खुवालुङ संरक्षणमा दलहरूको साथ : राजु अधिकारी

 प्रदेश १ का सांसदहरु आज खुवालुङ निरीक्षणमा जाँदै 

राजु अधिकारी
राजु अधिकारीविराटनगर, चैत ९ 

किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानीढुंगो) संरक्षण अभियानमा साथ दिन प्रदेश नम्बर १ का प्रमुख राजनीतिक दलहरु अग्रसर भएका छन्।

invotech

प्रदेश संसद्का प्रमुख राजनीतिक दलका सांसदहरुले खुवालुङ फुटाउने सरकारी योजना किराँत संस्कृति माथिको धावा हुने बताउँदै हाल चलिरहेको संरक्षण अभियानमा साथ दिने बताएका छन्।

यसैक्रममा सोमबार प्रदेश १ संसद्का केही सांसदहरु खुवालुङ क्षेत्र पुग्दैछन्। त्यहाँ पुगेर उनीहरुले खुवालुङ क्षेत्रको अवलोकन गर्ने, स्थानीयबासी, आन्दोलनरत समुदाय लगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।

‘किराँत समुदायको ऐतिहासिक सम्पदा संरक्षण गरिनुपर्छ यसलाइ फुटाउने वा केही भाग फुटाएर सार्ने बिकल्प मान्य हुँदैन’, माओवादी केन्द्रका नेता एवम् प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले सेतोपाटीसँग भने ‘सम्भव भएसम्म  नदीको वहाव परिवर्तन गरेर जलयातायत सन्चालनका लागि सहजीकरण गरिनुपर्छ।’

school

प्रदेश १ का पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका आङ्बोले स्थानीय जनता, सरोकारवाला किराँती समुदाय र विज्ञको परामर्श गरेर बिकल्प खोज्नु पर्ने बताउँदै सम्पदा बिनाश गर्नेतर्फ सरकारले सोच्न पनि नहुने बताए।

‘किराँत समुदायको यो अभियानमा साथ दिन आज हामी विभिन्न दलका आधा दर्जन सांसद् खुवालुङ जाँदैछौं’, उनले भने ‘त्यहाँ पुगेर सम्पदा मास्ने सरकारी कदमविरुद्ध ऐक्यबद्धता जनाउनेछौं।’ 

सप्तकोशीमा जल यातायात सुचारु गर्न अन्य विकल्पहरु नखोजी सरकारले खुवालुङ (पानीढुंगो) फुटाउने बताएपछि सम्पदाविद्, वृहत नागरिक आन्दोलन लेखक, संरक्षणकर्मीहरु आन्दोलित थिए। जनता समाजवादी दल बाहेकका अरुले यसबारे अभियानमा खुलेर साथ दिइसकेका थिएनन्।

तर, सरकारले खुवालुङ नफुटाइ नछाड्ने अडान देखाएपछि सत्तारुढ एमाले, माअ‍ेवादी केन्द्र र नेपाली काँग्रेसका सांसदहरु सरकारी कदमको विपक्षमा उभिएका छन्।  केही दिन अघि एमाले नेता योगेश भट्टराईले ट्वीट गर्दै खुवालुङ फुटाउन नहुने बताएका थिए। 

ncell in

सरकारले अघि सारेको विकल्प र समुदायको चासो 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी आमसभामार्फत् घोषणा गरेको सप्तकोशीको खुवालुङ (ढुंगो) फुटाउने योजना  नागरिक प्रतिरोधको बलमा  तत्काललाई रोकिएको छ। 

यद्यपि सरकारले खुवालुङबारे जे –जे  विकल्पहरु सोच्दैछ, त्यो जस्ताको तस्तै कार्यान्वयन भए किराँती इतिहासको अलिखित अभिलेख र आस्थाको केन्द्र मानिने यो ढुंगो पुरानै स्वरुपमा नरहने खतरा अझै बढेको छ।

रेल र पानीजहाजका बारे लगातार पैरवी गर्दै आएको सरकारले जसरी पनि ‘ढुंगोको बाधा’ हटाउने अड्डी लिइरहेको छ । त्यसका लागि प्रदेश सरकारले बजेट नै विनियोजन गरिसकेको छ। देशव्यापी रुपमा सरकारी तयारीको प्रतिरोध भएपछि तत्काललाई खुवालुङ फुटाउन अघि बढ्ने सरकारी कदम रोकिएको मात्रै हो, सरकार पछि हटेको होइन।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई खुवालुङ संरक्षणबारे सरकार गम्भीर रहेको दाबी गर्छन्। प्रधानमन्त्रीको योजनाको चौतर्फी विरोध भएपछि ढुंगो तत्काल नफुटाउन निर्देशन दिएका मुख्यमन्त्री राई खुवालुङबारे उत्पन्न विवाद साम्य पार्न सरकारले तीन वटा विकल्पमा छलफल अघि बढाउने तयारी गरेको बताउँछन्।

मुख्यमन्त्रीले  सुनाएका तीन विकल्पमध्ये दुई वटा उपायले उनको दाबीलाई समर्थन गर्दैन। ‘हामी यसबारे दुई तीन वटा विकल्पमा छलफल गरिरहेका छौं’, मुख्यमन्त्री राईले भने ‘पहिलो, त्यो ढुंगालाई क्रेनले सारेर, जस्ताको तस्तै उठाएर अन्यत्र राख्ने, दोस्रो ढुंगाको खास भागलाई अर्को ठाउँमा सार्ने र त्यो क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने।’ 

मुख्यमन्त्रीले भनेको तेस्रो विकल्प हो नदीको वहावलाई नै परिवर्तन गर्ने।

‘अहिले म काठमाडौं छु, बैठकहरुको व्यस्तता धेरै छ’, मुख्यमन्त्रीले भने ‘म विराटनगर फर्केपछि सम्पदा विज्ञ, संरक्षणकर्मी र स्थानीयबासीसँग यी तीन विकल्पबारे छलफल अघि बढाउनेछु।’ उनले १५ दिनभित्र विज्ञसहितको टोली लिएर अरुण र तमोर मिसिएर सप्तकोशी बन्ने त्रिवेणीमा आफै पुग्ने योजना रहेको पनि सुनाए।

मुख्यमन्त्रीले भनेका तीनमध्ये पहिलो दुई विकल्पले खुवालुङको सौन्दर्य र अर्थमा प्रहार गर्ने अनुसन्धाता एवम् लेखक भोगिराज चाम्लिङ बताउँछन्। भइरहेको ठाउँबाट अन्यत्र सार्ने अथवा फुटाएर त्यसको खास भागलाई अर्कै ठाउँ लगेर स्थापित गर्न खोज्दा  त्यो किराँत समुदायका लागि अस्वीकार्य हुने उनको भनाइ छ।

‘खुवालुङ जुन ठाउँमा जस्तो अवस्थामा छ, त्यसको अर्थ र सौन्दर्य त्यहीँ मात्रै झल्कन्छ’, चाम्लिङले सेतोपाटीसँग भने ‘यदि सरकार यतातर्फ अघि बढ्छ भने समुदायका लागि स्वीकार्य नहुने कुरा आइसकेको छ।’

मुख्यमन्त्रीले भनेजस्तो तेस्रो विकल्प अर्थात  नदीको वहाव परिवर्तन सबैभन्दा उत्तम हुने चाम्लिङको भनाइ छ।

खुवालुङ संरक्षणबारे मुखर रुपमा अभियानमै रहेका भाषाशास्त्री डा. तारामणि राई पनि चाम्लिङको कुरासँग सहमत छन् । ‘सरकारले जे विकल्प अघि सारे पनि उसले ढुंगो फुटाउन बजेट नै छुट्याइसकेको छ’,  डा. राई भन्छन् ‘तर, त्यसमध्ये सबैभन्दा उपयुक्त विकल्प भनेको नदीको वहाव परिवर्तन नै हो । त्यो असम्भव योजना होइन।’

जलस्रोत विज्ञ अजय दिक्षित भने ढुंगा फुटाउने र नदीको वहाव परिवर्तन गर्नेभन्दा यथास्थितिकै अवस्था रहन दिनु राम्रो हुने बताउँछन्।

‘जहाज नै चलाउने हो भने ढुंगाको दायाँबायाँतिरबाट चलाउन सकिन्छ’, दिक्षितले भने ‘सप्तकोशी धेरै ठूलो नदी हो वहाव परिवर्तन गाह्रो हुनसक्छ।’ उनले नदीबीचमा रहेको ढुंगो फुटाउने काम प्राकृतिक र साँस्कृतिक दुवै दृष्टिले गलत हुने उल्लेख गरे।

प्रदेश १ का तीन जिल्ला भोजपुर, उदयपुर र धनकुटाको सीमास्थलमा रहेको त्रिवेणीमा रहेको यो ढुंगो (खुवालुङ) केही समययता सरकारी तारोमा परेको छ। सप्तकोशीमा चल्ने स्टिमरका लागि बाधक रहेको भन्दै प्रधानमन्त्री ओलीले ‘क्रेन लगाएर फुटाउने तयारी भइरहेको’ जानकारी विराटनगरमा दिएका थिए।

फागुन ८ मा भएको सरकारी आमसभामा उनले यस्तो अभिव्यक्ति दिएपछि सम्पदा संरक्षणमा जुटेकाहरु, किराँती समुदायका अध्येताहरु र स्थानीयबासीले पनि विरोध गरेका थिए।

त्यसयता खुवालुङ संरक्षण समिति बनाएर किराँत समुदायका स्थानीयबासीले  खुवालुङ क्षेत्रमा आन्दोलन अघि बढाएका छन्।

प्रतिगमनविरुद्ध वृहत नागरिक आन्दोलन, लेखक, संरक्षणकर्मी, सम्पदाविद्हरुले ढुंगोलाई तारो बनाउने सरकारी कदमविरुद्ध निरन्तर विरोध गरिरहेका छन्। संरक्षण समितिले प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन बुझाएर नफुटाउन माग गरिसकेको छ।

संरक्षण समितिका पदाधिकारीसँगको भेटमा मुख्यमन्त्री शेरधन राईले आफू विज्ञसहितको टोली लिएर छिटै खुवालुङ क्षेत्र आउने बताएको समितिका सदस्य शालिक सतासकले बताए । तर, मुख्यमन्त्री अझै पुगेका छैनन्। उनले १५ दिनभित्र पुग्ने प्रतिबद्धता जनाएका छन्।

यस्तो छ खुवालुङको कथा 

किराँत राई भाषामा ‘खुवा’ भनेको पानी हो भने ‘लुङ’ भनेको ढुंगा। कोसीको बीचमा भएको यो ढुंगालाई सोहीकारण खुवालुङ भनिएको हो। यसलाई पानीढुंगो पनि भन्ने गरिएको छ। 

अनुसन्धाता एवम् लेखक भोगिराज चाम्लिङका अनुसार मुन्धुमी लोककथाअनुसार किराँतीका पुर्खा खुवालुङ क्षेत्रबाट बाँडिएका हुन्।

‘उहिले किराँती पुर्खाहरूले पार गर्ने बेला खुवालुङ बन्द थियो। पहिलो समूहले खुवालुङ खुलाउन जुरेली चराको भोग दियो। चराको रगत परेपछि खुवालुङ खुल्यो र पहिलो समूहले नदी पार गर्‍यो’, खुवालुङको ऐतिहासिक सन्दर्भ उप्काउँदै चाम्लिङ थप्छन् ‘त्यसपछि दोस्रो समूह आइपुग्यो र आफ्नै चेलीको औंला थोरै चोट पारेर खुवालुङलाई रगत पारिदियो। खुवालुङ खुल्यो। उनीहरू पनि कोसी तरेर पहाडतर्फ उक्लिए।’

एवम् रितले  किराँती पुर्खाका थुप्रै समूहले पटकपटक खुवालुङ पार गरेको र खुवालुङ पार गरेपछिे किराँतीहरू आआफ्नो बाटो लागेको चाम्लिङ बताउँछन्। सप्तकोशीका विभिन्न धार समातेर हिँड्नेहरु प्रकारान्तरले किराँत समुदायका विभिन्न हाँगामा बाँडिएको उनी बताउँछन् । उनका अनुसार जसले  तमोर पछ्यायो, उनीहरू अहिले लिम्बू भनेर चिनिन्छन्।

अरुण नदीको धार पहिल्याउँदै अघि बढ्नेहरु याम्फू, लोहरूङ, मेवाहाङ राई भनेर चिनिए। जुन समूहले  दूधकोसी पछ्यायो, उनीहरू तिलुङ, चाम्लिङ, वाम्बुले, जेरोङ, बाहिङ÷बायुङ, बान्तावा, साम्पाङ, दुमी, कोयी, कोयू, कुलुङ, खालिङ, नाछिरिङ, थुलुङ राई भनेर चिनिएको र सुनकोसी पछ्याउनेहरु कोँइच (सुनुवार), जिरेल, सुरेल, हायू, थामी भनेर चिनिएको उनी बताउँछन्। त्यस्तै खुवालुङ नतरीकन तराईमै बस्नेहरु थारू, धिमाल, मेचे, कोचे बनेर चिनिए।

‘मुन्धुमी मिथकले खुवालुङलाई किराँतीहरूको साझा थलोका रूपमा व्याख्या गरेको छ’, चाम्लिङ भन्छन् ‘ मुन्धुमअनुसार खुवालुङभन्दा मुनि दक्षिणतिरको भूभाग थारू, धिमाल, मेचे, कोचेहरूको हो, उत्तरतर्फको भूभाग किराँतीहरूको। त्यसैले खुवालुङ एउटा सांस्कृतिक सिमाना पनि हो।’ 

खसवालुङ किराँत नछुङ (धामी) हरूले धेरै  संस्कार गर्ने क्रममा पुकार्ने थलो पनि हो।

‘सांस्कृतिक यात्राको थालनी नियामा भन्ने आदिम थलोबाट सुरु भएर पैतिप, जोजिला, खैबर, जम्मु, योँला, थारू–बाजी–साप्ते, वराहा–चतरा हुँदै खुवालुङ आइपुग्छ ’, चाम्लिङ थप्छन् ‘ अर्को भाषामा भन्दा किराँतीहरूको आदिम बसाइँसराइको वर्णनका क्रममा उल्लेख हुने एउटा महत्वपूर्ण  थलो पनि हो खुवालुङ।’ 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७, ०९:१८:००

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि