अक्सर बसोबास, घरघरमा प्रश्नावली, विदेशी नियोग समेटिने

 


राष्ट्रिय |


2020-11-30-27422

शान्ति लामा 
काठमाडौँ, मङसिर १५ गते । राष्ट्रिय जनगणना नेपालको एकीकृत राष्ट्रिय तथ्याङ्क प्रणालीको एक हिस्सा हो । जनगणना प्रत्येक १० वर्षमा हुने महत्वपूर्ण राष्ट्रिय घटना हो । अब २०७८ सालमा हुने राष्ट्रिय जनगणना बाह्रौँ राष्ट्रिय जनगणना हो । आगामी जनगणना वि. सं. २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म पन्ध्र दिन हुनेछ ।
‘मेरो गणना, मेरो सहभागिता’ नारासहित हुन लागेको बाह्रौँ राष्ट्रिय जनगणना संघीय नेपालको पहिलो जनगणना पनि हो । त्यसकारण पहिले जिल्लास्तरसम्म मात्र उपलब्ध हुने तथ्यांकहरु अब वडास्तरसम्मकै पूर्ण तथ्यांक उपलब्ध गराइने केन्द्रीय तथ्यांक विभाग, जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो ।
विगतमा जनगणना मिश्रित प्रणालीअनुसार पूर्ण र छनौट विधि गरी दुई प्रणालीमा गरिन्थ्यो भने यसपटक पूर्ण गणना हुनेछ । छनौट विधिमा विगतमा केही ठाउँमा केही घरको समूहलाई नमूना मानी एक घरमा प्रश्नावली सोधिएको थियो । तर यस पटक भने जनगणनाका लागि तयार पारिएका सबै प्रश्नावली सबै घरमा सोधिनेछन् ।
अक्सर बसोबास
अक्सर बसोबास भन्नाले व्यक्ति धेरैजसो वा प्रायगरी बस्ने ठाउँलाई बुझ्नुपर्ने केन्द्रीय तथ्यांक विभाग बताउँछ । कुनै व्यक्तिको अक्सर बसोबास निजको आफ्नै स्थायी घर भएको ठाउँ वा अस्थायी रुपमा बसोबास गरेको ठाउँ वा अन्य व्यक्तिको घरमा पनि हुन सक्दछ । राष्ट्रिय जनगणना २०७८ मा व्यक्तिको गणना अक्सर बसोबास गरेको स्थानबाट गरिन्छ र कुनै व्यक्ति दुई वा सोभन्दा बढी ठाउँमा बसोबास गर्ने गरेको अवस्थामा भने सबैभन्दा बढी बढी समय जहाँ बस्छन्, त्यही स्थानलाई अक्सर बसोबासको स्थान मानिन्छ ।
जनगणनाको विधि
जनगणनामा आउने सुपरीवेक्षक र गणकलाई सही विवरण दिई सहयोग गर्न र जनगणनामा सहभागी हुन नेपाल सरकार केन्द्रीय तथ्यांक विभागका महानिर्देशकले अनुरोध पत्र पठाउनुहुनेछ । सुपरीवेक्षक तथा गणकले सोधेका सबै प्रश्नको सही जवाफ दिनुपर्दछ । विभागका अनुसार जनगणनामा तीन प्रकारले सहभागी हुन सकिन्छ ।
काठमाडौँ उपत्यकाका केही नगरपालिकामा सुपरीवेक्षक तथा गणकले प्रत्यक्ष अन्तरवार्ता गरी हाते कम्प्युटर (ट्याबलेट)मा विवरण भर्नेछन् । त्यस्तै हाते कम्प्युटर (ट्याबलेट) बाट विवरण संकलन गरिनेबाहेकका स्थानीय तहमा सुपरीवेक्षक तथा गणले प्रत्यक्ष अन्तरवार्ता गरी कागजी प्रश्नावलीमा विवरण भर्नेछन् । विदेशस्थित नेपाली दूतावास र महावाणिज्य दूतावासमा कार्यरत कर्मचारीहरुले विद्युतीय माध्यम (इसेन्सस) बाट स्वयंले आफ्नो र सँगै बस्ने परिवारको विवरण भरी पठाउनुपर्नेछ ।
घर तथा घरपरिवार सूचीकरण
घर तथा घरपरिवार सूचीकरण जनगणनाको पहिलो चरण हो । घर तथा घरपरिवार सूचीकरणको काम सुपरीवेक्षकहरुले गर्नेछन् ।
पहिलो चरणमा आउने सुपरीवेक्षकले घरको र घरमा अलग अलग भातभान्सा गरी बस्दै आएका सबै परिवारको सूची तयार गर्नेछन् । घर तथा घरपरिवार सूचीकरणमा पनि घर तथा परिवारसम्बन्धी प्रश्नावली सोधिनेछ । यसमा घरको प्रयोगसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गर्ने सबै महिला, पुरुष र अन्य लिंगीको संख्या, परिवारले कृषि तथा पशुपालनसम्बन्धी विवरण, बैंक खाता भए नभएको, ऋण लिए नलिएको, व्यावसायिक शिक्षा तथा तालिम लिए नलिएको, सरकारी अनुदानबाट आवासीय घर निर्माण गरे नगरेकोबारे प्रश्नहरु सोधिनेछ ।
घर तथा घरपरिवार सूचीकरण मूल जनगणनाभन्दा केही दिन अगाडि अर्थात् वि. सं. २०७८ वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म हुनेछ ।
मुख्य प्रश्नावली
जनगणनाको मूल प्रश्नहरु नै मुख्य प्रश्नावली हो । यो जनगणनाको दोस्रो चरणमा सोधिनेछ । मुख्य प्रश्नावली सोध्ने काम गर्ने जनगणनाका लागि नियुक्त गणकहरुले गर्नेछन् । वि. सं. २०७८ जेठ २५ गतेदेखि २०७८ असार ८ गतेसम्म मुख्य प्रश्नावलीको विवरण संकलन सञ्चालन हुनेछ ।
यसमा गणकले पारिवारिक तथा व्यक्तिगत प्रश्नहरु सोध्नेछन् । जनगणनाको मुख्य प्रश्नावली यही भएकोले यहाँ परिवार र व्यक्तिसम्बन्धी पूर्ण विवरण यही चरणमा सोधिनेछ ।
सामुदायिक प्रश्नावली
सामुदायिक प्रश्नावली नेपालको जनगणनाको इतिहासमा आगामी जनगणनामा पहिलोपटक सोधिन लागेको हो । सामुदायिक प्रश्नावली जनगणनाको दोस्रो चरणमा नै सोधिनेछ । गणकहरुले मुख्य प्रश्नावलीको विवरण संकलन गरिरहेकै बेला सुपरीवेक्षकले सामुदायिक प्रश्नावलीको विवरण संकलन गर्नेछन् । सुपरीवेक्षकले प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको आधारभूत स्रोत, साधन, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरणसम्बन्त्री प्रश्नहरु सोधिन्छन् ।
जनगणनामा व्यक्ति कसरी गणना गरिन्छ ?
कोही नछुट्ने र कोही नदोहोरिने गरी तथ्यांक संकलन गर्नुपर्ने भएकोले परिवारलाई एकाइ मानी व्यक्ति जुन परिवारमा अक्सर बसोबास गर्छन्, त्यही परिवारबाट गणना गरिन्छ । गणना प्रयोजनका लागि परिवार भन्नाले एउटै आर्थिक व्यवस्थानमा चलेको, एउटै छानामुनि बसोबास गरी साझा भान्सामा खाना खाने व्यक्ति वा व्यक्तिहरुको समूहलाई मानिन्छ ।
‘एकै परिवारमा अक्सर बसोबास गरिरहेका नाता पर्ने वा नपर्ने दुवै थरीका व्यक्तिहरुले गणना त्यही परिवारबाट नै हुने विभागले जनाएको छ ।’ विभागका निर्देशक लामिछानेले भन्नुभयो ।

https://gorkhapatraonline.com/national/2020-11-30-27422

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि