बहस - राष्ट्रगानमा किन यस्तो राजनीति ?


बहस

२०७६ बैशाख १४ शनिबार ०८:१५:०० | काठमाडाैं
झन् नयाँ’ (७ वैशाख ०७६) को अघिल्लो अंकमा आदरणीय सर्जकद्वय आहुति र आभासको नेपालको राष्ट्रगानमाथि लेखिएको आलेख पढेपछि राष्ट्रगानसम्बन्धी विश्वका केही अभ्यास हेर्न र हाम्रै नेपालमा एकैपटक दुई–तीनवटा राष्ट्रगान चलनमा रहेका केही पाटा सम्झन मन लाग्यो ।  
पञ्चायतकालमा हामी हलमा सिनेमा हेर्न जाँदा पहिले ‘श्रीमान् गम्भीर नेपाली...’ बजाइन्थ्यो । सबैले उठेर सम्मान जनाउनुपथ्र्यो । नउठ्नेलाई सादा पोसाकका प्रहरीले पक्राउ गर्थे । हलभित्र पञ्चायत व्यवस्थाविरोधीले फिल्म हेर्ने निहुँमा फिल्म हेरिसक्दा सुटुक्क मिटिङ पनि गरिसक्थे । 
केही समयअघि भारतको सिनेमा हलमा राष्ट्रगान अनिवार्य रूपमा बजाउन अदालतले २०१६ नोभेम्बर ३० मा दिएको आदेशलाई आफैँ सुधार गर्दै २०१८ जनवरी ९ मा सिनेमाहलमा राष्ट्रगान बजाउन अनिवार्य नहुने फैसला ग¥यो । हलमा राष्ट्रगान अनिवार्य गरिने हो भने हरेक बिहान अदालतका इजलासमा पनि राष्ट्रगान अनिवार्य बजाउनुपर्ने भन्दै रिट दायर भएपछि त्यहाँका प्रधानन्यायाधीश दीपक मिश्राले सो विषयमा फेरि कहिल्यै कुनै प्रश्न अदालतमा ‘ट्रिट’ नगरिने भन्दै त्यस्तो फैसला गरेका थिए । 
यो प्रसंग सम्झिनुको कारण आहुतिमा राष्ट्रगान छान्ने क्रममा पहिलाको व्यवस्थाको पक्षधर वा समर्थकले राष्ट्रगान लेखेको हुन सक्ने आशंकाले उब्जाएको त्रासजस्तै इन्डियाको विवादमा समाधान कसरी निकालिएको थियो भनेर हेर्नका लागि मात्र हो । 
इन्डियाका पूर्वप्रधानन्यायाधीश मार्कर ए काट्जुले डिसेम्बर २६ १९११ कलकत्तामा कांग्रेस पार्टीको २७औँ सम्मेलनमा राजा जर्ज पाँचौँलाई भाग्यविधाता भन्दै उनकै स्तूतिमा पहिलोपटक ‘जन मन गण...’ गीत रवीन्द्रनाथ टेगोरले गाएको भनी लेखेका छन् । २८ डिसेम्बर १९११ मा कलकत्ताको पत्रिका द इंग्लिस म्यानले लेख्यो– कंग्रेस सम्मेलन राजाको सम्मानमा टेगोरले गीत गाएर सुरु गरे । तर, अर्को बंगाली पत्रिका द बंगालीले टेगोरको बचाउमा लेख्यो ।
टेगोरले यो विषयमा जीवनभर नै मौनता साँधे । टेगोरले राजा पञ्चमलाई रिझाएबापत सन् १९१५ मा नाइटहुड सम्मान पाए । देशवासीले उनलाई गद्दार भने । त्यहाँको राष्ट्रगानमा प्रयुक्त अधिनायक शब्द राजा पञ्चमकै स्तूति भनेर समालोचकहरू भन्छन् ।  १९४७ अगस्त १५ मा इन्डिया स्वतन्त्र भयो । राष्ट्रगान तय भएको थिएन । ३६ वर्षअघि नै बम्किम चन्द्र चटर्जीले ‘बन्दे मातरम्...’ गीत आफ्नो उपन्यास आनन्द मठमा प्रयोग गरेका थिए । 
मोहम्मद अलि जिन्हाको मुस्लिम लिग पार्टीलाई ‘बन्दे मातरम्’ र ‘जन मन गण’ दुवै गीतप्रति ‘कम्प्लेन’ थियो । पाकिस्तान टुक्रिए पनि देशप्रेमी मुस्लिम पाकिस्तानतर्फ लागेनन् । बन्दे मातरम् गीत महात्मा गान्धीलाई मनपर्ने नै थियो । तर, गान्धीले खुलेरै भनेका थिए– मलाई राष्ट्रगानका लागि नै चाहिँ ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ बढी राम्रो लाग्छ । तर, त्यो गीत स्वतन्त्र पाकिस्तानका पक्षधर अलगाववादी आन्दोलनका मुख्य नेतृत्व गर्नेमध्येका मुहम्मद इकबालले रचेका थिए । 
जेहोस् भारतमा पुरानो व्यवस्थाका पक्षधरकै गीत राष्ट्रगान बन्यो । व्यक्तिको पृष्ठभूमिलाई सिर्जनाका अगाडि माफी दिइयो । त्यो भनेको सर्जक जोसुकै होस्, त्यसले रक्सी धेरै खान्छ, त्यो बढी कामुक छ, त्यसको बोली ठीक छैन, ऊ घमन्डी छ आदि त लौकिक कुरा मात्र हुन्, सिर्जना त्योभन्दा माथिको कुरा हो । राष्ट्रगानका हकमा पनि त्यो लागू हुन्छ भन्ने मान्यता लागू भयो । सर्जकभन्दा माथि सिर्जनालाई राखेर हेरिएको त्यो दृष्टिकोण राजनीतिमाथि रचनाले विजय प्राप्त गरेको उदाहरण हो । म आहुति दाइलाई नचिने पनि पढ्थेँ, पढेपछि पनि चिन्न जरुरी छैन किनकि उहाँ बाँच्ने मैले चिनेर होइन  । 
अब रह्यो साहित्यिक ‘जिरेन्टोक्रेसी’ अर्थात् साहित्यिक बुढाबुढीतन्त्रको कुरा ।
 सन् १८१४ को सेप्टेम्बर १४, अमेरिकामाथि बेलायतले आक्रमण गरिरहेको थियो । फ्रान्सिस स्कट की, एक युवा वकिलले धुवाँको बीचमा एउटा चेपबाट तत्कालीन फर्ट म्याटनरीमा देखे– अमेरिकाको झन्डा फहराइरहेको थियो । तत्कालै भावुक बनेर उनी चिच्याए– द स्टार स्प्याङ्गल्ड ब्यानर । पछि तिनै शब्द परिष्कृत गरेर ‘ओ से क्यान यु सी, द डान्स अर्ली लाइट’ भन्दै ‘टु एनाक्रोन टु ह्याभेन’ छन्दमा लेखे– 
उनीहरूको आक्रामक पाइलाको प्रदूषण 
उनीहरूकै रगतले बगाएर लग्यो
त्यो झन्डा फहराइरह्यो ...।
विना कुनै योजना एउटा गैरसाहित्यिक युवा वकिलले तत्काल लेखेको त्यो गीत अमेरिकाको राष्ट्रगान बन्यो । 
प्यालेस्टाइनी लडाकुहरूले आफ्नो भूमि प्राप्त गर्न छापामारहरूबीच स्वतःस्फुर्त सामूहिक रूपमा गाउने गरेको गीत ‘माइ कन्ट्री...’ आन्दोलनका क्रममा विनायोजना गाइएको भए पनि प्यालेस्टाइनको राष्ट्रगान बन्यो । उता रुसका दुई क्रान्तिकारी मजदुरले सुस्केरा हाल्दै आफैँ रचना गरेर गाएको गीत इन्टरनेसनल... लाई सोभियत संघले राष्ट्रगानको मान्यता दियो । 
फ्रान्सको राष्ट्रगान पनि कुनै प्रसिद्ध कवि–लेखकले होइन, एक सैनिक अधिकृत इन्जिनियर ला मार्सेइल लाइसले लेखेका थिए । 
क्यानडाको राष्ट्रगान ‘ओ क्यानडा आवर होम, आवर नेटिभ ल्यान्ड...’  पहिलो चोटि १८८० जुन २४ मा गाइए पनि एक सय वर्षपछि जनतामा प्रशस्तै भिजेर १९८० मा मात्र राष्ट्रगान बनेको थियो । व्याकुल माइँलाको गीतलाई सिफारिस गर्दै गर्दा सुरुमा राष्ट्रगान लेख्न कुनै प्रसिद्ध व्यक्तिकै शब्द चाहिँदैन भन्ने उदाहरणजस्तो त देखियो । तर, त्यो अन्तरिम संविधानका लागि अन्तरिम राष्ट्रगान थियो भन्नेतर्फ ध्यान गएन । 
विदेशीका अभ्यास हेरेर मात्र हामी चल्दैनाैँ । हाम्रो चेतना विश्वका धेरै मुलुकभन्दा अगाडि बढिसकेको छ किनकि अझै पनि तत्कालीन संयुक्त अधिराज्यको राष्ट्रगानबाट प्रभावित विश्वका सबैजसो मुलुकका राष्ट्रगान शासकका स्तूतिमा मात्र सीमित छन् । कमन वेल्थका सबै राष्ट्रको र संयुक्त अधिराज्यको राष्ट्रिय गीत तथा शाही सलामी गीत समान रहेका छन्– गड सेभ द किङ...। पछि गड सेभ द किङको किङलाई क्विन गरिएको थियो ।
यस्तै जारकालीन रुसको राष्ट्रगान थियो –‘गड सेभ द जार...’ न्युजिल्यान्डमा ‘गड सेभ द क्विन र गड डिफेन्ड द न्युजिल्यान्ड’ दुवै रोयल र नेसनल एन्थमका रूपमा रहेका छन् । स्पेन, नर्वे, स्विडेन, डेनमार्क, थाइल्यान्ड सबैतिर राष्ट्रगानमा राजाको दीर्घायु र चीर शासनको कामना ईश्वरसँग गरिएका छन् । 
चिनियाँ राष्ट्रगानमा रहेका ११ वटै पंक्तिले कसैको दास नबन्न जनतालाई सम्झाउँछन् । इराकको राष्ट्रगानले आफ्ना देशको सुन्दर पहाडहरूको वर्णन गर्दै  कलम र तरबार हाम्रा प्रतीक हुन् भन्छ । नाइजेरियाको राष्ट्रगानले देशलाई मदरल्यान्ड नभनी फादरल्यान्ड भन्दै अधिकारका लागि निर्देशित गर्न स्रष्टालाई प्रार्थना गर्छ । संसारको सबैभन्दा छोटो पाँच पंक्तिको जापानी राष्ट्रगान क्याची छ । श्रीलंका आफ्नो देशलाई मदर लंका भन्छ ।
यसबीच हाम्रो ०६३ वैशाख ११ सम्मको राष्ट्रगान भनिएको ‘श्रीमान् गम्भीर...’ बोलको शाही सलामीको संगीत हुबहु बेलायती शाही सलामीबाट नक्कल गरिएको थियो । राममणि आदीले पनि आफ्नो ‘पुरानो सम्झना’ पुस्तकमा ‘अर्थ नभएको सलामी’ शीर्षक लेखमा लेखेका छन्– चक्रपाणी चालिसेद्वारा लेखिएको बेलायती शाही सलामीकै संगीत मात्र विभिन्न कार्यक्रममा बजाइन्थ्यो ।
पछि नेपालस्थित तत्कालीन बेलायती दूतावासले आफ्नो देशको धुन वेला कुवेला बज्दा खाना खाँदा, बाटो हिँड्दासमेत उभिनुपर्ने भएपछि त्यो धुन परिवर्तन गर्न भनेका थिए । पछि ब्यान्ड मास्टर एम ए पठानले विनाशब्द अर्को संगीत गरेको भनिए पनि त्यो बेलायती धुनबाट मुक्त भएन । त्यसपछि बेलायतीहरू चुपचाप रहे । पछि राममणि आदीको अनुरोधमा चन्द्रशमशेरका पालामा चालिसेले सलामीका शब्द लेखे । उनले पहिलो चोटि लेखेको शब्द ०४७ सालको संविधानमा जस्तो नभई ‘हामी गोरखाली भाइ साराले’ भन्ने थियो । 
त्यतिवेलै उनले प्रधानमन्त्रीका लागि पनि सलामी हिमशैल मण्डित स्वहिन्दूताश्रित... रचना गरेका र त्यही सलामी राणा प्रधानमन्त्री मात्र होइन, मातृकाप्रसाद कोइरालालाई पनि दिने गरिएको नेपालको इतिहास पृष्ठ २५२–२५३ मा लेखिएकै छ । 
‘श्रीमान् गम्भीर...’ बोलको शाही सलामीको संगीत हुबहु बेलायती शाही सलामीबाट नक्कल गरिएको थियो । राममणि आदीले पनि 

आफ्नो ‘पुरानो सम्झना’ पुस्तकमा ‘अर्थ नभएको सलामी’ शीर्षक लेखमा लेखेका छन्– चक्रपाधिण चालिसेद्वारा लेखिएको बेलायती शाही सलामीकै संगीत मात्र विभिन्न कार्यक्रममा बजाइन्थ्यो । 
बेलायतबाटै प्रायः नक्कल गरिएको जर्मनीको राष्ट्रिय गीत र धुन उसले १९२२ मा परिवर्तन गरेको थियो । 
मकवानपुरका पालुङ, दामन, नामटार, चित्लाङ, घर्तीखोला, भेगलगायतका विभिन्न विद्यालयले विद्रोहस्वरूप राष्ट्रगानका रूपमा रूपचन्द्र विष्टद्वारा लिखित गीतलाई विद्यालयको प्रार्थना पंंक्तिमा गाउने गर्थे–
झुत्रे झाम्रे लुरे त्यान्द्रे भोकाहरूको गाउँमा
यिनै डाँडा खोच काप्चा सारा रमणीय ठाउँमा
मानिस न्यायी प्राणी भन्ने साबित गर्छौ कामना
शिक्षा ज्योति झलमल पार्दै अन्धकारको राजमा ।
त्यहीँका कतिपय विद्यालयले गोपालप्रसाद रिमालको ‘रातो र चन्द्रसूर्य...’ राष्ट्रगानका रूपमा केही समयअघिसम्म पनि गाउँदै आएका थिए । 
राष्ट्रगानमा शब्दभन्दा पनि संगीतको महत्व बढी रहन्छ, कतिपय अन्तर्राष्ट्रिय कार्यक्रम र खेलकुदमा शब्द प्रस्तुत नगरी धुन मात्र पनि बजाइन्छ । नेपालको पुरानो राष्ट्रगान भनिएको शाही सलामीमा पहिला शब्द नभई धुन मात्र थियो । धुनमा अथवा ट्रयाकमा गीत लेख्ने पहिलो व्यक्ति चक्रपाणि नै थिए । अस्ट्रेलियालीहरूले संगीतकै लागि कुनै एक समूह वा व्यक्तिलाई जिम्मा नदिई सार्वजनिक स्पर्धा गराएको थियो । अन्तिम दुई बीचमा एक छान्न जनमतसंग्रह गराएको थियो ।
स्पेन, बोस्निया हर्जगोभिना, कोसोभो, सान मारिनेसमेत देशमा शब्द संगीतलाई मात्र नेसनल एन्थम मानिने गरिएको छ किनकि एन्थमको अनुवाद गीत होइन । 
शब्द राष्ट्रगानमा कतिसम्म कडा हुन सक्छन् भन्ने उदाहरण युक्रेनको राष्ट्रगान हो । उनीहरू राष्ट्रगानमा भन्छन्,‘ युक्रेन इज नट येट डेड युक्रेन...’ अझै मरेको छैन । र, कहिल्यै मर्ने छैन । बरु हाम्रा दुस्मन मर्नेछन् । साइप्रसको भने आफ्नै राष्ट्रगान छैन । उसले समय–समयमा ग्रिस र टर्कीको राष्ट्रगान प्रयोग गर्ने गरेको उदाहरण छ ।  
राष्ट्रगानका लागि व्यक्ति र शब्दभन्दा भावना ठूलो रहेछ । त्यसैले टेगोरकै गीत भारतमा र बंगलादेशमा राष्ट्रगान बन्यो । चेकोस्लोभाकिया सन् १९१८ मा टुक्रिएपछि चेज ओपेरा र स्लोभाक लोक भर्जलाई एकै ठाउँमा राखेर राष्ट्रगान आधा–आधा भाग प्रयोग गरेका थिए ।
राष्ट्रगानका सवालमा एउटै निष्कर्ष निकाल्न सकिन्छ– राष्ट्रगान राष्ट्रको स्वरूप, शासकीय संरचना, शासनको पद्धति निश्चित भएपछि मात्र निश्चित हुन्छ । जब–जब त्यो परिवर्तन हुन्छ, त्यतिवेला राष्ट्रगान पनि परिवर्तन हुन्छ । जतिवेला जुन मितिमा नयाँ राष्ट्रगान निश्चित गरियो, त्यतिवेला नेपालको नयाँ कुनै पनि स्वरूप, संरचना, पद्धति निश्चित भएको थिएन । तर, राष्ट्रगान छानिइसकेको थियो ।
जब कि संविधान पनि अन्तरिम नै चलिरहेको थियो । अन्तरिम संविधानले व्यवस्था गरेको हरेक विषय अन्तरिम नै थियो । त्यसैले त्यो अन्तरिम राष्ट्रगान थियो भनेर आहुतिले भन्न सकेका भए त्यो तार्किक हुन सक्थ्यो । तर, आहुति र आभास दुवैले अहिलेको राष्ट्रगान किन हटाउनुप- भन्ने जवाफमा कुनै पनि व्यवस्था सधैँ रहँदैन,  त्यसैले कुनै पनि राष्ट्रगान सधैँका लागि होइन, यो परिवर्तन गर्नुपर्छ मात्र भनेका छन् । त्यसो भनेर हुने हो भने सबै व्यवस्था सधैँ परिवर्तन हुने सम्भावना हुन्छ । 
व्यवस्था परिवर्तन भइहाल्छ त्यसैले राष्ट्रगान किन राखिरहने ? राष्ट्रगान नै नभएका देशसरह गरौँ हामीले पनि भन्नुप¥यो । के हामी सक्छाैँ त्यसो गर्न ? मलाई पनि राष्ट्रगान त जंगी निसान हाम्रो नै हुनुपर्छ भन्ने त्यो वेला पनि लागेकै थियो । तर, आहुति दाइहरूले व्याकुल माइँलाकै गीतलाई बनाइदिनुभयो । दाइले गर्नुभएको मैले पनि मानेँ । तर मानिहाल्छन् भनेर पटक पटक जे पनि मान्न बाध्य नपार्नुस् । 

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि