नारदमुनि थुलुङको सम्झना

 गजेन्द्रमणि प्रधान

सेयर
२३ फाल्गुन २०७६ शुक्रबार

काठमाडौंनारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हामीलाई स्कुलमाथिको बाटोमै निकालेर द्‍याट इज अ फरेस्ट, द्‍याट इज अ हिल भन्दै अंग्रेजी सिकाउँथे ।

नारदमुनि थुलुङको सम्झना

उबेला भोजपुर दिङ्लामा मात्र संस्कृत पाठशाला थियो । भोजपुर बजारमा खोलिएको स्कुलमा हामीले अंग्रेजी पनि पढ्न थाल्यौँ । स्कुलको छेउमा भन्ज्याङपाटी थियो । हामी साबुनको बाकसलाई टेबल बनाएर बस्थ्यौँ । अंग्रेजी पाठ्यक्रम नहुँदा कापीमै ए, बी, सी, डी लेखेर पढ्थ्यौँ र परीक्षा पनि त्यसैअनुसार हुन्थ्यो । पछि मात्र अंग्रेजी किताब छापिन थालेका हुन् ।


त्यसबखतको पढाइमा सोध्ने अनि जान्‍नेले नजान्‍ने लाई गालामा चड्काउने चलन हुन्थ्यो । म बढी जान्ने हुँदा धेरैजसोलाई गालामा चड्काएँ पनि । म पढाइमा अब्बल हुँदा कतिपय विद्यार्थी हाम्रो घरमा अंग्रेजी सिक्न आउँथे । म आफ्नै घरको पालीमा मैनबत्ती बालेर अंग्रेजी सिकाउँथेँ ।


अंग्रेजी नारदमुनि स्वयंले पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हामीलाई स्कुलमाथिको बाटोमै निकालेर द्‍याट  इज अ फरेस्ट, द्‍याट इज अ हिल भन्दै अंग्रेजी सिकाउँथे ।

स्कुलमा प्रत्येक बिहीबार सरस्वती पूजा हुन्थ्यो । उक्त पूजामा चढाउन ल्याएको सीदा हामीले नारदमुनिको घरमै दिन्थ्यौँ । स्कुलका हेडमास्टर पनि नारदमुनि नै थिए । सुरुमा ३ जना शिक्षकबाट पढाइ सुरु भएको उक्त स्कुलमा विद्यार्थी बढ्दै जाँदा अरु पनि थपिए ।

त्यसबेला शिक्षा विभागका डाइरेक्टर जनरल मृगेन्द्रशमशेर जबरा थिए । स्कुलको स्वीकृतिका लागि भोजपुरबाटै जाहेरी पठाए, नारदमुनिले । जाहेरीले काम नदिएपछि आफैँ काठमाडौँ आए ।


काठमाडौँमा राजा/राणाका नाममा खोलिएका जुद्धोदय, पद्‍माेदय, त्रिचन्द्रलगायत स्कुल–कलेज देखेपछि नारदमुनिलाई आइडिया फुरेछ, आफूले स्थापना गरेको स्कुलको नाम जुराउने । नारदमुनिले अन्तिम स्वीकृतिका लागि उक्त स्कुलको न्वारान गरिदिए, उदय मिडिल स्कुल । यो नाममा राणा, राजा कोही पनि जोडिएका थिएनन् । कहिल्यै अस्त नहुने र निरन्तर चलिरहोस् भन्ने चाहनाकै कारण स्कुलको नाम उदय जुराएको हामीसँग बताउँथे, नारदमुनि ।

सुरुमा पल्टने साथी, भोजपुर बजारका स्थानीयको चन्दा र मुठीदानले स्कुल चलेको थियो । राणा सरकारले स्वीकृति दिएपछि उदय स्कुलले वार्षिक ६/६ सय रुपैयाँसम्म सहायता पाउन थाल्यो । स्वीकृति पाएसँगै नारदमुनिले गणेशबहादुर रोका, तुलसीप्रसाद घिमिरे र जयप्रकाशलाई पनि उक्त स्कुलमा पढाउन लगे ।


त्यसबेला नेपाली समाजमा चेतनाको स्तर न्यून र शोषण व्याप्त थियो । राजनीति शब्द उच्चारण गर्नु पनि बागी काम हुन्थ्यो । नारदमुनि ब्रिटिस सेनामै रहँदा नेपाल सरकारलाई गोर्खा भर्ती दिएबापत बेलायतले देश विकासका लागि पौने चार करोड र लडाइँबाट फर्किआएका भूतपूर्व सैनिकका छोराछोरी पढाउन ५४ लाख भारु दिँदो रहेछ । विकासका लागि नेपाललाई दिएको सहायता त राणा शासकको ढुकुटीमा जम्मा हुन्थ्यो तर फौजीका सन्तानका लागि उपलब्ध सहयोगको पनि हिसाबकिताब हुन्थेन । ब्रिटिस सेनाबाट अवकाशपछि आफ्नो जन्मथलो छिनामखु नौले गाउँ छाडेर नारदमुनि २००३ मा भोजपुर बजार झरे । भोजपुर बजार झर्नुको उद्देश्यचाहिँ जनताका छोराछोरीलाई शिक्षा दिन स्कुल खोल्नु रहेको बताउँथे । स्कुलमा अंग्रेजी पढाइ हुन थालेपछि गाई खाने विद्या ल्यायो, दुनियाँका छोराछोरी बिगार्‍यो, कामी, दमाईजस्ता कथित तल्लो जातका छोराछोरीलाई पनि एकैसाथ राखी पढाउन थाल्यो भन्दै नारदमुनि विरोधीले काठमाडौँसम्म उजुरीसमेत पठाए ।

उदय स्कुलमा ६ कक्षा पास गरेपछि म थप अध्ययनार्थ मोरङ झरेँ । मोरङमा ८ कक्षा पास गरेपछि भोजपुर टक्सारको विद्याधरी र उदय मिडिल स्कुलमा म मास्टरसमेत भएँ ।


प्रस्तुति : गोकुल अर्याल

गजेन्द्रमणि प्रधान

पूर्व जिल्ला न्यायाधीश प्रधान कानुन मन्त्रालयका सहसचिव छन् ।


https://nepalmag.com.np/memoir/2020/03/06/1583486758

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि