फिचर - भर्चुअल शिक्षण : कति सहज कति असहज?


कोरोना भाइरसका कारण अब विद्यालय, कलेज र विश्वविद्यालहरु कति समय बन्द हुने हुन्? अनिश्चित छ। तर, यस्तै अनिश्चितताबाट हामीले अघि बढ्नुपर्नेछ।
ध्रुव सिम्खडा
काठमाडौँ — चैत २८ गते बिहान। राजधानी काठमाडौँका विभिन्न कलेज र स्कुलका शिक्षक तथा शिक्षासित सम्बन्धितहरु ४ घण्टाभन्दा लामो ‘भर्चुअल कन्फरेन्स अन अनलाइन टिचिङ’मा सहभागी भए। 
काठमाडौँ, अमेरिका र अस्ट्रेलियाका विभिन्न स्कुल तथा कलेजका शिक्षक र प्राध्यापकले ‘अनलाइन टिचिङ’को चुनौतीबारे बहस गरे। बहसमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलदेखि अमेरिका र अस्ट्रेलियासम्मका विज्ञ तथा उपत्यकाका स्कुलका शिक्षकसहित सय जनाजति सहभागी थिए। र, बहसलाई काठमाडौँस्थित किङ्स कलेजले संयोजन गरेको थियो।
कोरोना भाइरसको महामारीका कारण बन्द विद्यालयहरु नयाँ शैक्षिक सत्रको संघारमा भएकाले के गर्ने र कसो गर्ने भनी छटपटीमा छन्।
विद्यार्थी भर्ना गर्नुपर्ने दिन आइसक्यो, अझै बन्दाबन्दी (लकडाउन) खुल्ने छाँटकाँट छैन। कोरोना भाइरसको सन्त्रासले विश्व नै सुनसान बनेकाले मानिसहरु आ–आफ्ना घरभित्र बन्दी भएका छन्।
यस्तो विषम परिस्थितिमा पठनपाठन कसरी अगाडि बढाउने भनी निजी स्कुलका सञ्चालकहरु तात्न थालेका छन्। सरकारीतिर भने के भइरहेछ, अत्तोपत्तो छैन।
शिक्षा क्षेत्रमा संलग्नहरु भने यसलाई अवसर र चुनौती दुवै रुपमा बुझिरहेका छन्। यदि समयमै ध्यान दिन सकियो भने यो संकट शिक्षामा आमूल परिवर्तनको ढोका हुन सक्ने उनीहरु तर्क गर्छन्। शिक्षाविद् तथा प्रा. विद्यानाथ कोइराला भन्छन्, ‘केटाकेटीलाई अनुसन्धानमा आधारित शिक्षणमा लगाउने यो उपयुक्त समय हो। यसले मात्र अब शिक्षामा आमूल परिवर्तन गर्न सक्छ।’
आमूल परिवर्तनको आ–आफ्नै डम्फू
हाम्रा शासकहरुले शिक्षामा आमूल परिवर्तन भन्न थालेको सात दशक भइसक्यो। अहिले पनि शासकहरु त्यही ‘थेगो’ दोहोर्‍याइरहेका छन्।
तर, शिक्षामा आमूल परिवर्तन त के परिवर्तन पनि राम्ररी हुन सकेको छैन। दिन प्रतिदिन पठनपाठनको गुणस्तर खस्किँदो छ। विद्यालय जाने र नजाने, गएर पनि छाड्ने केटाकेटीहरु त्यत्तिकै छन्। धनी र गरिबका छोराछोरीलाई फरक–फरक शिक्षा दिइँदै छ।
यस्तो दूरवस्थामा कोरोना भाइरसका कारण अब विद्यालय, कलेज र विश्वविद्याल कति समय बन्द हुने हुन्? अनिश्चित छ। तर, यस्तै अनिश्चितताबाट हामीले अघि बढ्नुपर्नेछ।
भनिन्छ, कुनै पनि कालो बादलमा चाँदीको घेरा हुन्छ। हामीले समयको चाल बुझ्यौँ र अलिकति आफूलाई पुनर्ताजगी (अपडेट) गर्न सक्यौँ भने यो संकट शिक्षामा हामीले धेरै वर्षदेखि चाहँदै आएको आमूल परिवर्तनको प्रमुख प्रस्थानविन्दु (मेजर डिपार्चर) बन्न सक्छ।
प्रविधिमैत्री शिक्षा
संघारमा चियाइरहेको नयाँ शैक्षिक सत्र र कक्षाकोठालाई अभिभावकको घरको कोठासम्म कसरी पुर्‍याउने? यो अहिलेको प्रमुख चुनौती हो। यससम्बन्धी फाटफुट बहस भइरहेको छ।
विद्यालय शिक्षामा प्रविधिको प्रयोग कसरी गर्ने? व्यवस्थापनका थुप्रै चुनौती छन्। चासो र चिन्ता प्रकट हुँदै छन्। प्रविधिसित पठनपाठनको विषय नयाँ भएकाले सबैको मनमा के हुने हो र कस्तो हुने हो भनी अनिश्चितताले घर गरेकै छ। तर, समय र परिस्थितिले प्रविधि र पठनपाठनलाई जोड्न घचघच्याइसकेको छ।
प्रविधिमैत्री पठनपाठनका चुनौती
विद्यालय पठनपाठनमा समस्याका चाङैचाङ लागिरहेका बेला फेरि कोरोनाको महामारीले बन्दाबन्दीमा पुर्‍याएको छ। पूरै मानव समाज बन्दाबन्दीमा पुगेको छ। विद्यालयहरु ठप्प छन्।
शिशु कक्षा (प्ले ग्रुप) देखि १२ कक्षासम्म देशभरि करिब ७५ लाख केटाकेटी विद्यालय जाने गरेको शिक्षा विभागको रेकर्डमा उल्लेख छ।
हाम्रा ७५ लाख कोपिलाहरुको भविष्य के हुने हो? राज्यका जिम्मेवार तहमा बसेकाहरु खासगरी शिक्षा मन्त्रीले दिशानिर्देश गर्नुपर्ने हो। ‘नुन खा'को कुखुरो’जस्तो बन्ने बेला छैन। चुनौती पर्गेलेर अगाडि बढ्न सक्नुपर्छ।
विद्यालयमा भर्चुअल शिक्षणका चुनौती
१. प्रविधि प्राप्यताको समस्याः राज्यले देशैभर बिजुली, इन्टरनेटको सुविधा दिन सक्छ कि सक्दैन? अहिले कति नागरिकको यसमा पहुँच पुगेको छ? यसको लेखाजोखा गर्न विलम्ब गर्नु हुँदैन। २४ सै घण्टा बिजुली र इन्टरनेट सहज भयो भने अनलाइन शिक्षणमा फड्को मार्ने पूर्वशर्त पूरा हुन्छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिले जनसंख्याभन्दा बढी नेपालीको हातमा मोबाइल छ भने ६० प्रतिशतले ब्रोडव्याण्ड इन्टरनेट सुविधा उपभोग गरिरहेका छन्।
त्यसपछि विद्यालय र अभिभावकहरुको प्रविधि किन्न र प्रयोग गर्न सक्ने क्षमताको कुरा आउँछ। भर्चुअल सिकाइमा इन्टरनेट, मोबाइल र ल्यापटप आवश्यक पूर्वाधार हुन्। यसको पहुँचमा कति नागरिक छन्?
प्रविधिले छोएको (डिजिटल एक्सेसिबिलिटी) र नछोएको (डिजिटल ग्याप) भएका समूह र समुदायबीच ठूलो खाडल छ। त्यो खाडललाई कसरी पुर्ने? प्रविधि प्रयोगमा पछि रहेकाहरुलाई कसरी दक्ष बनाउने? प्रविधि भएर मात्र हुँदैन, त्यसको प्रयोग गर्न जान्ने पनि हुनुपर्छ।
२. प्रविधिसित रमाउने शिक्षकको अभावः अनलाइन शिक्षणका लागि शिक्षक कतिको तयार छन्? यसका निम्ति शिक्षकलाई कसरी तयार पार्ने? यो निकै ठूलो चुनौती हो। पठनपाठनको मार्गदर्शक भनेकै शिक्षक हुन्। पहिले त उनीहरुले नै प्रविधि, पाठ्यक्रम र भावीपुस्ताबारे बुझ्न सक्नुपर्‍यो। पढाउने नाउँमा वर्षौंदेखि हाई काढेर दिन बिताइरहेकाहरुले सोच्नुपर्ने बेला आएको छ। आफूलाई ‘अपडेट’ गराउन नचाहने र नसक्ने शिक्षकको भविष्य हुँदैन।
किनकि, स्कुलहरु अनलाइन शिक्षण विधिमा जानासाथ यतिधेरै (करिब १ लाख ५० हजार शिक्षक) आवश्यक हुँदैनन्। र, जो प्रविधिसित मिल्न सक्दैनन्, ती स्वतः पेशाबाट बाहिरिनुपर्ने अवस्था आउँछ। यसले फेरि बेरोजगारीको समस्या निम्तिनेछ।
३. निजी र सार्वजनिक/सरकारी विद्यालयबीच अन्तरः अहिले मुलुकमा दुईथरी शिक्षा छ— सरकारी र निजी। मुलुकभरका २९,२०७ सरकारी विद्यालयमा करिब डेढ लाख शिक्षक कार्यरत छन्। तिनीहरु सबैको तलबभत्ता सरकारले नै बेहोर्छ। विद्यार्थीलाई पनि विभिन्न प्रकारका छात्रवृत्तिलगायत सहयोग प्रदान गर्दै आएको छ। यो वर्षमात्र राज्यले १ खर्ब ६३ अर्ब रुपैयाँ शिक्षामा लगानी गरे पनि गुणस्तरीय पठनपाठन भने हुन सकेको छैन।
उता ६,०१५ संख्यामा रहेका निजी विद्यालयहरुले भने गुणस्तरीय शिक्षा दिइरहेको दाबी गर्दै आएका छन्। सरकारी र निजी गरी दुईथरी पढाइसँगै धनी र गरिबका छोराछोरी पढ्ने फरक–फरक अवस्था भएका कारण समाजमा वर्ग विभाजनको ठूलो खाडल सिर्जना भइराखेको छ।
सरकारीमा आफ्ना छोराछोरी पढाउने अभिभावकहरु गुणस्तर कमजोर हुने भयले चिन्तित छन् भने निजीमा पढाउनेहरु महँगो शुल्कका कारण थप मर्कामा छन्। गरिब र धनी दुवैथरी अभिभावकहरु सन्तानको भविष्यबारे चिन्तित छन्।
४. अभिभावकको चिन्ताः भोलि आफ्ना सन्ततिलाई अनलाइन पठनपाठन गराउनैपर्ने भयो भने पनि मर्कामा पर्ने तिनै अभिभावक हुन्। किनकि, अधिकांश अभिभावक जसको आफ्नो बस्ने बाससमेत छैन, तिनले छोराछोरीलाई मोबाइल र ल्यापटप कसरी जुटाउने? छोराछोरीलाई ती ग्याजेट चलाउन कसरी मद्दत गर्ने? जसको आफ्नैसमेत प्रविधिमा पहुँच छैन र भए पनि राम्ररी चलाउन जानेका छैनन्।
५. गाउँ र शहरको शिक्षणमा विद्यमान विभेदः चाहे निजी हुन् या सरकारी गाउँ र शहरको शिक्षणविधि र सुविधामा आकाश–जमिनको फरक छ। क्षमतावान् शिक्षकहरु धेरै शहरमै हुन्छन्। यस्तो विभेद विद्यमान रहिरहेका बेला झन् प्रविधिमार्फत अननाइन शिक्षण गर्दा हालत कस्तो होला? सिकाइ गुणस्तरको खाडल कति बढ्ला?
६. ग्याजेटले निम्त्याउने विकृतिः बच्चाबच्चीको हातहातमा मोबाइल र अनलिमिटेड इन्टरनेट भएपछि त्यसले निम्त्याउने विकृति कस्तो होला? यो अर्को प्रमुख चुनौती हो।
अहिलै कतिपय विद्यालय प्रशासनसँग अभिभाकहरुले आफ्ना छोराछोरीको मोबाइल लत छुटाउन गरेको सिकायत सुन्दा लाग्छ—यसले हाम्रा भविष्यका कर्णधारहरुलाई बरालिसकेको छ।
अत्यधिक मोबाइल प्रयोगका कारण कतिपय बालबालिका टोलाउने, रिसाउने, नपढ्ने, देखासिकीमा मात्र रमाउने भइसकेका छन्। जति सम्झाए पनि नसम्झने अवस्थामा पुगेपछि अभिभावकहरु विद्यालयमा शिक्षकसँग गुनासो पोख्न पुग्छन्। यस्तो अवस्थमा शिक्षकले पनि के गर्न सक्छन् र?
‘आजकल छोराछोरीले पढ्नै मन गरेनन्, खालि मोबाइलमा मात्र झुम्मिरहन्छन्। लौ न सर, के गर्ने होला’ भनी शिक्षकहरुसामु गुनासो गर्न र उपाय खोजिगरिदिन पुगेका अभिभावकहरुसित शिक्षकहरुको ठोस समाधान केही हुँदैन। त्यस्ता गुनासा सुन्दासुन्दा आजित शिक्षकहरु भन्छन्, ‘यस्तै तरिकाले मोबाइलमा विद्यार्थी फस्दै गए भने अब रिह्याब सेन्टर नखोली हुन्न।’
यसबाहेक पनि मोबाइललगायत विद्युतीय यन्त्रबाट हुने शारीरिक हानि नोक्सानी त छँदैछ।
तर, थुप्रै खराब पक्ष हुँदाहुँदै पनि प्रविधिको विकल्प छैन। त्यसैले यसको प्रयोग नगरी शिक्षक, अभिभावक र विद्यार्थी कसैलाई पनि अलग बस्ने परिस्थिति छैन।
अनलाइन शिक्षणको इतिहास
अनलाइन शिक्षण नयाँ होइन। यसको इतिहास लामै छ। अमेरिकी सहयोगमा २०३५ सालदेखि नै रेडियोबाट पढाउन थालिएको हो।
त्यसपछि २०४२ सालमा नेपालमा टेलिभिजन आयो। अनि नेपाल टेलिभिजनबाट पनि पढाउन थालियो। अहिले पनि ९ र १० कक्षाका विद्यार्थीहरुलाई टीभीबाट अनिवार्य विषयहरु पढाइरहेको बताउँछन् शिक्षा विभाग, अडियो भिजुअल शाखा प्रमुख माधवप्रसाद दाहाल। भन्छन्, ‘हामी अनलाइन पढाउन सक्ने अवस्थामा छौँ।’ तर, यसमा विद्यार्थी–शिक्षकबीच पठनपाठनबारे दोहोरो छलफल भने हुन सक्दैन। यो अडियो मात्र हो।
अडियो भिडियो दुवैमा विद्यार्थी–शिक्षकबीच अन्तरक्रिया गरी पठनपाठन गर्न भने अनलाइन शिक्षण नै चाहिन्छ। त्यसो भएन भने अहिलेका विद्यार्थीलाई खुराक दिन सकिँदैन। अडियो शिक्षणविधिभन्दा विद्यार्थी धेरै अगाडि गइसके। अनलाइन शिक्षण भनेको प्रत्यक्ष (लाइभ) नै हुन्छ, हुनुपर्छ।
कोरोनाले अत्याए पनि भविष्यका कर्णधारहरुलाई नभुलौँ। तिनको पठनपाठन बिग्रन नदिऔँ। सक्ने विद्यालयहरुले हप्तामा २ दिन अनलाइन शिक्षणको प्रयत्न गर्ने कि? त्यसोगर्दा काममा जाने अभिभावकका समस्या कसरी समाधान गर्ने? किनकि, बच्चाबच्चीलाई घरमा ‘अनलाइन कक्षा लिऊ’ भनेर एक्लै छाड्न मिल्दैन। साना र ठूला दुवै बच्चासँग अभिभावक बस्नुपर्ने अवस्था सिर्जना हुन्छ। त्यसो गर्दा श्रीमान्–श्रीमती दुवै काममा जान पाउँदैनन्। दुवैले काम गरिरहेका भए एक जनाले छाड्नुपर्ने अवस्था आउँछ।
शिक्षकभन्दा विद्यार्थी अघि
प्रविधि नयाँ हो। नयाँ हुन्छ। प्रविधिले छिनछिनमा नयाँनयाँ भर्सनमा आफूलाई रुपान्तरण गर्छ जसरी बच्चाले आफूलाई रुपान्तरण गर्छ। यो उसको स्वभाव हो। यही गुणका कारण प्रविधि पनि पुरानालाई भन्दा नयाँलाई बढी सहज हुन्छ।
बाबु–आमाले छोराछोरीलाई कथा सुनाउँछन्। पुर्खाका इतिहास बताउँछन्। पुरानो जमानाको स्मरण गराउँछन्। तर प्रविधि सिकाउन हम्मे पर्छ। प्रविधि त छोराछोरीले सिकाउँछन् आमा–बाबुलाई। सानो छोराले आमालाई मोबाइल चलाउन सिकाउँछ। छोरीले बाबालाई नयाँ गजेटभित्र प्रवेश गराउँछिन्। किनकि, आजका बच्चा जन्मनासाथै मोबाइलको सम्पर्कमा आइसक्छन्। त्यसैले मोबाइल तिनको अभिन्न साथी भइसकेको हुन्छ। त्यस्तो साथीलाई एकैचोटि ऊबाट अलग गर्न खोज्नु प्राकृतिक नियमको सिद्धान्तले पनि प्रतिकूल हुन्छ। यो यथार्थलाई अभिभावक र शिक्षक दुवैले ध्यान दिन सक्नुपर्छ।
प्रविधि प्रयोग गर्ने मामिलामा शिक्षकभन्दा विद्यार्थी धेरै अगाडि छन्। हाम्रा बाबा–आमाले खुर्पीठ्याक, बञ्चरो, ढिकी–जाँतो र डाडू–पन्यू खेलाएजस्तै हो तिनलाई मोबाइल, ल्यापटप, ट्याबलेट, आइप्याड, स्मार्ट वाच। त्यसैले तिनीहरुलाई अब प्रविधिविमुख पठनपाठन होइन, प्रविधियुक्त पठनपाठनमै जोड दिनु उपयुक्त हुन्छ। शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘विद्यार्थीहरु शिक्षकसँग भन्दा प्रविधिसित बढी सिक्छन्, सिक्न खोजिरहेका छन्। त्यसैले अब शिक्षक संख्या आधाभन्दा कम भए पुग्छ।’
के प्रविधिमा जानासाथ विद्यालयहरु एकैचोटि बन्द गर्न सकिएला त? यो सम्भव छैन। पूरापूर अनलाई शिक्षण गर्न सकिएला त? त्यो पनि सम्भव छैन। त्यस्तो सोच राखियो भने त्यो विगतमा हामीले कुनै तयारीबिना आरम्भ गरेको विश्वविद्यालयको सेमेस्टर प्रणालीजस्तै हुन बेर लाग्दैन। त्यसैले यस दिशामा सोचेर मात्र कदम चाल्नुपर्छ।
तर अब लामो बसयात्रा गरेर/गराएर हप्ताको ६ दिन विद्यालयका कक्षाकोठाभित्र विद्यार्थीलाई जम्मा गरेर राख्ने परिपाटीमा समयले परिवर्तन खोजेको छ। हरेक अभिभावक र विद्यालयले यसतर्फ सोच्न विलम्ब गर्ने बेला छैन।
प्रविधिमैत्री शिक्षणविधि अपनाउन अपरिहार्य छ। खालि त्यसको तयारी कसरी गर्ने? चुनौती र अनिश्चिततालाई कसरी सल्टाएर अगाडि बढ्ने भन्ने मात्र हो।
कसरी त?
एकथरी अनलाइन शिक्षण तत्काल गर्नुभन्दा योजना बनाएर बिस्तारै गर्दा वेश हुने तर्क गर्छन्। केही विद्यालयमा ‘पाइलट प्रोजेक्ट’का रुपमा सञ्चालन गर्दा राम्रो हुने तिनको बुझाइ छ।
विद्यार्थीको वर्गीकरण आवश्यक हुन्छ। शिशु कक्षाकालाई प्रविधिबाट कसरी अक्षर चिनाउने? शिशु कक्षा (प्ले ग्रुप) देखि नर्सरीसम्म, १–३ कक्षासम्म, ४–७ कक्षासम्म र ८–१२ कक्षासम्म र त्यसभन्दा माथिका लागि अलग्गै तयारी गर्दा राम्रो हुने तिनीहरु तर्क गर्छन्। सबैलाई एकै ठाउँमा छ्यासमिस गर्दा गञ्जागोल हुने तिनीहरु बताउँछन्।
कक्षा व्यवस्थापन सहज हुनुपर्छ। विद्यालय कक्षालाई घरकक्षामा बदल्ने चुनौती छ। विद्यालयका कक्षामा प्रायः ३०–३५ जना विद्यार्थी हुन्छन्। अनलाइन कक्षामा प्रत्यक्ष कति जनालाई पढाउन सकिन्छ? त्यसको राम्ररी अभ्यास नगरी हुन्न। अनलाइन शिक्षण गर्न कति जनासम्म उपयोगी हुन सक्छन् त्यसको अभ्यास आवश्यक रहेको उनीहरुको भनाइ छ।
शिक्षाविद् विद्यानाथ कोइराला भने यसलाई ४ घेरामा राखेर तत्काल व्यवस्थापन गर्न सकिने बताउँछन्। भन्छन्, 'रेडियो, टेलिभिजन, इन्टरनेट, मोबाइल केही पनि नभएकालाई विद्यालयमै शिक्षकले ६/७ जना राखेर दूरी कायम गरी पढाउन सकिन्छ। दोस्रो, रेडियोमात्र भएकाहरुले यसैबाट पठनपाठन गर्न सक्छन्। तेस्रो, जोसित टीभी छ तिनले कोरोनाको त्रास मात्र फैलाउने होइन, पाठ्यसामग्री पस्किदिए हुन्छ। चौथो, अनलाइन भएकाहरुले त्यसैबाट पढाउन सक्छन्।’
मोबाइलमा अब कोरोनाबाट बच्ने उपायमात्र बजाइरहनुको सट्टा ‘आजको पाठ यो, भोलिको पाठ यो’ भनेर केटाकेटीको पाठ भनिदिन दूरसञ्चारसँग आग्रह गर्छन्, शिक्षाविद् कोइराला। युट्युब, फेसबुक जस्ता सामाजिक सञ्जाललाई पनि अब बढी शिक्षणमा लगाउनुपर्ने उनको सुझाव छ।प्रकाशित : वैशाख १, २०७७ १९:३५https://ekantipur.com/feature/2020/04/13/158678581621275421.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि