हाम्रा गीत प्राज्ञिक छैनन् : गायक राजेशपायल राई


कान्तिपुर संवाददाता
राजेश पायल राई, गायक गायक राजेशपायल राई तीन महिना लामो वर्ल्ड टुर सकाएर केही दिनअघि नेपाल फर्के । काठमाडौंमा रहँदा उनको प्राय: समय स्टुडियोमै बित्यो । चर्चित गायक राई यतिबेला जापान पुगेका छन् । बुधबार नेपाल फर्किएलगत्तै उनी वर्ल्ड टुरको अर्को सेडुलमा व्यस्त हुनेछन् । 
लामो समयपछि भर्खरै मुलुक फर्किनुभयो । अब त फुर्सदमै हुनुहुन्छ होला नि ?
वर्ल्ड टुरकै क्रममा छु । जापान जान भिसा प्रोसेस यतैबाट गर्नुपर्ने भएकाले आएँ । काठमाडौं आउनेबित्तिकै संगीतकर्मीले पछ्याउनुभयो । तीन दिन भयो, दिनमा तीनटा गीत रेकर्ड भ्याउनु परिरहेको छ । तीन महिनादेखि बाहिर थिएँ । यूकेबाट सुरु भएको यसपटकको वर्ल्ड टुर कोरिया, अमेरिका, क्यानडा हुँदै यूकेमै पुगेर टुंगियो । अमेरिका र यूकेमा कन्सर्ट गरे । जापानपछि अब जर्मनी, अस्ट्रेलियामा कसर्न्ट छ ।
वर्ल्ड टुर त धेरैअघि थाल्नुभएको हैन र ?
६ वर्षअघि । खासमा कन्सर्टका लागि विदेश यात्रा त भइरहेकै थियो । पछिल्लो समय मुलुकबाहिर नेपाली गीत–संगीतको माग बढेपछि विभिन्न देशका आयोजकसित संयोजन गरेर थुप्रै मुलुक भ्याउने गरि कन्सेप्ट बनाएँ । त्यतिबेला इजरायलबाट सुरु गरेको गरेको थिएँ– मलेसिया, क्यानडा, दुबई र थाइल्यान्डलाई समेत जोडेर । वर्ल्ड टुरको कन्सेप्ट सम्भवत: त्यो नै पहिलो थियो ।
मुलुकबाहिर श्रोता–दर्शकको गीतप्रतिको मनोविज्ञानमा के–कस्तो परिवर्तन आइरहेको रहेछ ?
सन् २०१३ मा जतिबेला मैले वर्ल्ड टुर गरेको थिएँ, त्यसयता धेर बदलाव आइसकेको छ । अहिलेका दर्शक–श्रोताले बढी त डान्सिङ नम्बर रुचाइरहेका छन् । स्लोभन्दा पनि फास्टबिटको गीतको माग बढिरहेको देख्छु । सम्भवत: समय नभएर हुन सक्छ । ‘पैसा नै तिरेर आइसकेपछि मज्जाले रमाइलो गरौं न, सेन्टिमेन्टल गीत सुनेर किन पीडामा डुब्ने’ भन्ने मानसिकताले पनि काम गरेको हुन सक्छ । सिरियस गीतचाहिँ काम गर्ने बेला, घरमा या कुनै प्राइभेट टाइममा सुन्ने गरेको पाएँ । अर्को कुरा, पहिलो र अहिलेको कमाइमा पनि ठूलो भिन्नता छ । करेन्सी बढ्यो । नेपाली डायस्पोराको हैसियत बढेपछि कलाकारलाई फाइदा नै पुर्‍याएको छ ।
त्यसो भए, नेपाली संगीतको व्यावसायिकतामा डायस्पोराको भूमिका प्रभावशाली बन्दै गइरहेको हो ?
मेरै कुरा गरौं न । आज म जे छु, प्रवासी नेपालीभाषीकै कारणले छु । धेरैजसो मलाई नेपालीभाषी भुटानीहरूले प्रेम गर्छन् । अस्ट्रेलिया, अमेरिका, क्यानडा, यूके, न्युजिल्यान्डलगायतका मुलुकमा रहनुभएका नेपालीभाषी भुटानी समुदायले बरोबर बोलाइरहन्छन् । तीनवटा देशको नागरिक हुनुपर्दाको मनोदशा बोकिरहेको भए पनि उहाँहरूले नेपाली भाषाप्रति देखाएको विश्वास र प्रेम साँच्चिकै सलामयोग्य छ । पछिल्लो समय त उहाँहरू आफैं पनि नेपाली भाषाको गीत लेखन र रेकर्डिङ थाल्नुभएको छ । यसबाहेक नेपाली डायस्पोराले कलाकारलाई गर्ने मायाकै कारण आज हाम्रो कला, संस्कृति मुलुकबाहिर प्रवर्द्धन भइरहेको छ ।
नेपालीभाषी भुटानीसित माया बढ्नुको खास कारण ?
११ वर्षअघि म पूर्वको बेलडाँगी क्याम्प–२ मा थिएँ, कन्सर्ट गर्दै । भुटानी शरणार्थीहरूको तेस्रो मुलुक आप्रवासनको प्रोजेक्ट अन्तिम चरणमा थियो सायद । सबैजना भावुक थिए । त्यतिबेला बच्चा, टीनएजदेखि बूढाबूढीसम्मकै माया पाएँ मैले । त्यही माया–प्रेम आशीर्वादको रूपमा जारी रह्यो ।
स्वाभाविक रूपमा हाल व्यावसायिकताको भ्यालु बढ्यो, नेपाली गीत–संगीतचाहिँ कतातिर गइरहेको छ त ?
हाम्रो गीत–संगीतले आफ्नो छवि पकड्न सकेको छैन । यसमा मेरो पनि दोष हुन सक्छ । सबभन्दा बढी कन्सर्ट गर्ने, सबभन्दा बढी विदेश घुम्ने गायकको रूपमा । तर मैले त सिर्जना गर्ने हैन । गीत–संगीतको नेपाली मौलिक अनुहार निर्माण गर्न त रचनाकार र संगीतकारको मुख्य भूमिका हुन्छ । गायक सर्जक नभई प्रस्तोता नै हो । यस्तो गाइदिनुपर्‍यो, यस्तो चलिरहेको छ भन्छन्, गाउनै पर्‍यो । तर हामीले चलिरहेको गाउने कि नेपाली माटोको संगीत खोज्ने ? गोपाल योञ्जन दाइ, नारायण गोपाल, नातिकाजीहरूको समयमा जस्तो हामी एकेडेमिक हुन सकेका छैनौं । सबैजना लहलहैमा आइयो, स्थापित भइयो भन्ने प्रकृतिका मात्रै छन् । मैले पनि केही जानेको छैन । तर, अनुभवको आधारमा भन्ने हो भने हामीले नेपाली माटोको गीत–संगीतको ठ्याक्कै पहिचान दिन सकेका छैनौं ।
के गर्दाचाहिँ नेपाली माटोको सुगन्ध आउँछ होला हाम्रो गीत–संगीतमा ?
ठ्याक्कै सूत्र त म भन्न सक्दिनँ । यो फेरि ‘दुई दुना चार’ जस्तो हिसाब पनि हैन होला । तर, के लाग्छ भने लोकगीतलाई आधार बनाएर आधुनिक सिर्जनाहरू गर्न सकिन्छ होला । जसरी इन्डियन क्लासिकललाई बेस बनाएर भारतीय आधुनिक संगीतकारहरूले काम गरिरहेका छन्, त्यसरी नै हामीले पनि लोकलाई आधारित बनाउनुपर्छ । सानो देश भए पनि हामीमाझ अनेकौं संगीत संस्कृति छन् । हाम्रो रैथाने संगीत परम्परा काठमाडौंमा जे छ, यही पर सिन्धुपाल्चोक या काभ्रे पुग्दा अर्कै स्वादको भेटिन्छ । पोखरा पुग्दा त्यसको बिट, लय र ताल भिन्नै भइदिन्छ । पूर्व, पश्चिम, तराई, मधेस, मिथिला अनेकौं सांगीतिक विविधता छन् । पञ्जाबी, तामिललगायतको म्युजिकले भाषा, मिडिया र बजारको हिसाबबाट जसरी विश्वव्यापी पहिचान बनाइरहेको छ, त्यसले भारतीय आधुनिक संगीतलाई बलियो पारिरहेको छ । हाम्रोमा त्यसो हुन सकेको छैन ।
यसको प्रभाव त डायस्पोरामा पनि पक्कै होला ?
किन नहुनु ? झन् छ । धेरैजसो प्रवासी नेपाली कला, साहित्य, संगीत, संस्कृति र भाषाको हिसाबले बीचको अवस्थामा छन् । आधा अंग्रेजी आधा नेपाली । पूरै नेपाली पनि बन्न सकिरहेका छैनन्, पूरै विदेशी पनि हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा त हाम्रो सफ्ट पावर (कला, साहित्य, संगीत, फिल्म) बलियो हुनुपर्ने हो । राष्ट्रिय पहिचान प्रवर्द्धन गर्ने गरी हुनुपर्ने हो । नेपाली आधुनिक संगीतको फुल बेस्ड लोकगीतलाई बनायौं भने डायस्पोरामा यसले केही काम अवश्य गर्नेछ । अहिले त बाहिर कसर्न्टतिर ‘हिन्दीजस्तो हुँदोरहेछ तेरो गीत’ भन्नेहरू थुप्रै भेटिन्छन् । नेपालीजस्तो नै भन्दैनन् । जतिबेला गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपालहरूको समय थियो, त्यो बेला हाम्रो संगीत नेपालीपन उभिएको थियो । अहिले म पनि चुकिरहेको छु । म आज पपुलर छु, मेरो सुन्नै पर्छजस्तो लाग्छ । तर, रिजल्ट मलाई थाहा छ कि भविष्य राम्रो छैन ।
फिल्मका गीत धेरै गाउनेमा पनि तपाईं नै पर्नुहुन्छ । त्यताको अनुभव ?
फिल्मको त कुरै नगरौं । पूरै सूत्रमय । यसो भन्दा आफूले आफैंलाई गाली गरेकोजस्तो होला । सुरुमा भेट भायो लभ सङ, बिहे भयो म्यारिज सङ, आइटम सङ, खटपट भयो भने ट्र्याजेडी सङ । यसले नेपाली फिल्म संगीतलाई ट्र्यापमा पारेको छ । यसले नेपाली गीत–संगीतको कद बढाउँदैन ।
अहिले त गीत आधारित गीत पनि फिल्ममा प्रशस्तै आइरहेका छन् नि ?
पहिले नै चलिरहेको ट्रेन्ड हो यो । आइडिया नयाँ हैन । क्रिएसन पनि नयाँ छैन । रत्नदास प्रकाश, कान्छा नेपाली, गोपाल योञ्जन दाइहरूले नै चलाइसक्नुभएको ट्रेन्ड हो । गोपाल योञ्जनले उहिल्यै ‘देउसिरे...’ गाइसक्नुभएको हो । ‘बहिनीको दया छ भने...’ जस्तो टप्पा टाइपको गीत उहिल्यै थियो । अहिले गिटार, ड्रम पो नयाँ आयो त, चिज पुरानै छ ।
गीत–संगीतको प्राज्ञिक अभ्यासका लागितपाईंको योजना ?
भर्खरै ‘दर्शन नमस्ते–४’ निकालें । अहिले त टुरमै छु । राजेशपायल राई म्युजिक एकेडेमीका लागि काम भइरहेको छ । दस वर्ष नै अघि फाउन्डेसन खोलेको हुँ । नेपाली, गीत–संगीत अध्ययन, अनुसन्धान र प्रवर्द्धनको योजना बन्दै छ, फाउन्डेसनमार्फत् पनि ।
अविवाहित मान्छे, टुरको त रमाइलो अनुभव होला ?
यात्रा क्रममा अनौठा फ्यानहरू भेटिन्छन् । चार वर्षअघि अमेरिकामा १४ वर्षे एक नेपाली किशोरी भेटेको थिएँ । उनले ४ वर्षपछि तपाईंसित बिहे गर्छु भनिन् । मैलेचाहिँ यो त खाली आकर्षण मात्रै हो, त्यसबारे नसोच्नू, अहिले पढ्नू भनें । अस्ति भर्खरै तिनले १८ वर्ष पुगेको म्यासेज गरिन् । अब बिहे गर्ने रे । मैले सम्झाएको छु ।

प्रकाशित : मंसिर १०, २०७६ ११:५५https://ekantipur.com/entertainment/2019/11/26/15747486012738992.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि