काठमाडौँ — पाका पुराना पुस्ताको प्रायः एउटै गुनासो हुने गर्छ, पुरानो संस्कृति लोप भयो । नयाँ पुस्ताले संस्कृति भुले ।
त्यसो त पछिल्लो समय कुनै पनि समुदायको परिचय झल्कने संस्कृति हराउँदै गएको छ । पहिरनसहितका पहिचान झल्कने संस्कृति अहिले मेला महोत्सव तथा र्यालीमा मात्र सीमित बन्दै गएका छन् । कतै यो संस्कृति जगेर्ना गर्न युवा कस्सिएका छन् त कतै पुरानै पुस्ताको भरमा संस्कृति धानिएको छ । उदाहरण हो, लिम्बू समुदायले नाच्ने च्याब्रुङ नाच ।
यो नाच लिम्बुवानमा चर्चित छ । संस्कृति हरायो, लोप भयो भन्नेहरूका लागि पाँचथर, ताप्लेजुङका युवा उदाहरणीय बनेका छन् । अहिले उनीहरू पढाइसँगै संस्कृति जगेर्ना गर्ने अभियानमा सक्रिय छन् । यसको नेतृत्व पाँचथर याङवरकका उदय बेघा लिम्बूले गरेका छन् । प्लस टु पढ्दै गर्दा उनी च्याब्रुङ नाच्न थाले । टिममा उनी एक्ला छैनन् । १४ युवक र ६ जना युवतीले च्याब्रुङ नाचेरै गोजी खर्च जुटाएका छन् । यो टिमले लिम्बुवानभन्दा धेरै वर यलाखोम अर्थात् काठमाडौं उपत्यकामा लिम्बू संस्कृति उजागर गर्दैछ । सांस्कृतिक समूहको नाम हो– याक्थुङ केलाङ सयङ ।
‘च्याब्रुङ नाचले हाम्रो समुदायको परिचय बोकेको छ,’ उदय भन्छन्, ‘लोप हुन लागेको संस्कृति जोगाऔं, आफूजस्तै युवालाई संस्कृतिको महत्त्वबारे बुझाऔं भनेर लागेका हौं ।’ दशकभन्दा धेरै भयो, उदयका गोडा च्याब्रुङको तालमा घुमेको । भाइ विवेकले पनि उनको अभियानलाई साथ दिएका छन् । दाजुभाइ नै संस्कृतिको प्रचारप्रसार र जगेर्नामा सक्रिय छन् । ‘दाइले च्याब्रुङ नाच्न थालेको धेरै भयो,’ ललितपुरको बुङमतीस्थित आदर्श शौल मावि कक्षा १२ मा अध्ययनरत विवेक भन्छन्, ‘उहाँबाटै प्रभावित भएर म पनि संस्कृति जोगाउन लागिपरेको छु ।’ उनलाई पोसाकमा ठाँटिएर नाच्दा कत्ति पनि लाज लाग्दैन । च्याब्रुङ नाच्दा गर्व महसुस हुने उनले सुनाए । किरात लिम्बू अर्थात् याक्थुम्बा जातिको बिहे, घरपैंचो, उँधौली, उँभौली, माघे संक्रान्ति, साउने संक्रान्तिमा यो नाच विशेष रूपमा नाच्ने गरिन्छ । ‘जीवनमा नराम्रो नहोस् भन्दै शुभ कार्यका लागि यो नाच नाच्ने गरिन्छ,’ उदय भन्छन्, ‘अचेल सहरमा पनि यो नाचको माग बढ्दो छ ।’ किरात याक्थुङ चुम्लुङको अभियान छ– लिम्बू गाउँमा एक घर एक च्याब्रुङ र सिलाम साक्मा (छातीमा लगाउने सांस्कृतिक प्रतीक/ब्याच) । नाचले अन्य समुदायका युवायुवतीलाई समेत आकर्षित गरेको छ । पहिरनमा ठाँटिएका उनीहरूलाई झट्ट देख्दा लिम्बू समुदायकै हुन् भन्ने हुन्छ । जस्तोः धादिङ सेम्जुङकी १९ वर्षीया मेलिना तामाङ । उनी आफ्नो सस्कृंतिबारे कम जानकार छिन् । तर लिम्बू संस्कृतिबारे पूर्ण जानकार छिन् ।
‘सुरुमा लिम्बू पहिरनमा सजिँदा एकदमै लाज लाग्थ्यो,’ मेलिनाले भनिन्, ‘च्याब्रुङ नाच्न थालेको ३ वर्ष भयो, अब त बानी परिसकें ।’ आदर्श शौलमा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया मेलिना गाउँघरमा आफ्नो समुदायको डम्फु नाच कमै नाच्ने गरेको सुनाउँछिन् । ‘उदय दाइहरूसँग भेट भएपछि च्याब्रुङ नाच्न सिकें,’ थप्छिन्, ‘बिहान कलेज जान्छु, दिउँसो, साँझ नाच्न जुट्छौं ।’ उनलाई म्हेन्दोमाया नाच्न आउँछ । ‘तामाङले नाच्ने नाचभन्दा लिम्बू नाच सबै आउँछ । पोसाक लगाएपछि त झन् मलाई लिम्बुनी नै भन्ने धेरै भेटिन्छ,’ उनले अनुभव सुनाइन् ।
दोलखा भुसाफेदाका २८ वर्षीय क्षितिज घिसिङलाई पनि अहिले च्याब्रुङ नाच्न भ्याइनभ्याइ छ । आफ्नो संस्कृति छुट्टै छ । तर उनी च्याब्रुङ नाचको क्रेजी छन् । यो नाच सिकेको ६ वर्ष बढी भयो । उनी भन्छन्, ‘उहाँहरूको संगत गर्दै जाँदा लिम्बू संस्कृति सिक्न पाइयो, अहिले जुन ठाउँबाट नाच देखाउन निमन्त्रणा आउँछ, त्यहीं पुग्छौं ।’ नाच्न थालेपछि उनको गोजी रित्तो छैन । सामान्य खर्च नाचले जुटाएको छ । ताप्लेजुङ सावलाखुकी २१ वर्षीया सुम्निमा पन्दाक लिम्बू नमुना मच्छिन्द्र कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन् । ‘गाउँमा हुँदा अरूले च्याब्रुङ नाच्थे, हामी हेरेर रमाइलो मान्थ्यौं,’ उनी भन्छिन्, ‘अहिले काठमाडौं आएपछि आफैं यो नाचमा पोख्त भइयो, कलेज छुट्टी भएपछि च्याब्रुङ नाच्न व्यस्त बन्छु ।’ च्याब्रुङको तालमा गीत गाइन्छ । त्यसैको तालमा खुट्टा र हात मिलाएर गोलाकार भएर नाच्ने गरिन्छ । सार्वजनिक कार्यक्रममा यो नाच देखाउँदा उपस्थित अतिथिहरू हेरेर दंग पर्ने गरेका छन् । ‘गहना र पोसाकमा सजिएर नाचेका बेला सबैले कस्ती राम्री लिम्बुनी भन्दै फोटो खिच्छन्,’ उनी भन्छिन्, ‘त्यसबेला गर्व महसुस हुन्छ ।’ काठमाडौंमा मात्र होइन, देशको जुनसुकै ठाउँबाट पनि निम्तो आए टोली जान तयार हुन्छ । आफ्नो संस्कृतिबारे देशका कुनाकाप्चामा पुगेर प्रचारप्रसार गर्न पाउँदा सबै दंग छन् । पाँचथरकै २० वर्षीय रमेश बेघा र १९ वर्षीय छयम चेम्जोङ पनि च्याब्रुङ नाचबाट टाढा छैनन् । प्रायः कार्यक्रम साँझमा हुन्छन् । यो बेला सबैको समय मिल्छ । ‘संस्कृति जोगाउने दायित्व अब हाम्रो काँधमा छ,’ छयम भन्छन्, ‘त्यसैले युवा पुस्ता सक्रिय बन्न नसके पुर्खाले अहिलेसम्म जोगाएर यहाँसम्म ल्याएको संस्कृति लोप भएर जानेछ ।’
सबैले मिलाएर पारिश्रमिक भागबन्डा गर्छन् । थोरबहुत रकम बचाएर समूहमा आवश्यक पर्ने पोसाक, गरगहना र च्याब्रुङ किन्न राख्छन् । च्याब्रुङ नाच्दा युवाहरू काँधमा च्याब्रुङ भिर्छन् । पुरुष पंक्तिले खाँडीका दौरासुरुवाल, ढाका टोपी, हातले बुनेको झोला र देब्रे छातीमा सिलाम साक्मा लगाउँछन् । जनाना पंक्तिले ढाकाको चौबन्दी, सारी/गुन्यू, निधारमा शिरबन्दी, नाकमा ढुंग्री, बुलाकी, कानमा यार्लिङ र घाँटीमा कण्ठ लगाएर सजिन्छन् । पहिरनले समुदाय झल्काएको छ । गहना र पोसाकमा सजिएपछि फोटो खिच्न कार्यक्रममा आगन्तुकहरूबीच प्रतिस्पर्धा नै चल्छ । bimalnews@gmail.com प्रकाशित : चैत्र २२, २०७५ १२:०८
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
गोविन्द न्यौपाने मंगलबार, ५ साउन, २०७८ के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छवि राजा अंशुवर्मा । तस्वीर स्रोत: 'नेपालका राष्ट्रिय विभूतिहरू' पुस्तकबाट । लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। गोविन्द न्यौपाने नेपालको इतिहासमा लिच्छविकाललाई प्रथम प्रामाणिक इतिहास र त्यसअघिका गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक, मिथकीय वा आद्यइतिहास भनिन्छ। राजा मानदेवद्वारा जारी शक सम्वत् ३८६ (इ.सं. ४६४)को चाँगुनारायणस्थित अभिलेख नेपालको पौराणिक इतिहास र प्रामाणिक इतिहासबीचको सीमारेखा हो। पशुपतिस्थित सम्वत् १५७ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को जयदेव द्वितीयको अभिलेख (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ५४८) बाट पुष्टि भएको राजा मानदेव लिच्छवि वंशका थिए भन्ने तथ्यका आधारमा मानदेव र उनका उत्तराधिकारीले शासन गरेको अनुमानित चार सय वर्षको इतिहासलाई लिच्छविकाल भनिन्छ। नेपालको प्रामाणिक राजतन्त्रात्मक इतिहास यसै युगदेखि प्रारम्भ भएको ...
२०७३ भदौ १० गते शुक्रबार गणेश राई संविधानले मुलुकलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ भनेर परिभाषित गरेको छ । यद्यपि ‘भन्न नछोड्ने, गरेर नदेखाउने’ सरकारको विशेषता हो । संविधानमा जे लेखिएको छ त्यो व्यवहारमा देखाउने पहल नहुनु भाषा व्यवस्था त्यसको एक उदाहरण हो । नेपालको संविधानको प्राक्कथनमा छ । ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’ एकल संरचना निरन्तरता यी वाक्ले उजागर गरेको छ । मुलुकमा देवनागरी या रोमनबाहेक अरु लिपिको चर्चा गरिन्न । नेपालमा पा“च महापरिवारका १ सय २३ भाषा बोलिन्छन् । भारोपेली, द्रविड, आग्नेय र भोट बर्मेली परिवार छन् भने कुसुन्डा भाषाका परिवार छुट्टिन बा“की छ । मुलुकमा १४ वटा लिपि प्रचलनमा रहेका छन् । रोङ लिपिमा लेप्चा भाषा लेखिन्छ । किरात लिपिमा किराती भाषा...
Comments
Post a Comment