विश्वविधालयको पाठ्यक्रममा किराती मुन्दुम/मुन्धुम

 


images

— हरि गौतम


भोजपुर जिल्ला भोजपुर नगरपालिका वार्ड नम्बर १० साम्पाङ राई कुलमा जन्मिएका डा.भक्त राई वर्तमान समयका सकृय,सशक्त एवं प्रसिद्ध विद्वान् हुन् । भाषा, साहित्य, संस्कृति र दर्शनको क्षेत्रमा कृयाशील डा. राई हाल संस्कृति र दर्शनको क्षेत्रमा विशेष रूपमा कृयाशील छन् । यिनी आफ्नै सँस्था नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र मार्फत विभिन्न प्रकारका प्राज्ञिक अनुसन्धान गर्नुको अतिरिक्त यिनी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति विज्ञका रूपमा समेत कार्यरत छन् । यिनका विभिन्न विषयका दुई दर्जन जति पुस्तकहरु प्रकाशित छन् भने पाँच दर्जन जति विभिन्न विषयका लेखहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्र-पत्रिकाहरुमा प्रकाशित भएका छन् । यसरी नै यिनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी सेमिनारहरुमा तीन दर्जन जति विभित्र विषयका प्राज्ञिक कार्यपत्रहरु प्रस्तुत गरिसकेका छन् । यिनका यी विभिन्न प्रकारका प्राज्ञिक कार्यहरुमध्ये पछिल्लो महत्त्वपूर्ण कृति हो 'पूर्वीय दर्शन' । 'पूर्वीय दर्शन' १४ ओटा दर्शनको व्याख्या विश्लेषण गरेर दर्शन सम्बन्धी नेपाली भाषामा लेखिएको दक्षिण एसियाकै पहिलो ग्रन्थ हो । हालसम्म नेपाली भाषामा एउटै ग्रन्थमा १४ ओटा दर्शनको विवेचना गरिएको ग्रन्थ प्रकाशन भएको देखिदैन ।

'पूर्वीय दर्शन' ग्रन्थको  महत्त्वपूर्ण प्राप्तिमध्ये पहिलो प्राप्ति र उपलब्धी भनेको किरातीहरुमा मौखिक रूपमा प्रचलित मुन्दुमी/मुन्धुमी परम्परालाई समेटेर विश्वमै पहिलो पल्ट मुन्दुम/ मुन्धुमको दर्शनशास्त्रीय विवेचना गरिएको छ । वर्तमान समयमा किरातीहरुबीच मुन्दुम/मुन्धुमको व्यापक रूपमा चर्चा, खोजी र अध्ययन हुन थालेको देखिन्छ । तर उनीहरुले मुन्दुम/ मुन्धुमलाई दृष्टिबिहिनहरुले हाती छामेर आ-आफ्नो अनुसार हातीको बारे बताएजस्तै आ-आफ्नै ढङ्गले मुन्दुम/ मुन्धुमको व्याख्या विश्लेषण गर्ने गरेको देखिन्छ । यसरी नै किरातीभित्रको विभिन्न भाषिक समुदायको आआफ्नो भाषामा वर्णन गरिएका मुन्दुम/ मुन्धुमहरुमा अल्मलिइ रहेको समेत देखिन्छ । कोही चाम्लिङ भाषामा प्रचलित कोही बान्तावा कोही सामपाङ कोही कुलुङ कोही थुलुङ कोही लिम्बू तथा अन्य किराती भाषामा प्रचलित मुन्दुम/ मुन्धुमको खोजी र व्याख्या गर्दै आएको देखिन्छ ।

डा. भक्त राईले पहिलो पल्ट समग्र किरातीहरुको मुन्दुम/ मुन्धुमको सारलाई केलायर, खेलायर, निचोरेर यसभित्रको दर्शनलाई दूध र पानी छुट्याउने काम गरेका छन् । उनले सर्वप्रथम मुन्दुमी/ मुन्धुमी दर्शनलाई पूर्वीय दर्शनशास्त्रको विधि र पद्धति अनुसार अनुशिलन गरेका छन् । मुन्दुमी/ मुन्धुमी विपुल ज्ञानभण्डारलाई दर्शनशास्त्रीय आलोकमा केलायर पूर्वीय दर्शनशास्त्रको मुख्य पाँचओटा मीमाङसा (तत्त्व मीमाङसा, ज्ञान मीमाङसा, प्रमाण मीमाङसा, आचार मीमाङसा र सौन्दर्य मीमाङसा) को पद्धति र ढाँचामा विवेचना गरेका छन् । जुन कार्य हालसम्म हुन सकेको थिएन । उनले मुन्दुम/ मुन्धुमलाई पहिलो पल्ट तत्त्व मीमाङ्साको दृष्टिले व्याख्या गरेका छन् । तत्त्व मीमाङसा भनेको समग्र जीवन र जगतको तत्त्व चिन्तन वा आधारभूत तत्त्वको खोजी हो । यो चराचर जगतको निर्माण कुन तत्त्वले भएको छ? तत्त्व अर्थात पदार्थ र चेतनाबीच के सम्बन्ध छ? यसका निर्माण र विनाशका प्रक्रिया के छ? आदिको खोजी तत्त्व मीमाङसाले खोजी गर्दछ । मुन्दुम/ मुन्धुमले पदार्थको बारेमा के बताएको छ? अर्थात यो विश्व जगतको तत्त्वगत मुन्दुमी/ मुन्धुमी चिन्तन के छ ? यसको खोजी गरिएको छ । यसरी नै ज्ञान मीमाङसा अन्तर्गत मुन्दुम/ मुन्धुमले केलाई ज्ञान मानेको छ ? ज्ञानको स्रोत र आधार के हो? यसको विवेचना गरिएको छ । आचार मीमाङसा अन्तर्गत मुन्दुम/ मुन्धुमले कस्तो प्रकारको जीवनशैली र आचार विचारबारे बोलेको छ? यसको खोजी गरिएको छ भने प्रमाण मीमाङसा अन्तर्गत मुन्दुमी/ ज्ञान र स्रोतको आधार के हो? यसको प्रमाण के हो ? आदि विषयको गवेषणा गरिएको छ । सौन्दर्य मीमाङसा अन्तर्गत मुन्दुम/ मुन्धुमले अङगीकार गरेको सौन्दर्य चेतना र सौन्दर्य बोध केके हुन् ? यी विषयको ब्याख्या गरिएका छन् । समग्रमा भन्दा 'पूर्वीय दर्शन' ग्रन्थमा मुन्दुम/ मुन्धुमलाई पहिलो पल्ट दर्शनशास्त्रीय पद्धतिमा विश्लेषण गर्दै मुन्दुमी/मुन्धुमी दर्शनलाई महत्त्वपूर्ण पूर्वीय दार्शनिक चिन्तकको रूपमा उभ्याउने काम गरिएको छ जुन समग्र किरातीहरुको अकल्पनीय सफलता र प्राप्ती हो ।

पूर्वीय दर्शन भन्नाले सामान्यत: षड दर्शन जसले वेदलाई सर्वोपरि मान्छ साङ्ख्य, योग, न्याय, वैशेषक, मीमाङसा र वेदान्त र नास्तिक भनिएको जसले वेदलाई मान्दैन चार्वाक, जैन र बौद्ध गरेर यी नौओटा दर्शनलाई मात्र बुझिन्छ, बुझिन्थ्यो । तर डा. भक्त राईले मुन्दुम/ मुन्धुमलाई पनि पूर्वीय दर्शनको रूपमा स्थापित मात्रै गराएन पूर्वीय दर्शनको आलोकमा यसको प्राचीनता र महत्त्वलाई समेत उजागर गर्ने काम गरेका छन् जुन अर्को महत्त्वपूर्ण प्राप्तिको रूपमा लिन सकिन्छ । यसरी नै अध्यता डा. राईको अर्को नवीन कार्य भनेको हालसम्म कुनै पनि आदिवासी जनजाति लेखकहरुले पूर्वीय वैदिक तथा अवैदिक नौओटा दर्शनहरु (साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमाङसा, वेदान्त, चार्वक, जैन र बौद्ध दर्शन) लाई व्याख्या विश्लेषण गर्ने आँट र हिम्मत गरेको देखिदैन तर डा. राईले यी नौओटा दर्शनको मात्र होइन तन्त्र परम्परामा आधारित बोन दर्शन, चिनियाँ दर्शन तथा अन्य १४ ओटा दर्शनको समेत विवेचना गरेका छन् । जुन आफैमा अर्को महत्त्वपूर्ण प्राप्ति हो । उनले गरेको विवेचनालाई कुनै पनि वेदान्तचार्य, योगाचार्य, सन्तमहन्त तथा दर्शनविदहरुले औंला ठड्याउने हिम्मत गरेको छैन बरु उनले अत्यन्तै सरल ढङ्गले समग्र दर्शनको अनुशिलन गरेको हुँदा कतिपय विशिष्ट विद्वानहरुसमेत उनका प्रशंसक र अनुयायी भएको देखिन्छ विद्वान् डा. भक्त राईको यो अर्को महत्त्वपूर्ण उपलब्धि हो । डा. राईको अर्को महत्त्वपूर्ण विशेषता भनेको वेदान्तचार्य स्वामी प्रपन्नाचार्यले वेदलाई नै सर्वोपरी ठानेजस्तै किरात धर्मगुरु फाल्गुनन्दले आफ्ना दर्शनमा आफ्ना कतिपय कर्मकाण्ड र चिन्तनहरुमा हिन्दु धर्म र दर्शनलाई नै आत्मसाथ गरेजस्तो यिनले कुनै पनि धर्म दर्शनको पक्षमा उभिएको देखिदैन । सबै धर्मदर्शनभन्दा माथि उठेर निरपेक्ष ढङगले समग्र दर्शनको विवेचना गरेका छन् यो उनको अर्को महत्त्वपूर्ण विशेषता र विशिष्टता हो । 

यी र यस्ता अनेकौं विशेषता, प्राप्ति र प्राज्ञिकताको कारण विद्वान् डा. राईद्वारा लिखित यो 'पूर्वीय दर्शन' सुदुरपस्चिम विश्वविद्यालयको एमफिल र विधावारिधि (पिएचडी) तहको सन्दर्भ ग्रन्थको रूपमा छनौट भएको छ भने त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरुले पनि एमफिल र विधावारिधी (पिएचडी) तहको सन्दर्भ ग्रन्थका रूपमा छनौट गर्ने प्रक्रियामा छ । यो अर्को ठूलो सफलता हो । अब भने मुन्दुम/ मुन्धुमबारे विश्वकै इतिहासमा पहिलो पटक विश्वविद्यालयको उच्च तहमा बहस, छलफल र डिस्कोर्स हुनेछ । किराती समुदाय मात्र सीमित मुन्दुमी/ मुन्धुमी बहस, छलफल र अध्ययन अनुसन्धान अब भने उच्च तहका लेखक, अन्वेषक, अनुसन्धाताबीच समेत पुगेको छ ।

यो सम्पूर्ण किरातीहरुको खुसीको कुरा हो । यी सबै प्राप्ति, उपलब्धि र सफलताको लागि अन्वेषक डा. भक्त राई तथा विश्वभर रहेका सम्पूर्ण  किरातीहरुलाई हार्दिक बधाई ब्यक्त गर्दछु ।

(लेखक गौतम ओरिएण्टल प्रकाशन प्रा.लि. का सञ्चालक तथा 'पूर्वीय दर्शन' ग्रन्थका प्रमुख वितरक हुन् ।)

https://www.aajakokhabar.com/news/0406852168?fbclid

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि