चीजलाई साहित्यमा लिएर अगाडि बढ्नुपर्छ ।’

मातृभाषाको शिक्षासम्बन्धी आयोग बन्यो । भलै त्यो आयोगको सिफारिस सरकारले कार्यान्वयनमा ल्याएन तर जागरण ल्यायो । भाषाबारे अध्ययन, अनुसन्धान भयो । कति भाषा बोलिन्छन्, कति लोपोन्मुख छ । संविधान कानुनले मातृभाषामा शिक्षा दिने गत वर्ष मात्र संसद्ले ऐन पास गर्‍यो । नेपाली र अंग्रेजी कुनै पनि माध्यमबाट पढ्न सकिन्छ भनेर मातृभाषाभित्र नेपालमा बोलिने खस–नेपालीबाहेक सबै भाषा पर्छन् । अब औपचारिक शिक्षामा जोड दिन जरुरी रहेको भनाइ उनले राखे ।

समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले सोमबार काइँलालाई एक लाख रुपैयाँ राशिको पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रकाशित : फाल्गुन १०, २०७८ ०७:५७https://ekantipur.com/literature/2022/02/22/164549597511942499.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि