ठडियो दरबार हाइस्कूल, हरायो मजलिस घर

राताे घेरामा मजलिस घर
मिलन दाहाल
काठमाडाैं
२०७६ माघ २५ शनिबार १७:४५:००

ठडियो दरबार हाइस्कूल, हरायो मजलिस घर 

रानीपोखरीको छेवैमा राणा प्रधानमन्त्री वीर शमशेरले बिसं १९४८ मा जब संस्कृत पाठशाला (दरबार हाइस्कूलका लागि पनि) नयाँ भवन निर्माण गरे, त्यो भवनसँगै जोडेर दक्षिण कुनामा अर्को भवन पनि निर्माण गर्न लगाए । दुई स्कूलका लागि निर्माण गरिएको भवनको छेउमै त्यो अर्को भवनको नाम राखियो, मजलिस घर ।
वीर शमशेरको पालासम्म कतिपय सरकारी कामकाजमा उर्दु र फारसी भाषा प्रचलनमा रहेकाले सम्भवतः त्यसैको पठनपाठनका लागि मजलिस घरको निर्माण गरिएको थियो ।  
१२ बैशाख ०७२ को भूकम्पले क्षतिग्रस्त नेपालको जेठो विद्यालयको रुपमा रहेको दरवार हाइस्कूल (भानु मावि)को भव्य भवन त निर्माण भइसकेको छ । तर, दरवार हाइस्कूल जत्तिकै पुरानो इतिहास रहेको ‘मजलिस घर’ को अस्तित्व भने नामेट हुन पुगेको छ ।  
राताे घेरामा पहिला मजलिस घर भएकाे स्थान, हाल खाली छ ।
गौरवपूर्ण इतिहास 
जंगबहादुरको पालामा बि सं १९१० मा थापाथली दरवारमा स्थापना भएको दरवार हाइस्कुलका लागि वीर शमशेरले बिसं १९४८ मा रानीपोखरी छेउमा भवन निर्माण गरेका थिए । भवन निर्माण भएपछि रणोद्दीप सिंहको पालामा रणमुक्तेश्वरमा रहेको संस्कृत स्कूललाई पनि दरवार हाइस्कूलमै स्थानान्तरण गरिएको थियो । 
इतिहासकार डा. राजेश गौतमका भनाईमा, सुरुवातमा मजलिस घर उर्दु र फारसी भाषा पढाउने केन्द्र थियो । ‘मजलिस घरको भुईतलामा उर्दु र फारसी भाषाको पढाई हुन्थ्यो’ गौतम भन्छन्, ‘उर्दु र फारसी भाषा पढाउन बंगालबाट शिक्षकहरु बोलाइन्थ्यो ।’  
मजलिस घरको सम्बन्ध उर्दु र फारसी भाषाको पढाइसँग मात्र छैन, नेपालको पहिलो क्याम्पस ‘त्रिचन्द्र कलेज’सँगसमेत जोडिएको छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले जब बिसं १९७५ मा त्रिचन्द्र कलेज स्थापना गरे, कलेजको पठनपाठन सुरुवात मजलिस घरमै भएको थियो । 
डा. गौतमद्वारा लिखित ‘राणाकालीन नेपालको एक झलक’ पुस्तकमा उल्लेख भए अनुसार, १२ भदौ १९७५ मा स्थापना भएको कलेजका पठनपाठन १४ महिनासम्म मजलिस घरमै भएको थियो । र, ७० हजारको लागतमा घण्टाघर आडैको भवन निर्माण भएपछि मजलिस घरबाट त्रिचन्द्र कलेज सरेको थियो । 
शिक्षा बिटमा कलम चलाउने पत्रकार प्रकृति अधिकारी मजलिस घरको इतिहास एसएलसी परीक्षासँग समेत जोडिएको बताउँछन् । अधिकारीका भनाईमा, नेपालमा पहिलो पटक एसएलसीको केन्द्र मजलिस घरलाई नै तोकिएको थियो ।   
‘एसएलसीको इतिहास’ नामक पुस्तकमा पत्रकार अधिकारीले लेखेका छन्, ‘बिसं १९९० मा पटना विश्वविद्यालयबाट एसएलसी परीक्षा लिन पाउने अधिकार नेपालले पाएपछि पहिलो परीक्षा केन्द्र मजलिस घरलाई तोकिएको थियो ।’  
अधोगति, अनि समाप्ती 
बिसं १९९० (२ माघ) सालको भूकम्पले पनि दरबार हाइस्कूल र मजलिस घरलाई क्षति पुर्‍यायो । त्यसपछि सुरु भयो, मजलिस घरको अधोगति । 
अर्थात्, बिसं १९९० को भूकम्प अघिसम्म छुट्टै थियो, मजलिस घर । भूकम्पपछि पुनर्निर्माण गरिँदा भने दरबार हाइस्कूलको भवनसँगै जोडेर मजलिस घर निर्माण गरियो । विस्तारै सरकारी कामकाजमा उर्दु र फारसी भाषाको प्रयोग पनि लोप हुन थाल्यो । त्यसैले, यी दुई भाषामा हुने पढाई पनि संभवतः त्यहाँ हुन छाड्यो ।
बिसं १९९० को भूकम्प मजलिस घरको अस्तित्वमाथिको पहिलो धक्का थियो । तर, १२ बैशाख ०७२ को भूकम्प भने मजलिस घरको अस्तित्वमाथि निर्णायक धक्का सावित हुन पुग्यो । 
अर्थात्, चिनियाँ सहयोगमा दरवार हाइस्कूल (भानु मावि र संस्कृत विद्यालय) का लागि ४५ कोठे भव्य भवन निर्माण भएपनि ‘मजलिस घर’ भने पुननिर्माण भएन । त्यसैले, त्यो ऐतिहासिक भवन अब देख्न पाइने छैन ।
दरबार हाइस्कूलका लागि त्यति ठूलो र भव्य भवन निर्माण गरिँदा नेपालको शैक्षिक इतिहासमा महत्व राख्ने राणाकालीन ‘मजलिस घर’ को पुननिर्माण चाहिँ किन नगरिएको होला ?
राष्ट्रिय पुननिर्माण प्राधिकरणका अधिकारीहरु के भन्छन् भने, त्यो भवन र त्यसको महत्वबारे उनीहरुलाई कुनै जानकारी नै थिएन । अनौपचारिक कुराकानीमा उनीहरु भन्ने गर्छन्, ‘जानकारी भइदिएको भए पक्कै पनि मजलिस घरको पुननिर्माण पनि गरिथ्यो होला ।’ 
राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत शिक्षा इकाइका उपनिर्देशक दीलिपशेखर श्रेष्ठले भने वीर शमशेरकालीन ‘मजलिस घर’ नभए पनि त्यसको इतिहास जीवित राखिने बताउँछन् । उनी भन्छन्, ‘दरवार हाइस्कूलको नयाँ भवनभित्र ‘मजलिस घर’ को अस्तित्व कुनै न कुनै रुपमा देखिनेछ ।’

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि