कान्तिपुरको अर्को निर्णय, ४० जना भन्दा बढी पत्रकार, कर्मचारीलाई बेतलबीमा बस्न उर्दी




काठमाडौ । ठूलो प्रकाशन गृह कान्तिपुरले लकडाउनको मौकामा स्थायी पत्रकार र कर्मचारीलाई निकाल्ने रणनीति तय गरेको छ ।
यही क्रममा थापाथलीस्थित मुख्यालय र उपत्यका बाहिर काम गर्ने ४० जना भन्दा बढी पत्रकारहरुलाई बेतलबी विदा बस्न निर्देशन दिइसकेको छ ।
आइतबारदेखि नै कान्तिपुरले तयार गरेका सूची अनुसारका कर्मचारी र पत्रकारलाई फोनबाट बिदामा बस्न भनिएको कान्तिपुर स्रोतले जानकारी दियो । यो क्रम सोमबार पनि चलिरहेको छ ।
निकालिने पत्रकारको सूची सम्पादक सुधीर शर्मा र समाचार सम्पादक श्रीश भण्डारीले लकडाउनकै बेला तय गरेको थाहा पाएपछि पत्रकारहरु आक्रोशित बनेका छन् । ४० मध्ये केहीलाई शर्मा र भण्डारीले चैत ९ गते नै ‘बिदामा बस्नुहोला’ भन्ने उर्दी जारी गरेका थिए ।
‘सरकारले लकडाउन घोषणा नगर्दै सहकर्मीलाई छानीछानी बिदामा बस्न भन्नु रहस्यमय छ । हामी साथीहरु अब के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं, फोन गएका मध्ये एक जना बरिष्ठ संवाददाताले भने ।
पहिलो चरणमा पत्रकारहरु हिमेश बज्राचार्य, दिनेश रेग्मी, गणेश राई, ध्रुव सिम्खडा, दिपेन्द्र विष्ट, राजेश मिश्र, दिपेन्द्र कर्ण, मधुसुदन भट्टराई लगायत छन् । काठमाडौं बाहिरका स्थायी र पुराना सहकर्मीलाई पनि बिदामा राख्ने सूचीमा पारिएको जानकारी स्रोतले दियो । कम्युटरका अर्चना सापकोटा, पवन घिमिरे, दिपेश घिमिरेलगायत छन् ।
यसरी लकडाउनका बेलामा समेत खटेर काम गर्दै आएका पत्रकार, कर्मचारीलाई बेतलबी बिदामा बस्न गएको सूचनाले आफूहरुलाई अन्योल बनाएको उनीहरुले प्रतिक्रिया दिए ।
कान्तिपुरमा शर्मा दोस्रो पटक भित्रिएपछि अस्थायीमा पत्रकार राख्ने क्रम बढेको छ ।
‘पुराना र स्थायी कर्मचारीलाई कोरोनाकै बहानामा बिदाई गर्न खोजिएको त होइन ? नत्र किन पटक पटक हामीलाई ह्यारेश गरिन्छ ?’  एक जना पत्रकारले प्रश्न गरे ।
अन्य मिडिया हाउसले यस्ता निर्णय गर्न हतार गरेका छैनन् । संकटकै अवस्था आउँदा पनि तलब कटौतीलगायतका अन्य विकल्पमा समेत छलफल भएको छैन ।
स्रोतका अनुसार अनुभवी पत्रकारहरु ध्रुव सिम्खडा, गणेश राईसहितलाई शर्माले सुरुमै बेतलबि बिदा मात्र होइन, जागिरबाटै बिदा हुन भनेका थिए । सिम्खडालाई त फिचर शाखाबाट अनलाइनमा सरुवा समेत गरेका थिए । दुबै जनाले बरु मुद्दामा जाने, तर आफूहरु शर्माले भनेको नमान्ने भनी चुनौति दिएका थिए ।
लकडाउनकै बीचमा कान्तिपुरले आफ्ना सबै प्रिन्ट प्रकाशन एक हप्ता छाप्नै बन्द गरेको थियो । तर, अन्य दैनिक पत्रिका लगातार छापिरहेपछि पुनः प्रकाशन सुरु गरेको थियो । यी घट्नाले कान्तिपुरलाई अस्थीर बनाएको टिप्पणी मिडिया बजारमा हुन थालेको छ ।

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि