दृष्टिविहीन विद्यार्थीलाई सधैं सास्ती


न विद्यालय, न शिक्षक, न ब्रेल पाठ्यपुस्तक, दृष्टिविहीनलाई सधैं सास्ती
ब्रेल पुस्तकको विकल्पक खोज्दै छौं : मन्त्रालय
गणेश राई
काठमाडौँ — भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी कक्षा ११ पढ्ने सुरसार गर्दै छन् । २०७५ सालको एसईईमा सहभागी ४ लाख ५९ हजार २ सय ७५ जनामध्ये करिब ७० जना दृष्टिविहीन विद्यार्थी थिए । अधिकांश दृष्टिहीन विद्यार्थीको ग्रेड र जीपीए उत्कृष्ट छ ।

ती दृष्टिविहीन विद्यार्थीले कक्षा ११ पढ्ने तरखरमा छन्/छैनन् ? लेखाजोखा गर्ने निकाय मौन छ । देशभरिका ८२ विद्यालयमा दृष्टिविहीन विद्यार्थी पढ्ने व्यवस्था छ । त्यो व्यवस्था कक्षा १० सम्म मात्र हो । शिक्षा मन्त्रालयले कक्षा ११ र १२ मा ब्रेल पाठ्यपुस्तक र सन्दर्भ सामग्री व्यवस्था गरेको छैन । त्यसैले एईई उत्तीर्ण ती दृष्टिविहीन विद्यार्थी कहाँ पढ्दै छन् ? कसरी पढ्दै छन् ? कुनै निकायलाई थाहा छैन ।

संविधानको धारा ३१ (४) मा भनिएको छ, ‘दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाका माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ।’ व्यवहारमा भने कक्षा ११ भन्दा माथि दृष्टिविहीनका निम्ति औपचारिक पठनपाठनको निम्ति सेवा, सुविधाको व्यवस्था नरहेको स्वीकारोक्ति शिक्षा मन्त्रालयका अधिकारीहरूको छ ।

देशकै पहिलो दृष्टिविहीनका निम्ति स्थापित कीर्तिपुरस्थित ल्याबरेटरी माविबाट यसपटक ८ जनाले एसईई उत्तीर्ण गरेका छन् । त्यहाँ कक्षा ११ मा दृष्टिविहीनका निम्ति पढ्ने व्यवस्था छैन । ‘यहाँ व्यवस्था नभएकाले ती विद्यार्थी आआफ्नै रोजाइमा विभिन्न कलेजमा जान्छन्,’ प्रधानाध्यापक लाक्पा शेर्पा भन्छन् ।

कीर्तिपुरस्थित ल्याबरेटरी माविबाट यसपालिको एसईईमा जीपीए ३ दशमलव ७ ल्याएकी स्मारिका पोखरेल दृष्टिविहीन हुन् । उनी धुम्बाराहीस्थित साइपल एकेडेमीमा ए लेभल पढदै छिन् । ‘हामी दृष्टिविहीनले पढ्ने ननसाइन्सका विषय मात्र हुन्,’ उनले भनिन्, ‘सोसलोजी, साइकोलोजी, जनरल पेपर र बिजनेस स्टडिज विषय रोजेकी छु तर कुनै विषयमा ब्रेल पुस्तक पाइन्न । कलेजलाई समस्या सुनाएरै भर्ना भएर पढेकी छु ।’

छात्रा पोखरेलका सात जना साथीमध्ये चारजना बत्तीसपुतलीस्थित गोल्डेन गेट कलेजमा भर्ना भएका छन् । ‘यहाँ चार जनाले विशेष छुटसहित भर्ना पाएका छौं,’ ३ दशमलव ७५ जीपीए हासिल सीमा तामाङले भनिन्, ‘कलेजमा शिक्षकले राम्रो गाइड गर्नुहुन्छ भन्ने हामीभन्दा अघिल्लो ब्याचका साथीबाट थाहा पायौं । यहाँ ब्रेल पाठ्यपुस्तक नहुँदा गाह्रो छ । होमवर्क गर्न बुक पनि छैन । सरले कम्प्युटरमा गरेर इमेलबाट पठाऊ भन्नुहुन्छ । त्यो पनि त्यत्ति सजिलो छैन ।’

पत्रकारिता, समाजशास्त्र, अंग्रेजी ऐच्छिक विषय राजेकी उनले कक्षामा सुनेकै भरमा पढ्नुपर्नेछ । आन्तरिक परीक्षा र बोर्ड परीक्षामा लेखक राख्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । दृष्टिविहीन विद्यार्थी विज्ञान संकायका विषय पढ्न वञ्चित हुने गरेका छन् । गणित, चित्र, रेखा आदि प्रयोग हुने प्रश्नपत्र सधैं छोड्नुपरेको उनीहरू बताउँछन् ।

नेपाल दृष्टिविहीन कल्याण संघका अध्यक्ष कुमार थापा कक्षा १२ सम्म माध्यमिक तह उल्लेख भए पनि व्यवहारमा लागू हुन नसकेको बताउँछन् । ‘कक्षा १० सम्म दृष्टिविहीन पढाउने माध्यमिक विद्यालयले १२ कक्षासम्मै निरन्तर पढाउन जरुरी छ,’ पाल्पा र बाराका दुई विद्यालयले मात्र दृष्टिविहीन विद्यार्थीलाई निरन्तर पढाएको उल्लेख गर्दै उनी भन्छन्, ‘त्यसैअनुसार सरकारले छात्रवृत्ति, पाठ्यपुस्तक, सहायक सामग्री उपलब्ध गराउन जरुरी छ तर स्थिति उल्टो भएको छ । कक्षा ११ देखि दृष्टिविहीन विद्यार्थी अन्यायमा परेका छन् ।’

नेत्रहीन संघका कार्यकारी सल्लाहकार नरबहादुर लिम्बूले संविधानलाई सरकारले बेवास्ता गर्न नमिल्ने बताए । ‘दृष्टिविहीनका निम्ति कक्षा ११ र १२, स्नातक, स्नातकोत्तरसम्म अध्ययन गर्न कुनै औचारिक पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शब्दकोश, व्याकरण निर्माण भएको छैन,’ उनले भने, ‘सरकारले गम्भीरतापूर्वक सोचेर व्यवस्था गर्न जरुरी छ ।’

शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले कक्षा ११ र १२ मा धेरै विषय भएकाले ब्रेल पाठ्यपुस्तक निर्माणमासमस्या रहेको बताए । ‘कक्षा ११ र १२ मा धेरै विषय छन्,’ उनले भने, ‘कुन कुन विषयलाई ब्रेल पाठ्यपुस्तक बनाउने भन्नेबारे विकल्पको खोजी गरिँदै छ ।’ विकल्पबारे निष्कर्षमा पुग्न बाँकी रहेको उनले जनाए ।

परीक्षामा सधैं सास्ती
दृष्टिविहीन विद्यार्थीले ब्रेल लिपिमा पुस्तक र ब्रेल लेखन उपकरण व्यवस्था नहुँदा सास्ती भोग्नुपरेको छ । जतिखेर परीक्षा नजिक आउँछ, त्यतिखेर जाँचमा लेखिदिने व्यक्ति ‘लेखक’ खोज्नुपर्छ । नियमानुसार दृष्टिविहीन विद्यार्थीले परीक्षा दिनुपर्ने कक्षाभन्दा एक तह मुनिकालाई मात्र रोज्न पाउँछन् ।

परीक्षा हलमा लेखकले प्रश्नपत्र पढेर सुनाउँछ । ती प्रश्न परीक्षार्थीले सुन्छ । उसले बुझेको जवाफ लेखकलाई भन्छ/सुनाउँछ । लेखकले त्यसैअनुसार लेखिदिन्छ । सामान्य विद्यार्थीलाई सय पूर्णांकको प्रश्नपत्र हल गर्न तीन घण्टाको समय दिइन्छ । दृष्टिविहीन र अपांगता भएका विद्यार्थीका निम्ति परीक्षा केन्द्राध्यक्षको अनुमतिमा बढीमा डेढ घण्टा समय थप हुने व्यवस्था छ ।

‘तर केन्द्राध्यक्षले नियमानुसार समय थप गराउनै गाह्रो मान्छन्,’ कीर्तिपुरस्थित ल्याबोरेटरी माविका प्रधानाध्यापक लाक्पा शेर्पा भन्छन्, ‘दृष्टिविहीनका निम्ति लेखक व्यवस्था गरेपछि थप समय चाहिँदैन भन्छन् । हामी अभ्यस्त शिक्षकले केन्द्राध्यक्षलाई समस्याबारे बुझाउनै गाह्रो छ ।’

ल्याबोरेटरी माविमा कक्षा १ देखि १० सम्म ५३ जना दृष्टिविहीन विद्यार्थी पढ्छन् । प्रधानाध्यापक शेर्पाका अनुसार विकसित मुलुकमा दृष्टिविहीन विद्यार्थीले ब्रेलमै परीक्षा दिन्छन् भनेर ब्रेलमै उत्तरपुस्तिका जाँचिन्छ । त्यसरी ब्रेलमा लिइएको परीक्षाको उत्तरपुस्तिकालाई साइकेट लेटर (सामान्य अक्षर) मा बदलिदिन्छ । अनुवाद भएपछि सामान्य अक्षरमा बुझिन्छ । त्यसले परीक्षण र अंकभार दिन सहज हुन्छ । उनी भन्छन्, ‘नेपालको विद्यालयमा ब्रेलमै परीक्षा दिने र ब्रेलमै मार्क्स (परीक्षाको अंकभार) दिने व्यवस्था छैन ।’

ब्रेल पुस्तक छाप्न दुई संस्था
विद्यालय तह कक्षा १० सम्मको ब्रेल पाठ्यपुस्तक छपाउन नेपालमा हालसम्म दुई वटा मात्र संस्था छन् । काठमाडौंको नेपाल दृष्टिविहीन कल्याण संघ र नेत्रहीन संघले ब्रेल पुस्तक छपाउँदै आएका छन् । दृष्टिहीनका निम्ति अनिवार्य विषयअन्तर्गत नेपाली, अंग्रेजी, गणित, सामाजिक, विज्ञान र जनसंख्या विषयको पाठ्यपुस्तक छपाउँदै आएको छ । उक्त पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराइएको छ । विशेष प्रकारको छपाइ मेसिन हुने भएकाले सामान्य प्रेस तथा छापाखानाले ब्रेल पुस्तक छपाउन नसक्ने जनाइएको छ ।

शिक्षा मन्त्रालयले ब्रेल पाठ्यपुस्तक छपाउन आर्थिक वर्ष २०७५/७६ मा ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । पठनपाठन हुन विषयभित्र समेटिएका विषयवस्तु ब्रेल लिपिमा अनुवाद गरी उतार्ने गरिन्छ । सियोले घोचेजसरी छेडिएर खोपिने ब्रेल लिपि पुस्तकको आकार कक्षागत पाठ्यपुस्तकभन्दा ठूलो हुन्छ । कतिपय विषयको पाठ्यपुस्तक दुईभन्दा बढी खण्डमा विभाजन गरेर छाप्ने गरिएको छ ।

कक्षा १० का एक विद्यार्थीका निम्ति आवश्यक एक सेट पुस्तकको मूल्य २२ हजार रुपैयाँ पर्ने जनाइएको छ । ठूलो आकारको पाठ्यपुस्तक थोरै मात्रामा उपलब्ध हुने भएकाले धेरै जना साथीमाझ आलोपालो पढ्ने गरेको छात्रा पोखरेलले बताइन् । ‘एउटै विषयको पाठ्यपुस्तक ब्रेलमा दुई तीनवटा किताब हुन्छ,’ उनले भनिन्, ‘त्यसैले धेरै साथीसित बाँडेर पढ्यौं । अब कक्षा ११ देखि त्यस्तो कुनै सुविधा छैन ।’

अपर्याप्त छात्रवृत्ति र सुविधा
विद्यालय तहका विद्यार्थीले वार्षिक ४० हजार रुपैयाँ छात्रवृत्ति रकम र पाठ्यपुस्तक निःशुल्क पाउँदै आएका छन् । ‘ब्रेलका विद्यार्थीले व्यक्तिगत गृहकार्य गर्ने स्लेट स्टाइल्स र पेपरसमेत निःशुल्क उपलब्ध गराए मात्र न्याय हुन सक्छ,’ दृष्टिविहीन कल्याण संघकी कार्यकारी निर्देशक डा. मालिका प्रसाइँ भन्छिन्, ‘अहिलेसम्म अंग्रेजी र नेपाली भाषाको ब्रेलमा व्याकरण निर्माण नहुँदा विद्यार्थीको भाषा पढाइमा समस्या छ ।’

ब्रेल विद्यार्थीले पाउने पाठ्यपुस्तक मात्र हो । त्यो बाहेक सन्दर्भ सामग्री छैन । काठमाडौंकै विद्यालयमा दृष्टिविहीनले सुनेर प्रयोग गर्न सक्ने कम्प्युटर सफ्टवेयर व्यवस्था छैन ।

दशकदेखि तालिमविना शिक्षक
देशभरिका समाहित शिक्षा पठनपाठन हुने विद्यालयमा पढाउन कम्तिमा एकजना शिक्षक खटाइएका छन् । ‘बाह्र वर्षअघि तालिम पाएका अधिकांश शिक्षक अवकाश पाइसकेका छन्,’ शिक्षा मन्त्रालयले तालिम सुचारु राख्न नसकेको उल्लेख गर्दै प्रसाई भन्छिन्, ‘त्यसअघि हाम्रो संस्थाले तालिम दिलायो । अहिले विद्यार्थीलाई ब्रेल पुस्तक छ । उसले ब्रेल सिक्छ । ब्रेलमै लेख्छ । तर विद्यार्थीले सिकेर लेखेको ब्रेललाई जा“च्न सक्ने स्रोत शिक्षकको अभाव छ ।’ यसअघि दृष्टिहीन शिक्षकलाई आधारभूत र पुनःताजगी तालिमका दिइन्थ्यो । 

एउटैमात्र ब्रेल पुस्तकालय
दृष्टिहीन पाठकका निम्ति देशभरिमा एउटैमात्र राष्ट्रिय ब्रेल पुस्तकालय छ । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित दृष्टिहीन कल्याण संघको कार्यालय परिसरमा रहेको छ । संघका कार्यक्रम अधिकृत रत्नकाजी डंगोलका अनुसार पुस्तकालयमा विभिन्न विषयका १६ हजारभन्दा बढी किसिमका पुस्तक छन् । संघले कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकका अतिरिक्त २२ वटा शीर्षकका सन्दर्भ सामग्री प्रकाशित गरेको छ । त्यसैगरी ‘दिव्यचच्छु’ मासिक ब्रेल पत्रिका प्रकाशन गर्दै आएको छ । 
‘यहा“ रहेका पुस्तक विदेशबाट प्राप्त हुन्,’ डंगोलले भने, ‘बालबालिकालाई भन्दा ठूला पढेलेखेकाले मात्र पढ्न सक्छन् ।’ यहा“ दैनिक पा“च–छजना पाठक आउने गरेको उनले बताए । पाठकले सदस्यता लिएपछि पुस्तक घरमै लिएर पढ्न पाउने व्यवस्था छ । त्यसैगरी संघकै एउटा कक्षमा न्युन दृष्टि भएका पाठकका निम्ति पढ्न नेसनल लो भिजन रिसोर्स सेन्टर रहेको छ । यहा“ सीसीटीभी र म्याग्निफिकेसनको प्रयोग गरी पढ्ने व्यवस्था रहेको छ । 
प्रकाशित : श्रावण १३, २०७६ ०७:४२https://www.kantipurdaily.com/national/2019/07/29/156436545007929369.htm
l

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि