बालविवाह हुने शीर्ष १० मुुलुकमा नेपाल





नेपाल समाचारपत्र, काठमाडौं
बालविवाह हुने मुलुकमध्ये नेपाल विश्वका उच्च १० सूचीमा सूचीकृत भएको छ । विश्वका विभिन्न ८२ मुलुकको अध्ययन गर्दा नेपाल बालविवाह हुने शीर्ष १० मा परेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले जनाएको छ ।
२० देखि २४ वर्षका नेपाली पुरुषमध्ये एक जनाको बाल्यावस्थामै विवाह हुने गरेको युनिसेफको पछिल्लो अध्ययनले देखाएको छ । दक्षिण एसियासहित अफ्रिकाको उप–सहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा उमेर नपुग्दै बालविवाह हुने गरेको छ ।
तथ्यांकअनुसार मध्यअफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै २८ प्रतिशत बालविवाह भएको छ भने निकाराग्वामा १९ प्रतिशत र मदगास्करमा १३ प्रतिशत बालकको उमेर अगावै विवाह हुने गरेको छ । ‘नेपाल एक मात्र दक्षिण एसियाली मुलुक हो जहाँ बालक र बालिकाको उत्तिकै दरले बालविवाह भएको छ’ –बालअधिकारसम्बन्धी महासन्धिको तीसौं वार्षिकोत्सवमा युनिसेफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उमेर नपुग्दै विवाह हुँदा धेरै बालकले छिट्टै बाबुको भूमिका निभाउनुपर्ने र परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने भएकाले उनीहरु शिक्षा र रोजगारीका अवसरबाट वञ्चित हुने युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले बताउनुभएको छ । ‘बालविवाहले बालबालिकाको बाल्यावस्था हरण गर्दछ, बालविवाह भएका बालकले उमेर नपुग्दै वयस्कहरूको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ जसका लागि उनीहरू तयार भएका हुँदैनन्’ –निर्देशक फोरको भनाइ उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो अध्ययनअनुसार विश्वभर ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको र बालविवाह हुनेहरूमा धेरैजसो बालिका रहेका छन् । निम्न आय भएका परिवार, ग्रामीण क्षेत्रमा बसोबास गर्ने र औपचारिक शिक्षा हासिल नगरेका तथा औपचारिक शिक्षाबाट वञ्चित रहेका परिवारमा यस्तो समस्या रहेको युनिसेफको ठहर छ ।

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि