मुकारुङ दाजुभाइ प्रतिस्पर्धी कि सहयोगी


एकको नजरमा अर्काे

२०७६ असार १० मंगलबार ०९:११:००
श्रवणको नजरमा राजन :  धेरै बोल्छ कम लेख्छ
तपाईं राजन मुकारुङलाई कसरी चिन्नुहुन्छ ?
व्यक्ति : ऊ इख राख्ने मान्छे हो । आफ्नो विचार र पहिचानमा धेरै प्रतिबद्ध छ । स्वभाव अलि खरो छ । बाहिरबाट हेर्दा उसलाई मान्छेले जति कठोर देख्छन्, अथवा भयावह ढंगले सोच्छन्, भित्रबाट त्यस्तो छैन । कोमल छ । स्वाभिमानी छ । 
भाइ : त्यति व्यावहारिक छैन । म पनि साहित्यकार नै भएकाले साहित्यकारहरूको स्वभाव र प्रकृति बुझ्छु । त्यसरी बुझ्दा ऊ मलाई 
त्यति व्यावहारिक लाग्दैन । अलि ‘केयरलेस’ छ । 
लेखक : राम्रो लेखक हो । भाषा निकै राम्रो छ । मुख्यतः समाज, संस्कृति, राजनीति, इतिहास, जीवन दर्शनमा स्पष्ट छ । म उसको किताब पढ्छु । ऊ भाइ भए पनि हामी एउटै समयमा बाँचेका लेखक हौँ । 
उहाँले कविता लेख्न कम गर्नुभयो, तपाईं आख्यानमा आउनुभएको छैन, एक–अर्कामा प्रतिस्पर्धा हुने डरले हो कि ?
ऊ पहिला कवि नै हो । चार–पाँचवटा कवितासंग्रह निकालेको छ । तर, ऊ कविको रूपमा सफल भएन । आख्यानकारको रूपमा चाहिँ सफल भयो । हामीबीच प्रतिस्पर्धा त होइन, तर कसरी राम्रो लेख्ने भन्नेचाहिँ हुन्छ । ऊभन्दा म अलि सिनियर नै हो । ऊ अलि पछि साहित्यमा आएर ‘सिर्जनशील अराजकता’ भन्दै आएको हो ।
तपाईं र राजन मुकारुङको राजनीतिक आस्था फरक छ, यो विषयमा कहिलेकाहीँ मनमुटाव हुँदैन ?
त्यस्तो हुँँदैन । त्यस्तो ऊ पनि सोच्दैन, म पनि सोच्दिनँ । आफैँसँग प्रतिस्पर्धा गर्छु, म । उसको आफ्नै आस्था र सोच छ । मेरो आफ्नै छ । बेकारमा के झगडा गरिबस्नु ।
राजन आफूले बोकेको विचार, दर्शन र आफ्नो कुराप्रति बढी नै वकालत गर्छ । कहिलेकाहीँ लचिलो पनि हुनुपर्छ । तर, ऊ विरोधै गर्नुपर्छ, हस्तक्षेप नै गर्नुपर्छ भन्ने रूपमा उत्रिन्छ । 
राजन मुकारुङको कमजोर पक्ष के हो ?
आफूले बोकेको विचार, दर्शन र आफ्नो कुराप्रति बढी नै वकालत गर्छ । कहिलेकाहीँ लचिलो पनि हुनुपर्छ । अरूका विचार पनि सुन्नुपर्छ । तर, ऊ विरोधै गर्नुपर्छ, हस्तक्षेप नै गर्नुपर्छ भन्ने रूपमा उत्रिन्छ । थोरै लेख्ने र धेरै गफ गर्ने जस्तो पनि लाग्छ । 
अनि बलियो पक्षचाहिँ के हो ?
समाज, देश, राष्ट्र र जीवन जगत्लाई हेर्ने उसको दृष्टिकोण सफा छ । लेखाइ र भाषा राम्रो छ । आख्यानमा ऊ प्रसिद्ध पनि भइसकेको छ । त्यही हो । 
उहाँलाई सुझाब दिनुपरे के भन्नुहुन्छ ?
अलि धेरै पिउँछ भनेको सुन्छु । उसलाई उमेरले पनि त्यसरी पिउन दिँदैन अब । अझ बाजे भइसकेको मान्छे हो, ऊ । त्यो कुरा सोचेर कम पिइदियोस् भन्ने चाहन्छु । म आफू पनि एक–दुई पेगभन्दा पिउँदिनँ अब । म त सुध्रिसकेँ, ऊ  पनि सुध्रियोस् ।
राजनको नजरमा श्रवण :  कविता अब्बल विचार अस्पष्ट
तपाईं श्रवण मुकारुङलाई कसरी चिन्नुहुन्छ ?
व्यक्ति : ठूलो सपना नभएको, सादा जीवन जिउन चाहने र कसैलाई पनि नबिझाउने व्यक्ति । आफ्नो कठोर विचार अरूमा नलाद्ने र नरम मिजासको मान्छे हुन् । 
दाइ : मैले उनलाई दाइको रूपमा कहिल्यै हेरिनँ । अभिभावकको रूपमा पनि हेरिनँ । साथीकै रूपमा हेर्दै आएँ । मैले कहिल्यै पनि ‘श्रवण दाइ’ भनेको छैन । ‘कविजी’ भन्छु । परिवारले पनि उनलाई कवि नै भन्छन् । 
कवि : श्रवण मुकारुङ आफ्नो समयको अत्यन्त शक्तिशाली र उर्वर कवि हुन् । उनका कविता पढ्छु । लेखनको शिल्पशैलीदेखि लिएर कवितामा सोच्ने तरिका शक्तिशाली लाग्छ । उनका जटिल बिम्ब सामान्यभन्दा सामान्य मान्छेले पनि सरलतापूर्वक बुझ्छन् । मन पराउँछन् । उनी आफ्नो समयको प्रतिनिधि कवि हुन् । 
लेखकको रूपमा तपाईंहरूबीच प्रतिस्पर्धा छ ?
म साहित्यका सबै विधामा कलम चलाउँछु । अलि बढी आख्यानकारको रूपमा चिनिएँ । धैरैले कविता छाडिसक्यो भन्छन् । आख्यान लेख्न थालेपछि कविताकृति नआएकाले पनि होला । तर, किताबै बनाउन पुग्ने कविता छन्, मसँग । श्रवण स्थापित कवि हुन् । हाम्रो लेखनशैली फरक छ । उनको र मेरो कहिल्यै प्रतिस्पर्धा हुँदैन । 
तपाईं र श्रवण मुकारुङको राजनीतिक आस्था फरक छ । कहिलेकाहीँ विवाद हुन्छ ?
सामान्य वैचारिक लाइनमा सामान्य वादविवाद त भइहाल्छ । नहुने कुरै भएन । तर, त्यत्रो ठूलो झगडाचाहिँ भएको छैन । गर्नुपर्छ भन्ने पनि लाग्दैन । राजनीतिक र विचारधारा लिनु भनेको अर्को विचारधारा भएकोसँग बाझ्नु होइन ।
श्रवण पछिल्लो समय प्रजातान्त्रिक लाइनमा छन् क्यार । उनमा स्पष्ट विचारचाहिँ भएन । स्पष्ट वैचारिक लाइन सुरुदेखि नै बनेको भए हुन्थ्यो । त्यो नहुनु कमजोरी हो । 
 
श्रवण मुकारुङको कमजोर पक्ष के हो ?
उनी पछिल्लो समय प्रजातान्त्रिक लाइनमा छन् क्यार । उनमा स्पष्ट विचारचाहिँ भएन । सबैसँग स्नेहपूर्वक राम्रै व्यवहार गर्दै नै बसे । स्पष्ट वैचारिक लाइन सुरुदेखि नै बनेको भए हुन्थ्यो । त्यो नहुनु नै कमजोरी हो । 
अनि बलियो पक्ष ?
सामान्य कुरा गरेजस्तो गर्दागर्दै पनि आफ्नो कुरा सबैसँग मज्जाले राख्न सक्ने खुबी छ । यो खुबी उनको आदत नै भएको छ । अरूलाई कन्भिन्स गर्न सक्छन् । यो उनको बलियो पक्ष हो ।
उहाँलाई सुझाब दिन पाए के भन्नुहुन्छ ?
अब एउटा प्रजातान्त्रिक, लोकतान्त्रिक विचारधारामा लागिसकेपछि त्यसको मूल्य र मान्यतासँग सामान्यभन्दा सामान्य मान्छेका मुद्दा जोड्नुपर्छ । समानता, समताका मुद्दा नै ठूला कुरा हुन् । तिनलाई अलि घनिभूत रूपमा उठाएर अगाडि बढेदेखि अझै  राम्रो हुन्थ्यो ।

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि