अपराजेय नेता बलबहादुर राई : होमनाथ दाहाल

 २२ असार २०६७

 होमनाथ दाहाल

"यो बले राई साधारण कालगतिले मर्दैन, विशेष दुर्घटनाबाट मात्र मर्नेछ" आफ्नो मृत्युको बारेमा यस्तो मजाक गर्ने प्रजातन्त्रका अपराजेय योद्धा बलबहादुर राईको ९० वर्षको उमेरमा महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा साधारण कालगतिले आषाढ २० गते निधन भयो। ०७ सालको क्रान्तिमा राणा शासनको साधारण जागिर छोडेर कांग्रेसमा लाग्नु भएका राई ६ दशकसम्म कांग्रेसको राजनीतिको शीर्ष स्थानमा रहनु भयो। मुलुकको वर्तमान राजनैतिक अवस्था र कांग्रेस भित्रको किचलो देखि खिन्न राई अस्पतालमा भेट्न आउने जो कोहिलाई पनि भन्ने गर्नु हुन्थ्यो जातीय आधारमा संघीयता बनाइयो भने मुलुक टुक्रन्छ, मुलुक र प्रजातन्त्र जोगाउन कांग्रेस एक हुनुपर्छ। कांग्रेस कमजोर भयो भने प्रजातन्त्र र मुलुक रहँदैन।

साधारण शिक्षा हासिल गरेका राईले प्रजातन्त्रको मूल्य र मान्यतासंग कहिल्यै संझौता गर्नु भएन। मूलतः ०७ सालको क्रान्ति पूर्वी पहाडबाट शुरु भएको थियो र भोजपुर ओखल्ढुंगाका पढे लेखेका धेरै राईहरुले त्यसको नेतृत्व गरेका थिए। कालान्तरमा त्यस्ता धेरै व्यक्तिले कांग्रेसको राजनीति परित्याग गरे तर बल बहादुर निरन्तर रुपमा कांग्रेसमा नै रहनु भयो। ०१५ सालको चुनावमा पूर्व ३ नं.को क्षेत्र नं. १७ बाट संसदमा निर्वाचित हुनु भयो। डेढ वर्षमा नै राजा महेन्द्रले संसद विघटन गरे पछि केही समय गिरफ्तार भई रिहा हुनु भएका राई ०१८ सालमा पार्टीद्वारा आन्दोलन गर्ने निर्णय पश्चात भारतमा निर्वासन भएर आन्दोलनमा सक्रिय हुनु भयो। ०२४ सालमा आम माफी पाए पछि पनि प्रजातन्त्रको पुनः स्थापनाको आन्दोलनमा सधै अग्रस्थानमा रहेर लडी रहनु भएका राईलाई नेपाली कांग्रेसद्वारा भएको ऐतिहासि ओखल्ढुंगा काण्डमा राजनीतिक कमीसार बनाएको प्रमाण फेला परे पछि उहाँसंगै कांग्रेसका अन्य कार्यकर्ताहरुलाई धर पकड गरी जेल चलान गरी बाटोमा नै सिध्याउने आदेशलाई तत्कालिन प्रहरी अधिकृतले इन्कार गरेको हुँदा उहाँहरुलाई राजधानी ल्याइयो र केन्द्रीय कारागारमा केही समय राखे पछि ओखल्ढुंगा काण्डको छानवीन गरी कार्वाही गर्न गठित टि्रव्युनलले उहाँलाई दोषी नपाए पछि रिहा हुनु भयो र गृह जिल्ला ओखल्ढुंगा कांग्रेसको संगठनमा सक्रिय रहनु भयो।
२०४२ सालको सत्याग्रहमा ओखल्ढुंगामा गिरफ्तार हुनु भयो र २०४६ सालको आन्दोलनमा ओखल्ढुंगामा नै पक्राउ परे पछि उहाँ सहितका कांग्रेसी कार्यकर्ताहरुलाई यातना दिएर स्थानान्तरण गरी सिराहा जेलमा राखियो र प्रजातन्त्र पुनः स्थापना पछि मात्र रिहा हुनु भयो।

२०४८ सालको चुनावमा ओखल्ढुंगा क्षेत्र नं. २ बाट निर्वाचित राई गिरिजाप्रसाद कोइरालाको मंत्रीमण्डलमा आवास तथा भौतिक योजना मन्त्री हुनु भएका उहाँको कार्यकालमा ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ खानेपानी वितरणमा क्रान्ति नै शुरु भएको थियो। १९ पटकसम्म कार्यवाहक प्रधानमन्त्री हुनु भएका राईले प्रजातन्त्र माथि राजाबाट प्रहार हुँदा सधै अग्रपंक्तिमा रहेर संघर्ष गर्नु भयो। ०६२-६३को जन आन्दोलनमा ८५ वर्षको उमेरमा पनि उहाँको सक्रियताले सम्पूर्ण स्वतन्त्रता प्रेमी युवाहरुमा उर्जा थपेको थियो उहाँको धरपकड राष्ट्रिय र अन्तर्राष्ट्रिय संचार माध्यममा विशेष चर्चाको विषय भएको थियो।

जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि पार्टीको संगठन र प्रतिष्ठाको लागि मरी मेट्न तयार हुने उहाँ माथि गत संविधान सभाको निर्वाचनमा उहाँकै गा.वि.स.का एक युवा विद्रोहमा उठेर पार्टीको आधिकारीक उम्मेदवारको पराजय भयो, त्यसको दोष उहाँ माथि पनि लाग्न गयो। यस प्रति उहाँमा अत्यन्त ठूलो विषाद थियो। निधन हुनुभन्दा केही दिन अघि अस्पतालको सघन उपचार कक्षमा पंक्तिकारसंग भन्नुभयो विद्रोही उम्मेदवार उठाएको दोष म माथि लाग्यो त्यसमा मेरो कुनै हात छैन, यो कुरा साथीहरुलाई पनि संझाई दिनु होला। मेरो अब धेरै दिन छैन पार्टी मिलाएर लग्नु होस्, ओखल्ढुंगा जिल्लाबाट कांग्रेसको कुनै प्रतिनिधि अहिले नभएकोले अबको मन्त्रीपरिषद्मा एक जनालाई मन्त्री दिनु पर्छ भनी सुशीलजीलाई चिठी लेखेको छु।

यसरी आफ्नो सम्पूर्ण जीवन पार्टीको संगठनमा लगाउनु भएका बलबहादुर राईमा प्रजातन्त्र र राष्ट्रियता प्रति सधै अनुराग थियो र त्यस प्रति सधै समर्पित हुनु भयो। अहिले जातिय आधारमा राजनीति गर्ने विभिन्न शक्तिहरु लागि रहेकोमा उहाँ त्यसको विरोधी हुनुहुन्थ्यो र भन्नु हुन्थ्यो "विभिन्न जातजाति मिलेर बसेको हाम्रो समाजमा यसले विखण्डन ल्याउने र त्यसको फाइदा प्रजातन्त्र विरोधी शक्तिले उठाउने छन्। यी कम्युनिष्टहरु पहिले त आफूलाई वर्गीय आधारमा समाजलाई हेर्ने भन्थे अहिले मुलुकमा जातीय विद्वेष फैलाउनमा लागेका छन्।" माओवादीले जातीय आधारमा संघीयता बनाउन लागेकोमा उहाँको ठूलो आपत्ति थियो। उहाँको प्रश्न थियो के खंबुवानमा मगर बस्न नपाउने? लिम्वुवानमा वाहुन क्षेत्रीले राजनीति गर्नु नहुने? के हो जातिय अग्राधिकार भनेको" उहाँलाई भेट्न जाने कार्यकर्ता बुद्धिजीवीहरुसंग यस्तो खरो प्रश्न गर्नु हुन्थ्यो।
साधारण लेख पढ गरेका बलबहादुर राई नित्य गीता पाठ गर्नु हुन्थ्यो र महाभारतका कैयौं जटील प्रश्न कोट्याएर युवाहरुलाई संझाउदै बाहुनको विरोध होइन उनीहरुबाट ज्ञान सिक्नु पर्छ यो उहाँको जीवनको मन्त्र थियो। गीता र महाभारत पाठ गरे पनि आफ्नो जातीय भाषा संस्कृतिका प्रति लगाव पनि कम थिएन। आफ्नो जातीय पहिचानलाई अघि सार्दा अरुको भाषा र जातीयताको पनि सम्मान गर्नु पर्छ आजका पढे लेखेका युवाहरुसंग उहाँको आग्रह थियो।

६ दशकभन्दा बढी संघर्ष गरेर ल्याएको प्रजातन्त्र अहिले जुन मझधारमा खड भएको छ यसको भविष्य के हुने हो? यस्तो चिन्ता लिंदै प्रजातन्त्रका योद्धा बलबहादुर राई जानु भयो। उहाँ प्रजातान्त्रिक आन्दोलनमा सधै अपराजेय हुनु भयो, अहिले मुलुकमा अनेक किसिमका जातीय आधारमा देखा परेका सांप्रदायिक संगठनहरु र मुलुकमा पन्पिरहेको हिंसात्मक संस्कृतिलाई समाप्त नगर्ने हो भने स्वयं प्रजातन्त्र पराजय हुनेछ। बल बहादुर राईहरुले गरेको ६ दशकको संघर्षलाई सम्मान गर्न उहाँले आजीवन संघर्ष गरेर स्थापित गरेका मूल्य र मान्यता प्रति आजका युवाहरु समर्पित हुनु नै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने छ।

प्रकाशित: २२ असार २०६७ ०३:४७ मंगलबार

https://nagariknews.nagariknetwork.com/opinion/14820-1278367342.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि