कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना

 गणेश राई

काठमाडौँ — कोरोनाका कारण स्थगित १२औं राष्ट्रिय जनगणना आगामी मंसिर ९ गतेभित्र सम्पन्न हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेसँगै बाटो खुलेको हो । कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना हुनेछ ।

विभागले जनगणना कार्यमा खटाउन यसअघि नै अनलाइनबाट सुपरिवेक्षक र गणकको आवेदन लिइसकेको छ । यसअघि छनोट गरिएका ८ हजार सुपरिवेक्षकलाई पुन:नियुक्ति गर्ने र लगत्तै भदौ २७ र २८ गते केन्द्रीय स्तरमा तालिम दिइनेछ । तालिमपछि सुपरिवेक्षकलाई २० दिनसम्म घरपरिवार सूचिकरणमा खटाइनेछ ।

असोजभित्र ३९ हजार गणक छनोट गरी कात्तिक १३ गतेबाट चारदिने तालिम दिइनेछ । जनगणना कार्यको पहिलो चरणमा प्रत्येक घरमा एकजना सुपरिवेक्षक खटिने र घरमुलीलाई भेटेर उनीहरुले विवरण लिनेछन् । त्यसैगरी दोस्रो चरणमा गणकले घरमुलीलाई भेटेर विवरण भर्ने छन् ।

विभागका निर्देशक ढुण्डिराज लामिछानेले प्रस्तावित तालिका पास भएसँगै जनगणना कार्य प्रक्रियाले निकास पाएको बताए । ‘देशभरिको ८७ वटा जनगणना कार्यालय तैनाथ छन्,’ जनगणना तयारीको काम निरन्तर रहेको उल्लेख गर्दै लामिछानेले भने, ‘जनगणना कार्यालयबाट आवश्यक जनशक्तिलाई सम्पर्कमा राखेकै छन् । तालिकाअनुसार अविलम्ब काम सुचारु रहने छ ।’ जनगणना कार्यमा खटिने जनशक्तिलाई अग्रिम कोभिडविरुद्ध खोपको व्यवस्था गरिनेछ ।

यसअघि जेठ २५ गतेबाट असार ८ गतेभित्र मिति तोकिएको थियो तर वैशाख १६ गतेबाट लकडाउन भएपछि मन्त्रिपरिषद्ले स्थगित गर्ने निर्णय गरेको थियो । यो जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछिको पहिलो जनगणना भएकाले वडास्तरको तथ्यांक लिइने जनाइएको छ । यो पटक ‘मेरो जनगणना, मेरो सहभागी’ नारा रहेको छ ।

विभागले यसअघि नै जनगणनामा सोधिने प्रश्नावली छपाई गरी सम्बन्धित जनगणना कार्यालयमा पुर्‍याएको छ । जनगणनामा खटाइने सुपरिवेक्षक, गणक र कर्मचारीका निम्ति प्रश्नावली, झोला, छाता, क्यापटोपी, टर्च, मार्कर, डटपेन लगायत सामग्री तयार पुर्‍याइसकेको छ । पछिल्लो पटक जोडिएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना कसरी गर्ने भन्नेबारे सरकारले निश्चित गर्न सकेको छैन ।

प्रकाशित : भाद्र २१, २०७८ १९:१७https://ekantipur.com/news/2021/09/06/1630935146122741.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि